साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सरसल्लाह

जोसुकैले जे सुकै भनून्, हास्यव्यङ्ग्य खस्रो साहित्य हो, यहाँ मुलाहिजाका मसिना शब्दको कुनै भाउ छैन, न त कोही रिसाउला कि भन्ने हिर्दोकी डर यसमा छः रिसाउनेलाई पनि हँसाउनु यसको उद्देश्य हो ।

Nepal Telecom ad

भैरव अर्याल :

“एक बाहुनले अर्को बाहुनलाई देख्यो भने कुकुरझैँ ङ्याँरङुर गर्न थाल्छ” भन्ने एउटा उखान मैले संस्कृतमा सुनेको थिएँ, तर यो उखानलाई बाहुनले भन्दा साहित्यकारले ससम्मान पालन गर्दै आएको चाल पाइन्छ । एउटा कवि अर्को कविलाई ‘कवि’ मा दरेर चुरोटको धुँवासँग उडाउन खोज्छ भने एउटा लेखक अर्को लेखकलाई गफीमा दर्न खोज्छ । तर खुशी यही छ- हास्यव्यङ्ग्यको क्षेत्रमा यस्तो ङ्यारङ्यार ङुरङुर आजका मितिसम्म सुनिएको छैन, कारण कुनै पनि हास्यव्यङ्ग्यकार यस्तो मरन्च्याँसे परम्परासित मोह राख्दैन । त्यसैले नवोदित हास्यव्यङ्ग्यकार लामिछानेज्यू मैले माथि उधृत गरे जस्ता मरन्च्याँसे उखानलाई तुरुन्तै नारायणीमा लगेर सेलाइदिई हालौँ भन्नुहुन्छः “अब यी उखानहरू बुढा भइसके, तर हामी शिक्षित भनाउँदाहरूले चाहिँ उनै बूढा उखानलाई बूढो गोरु जोताएझैँ जोताइरहेका छौँ । त्यो बरा बूढो गोरुले कति जोत्न सक्ला र त्यसबाट हामीले कति कुरो पाउन सक्छौँ र …!”

तर उक्त उखानलाई सेलाई एकले अर्काको प्रशंसा मात्रै गरौँ भने अर्को एक उखान सौता झैँ हामीलाई टोक्न आइपुग्छ । उसको विवाहमा गधाले गीत गाएको रे, पछि त दुवै ‘अहो रूपं अहो ध्वनि’ भनी परस्पर प्रशंसाका ताली बजाउँदै उफ्रन थाले रे । सन्मानका नाउँमा परस्पर प्रशंसै प्रशंसा चल्न थाल्यो भने दुई हातका औँलामा पनि गन्न नपुग्ने अहिलेका हास्यव्यङ्ग्यकार भनाउँदाहरू आ-आफ्नै प्रशंसाको ऐंचोपैंचो गर्छन् भनेर नाक चेप्राउनेहरू कम निस्कने छैनन् । तर जोसुकैले जे सुकै भनून्, हास्यव्यङ्ग्य खस्रो साहित्य हो, यहाँ मुलाहिजाका मसिना शब्दको कुनै भाउ छैन, न त कोही रिसाउला कि भन्ने हिर्दोकी डर यसमा छः रिसाउनेलाई पनि हँसाउनु यसको उद्देश्य हो ।

त्यसैले भीमप्रसाद लामिछानेज्यू निर्भीकतापूर्वक आफ्नो ‘घुँएत्रो’ फ्याँक्दै हुनुहुन्छ, भीम नै त ठहरिनु भयो उहाँलाई घुँएत्रो हान्नु के को आइतबार ! त्यसैले त भन्नुहुन्छ “….यो समितिको अध्यक्षको रूपमा त अर्कैलाई पो निर्वाचन गर्न आँटेका ? नाउँ प्रस्ताव गर्न आँटेकालाई यसो मुड्की उज्याएको त डराएछ कि क्या हो मेरै नाउँ प्रस्ताव गर्‍यो ।” मुड्की उज्याएर अध्यक्ष बन्ने बीसौँ शताब्दीको नेतृत्व प्रक्रियामाथि भीमप्रसादज्यूको व्यङ्ग्य-मुड्की लरतरो छ त ? मुड्की नै खानेले पनि मुस्कुराउनु पर्ला जस्तो ! !

फुर्क्याएको होइन, भीमप्रसादज्यूमा हास्यव्यङ्ग्यात्मक प्रतिभा निकै रहरलाग्दो रूपमा फक्रन थालेको छ र यसै सङ्ग्रहमा सम्मिलित- नेपालङ्ग्रेज, प्रेमि-प्रेमिका प्रशिक्षण केन्द्र, धर्मशास्त्र केलाऊ समिति आदि केही टुक्राहरू विषय छनोट र उक्तिवैचित्र्य दुवै दृष्टिले लोभलाग्दा छन् । तर ‘बाहुनको जातै चोखो’, ‘महामूर्ख सम्मेलन’ सस्तै जस्ता लाग्छन् । मेरो दृष्टिमा उहाँको सबभन्दा ठूलो बैगुन लमलस्टेपन हो । सबभन्दा ठूलो गुन सरलता । शब्दलाई बङ्ग्याई कुच्याई फिल्मी प्रहसनका बिलकुलै सस्ता घटना-निर्माण गरेर बलात् हँसाउने प्रवृत्ति यी निबन्धहरूमा त्यति पाइन्न ।

हास्यव्यङ्ग्य लेख्न बस्दा आजका लेखकहरू प्रायः सबैलाई आधुनिक जीवनकै विकृति र विरोधाभासले अल्झाउँदो रहेछ, यसैले होला फेशन, पार्टी, नेतागिरी, ठिटाठिटीका रोमाञ्च इत्यादितिर नै प्रायः सबैले पहिलो आँखा गाडेको हिन्दी र उर्दूको हास्य-व्यङ्ग्य साहित्यमा समेत देखिन्छ । नेपालीमा हाल ४/५ जना नयाँ साथीहरू आ-आफ्नाे सङ्ग्रह लिएर देखा पर्नुभएको छ र उहाँहरूका अधिकांश हास्यव्यङ्ग्य पनि यिनै विषयतिर अलमल्लिइरहे जस्तो लाग्दछ । तर जीवन र जगत्को फाँट अत्यन्त विशाल भएकोले हामी टाइट हिप र टी पार्टीकै खिसिट्यूरीमा घुमिनरहौं कि भन्ने साथीहरूसित मेरो सल्लाह छ ।

मलाई लाग्छ- जीवन गति हो, तर यो सग्ल्याँटो र बिब्ल्याँटो दुवैतिर बग्न सक्छ । हास्यव्यङ्ग्य लेख्ने भनेर बाहुनले श्राद्ध गर्न छाडे भनी गिज्याउन थाल्यौं भने हामी बिब्ल्याँटो गतिलाई बढाउँछौँ, हिजोका जरसाहेबले आज गोरु जोत्नु परेकामा खिसिट्यूरी गर्न थाल्यौँ भने पुनरुत्थानवादी हुन्छौँ । तर गुरु हुन सजिलो छ, चेला हुन गाह्रो भने झैँ आफ्नो पाण्डित्याईंमा म आफैं कति दृढ छु- भन्न सकिन्न ।

अन्त्यमा आजसम्म साक्षात्कार नभए पनि कलमका साथी हुन आसामदेखि भैरहवासम्म आइपुगेका श्री लामिछानेज्यूले रहँदा बस्दा घुँएत्रो मात्रै होइन, तोप नै पड्काएर समाजलाई सब्ल्याँटो गतितिर प्रेरित गर्दै जान सफल हुनुहोला भन्ने आशा गर्नु म आफ्नो स्नेहाधिकार सम्झन्छु ।

०००
(भीमप्रसाद लामिछानेको कृति ‘घुँएत्रो’को भूमिका)

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
युगल बसेल
युगल बसेल
11 months ago

एउटा कविले अर्को कविलाई कपी बाँदरमा दर्छ भनेको हुनुपर्ने यहाँ कविमा भन्ने आयो कसो हो कुन्नी

Nepal Telecom ad
अर्दलीको खोजखबर

अर्दलीको खोजखबर

पिँडालु पण्डित
मास्टरको चिया

मास्टरको चिया

सुरेशकुमार भट्ट
वाइपास

वाइपास

सुरेशकुमार पाण्डे
आफै बोक्सी आफै धामी

आफै बोक्सी आफै धामी

काशीनाथ मिश्रित
1
0
Would love your thoughts, please comment.x
()
x