निर्मल अर्यालभैरव पुरस्कार मुन पौडेललाई, सुवेदीलाई वाङ्मय तथा दाहाललाई प्रतिभा पुरस्कार अर्पण
पुरस्कृत स्रष्टाहरू पौडेल, सुवेदी र दाहालको साहित्यिक योगदान बारेमा क्रमश मुकुन्द आचार्य, डाक्टर शिव रिजाल र डाक्टर बलदेव अधिकारीले प्रकाश पार्नु भएको थियो भने साहित्यकार भैरव अर्यालको जीवनको बहुआयामिक पक्षबारे साहित्यकार गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ ले चर्चा गर्नु भएको थियो ।

काठमाडाैं, ०८० असोज १९ । नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कार शुक्रवार अर्पण गरिएको छ ।
२०८० सालको भैरव पुरस्कार वरिष्ठ हास्यव्यङ्ग्यकार मुन पौडेललाई प्रदान गरियो । यो पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैया रहेको छ ।
१ लाख १ हजार १ सय ११ रुपैया राशीको भैरव वाङ्मय पुरस्कार प्राध्यापक डाक्टर अभि सुवेदीलाई प्रदान गरियो । त्यस्तै ५१ हजार १ सय ११ रुपैया राशीको भैरव प्रतिभा पुरस्कार व्यङ्ग्यकार बद्रीप्रसाद दाहाल (भस्मासुर) लाई प्रदान गरियो ।
भैरव पुरस्कार गुठीका अध्यक्ष रोचक घिमिरे, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल लगायतले स्रष्टाहरूलाई पुरस्कृत गर्नु भएको हो । पुरस्कृत स्रष्टाहरू पौडेल, सुवेदी र दाहालको साहित्यिक योगदान बारेमा क्रमश मुकुन्द आचार्य, डाक्टर शिव रिजाल र डाक्टर बलदेव अधिकारीले प्रकाश पार्नु भएको थियो भने साहित्यकार भैरव अर्यालको जीवनको बहुआयामिक पक्षबारे साहित्यकार गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ ले चर्चा गर्नु भएको थियो ।
सोही अवसरमा भैरव अर्यालको समीक्षा र मुकुन्द आचार्यकृत ‘अथ हाकिमो वाच’को लोर्कापण गरिएको थियो । ‘अथ हाकिमो वाच’को समीक्षा साहित्यकार रमेशप्रसाद खनालले गर्नु भएको थियो ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले साहित्यिक विकासमा नगरपालिकाले निर्वाह गरेको भूमिकाबारे जानकारी गराउँदै साहित्यको विकासबाट मात्र समृद्ध समाज निर्माण गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा गुठीका अध्यक्ष वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरले आफ्ना अभिन्न मित्र समेत रहेका भैरव अर्यालको बहुआयामिक व्यक्तित्वबारे चर्चा गर्नु भएको थियो ।
गुठीका सचिव वसन्त रिजालले विगतदेखि गुठीले गर्दै आएको गतिविधि सार्वजनिक गर्नु भएको थियो ।
०००
Subscribe
Login
0 Comments
Oldest










































