
विमल निभाका व्यङ्ग्य रचनाको परिवेश
२०४३ सालमा छलफल साप्ताहिकको स्तम्भमा उनको व्यङ्ग्य ‘तस्कर ट्रकको रजत जयन्ती’ (जतिबेला पञ्चायती व्यवस्थाको रजत जयन्ती मनाइदै थियो) प्रकाशित भएपछि तत्कालीन सम्पादकले १ वर्षे जेलयात्रा गरेका थिए ।

श्यामल :
विमल निभालाई समकालीन व्यङ्ग्ययनिबन्ध रचना क्षेत्रका एक्ला वृहस्पति भने पनि हुन्छ । मैले तीसको मध्यदशकमा गोरखापत्रमा प्रकाशित ’देशविकास र हें हें हें’, मधुपर्कमा, ’गिरधारीलाल जयनेपाल’ जस्ता छोटा र तीक्ष्ण प्रभावका व्यङ्ग्य निबन्ध पढेपछि उनमा रहेको व्यङ्ग्यक्षमताबारे थाहा पाएको थिएँ । त्यस यताका तीस बर्षभन्दा बढीको अवधिमा मैले उनका सयाैं निबन्धहरू पढेको छु । सम्भवतः नेपाली पत्रकारिताको क्षेत्रमा व्यङ्ग्य स्तम्भकारका रूपमा निभा नै सर्वाधिक लामो अवधिसम्म काम गर्ने निबन्धकार पनि हुन् ।
एक समर्थ र प्रतिभाशाली विद्रोही कविका रूपमा विमल निभाको प्रतिष्ठा व्याप्त रहेका बेला म सुदूर दैलेखबाट भारतको बाटो हान्निदै काठमाडौं खाल्डोमा उक्लेको थिएँ । त्यसबेला उनको काव्ययात्रा एक दशकको पाको भइसकेको थियो । उनका कविता व्यङ्ग्य र विद्रोहका नमूना थिए । ती अन्य चालु कविका कविताभन्दा पृथक् बान्कीका त छँदै थिए, सादापनका साथ उपस्थित थिए र कविता कलाको फाँटमा बयेली खेल्दै थिए। यसबीच मेरो र निभाको मित्रताको शुरुवात भयो । सङ्गतमा ज्ञान भयो, उनमा हास्यचेत त छँदै थियो, आफैँप्रति पनि कठोर व्यङ्ग्य गर्नसक्ने अद्भूत क्षमता पनि थियो । एक कुशल व्यङ्ग्यकार आफैँप्रति पनि कठोर बन्न सक्नुपर्छ भन्ने आग्रहलाई उनका व्यङ्ग्यमिश्रित कुराकानी र रचनाहरूले पुष्टि गरिरहेका थिए ।
विमल निभाका कतिपय कवितामा व्यङ्ग्य एक प्रमुख विशेषताका रूपमा आएको हुन्छ । त्यो व्यङ्ग्य बहुधा हास्य उत्पन्न नगरी एक गम्भीर परिणाममा रूपान्तरित हुन्छ जसबाट पाठक वा लक्ष्यित वर्गले अवस्थातिर तीव्र प्रहारको अनुभव गर्न थाल्दछ । दृष्टान्तस्वरूप निभाको ‘एउटा बाहुला नभएको बुसर्ट’ सङ्ग्रहमा संकलित ‘मेरो सांसद मित्र लाई अघि सार्न सकिन्छ । तत्कालीन एक सांसदलाई कवि सोध्छन् ः के छ माननीयज्यू माननीयको उत्तर छ ’आज सदनमा येल्तसिनको भाषण छ ।’ पाठक सोच्छ ः नेपालको संसदमा येल्तसिनको भाषण ? तर येल्तसिन भौतिक रूपमा नेपाल आएको त छैन । महाकाली सन्धिको आसपास रचिएको यस कवितामा यसको लक्ष्य को थियो भन्ने अनुमान गर्न सकिन्छ । पहाडको मेरुदण्ड भाँचिनु, सांसदले जुलुसमा जाने खुट्टा हराएको हुनु, महाकाली लाहुरबाट फर्केर नआउनु र नेपालको कम्युनिष्ट पार्टीको पोलिटव्युरोका सदस्यहरू अमेरिकातिर उड्नु, समकालीन नेपाली राजनीतिक जगतका कुरूपतम विडम्बना हुन् जसमाथि कविले तीव्र व्यङ्ग्य प्रहार गरेका छन् ।
स्पष्ट छ, अमेरिका पूंजीवादी साम्राज्यवादी विश्वको प्रतिनिधि हो, समाजवाद र साम्यवादलाई उसका निन्दाकोशमा राखिएको छ । पूँजीवादबाट मुक्तिको चाहनालाई जुन मुलुकले अप्रजातान्त्रिक मानेको हुन्छ, कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्यहरू त्यसैतर्फ उच्छन् भने बुझिन्छ, त्यहां सिद्धान्त र आस्थाको पतन भयो । यही पतनशील राजनीतिक संस्कृतिलाई कविले व्यङ्ग्य गरेका छन् ।
व्यङ्ग्य निबन्धकारका रूपमा निभाका दुई व्यङ्ग्य सङ्ग्रह ’चौथो कालम’ र ’छेउको बधशाला’ प्रकाशित छन् । यस अतिरिक्त उनका थुप्रै असङ्कलित तर प्रकाशित व्यङ्ग्यरचना पनि छन् । यी सबै निबन्धहरूमा निभाको शिष्ट व्यङ्ग्य शैलीसँग साक्षात्कार हुन्छ । प्रारम्भमा उनले आफनै नगर वीरगन्जका पात्रहरू र परिवेशलाई निबन्धमा प्रवेश गराएका थिए, र साढे तीन दशकको अवधिमा पनि बेला बेला उनका निबन्धमा वीरगञ्ज आइरहन्छ। तर, उनले समकालीन नेपालका राजनीतिक आर्थिक, सामाजिक र साहित्यिक विसङ्गतिहरूलाई लक्ष्य गरिआएका छन् र यदाकदा अन्तर्राष्ट्रिय क्षेत्रका चर्चित घटनाहरूलाई पनि लक्ष्यित गरेका छन् ।
मैले सम्झेसम्म आधुनिक व्यङ्ग्यको चस्का मलाई लक्ष्मीप्रसाद देवकोटाको ‘गधा बुद्धिमान कि गुरु?’ ले लगाएको हुनुपर्छ । त्यसपछि मैले कृष्णप्रसाद चापागाईं, केशवराज पिंडाली र भैरव अर्यालका रचनाको स्वाद लिएको थिएँ । मलाई हास्यव्यङ्ग्यकार पिंडालीभन्दा उपन्यासकार पिंडाली गम्भीर र श्रेष्ठ लागे, किनकि हास्यरस उत्पन्न गर्ने क्रममा उनका कतिपय रचना व्यङ्ग्य उत्पन्न गर्न चुकेका जस्तो लागे । चापागाईं थाकिसकेका थिए, अर्यालका जयभुँडी लगायतका सङ्ग्रहले उनलाई लोकप्रियताको शिखरमा पुऱ्याएका थिए । उनको जीवनको कारुणिकताले आत्महत्यामा पुगेर विश्राम लिएको थियो । पिंडाली र सूर्यबहादुर पिवा आफ्नै पत्नीमाथि हाँसो बर्साउने प्रयास गरिरहेका थिए । जतिबेला सचेत पाठक समकालीन राजनीति र समाजका चरित्रलाई लक्ष्य गर्ने तिखो व्यङ्ग्यरचनाको खोजमा थियो, स्थापित पुरानो पुस्ता त्यस्तो प्रखर व्यङ्ग्यचेतबाट विमुख थियो । व्यङ्ग्यधर्मी कहलाएका केही कवि थिए, जो सत्ताको कठोर दृष्टिको सामना गर्नुभन्दा आफ्नै मित्रकविहरूमाथि चुट्की लिएर आफै मनोरञ्जन गर्थे । गाईजात्रा मात्र त्यस्तो एक पर्व थियो, जसमा राजाबाहेक अरुलाई छिटपुट निशाना बनाउन सकिन्थ्यो । व्यङ्ग्य एक प्रकारले जोखिमपूणर् विधा थियो । विमल निभा त्यसै कालरात्रिमा उदाएका थिए ।
त्यसभन्दा पनि धेरै अघि अमेरिकी साहित्यकारमा मार्क ट्वेनलाई आदर्श व्यङ्ग्यकारका रूपमा लिइन्थ्यो, मैले पनि उनको एक पुस्तक पढेको थिएँ। मलाई अंग्रेजी सिक्ने भूतले सताएको बेला हकलबरी फिन् भन्ने सो उपन्यास मैले सेकेण्ड ह्याण्ड बुक सपमा किनेको थिएँ तर अमेरिकी परिवेशको व्यङ्ग्यलाई पूरै पचाएर बुझ्न मलाई निकै कठिन भएको थियो । त्यो उपन्यास अहिले मसँग त छैन, तर अमेरिकी साहित्यमा निकै महत्वपूणर् मानिने सो पुस्तक फेरि पढियो भने बुझिन्छ कि भन्ने मलाई लाग्दैछ । यसबाहेक विश्वका अरु भाषा र साहित्यका व्यङ्ग्यहरू राम्ररी पढ्न मेरालागि सजिला होला जस्तो लाग्दैन । कुनै पनि भाषाका व्यङ्ग्य बुझ्नका लागि त्यस भाषाभाषीको संस्कृतिको सामान्य ज्ञान जरुरी हुन्छ, खासगरी उनीहरूले हास्य वा व्यङ्ग्स्य उत्पन्न गर्ने परिवेश र भाषा आफ्नो संस्कृतिसँग गाँसिएको हुन्छ । व्यङ्ग्यकार निभाका व्यङ्ग्यरचनामा रहेका परिवेश र पात्रहरूसँग परिचित हुन सक्ने पाठकले धेरै मात्रामा विमलका व्यङ्ग्यको स्वाद लिन सक्तछन् । प्रारम्भमा र त्यसपछि यदाकदा उनले वीरगञ्जको पृष्ठभूमिमा व्यङ्ग्यरचना गरेका छन्, र तिनमा त्यहाँको भाषा तथा सांस्कृतिक परिवेश जीवन्त भएर आएको छ । पछिल्लो साढे तीन दशक यताको पृष्ठभूमि अधिकांश राजनीतिक छ र राजधानीको छ, त्यसमा पनि उनले त्यतिबेलाका प्रमुख दलहरू र तिनका शीर्ष नेताहरूका आचार व्यवहारसम्बन्धी गम्भीर टिप्पणी गरेका छन् । यसर्थ नेपालको राजनीतिक संस्कृतिलाई नजिकबाट नियाल्ने र समसामयिक घटनाहरूमा चाख राख्ने जोसुकैले पनि उनको व्यङ्ग्यको धारलाई सहजै ग्रहण गर्न सक्तछ ।
छिमेकी मुलुक भारतको हिन्दी साहित्यका मनीषी मानिएका व्यङ्ग्यकार हरिशङ्कर परसाईका केही चर्चित पुस्तक र पत्रपत्रिकामा उनका रचना पढ्दा व्यङ्ग्य निबन्ध एक दुष्कर विधा हो भन्ने मलाई लागेको थियो । भनिन्थ्यो, उनको व्यङ्ग्यरचनाले आहत भएको एकजनाले उनका खुट्टा भाँचिदिएको थियो र त्यसपछि उनी आजीवन लङ्गडो भई बाँच्नुपयो । व्यङ्ग्य जोखिमपूणर् कर्म हो भन्ने कुराको यो एक यथेष्ट प्रमाण हो । मेरोलागि उनको सबैभन्दा प्रभावशाली रचना थियो ‘चन्द्रलोकमा इन्स्पेक्टर मातादीन’ । यसमा स्वैरकाल्पनिकताका माध्यमबाट भारतीय शासनका भ्रष्टाचारी चरित्रमाथि कठोर व्यङ्ग्य प्रहार गरिएको छ ।
कथानक छ भने, चन्द्रलोकमा प्रहरी एकदमै निष्कृय छ किनभने त्यहाँ कुनै अपराध नै हुन्न तर भारत भन्ने देशको प्रहरी एकदमै क्रियाशील छ । आफ्नो प्रहरी निस्कृय रहेकोमा चन्द्रलोकका शासकलाई ताज्जुब लाग्छ । र, चन्द्रलोकको प्रहरीलाई क्रियाशील बनाउन एकजना कुशल भारतीय प्रहरी अधिकारीलाई चन्द्रलोक मगाइन्छ । ऊ त्यहाँ पुगेको केही समयमै चन्द्रलोकको प्रहरी अत्यन्त क्रियाशील हुन्छ । किनभने त्यहाँ उसले अपराध कसरी गर्ने भन्ने सिकाउँछ । यसरी भ्रष्ट भारतीय प्रहरी चन्द्रलोकलाई समेत भ्रष्ट तुल्याउन समर्थ बन्छ । परसाईंको विशेषता थियो, घरेलु लडाईमा अल्झेको र महिला, अशक्त, गरीबमाथि हाँस्ने प्रकारको पुरुषजन्य अश्लील व्यवहारबाट व्यङ्ग्यलाई मुक्त गर्नु । भारतीय जीवनका दैनन्दिनीका बारेमा अर्का व्यङ्ग्यकार शरद जोशीको व्यङ्ग्यरचनाको भाषा पनि शौष्ठवपूणर् व्यङ्ग्यधर्मितामा आधारित थियो ।
नेपाली व्यङ्ग्य निबन्धको सन्दर्भमा पूर्ववर्ती लेखकहरूले बहुधा घरेलु परिस्थिति र किंचित साहित्यिक मित्रमण्डलीभित्र बन्दी तुल्याइरहेको नेपाली व्यङ्ग्यरचनालाई विमल निभाले बाहिर निकालेका छन् र आमजीवनलाई प्रत्यक्ष प्रभाव पार्ने देशीय राजनीति, त्यसका विभिन्न क्षेत्र र तहका एजेण्टहरूको चरित्रको धज्जी उडाएका छन् । उनको लक्ष्यमा सत्ता र विपक्षमा रहेका शीर्ष तहका नेतागण, भ्रष्ट व्यापारी, प्राध्यापक, पाखण्डी प्राज्ञहरू, नक्कली समाजसेवी, कवि, पत्रकार, सांसद सबै छन् (यिनले नै त यस मुलुकलाई चलाइरहेका छन् ।) । यसरी व्यङ्ग्य धरातलको परिवेश खुल्छ, चरित्रहरूमा व्यापकता आउँछ र नेपाली व्यङ्ग्यसाहित्यको क्षितिज पनि उम्रदै जान्छ । तथापि विमल निभाको यति व्यापक अवदानपछि पनि अन्य नेपाली व्यङ्ग्यकारहरूमा व्यङ्ग्यलेखनको जोखिम उठाएर पाठकलाई स्तरीय व्यङ्ग्यरचना दिने उदात्तता देखा परिसकेको छैन । यस अर्थमा भैरव अर्यालको उत्तरदायित्व उन्मुख व्यङ्ग्यधर्मिताको परम्परामा विमल निभाको रचनायात्रालाई लिनैपर्ने हुन्छ ।
व्यङ्ग्यरचना सहज रचनावृत्ति होइन । यसका आफ्नै प्रकारका जोखिमहरू हुन्छन् । सर्वप्रथम त व्यङ्ग्यमा लक्ष्यित संस्था वा व्यक्ति कति उदार, सहिष्णु र लोकतान्त्रिक छ, त्यसमा जोखिमको मात्रा निहित हुन्छ । असहिष्णु र अनुदार चरित्रको राज्यसत्ता वा संस्था छ भने व्यङ्ग्यकार त्यस्तो राज्यको कोपभाजनको शिकार बन्ने सम्भावना अधिक हुन्छ । व्यङ्ग्यको चरित्र नबुझ्ने लेखकहरूसमेत त्यतिबेला व्यङ्ग्यकारका विरुद्ध रहन्छन् ।
केही हास्यव्यङ्ग्यकार भनिने लेखकहरूमा न हास्यचेत हुन्छ, न व्यङ्ग्यचेत । तिनीहरू हास्य लेख्ता पाठकलाई रुने स्तरसम्म झारिरहेका हुन्छन्, व्यङ्ग्य लेख्ता पाठकलाई प्रत्यक्ष नितान्त निजी पीडाको स्तरमा पुयाइरहेका हुन्छन् । जस्तो अपरिपक्व अभिनेता अभिनेत्रीहरूले क्यारिकेचर गर्दा व्यक्ति वा समुदायको साझा संस्कृति वा भाषिक व्यवहार वा शारीरिक कमजोरीविशेषमा लक्ष्य गर्छन् फलतः त्यो एक अभद्र प्रयास मात्र रहन जान्छ । त्यस्तो अवस्थामा व्यङ्ग्यरचनाले रचनात्मक लक्ष्यलाई प्राप्त गर्नुको विपरीत एक प्रकारको कुरूप, ध्वंसात्मक र विग्रही सम्बन्धको विकास गर्दछ । अधिकांशमा देखिने यस्ता दोषहरूबाट निभाका रचना मुक्त छन् । उनी स्वयम् भोजपुरी भाषी बहुल तराइवासी भएको, बाल्यकालमा मारवाडी समुदायसँगको गहिरो सङ्गत रहेको र मातृभाषा नेवारी भए तापनि ४ दशकयता नेपाली भाषा र साहित्यमा साधनारत भएको हुनाले कहींकतै तिनका भाषिक प्रभावमा लेख्नु स्वाभाविक हो तर उनले कुनै भाषिक धार्मिक वा भौगोलिक सम्प्रदाय विशेषलाई लक्ष्य गरी व्यङ्ग्य गरेको पाइन्न । तर ती परिवेश र चरित्रका प्रवृत्तिमाथि भने उनको लक्ष्य रहने गरेको छ ।
विमल निभाका केही व्यङ्ग्य निबन्ध रचनाको परिवेश र चरित्रका बारे केही दृष्टान्तहरू दिनु यहाँनिर उपयुक्त हुन्छ । अधिकांश निबन्धहरू उनले आफ्ना स्तम्भहरूका लागि तयार गरेका हुन् । त्यसैले यिनमा समसामयिक विषयको उठान हुनु स्वाभाविक छ । तसर्थ, नेपालको राजनीतिले कोल्टे फेर्न थालेको २०३६ पछि नेपाली राष्ट्रिय समाजमा व्याप्त असङ्गतिहरू नै उनका निबन्धका प्रधान विषय हुन् । २०४३ सालमा छलफल साप्ताहिकको स्तम्भमा उनको व्यङ्ग्य ‘तस्कर ट्रकको रजत जयन्ती’ (जतिबेला पञ्चायती व्यवस्थाको रजत जयन्ती मनाइदै थियो) प्रकाशित भएपछि तत्कालीन सम्पादकले १ वर्षे जेलयात्रा गरेका थिए । जनआन्दोलनका समयमा उनीमाथि साङ्घातिक आक्रमणका प्रयास भए । नेतागण रुष्ट भए । चारण र भाटहरू कद भए । अशिक्षित, अर्द्धशिक्षित या अर्धविक्षिप्त समाजमा, राजनीतिक भ्रष्टीकरणको दबदबामा बाँचेको मुलुकमा एक व्यङ्ग्य रचनाकारको सफलता यसरी नाप्नु पर्छ ।
‘छेउको बधशाला’ मा भएका ५० थान रचना सयौं खालका विकृतिमाथि खनिएका छन् । भ्रष्ट मन्त्री र तिनका नातेदारका रवाफ, डुब्दो जीणर् मुलुक र नेतागणको चुलिँदो समृद्धि, तिनको आकासिँदो महत्वाकाङ्क्षा, सिद्धान्तच्यूतीकरण, व्यापारिक स्वार्थ, अपसंस्कृतिमा झर्दो पत्रकारिता, सरकार जाने हल्ला, विश्वविद्यालयको नियुक्ति, बहुराष्ट्रिय कम्पनीका चलखेल, छदम प्राज्ञिकता, सामाजिक दुराचार, यौनशोषण, सहरी अमानवीयता, भूकम्प पीडितमाथि राहतका नाममा हुने लुट, कालो धन्दा, लोडसेडिङको रहस्य, प्रहरी व्यवहार, हडताल इत्यादि ।
उनका व्यङ्ग्य निबन्धको अर्को प्रमुख विशेषता वार्ता र दृश्यका माध्यमबाट विसङ्गतिको उद्घाटन गर्नु हो, जसले रचनालाई विश्वसनीय बनाउँछ । शुरुको भन्न मिल्ने ‘देश विकास र हें हें हें’ देखि पछिल्लो समयका कतिपय निबन्धमा वार्ताशैली अवलम्बन गरिएको छ । यसले ती पात्रका भाषा र नियतसमेत स्पष्ट पाठकअघि राख्न निकै चाखलाग्दो भूमिका निर्वाह गरेको छ । शैलीगत संरचनाका दृष्टिले नाटकका रूपमा ‘एक यथार्थवादी नाटक’ फरक संरचनामा छ ।
कान्तिपुरको नियमित स्तम्भ सिउँडीमा उनको ‘म लक्ष्मीप्रसाद देवकोटा हूँ’ शीर्षकको निबन्धको स्मरण गर्छु म जसमा उनले नेपाली साहित्यमा पिएचडी गरेका एक महामनाको ज्ञानबारे औधी रोचक पाराले उल्लेख गरेका छन् । ती डाक्टर भन्छन्-‘कवि श्यामलको खण्डकाव्य पढ्नु भएको छ ? हामीजस्ता साहित्यका लेखक पाठकको सामान्य ज्ञानभित्र पर्ने करा के हो भने श्यामलले अहिलेसम्म कुनै खण्डकाव्य महाकाव्य चम्पुकाव्यको रचना गरेको छैन । तर साहित्यका पिएचडीको अध्ययनको स्तर के रहेछ र तिनबाट साहित्यले कस्तो अवदान पाउँदो रहेछ, अनि साहित्यजगतमा कसरी तिनको दादागिरी चल्दो रहेछ भन्ने कुरा पाठकले सहजै बुझ्न सक्छ ।
निभा आफू, आफ्ना निकटतम मित्रहरू, जसमा बाल सखाहहरू हरेराम बराल, दीनानाथ, पूणर्हरि अमात्य पर्छन् र साहित्यिक मित्रहरूमा श्यामल, राजव, नारायण ढकाल, पुरुषोत्तम सुवेदी पर्छन्, ध्रुवचन्द्र गौतम, शैलेन्द्र साकार, हरि अधिकारी आदि पनि प्रसङ्गवश देखा पर्छन्, लाई पनि व्यङ्ग्यका चरित्रका रूपमा प्रस्तुत गर्छन् । साधारण भट्टीदेखि पाँचतारे होटलसम्म घुम्ने यी पात्र र परिवेशबाट केही घटना र प्रसङ्गहरूमा पस्न विश्वसनीयता प्राप्त हुन्छ भन्ने मलाई लाग्छ ।
समग्रमा विमल निभा तीसको दशक यताका सर्वाधिक महत्वपूणर् व्यङ्ग्य निबन्धकार त हुँदै हुन्, सम्भवतः यस स्तरमा निरन्तर रचना गर्ने एकजना मात्र व्यङ्ग्यकार हुन् । कालान्तरमा उनका निबन्ध पढियो भने नेपालको पछिल्लो समयको इतिहासकारलाई काम लाग्ने कतिपय घटना र प्रसङ्गहरू पनि भेटिनेछन् । भैरव अर्यालको निधनपछि खडेरी परेको नेपाली व्यङ्ग्यको क्षेत्रमा उनी मात्र अहिले एक चम्किला नक्षत्र हुन् जसको छेउमा स्तर र निरन्तरताका दृष्टिले कोही आइपुगेको छैन ।
०००
भाद्र २४, २०६९, कलङ्की, काठमाडौं