निर्मल अर्यालशाश्वत व्यङ्ग्य शिल्पी : भैरव अर्याल
तत्कालीन शासन प्रणालीमाथि कटु व्यङ्ग्यसहित उहाँले लेखेको ‘कुकुर स्वर्गे हुँदा’ शीर्षकको कविता उत्कृष्ट हुँदा हुँदै २०३३ सालको “गाईजात्रा” मा वाचन गर्न प्रतिबन्ध लगाइएको थियो । पछि उहाँले यो कविता न्यूरोड र रत्नपार्कका गल्ली गल्लीमा वाचन गर्नुभएको थियो ।

‘मागी पाइने भीख भन्दा आफ्नै भोक मीठो
रोई रोई बाँच्नुभन्दा हाँसी मर्नु निको’
नेपाली हास्यव्यङ्ग्य साहित्यका शाश्वत शिल्पी भैरव अर्यालले सायद आफैँलाई केन्द्रमा राखेर यी कालजयी हरफ रच्नुभएको थियो । रोग तथा भोकले आक्रान्त अर्यालले निराश जीवनलाई पूणर्विराम दिने क्रममा अन्ततः ४० वर्षको अल्पायुमा आत्महत्या गर्नुभयो, गोकणर्स्थित पुलबाट वागमती नदीको खोँचमा हामफालेर । वि.सं. १९९३ असोज ५ गते जन्मनुभएका अर्यालले २०३३ असोज १९ गते मृत्युवरण गर्नुभयो । मोतीराम भट्टपछि सम्भवतः सबैभन्दा कम उमेरमा निधन भएका स्थापित नेपाली साहित्यकार अर्याल नै हुनुहुन्छ । नेपाली साहित्यकारहरूको ज्ञात इतिहासमा आफै आफ्नो देहत्याग गर्ने अर्याल नै पहिलो साहित्यकारको रूपमा दर्ज हुनुभएको छ ।
२००९ सालबाट कवितामार्फत उहाँको साहित्यिक यात्रा सुरु भएको थियो । कुन्तादेवी भट्टराई सम्पादक रहनुभएको ‘प्रतिभा’ पत्रिकामा ‘नयाँ जीवन’ शीर्षकको कविता प्रकाशित गरी उहाँ औपचारिक रूपमा साहित्यिक क्षेत्रमा प्रवेश गर्नुभएको हो । ४० वर्षमा देहत्याग गरे पनि नेपाली साहित्यका लागि उहाँको उमेर करिब दुई दशकसम्म मात्र उर्वर रह्यो । ३५ वर्ष पूरा भएपछि उहाँको सिर्जनाशक्तिमा ठूलो ह्रास आएको वरिष्ठ समालोचकसमेत रहनुभएका प्राध्यापक डाक्टर वासुदेव त्रिपाठी बताउनुहुन्छ । त्रिपाठीका अनुसार अर्यालको साहित्यिक यात्राको मोटामाटी चरण-विभाजन यसप्रकार गर्न सकिन्छ
१.पृष्ठभूमि र पूर्वाभ्यासको अवधि
(२००५-२०१२) ः प्रथम चरण
२.उदय र अभ्यासको अवधि
(२०१३-२०१७) ः द्वितीय चरण
३.विकासशील र परिपाकोन्मुख अवधि
(२०१८-२०२८) ः तृतीय चरण
४.ह्रासोन्मुख अवधि (२०२९-२०३३) ः चतुर्थ चरण
(शाश्वत् व्यङ्ग्य शिल्पी-२०७२)
जीवनप्रतिको चरम निराशाका कारण अन्तिम दशकमा अर्यालले पटक पटक आत्महत्याको प्रयास गर्नुभएको थियो । यस अर्थमा नेपाली साहित्यले अत्यन्त कम समय मात्र उहाँको उर्जाशील तथा सिर्जनशील दिमागको सामीप्यता पायो भन्न सकिन्छ । अर्यालले स्थापित गरेको हास्यव्यङ्ग्य साहित्यको फाँटले समग्र नेपाली साहित्यको परिधिलाई अझ बलशाली बनाएको छ । अर्यालले हास्यव्यङ्ग्य साहित्यको खुल्ला मैदानमा आफ्नो परिचय स्थापित गराउनुभएको भने बिलकुल होइन ।
केशवराज पिँडाली, वासुदेव लुइँटेल, दाताराम शर्मा जस्ता मूर्धन्य हास्यव्यङ्ग्यकारकै युगमा जन्मिएर व्यङ्ग्य साहित्यको कुरुक्षेत्रमा अर्यालले आफ्नो उच्च श्रेष्ठता प्रमाणित गर्नुभयो । समग्र जीवन ४० वर्षसम्म बिताए पनि अर्यालकै शब्दमा बेला-बेलाको मरणासन्न अस्वस्थता र घनघोर गरिबीसँगको निरन्तर युद्धले उहाँको जीवन २० वर्षपछि नै थिलथिलो हुन पुगेको थियो । अन्य शारीरिक कमजोरीहरूसँगै असाध्यै पीडा दिएको घाँटीको समस्याले उहाँलाई पटक पटक गाँजेको थियो । आफूबाट सम्भव नभएपछि विभिन्न स्रोत साधन जुटाउँदै उपचारका लागि भारत र जर्मनीसम्म पुगे पनि उहाँको शारीरिक अवस्था सुध्रिएन, झन् कमजोर हुँदै गयो, मानसिक स्वास्थ्यसमेत अझ जटिल भयो । ६ सन्तानको भरणपोषणका लागि उहाँ कहिले शिक्षकको भूमिकामा देखिनुभयो त कहिले पत्रकारको । २०११ सालदेखि २०१३ सम्म पोखरा कन्धनीडाँडास्थित भवानी प्राथमिक विद्यालयमा शिक्षक रहेका अर्याल २०१३ देखि २०१५ सम्मको राजधानीको पासिखेलस्थित इन्दायणी विद्यालयमा आबद्ध रहनुभयो । आफ्ना एक प्रिय विद्यार्थीको पौडी खेल्ने क्रममा निधन भएपछि अत्यन्त संवेदशनील व्यक्तित्व अर्याल मानसिक रूपमा विक्षिप्त हुँदै पोखरा छाडेर राजधानी प्रवेश गर्नुभएको थियो । कन्धनीडाँडास्थित भवानी प्राथमिक विद्यालयमा अर्यालका शिष्य रहनुभएका वरिष्ठ राजनीतिज्ञ (पूर्व सभामुख तारानाथ रानाभाट) अर्याललाई अत्यन्त मेहनती तथा विलक्षण शिक्षकको रूपमा स्मरण गर्नुहुन्छ ।
भाषामा विशेष दख्खल राख्नुहुने अर्याल २०१५ सालपछि हालखबरमा दैनिकमा आबद्ध भएर पत्रकारितातर्फ आर्कषित हुनुभएको उहाँका आत्मीय मित्र वरिष्ठ पत्रकार भैरव रिसाल बताउनुहुन्छ । हालखबरमा अर्यालका चोटिलका व्यङ्ग्यहरू छापिन थालेपछि पत्रिकाको विक्री पनि ह्वात्तै बढेको रिसाल स्मरण गर्नुहुन्छ । समाजका बेथिति र काला कामको विरुद्ध हास्यव्यङ्ग्य विधा मार्फत अर्यालले हान्नुभएको बेजोड वाणप्रति आफ्नो सधैँ ठूलो सराहना र सम्मान रहेको रिसाल बताउनुहुन्छ । हालखबर दैनिक, सगरमाथा संवाद समिति हुँदै गोरखापत्र संस्थान पुग्नुभएका अर्यालले उपसम्पादक-सहायक सम्पादकसम्मको भूमिका निर्वाह गर्नुभयो । सम्पादन कलामा माहिर अर्यालको रोहवरमा तत्कालीन समयमा धेरै नवआगन्तुक साहित्यकार तथा पत्रकारहरूले पछिसम्मका लागि दह्रो लय समातेको उहाँका अर्का घनिष्ठ मित्र रोचक घिमिरे बताउनुहुन्छ । ‘अर्यालकै कडा मेहनतका कारण गोरखापत्रको शनिबारीय अङ्क निकै स्तरीय बन्न पुग्यो’ घिमिरे भन्नुहुन्छ । अर्यालकै प्रत्यक्ष निगरानी र सरसल्लाहमा धेरै प्रतिभाशाली लेखकहरूको जन्म भएकाले आजसम्म पनि पत्रकारितामा अर्याललाई रोलमोडल मान्नेको जमात ठूलै छ । संस्कृत पृष्ठभूमिबाट आए पनि पछि अङ्ग्रेजी भाषा सिक्दै अर्यालले विदेशमा समेत गई पत्रकारिताको तालिम लिनुभएको थियो । घिमिरेका अनुसार नेपाली साहित्यको श्रीवृद्धिमा विशिष्ट स्थान कायम गरेको ‘रचना’ को नामकरण पनि अर्यालकै अगुवाईमा भएको थियो ।
त्यसो त उच्च कोटीका हास्यव्यङ्ग्यकार हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठसमेत अर्यालबाट आफूहरू निकै प्रभावित भएको बताउनुहुन्छ । ‘भैरव दाइले स्थापना गरिदिएको व्यङ्ग्य साहित्यको जगमा नै हामीले पछि हालीमुहाली तथा थप रोमान्स गरेका हौँ’ मदनकृष्ण श्रेष्ठ बताउनुहुन्छ । त्यस्तै आचार्य पनि भैरव अर्यालकै व्यङ्ग्य साहित्यबाट प्रभावित भएर व्यङ्ग्य साहित्यमा प्रवेश गरेको र नेपाली साहित्यमा लक्ष्मीप्रसाद देवकोटा ‘महाकवि’ भएझैँ अर्याल ‘महा-हास्यव्यङ्ग्यकार’ भएको सगर्व बताउनुहुन्छ । मह जोडीले विगतमा भैरव अर्यालको तस्बिरमा माल्र्यापण गरेर मात्र गाईजात्रा कार्यक्रम सुरु गरेको इतिहासबाट पनि अर्यालप्रतिको उहाँहरूको असीम श्रद्धा देखाउँछ । सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे अन्तर्राष्ट्रिय स्तरको हास्यव्यङ्ग्य साहित्यसँग समेत प्रतिस्पर्धा गर्न सक्ने ल्याकत केवल अर्यालमा रहेको बताउनुहुन्छ । पाठ्यक्रममा रहेका अर्यालका लेखहरूबाट प्रभावित हुने अहिले पनि हजारौँ छन् । यसै प्रसङ्गमा चर्चित साहित्यकार कृष्ण धरावासी लेख्नुहुन्छ, ‘पाठ्यपुस्तकमा अरू क-कसका लेख र कथाहरू थिए, थाहा छैन, तर भैरव अर्याल फलामको अक्षर भएर बसेका थिए मेरो मस्तिष्कमा, व्यङ्ग्यको तीक्ष्णताबाट हेर्दा उहाँले अरूलाई धेरै नै तल छाड्नुभएको छ, उहाँलाई पढेरै मैले व्यङ्ग्य लेखनको कला सिकेको हुँ । ’
व्यङ्ग्य साहित्य मार्फत् अर्यालले सामाजिक विकृति विसङ्गति माथि निर्मम प्रहार गर्नुभएको छ । राजनीतिलाई मागी खाने भाँडो बनाउने नेताहरूको पृष्ठभूमिमाथि कटाक्ष गर्दै नेता नेम्बर एक सय एक (जयभुँडी) शीर्षकको निबन्धमा अर्याल लेख्नुहुन्छ
‘चोरी चकारी नगरी चतुर्याइँ हुन्न
दङ्गा फसाद नगरे इज्जतै रहन्न
सोझा र सज्जन कबै नलिनू दलैमा
पार्टी चलाउनु सधैँ छल औँ बलमा’
अर्यालले अहिलेको भद्रगोललाई कल्पना गर्दै झण्डै पाँच दशक अघि लेखेका लेखले उहाँको दुरदर्शिता झल्काउँछ । ‘जयभोलि’ शीर्षकको निबन्धले हाम्रो प्रशासन संयन्त्रको आजको काम गराइलाई दुरुस्त चित्रण गरेको छ । त्यस्तै राजधानीको अहिलेको कुरूप अवस्था ठ्याक्कै मिल्ने गरी ‘अमरावती कान्तिपुरी नगरी’ (जयभुँडी) मा अर्याल लेख्नुहुन्छ ।
‘पथ सात फुटे बस नौ गजको
सिट बीस भए भिड सौतकको
छ त अन्त कतै सुविधा यसरी
अमरावती कान्तिपुरी नगरी’
त्यसो त अर्याल शृङ्गारिक कविताहरूमा पनि उत्तिकै सिद्धहस्त देखिनुहुन्छ । प्रज्ञा-प्रतिष्ठानले २०२२ बाट सुरु गरेको राष्ट्रिय कविता महोत्सवको पहिलो संस्करणको स्वणर्धारी अर्याल नै हुनुभयो । ‘आराधना नैतिकताको’ शीर्षक कविता मार्फत पहिलो स्थान हासिल गर्दै अर्यालले कवितामा पनि आफू अब्बल रहेको साबित गरिदिनुभयो । उहाँको पहिलो कविता सङ्ग्रह ‘उपवन’ बाट प्रभावित भएर व्यङ्ग्य सम्राट बालकृष्ण समले सोही पुस्तकमा लेख्नुभएको भूमिकाको सार यसप्रकारको छ ‘अर्यालजी उदयीमान एक तारा हुनुहुन्छ, हाम्रो साहित्याकाशले उहाँलाई गौरवान्वित भई धारण गर्नेछ ।’
तत्कालीन शासन प्रणालीमाथि कटु व्यङ्ग्यसहित उहाँले लेखेको ‘कुकुर स्वर्गे हुँदा’ शीर्षकको कविता उत्कृष्ट हुँदा हुँदै २०३३ सालको “गाईजात्रा” मा वाचन गर्न प्रतिबन्ध लगाइएको थियो । पछि उहाँले यो कविता न्यूरोड र रत्नपार्कका गल्ली गल्लीमा वाचन गर्नुभएको थियो ।
पितृसतात्मक युगमा पनि महिलाको आत्मसम्मानलाई उच्च प्राथमिकता दिने उहाँका कालजयी हरफले अहिले पनि निर्मला हत्याकाण्ड जस्तै दैनिकका बलात्कारका घटनाबाट बदनामित तथा लज्जित हाम्रो समाजलाई गतिलो झापड दिएको छ ।
“जुन राज्यभित्र गुञ्जन्छ एउटी नारीको क्रन्दन
कसरी त्यसले उन्नति गर्ला भनेर मानूँ म”
(विरही राम)
आफ्ना उत्कृष्ट व्यङ्ग्य रचनाहरूका कारण अर्याल आम नेपालीको मनमस्तिष्कमा विराजमान भइसक्नुभएको थियो । भनिन्छ – कुनै समय नेपालीहरूको घरमा तीन वटा पुस्तक विनाको दराज नै भेटिँदैनथ्यो । भानुभक्त आचार्यको रामायण, लक्ष्मीप्रसाद देवकोटाको मुनामदन र भैरव अर्यालको जयभुँडी । यस अर्थमा अर्याललाई भाग्यमानी मान्न सकिन्छ । तर अफशोच अर्यालले सधैँ आफूलाई भाग्यले ठगेको महसुस गरिरहनुभयो । अर्यालकै शब्दमा कार्यालयका सहकर्मीसहित केही साथीभाइ, प्रकाशकहरूका कारण उहाँ निरन्तर बौद्धिक शोषणमा पर्नुभएको थियो । त्यसैले बाहिरी आवरणमा सबैलाई हँसाउने भए पनि भित्री वृत्तमा उहाँभित्रको भैरव क्रमशः जागा भइरहेको थियो । निरन्तरको कमजोर शरीरले उहाँमा थप ग्लानी सिर्जना गरिरहेको थियो । जीवनरथसँगै आइपर्ने चौतर्फी चुनौतीहरूलाई सामना गर्दै अर्याल अघि बढ्नुभएको भए परिमाण र गुण दुवै हिसाबले नेपाली साहित्यको भण्डार अझ समुन्नत हुने निश्चित थियो । तर अर्यालले त्यसो गर्नु भएन । रोगमाथिको भोक, ज्ञात अज्ञात व्यक्तिहरूबाट भएको लगातारको बौद्धिक शोषणबाट शिथिल भएका अर्यालले आत्महत्यालाई नै उत्तम विकल्प ठान्नुभयो ।
अर्यालको आत्महत्यालाई लिएर त्यतिबेलाका सञ्चार माध्यमहरूमा मात्र नभई चोक चोकमा समेत सार्वजनिक टिकाटिप्पणीहरू भए । तर उहाँलाई नजिकबाट चिन्नेहरूका लागि भने यो अप्रत्याशित घटना थिएन किनकि अर्यालले विगतमा पनि पटक पटक आत्महत्याको प्रयास गरेको घटनाबारे उहाँहरू जानकार नै हुनुहुन्थ्यो । कतिले उहाँलाई कायर भने त कतिले लाछी । तर उहाँका अत्यन्त निकटका मित्र लोकप्रिय आख्यानकार रमेश विकल भने अर्यालको आत्महत्यालाई ‘युगचेतनाले गरेको हत्या’ को संज्ञा दिनुहुन्छ । अर्यालको आत्महत्याको समाचारले आफन्त, शुभचिन्तक तथा साहित्यप्रेमीहरू स्तब्ध हुनु स्वाभाविक नै थियो । आत्महत्याभन्दा ठीक अघि आफू कार्यरत संस्था (गोरखापत्र संस्थान) लाई पठाएको पत्रमा अर्यालले कलम व कोदाली केही पनि चलाएर आफू र आफ्ना आश्रितलाई संरक्षण दिन या देशका निम्ति केही गर्न नसक्ने भएकाले अब बाँच्नु पनि बेकार भएको उल्लेख गर्नु भएको छ । आत्महत्या गर्नु भन्दा ११ दिनअघि आफ्ना ६ सन्तानको नाममा मार्मिक पत्र लेख्दै अर्यालले आफूले जानी जानी कुनै पनि अपराध नगरे पनि वेहोश वेहोशमा दुनियाँभरिका पाप आफ्नो थाप्लामा थाप्नुपरेको उल्लेख गर्नुभएको छ । कुनै अपराध गरिनँ तर धेरै अपराध लाग्यो भनेर उहाँले चिठी टुङ्ग्याउनुभएको छ । आफूलाई निर्दोष पुष्टि गर्न उहाँले २०३३, भाद्र ५ मा लेखेको मर्मस्पर्शी हरफ यस्तो थियो ः
‘तँ कतै छस् भन्ने सुन्लास्
मेरो चीत्कारभित्रको
सुनिस् भने भनिहाल्लास्
यो निर्दोष अजान थ्यो’
साहित्यकार कृष्ण धरावासी लेख्नुहुन्छ, ‘भैरव अर्यालको मृत्युलाई म आज पनि सहज मान्दिँन । कुनै पनि असहज मृत्युहरू मानव सभ्यताका लागि नै दुर्भाग्य हो । भैरव दाइलाई भौतिक रूपमा उसैबेला (२०३३) गुमाए पनि बौद्धिक रूपमा कहिल्यै गुमाउनु हुँदैन ।’
‘आलेख’ पूर्णाङ्क ३७/३८ बाट
Subscribe
Login
0 Comments
Oldest









































