साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महाकवि देवकोटाका कविताको वैचारिकी

देवकोटा हाम्रो नेपाली साहित्यको आकार निर्माणका विराट प्रतीक हुन् । यी घिमिरे वा रिमाल होइनन्, यी भूपी वा मोहन कोइराला होइनन् । देवकोटा जे हुन्, यी कोही पनि ती होइनन् । प्रतीकहरू भत्काउन सजिलो हुँदैन । सभ्यता प्रतीकहरूमा बाँच्छ ।

Nepal Telecom ad

श्यामल :

क. स्वीकारोक्तिः
यो पत्र कार्यपत्रको स्वीकृत ढाँचा वा चलनचल्तीको संरचनामा तयार गरिएको छैन । यसको उद्देश्य महाकवि लक्ष्मीप्रसाद देवकोटाको वैचारिक यात्रा कस्तो थियो भनी छलफल चलाउनु मात्र हो ।

ख. महाकविका बारेमा केही मिथ्या वा भ्रान्त धारणा
१. देवकोटा रोमाण्टिक हुन् :
देवकोटा वर्ड्स्वर्थ, कलरिज र शेलीजस्ता रोमाण्टिसिज्मका अगुवाका कृतिहरूको अध्ययन गरेका थिए र तिनबाट प्रभावित थिए । यसो भन्ने धेरै छन्। ‘लुसी ग्रे’ र ‘गाइन् उनले घँसिया गीत’ अथवा ‘चारु’लाई तुलना गरे थाहा भइहाल्छ । उनको प्रमिथस महाकाव्यको उति चर्चा हुन्न । उनी रोमाण्टिक कवि थिए, यो चाहिँ पक्का हो । । धेरै ठाउँमा लेखिएको पनि छ

२. देवकोटा कांग्रेस हुन् : वनारस प्रवासमा ‘युगवाणी’ को सम्पादन गर्दा देवकोटाजी अन्य कांग्रेसजन संगै थिए । अतः उनी कांग्रेस थिए । यसो भन्नेहरू पनि छन् । तर वीपी कोइरालाले राजावादी भनेका डा. केआइसिंहको मन्त्रीमण्डलमा शिक्षा तथा स्वायत्त शासनमन्त्री भए ।

३. देवकोटा पागल हुन् : सामान्य समाजले असाधारण चरित्रका प्रतिभालाई सामान्य देख्ने प्रयत्न गर्छ । यसैले लक्ष्मीप्रसाद र गोपालप्रसादलाई पागल भने । देवकोटाले ‘म मरेँ कि जिउँदै छु, चिमोटेर हेर्नुस् त व्यथितजी’ भने । आफ्ना कपडा अरुलाई दिए । यस्तो त लेखिएकै विषय हो ।

४. देवकोटा कम्युनिष्ट हुन् : ‘पहाडी पुकार’ हेर्ने हो भने उनी कम्युनिष्ट विचारधाराका कवि हुन् । अनि राजाको अनुमति नलिई उनी रुस गए । यसर्थ उनी कम्युिनष्ट हुन् भनी उनकै निकट मित्रहरूबाट तत्कालीन राजा तथा प्रज्ञा-प्रतिष्ठानका कुलपति महेन्द्रसमक्ष रिपोर्ट गरेका कारण देवकोटा दण्डित भए । यस्तो पनि लेखिएको पाइन्छ । पछिल्लो समय नेपाली विकिपिडियामा यस्तो लखेको देखिन्छ ।

५. देवकोटा ईश्वरवादी हुन्ः देवकोटाले ‘आखिर श्रीकृष्ण रहेछ एक’ लेखेका हुनाले उनी ईश्वरवादी हुन् । नेपालीजन माझ उनको भव्यतम प्रतीक भत्काउन यही एक बलियो हतियार खडा गरिएको छ र नेपाली भाषाको अपमान गर्नका लागि उनको छवि भत्काउनु जरुरी छ । अरु सबै कविताभन्दा यसैलाई बढी महत्व दिँदा नेपाली भाषामाथिको आक्रमण सहज बन्छ । नव साम्राज्यवादका लागि यो जरुरी विषय हो ।

३. यथार्थ
लक्ष्मीप्रसाद देवकोटा नेपाली समाजमा सम्भवतः सबैभन्दा बढी पढिएका कवि निबन्धकारमध्ये पर्छन् । भानुभक्तभन्दा बढी, लेखनाथभन्दा बढी, बालकृष्ण समभन्दा धेरै बढी । सरलतम भाषामा लेखिएको मुनामदनकै सर्वाधिक बढी संस्करण निस्केका छन् र साक्षर नेपालीका घर-घरमा यो सानो पुस्तक अवश्य छ । अलि बढी पढे लेखेका नेपालीका लागि र अझ आत्मपरक शैलीको निबन्ध लेख्न रुचाउनेका लागि उनको निबन्ध संग्रह गुरुग्रन्थ हो । देवकोटा स्वयंले स्वीकारेको पोथी गद्यको नमूना हो लक्ष्मी निबन्ध संग्रह जसका आधारमा हामीले उनको विचार पक्षको आकलन गर्न सक्छौं । यसका साथै उनका केही छन्दोबद्ध र केही गद्य शैलीका कविताका आधारमा पनि उनी कुन विचारका पक्षपाती थिए भनी हेर्न सकिन्छं ।

देवकोटाको महाकवित्व, लोकप्रियता वा उद्भट प्रतिभाको प्रखर तेजमा कोही कोही तिर्मिराएको देखिन्छ । तीमध्ये केही मित्रहरू उनलाई ‘ओभर-रेटेड’ देख्छन् । देवकोटाले नेपाली काव्य र निबन्ध विधालाई दिएको विषयगत विविधता, शैलीगत तीब्रता र भावनाको आवेगमयताका सामु उनका धेरै समकालीनहरूका रचना तुलनात्मक रुपमा ढिला (जस्तै समको नियमित आकस्मिकता ) लाग्ने हुनाले, मात्र पचास वर्षको क्रियाशील जीवनमा उनले कैयौं फुटकर कविता मात्र होइन, मुनामदन जस्तो नेपाली लोकभाका झ्याउरेमा रचित खण्डकाव्यदेखि तत्कालीन अंग्रेजवाजलाई पनि सन्तुष्ट पार्ने प्रमिथस महाकाव्य, तामाङ सेलोमा आधारित म्हेन्दुसम्म करीब ५ दर्जन पुस्तक दिएका छन् । छात्रछात्रा वा वयस्क अध्येताका निम्ति तिनले भित्र्याएका कथानक, भाषा शैली र प्रवृत्ति हेरेर हामी उनका वहुविध अभिरुचि तथा पूर्वीय र पाश्चात्य वाङमयमा उपलब्ध ज्ञानमाथिको अधिकार कहाँसम्म थियो भनी विचार गर्न सक्छौं ।

एकदमै कम समयमा स्वतःस्फूर्त ढंगले कविता वा निबन्ध रचना गर्न सक्ने क्षमता भएका ज्ञात कविहरूमध्ये देवकोटा प्रमुख हुन् । उनले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय जगतमा पुर्‍याउन स्वयं अनुवादकको काम गरे । अंग्रेजीमा शाकुन्तल जस्तो महाकाव्यलाई लेख्ने अहम् प्रयास गरे । र, तत्कालीन सोभियत उज्वेक गणतन्त्रको राजधानी तासकन्दमा भएको अफ्रो-एसियाली लेखक सम्मेलनमा नेपाली साहित्यको जुन अनुहार उनले विश्वसामु प्रस्तुत गरे, नेपाली भाषा साहित्य जगतले त्यसलाई कदापि बिर्सन सक्तैन । यस ऐतिहासिक सम्बोधनले देवकोटा नेपाली साहित्यको विकासमा नयाँ नयाँ प्रतिभाहरू देखा परेकोमा कति आशावादी थिए भन्ने त देखाउँछ नै, साथसाथै यसले विश्व साहित्यको र नेपाली साहित्यको प्राथमिकता के हो भन्नेतर्फ पनि नेपालको चासोलाई विशेष महत्वका साथ दिशानिर्देश गरेको छ । अफ्रो-एसियाली लेखक सम्मेलनको उद्देश्य साम्राज्यवादको विरोध गर्दै विभिन्न देशहरूका बीच साँस्कृतिक सम्बन्ध स्थापना गर्नु थियो । पहिलोपल्ट १९५८ मा यो सम्मेलन ताशकन्दमा भएको थियो । यस सम्मेलनमा ३६ देशका १ सय ४० जना विशिष्ट लेखकहरूको सहभागिता थियो । (Haddad Fonda, K (2017, August 02, Afro Asian Writers’ Conferences (1958-1979). BlackPast.org. https://www. blackpast.org/global-african-history/afro-asian-writers-conferences-1958-1979) । नेपालका महाकवि लक्ष्मीप्रसाद देवकोटाले नेपाली प्रमण्डलको नेतृत्व गर्दै महत्वपूर्ण सम्बोधन गरेका थिए ।

देवकोटा आरम्भमा रोमाण्टिसिज्मबाट औधि प्रभावित थिए भन्ने कुरामा कुनै द्विविधा छैन । यथार्थ जीवनबाट थोरै छेउ लागेर प्रकृतिमा रमाउनु यस प्रवृत्तिको एक मुख्य गुण हो । गाइन् तिनले घँसिया गीत, शरच्चन्द्र, सुन्दरीजल जस्ता कविताले उनला्ई रोमाण्टिक प्रवृतिका कवि नै प्रमाण्ति गर्छन् । तर त्यो धेरै समय टिक्दैन । विस्तारै उनका कवितामा व्यंग र आक्रोस देखा पर्छ । साँढे र पागल जस्ता कविताले उनलाई प्रचलित भाषामा आलोचनात्मक यथार्थवादी धारातिर प्रवृत गराउँछन् । र, ‘पहाडी पुकार’ मा आइपुग्दा त उनी प्रगतिवादी काव्यचेतबाट अनुप्राणित भइसक्छन् ।

विक्रम सम्बत २०१० सालको प्रगति पत्रिकामा (हिमालचुली, डा. बराल) छापिएको ‘पागल’ कविता उनको वैचारिक यात्राको दोस्रो सोपान हो । यो सही हो कि ‘पागल’ बाट आवेगलाई हटाइदिने हो भने त्यो रीस र प्रहार मात्र लाग्न सक्छ तर यसै सिर्जनात्मक आवेगले ‘पागल’ लाई उत्कृष्ट कविता बनाएको छ । यसै कवितामा देवकोटा भन्छन् -‘तिमी बलिया गद्य छौ, म तरल पद्य छु ।’ उनको गद्यलाई पोथी गद्य देख्ने समजीलाई यो लक्ष्यित होइन भने पनि, जसलाई यो लक्ष्यित गरिएको छ त्यो व्यक्ति वा वर्ग उपल्लै हो, भाले गद्यको प्रयोगकर्ता हो, अथवा शासकीय क्रूरता र कानुनी कठोरताको बिम्ब हो । यसपछि देवकोटा प्रगतिवादतिर उन्मुख हुन्छन् ।

महाकवि देवकोटा रोमाण्टिक भावधारा हुँदै प्रगतिवादतर्फ लम्केका कवि हुन् । शेली, वर्डसवर्थ, वाइरनका नेपाली संस्करण ठानिएका देवकोटालाई ‘आखिर श्रीकृष्ण रहेछ एक’ लेखेकै आधारमा उनलाई अध्यात्मवादी देख्न खोज्नु एक प्रकारको अतिवाद प्रतीत हुन्छ । उनको पछिल्लो अवतार हेर्दा उनलाई ईश्वरवादी वा अध्यात्मवादी भन्न मिल्दैन यद्यपि उनले जीवनको अन्त्यमा पश्चातापबोध गरेको हुन सक्छ । तर देवकोटाका सम्पूणर् कृतिको सार हो, उनी प्रखर मानवतावादी थिए । केही कविता र ताशकन्द भाषणबाट उनको मानवतावादको लक्ष्य क्रान्तिकारी मानवतावाद थियो भन्ने पर्याप्त आधारहरू छन् र अझ उनले साहित्यको पूणर्ता साम्राज्यवादबाट दुनियाँको मुक्ति र स्वाधीनतामा प्राप्त हुन्छ भन्ने स्वीकार गरेको देखिन्छ । तर उनको प्रगतिवाद आजका प्रगतिशील भनिनेहरूले देखेझैं रुढ देखिदैन ।

यहाँ उनका रचनाका वैचारिक पक्ष उधिन्ने प्रयास गरौं । १९९० को दशकमा उनले शारदामा भिखारी, यात्री, सुन्दरीजल छापे । ‘यात्री’ एक मात्र कविताले पनि उनी क्रान्तिकारी मानवतावादका पोषक रहेको बताउँछ । यो कविता १९९८ जेठको शारदामा छापिएको थियो (ईश्वर बराल, हिमालचुली) यसमा उनले मन्दिर धाइरहेका भक्तजनलाई ईश्वर मन्दिरमा नभेटिने तर पीडित मानवताको सेवामा भेटिने सन्देश दिएका छन् । विक्रम सम्बत् १९९१ मा गरीब कविता लेखेर अभावमा पनि धनधान्यले समृद्ध वैभवशाली मानिसका तुलनामा सन्तुष्टि लिने गरीबको मनोदशाको चित्रण गर्ने उनको वैचारिक यात्राको यो दोस्रो सोपान थियो ।

२००१ जेठको ‘उदय’मा ‘गाइन’े बाट उनी गन्धर्व जीवनको गान गाउँछन्, २००३ को फागुन-चैतको शारदामा ‘साँढे’ छापेर मैमत्त शक्ति र सत्तामाथि यसरी प्रहार गर्छन्ः
हेर ठिटा हो, सुन, जंगलको कानुन
जसले हाँक्यो, उसको पाक्यो कातरको हक थाक्यो,
नलडी हुन्न कोही विजेता !

भन्न त यसै कविताका केही पंक्तिलाई लिएर उनलाई चार्वाक्वादी भन्न नसकिने होइन । जस्तै :
काल भनेको प्रकृतिमा एउटा कौवा हो, जीवन हरियो घाँस ।
भोको बस्नु पाप
धर्म भनेको पृथ्वीको भोग, स्वर्ग भनेको उग्राई ।

तर यस आधारमा उनलाई चार्वाक्वादी भन्न मिल्दैन । यहाँ मैमत्त साँढेको चरित्र र सोचको चित्रण गरिएको हो, र जंगली कानुन लागु गर्ने साँढेको फुँ फुँ र हुंकारलाई व्यक्त गरिएको हो । देवकोटालाई टुक्राटाक्रीमा हेरेर धारणा बनाउनु उपयुक्त हुन्न, बरु समग्रमा उनका कविता प्रकाशनको समयक्रमका आधारमा उनको विकासक्रमलाई हेर्नु उपयुक्त हुन्छ ।

२००४ माघको ‘युगवाणी’ मा ‘स्वदेशी मानवता’ मार्फत् अन्तिम पंक्तिमा क्रान्तिका लागि शक्तिको आव्हान गर्दै उनी भन्छन् :
ए आत्मा, ए आत्मा, ए आत्मा, अमर दिव्य विजुली
देखा उग्र मान्छे, देखा भीम हावामा, जहाँ आँधी चल्ला चली !

‘यात्री’ छापिनुभन्दा करीब ७ वर्षअघि १९९१ मा शारदामा उनको गरीबको आत्मश्लाघा भने हुने खालको ‘गरीब’ शीर्षक कविता छापिएको थियो । यसमा अभावका बीच गरीबले प्राप्त गर्ने सुखको वयान गरिएको छ । जेसुकै भए पनि उनी गरीब, दुखीहरूप्रति सहानुभूति राख्थे भन्न सकिन्छ यस कविताबाट । यस आधारमा मात्र हेरेर उनलाई गरीबीको महिमामण्डन गरेको अर्थ लगाउन सकिन्छ र ?

पहिले पहिले प्रकृतिको गायनमा रमाउने देवकोटाले जीवनको अन्त्यतिर प्रगतिशील व्यंगचेतले परिपूणर् कविता लेखेको देखिन्छ । सुलोचना र नेपाली शाकुन्तल महाकाव्यहरूका आधारमा मात्र देवकोटाको वैचारिकता बुझिन्न । त्यहाँ स्वर्गबाट आगो चोर्ने प्रमिथस पनि छ र कुन्जिनी र म्हेन्दु पनि छन् । अर्कोतिर साँढे जस्तो उग्र व्यंगकविता पनि छ, पागल जस्तो तीब्र आवेगको कविता पनि छ, र उद्बोधनजस्तो नेपाली चरित्रमाथि कडा व्यंगविनोदयुक्त कविता पनि छ । यसैताक उनी सोभियत संघको ताजिकिस्तान लेखक सम्मेलनमा आफ्नो विचार पक्ष स्पष्ट राख्छन् । यस सम्बोधनबाट उनी प्रगतिवादी विश्व दृष्टिकोणका कवि भएको पुष्टि हुन्छ । नेपाली कवितामा देवकाटाको वैचारिकी के थियो भन्नलाई त्यही भाषण पर्याप्त छ ।

नेपालीमा बाल कवितालाई अहं स्थान दिनमा पनि आफ्ना समकालीनहरूमा देवकोटाजति प्रगतिचेता अर्को कवि देखिन्न । ‘पुतली’ र ‘सुनको विहान’ यसको प्रमाण हो । उनले आफ्ना कविताकृतिलाई परिमार्जन गर्ने झन्झट माने, सायद परिमार्जनमा लागिरहनुभन्दा नयाँ सिर्जना गर्नु उनलाई उपयुक्त लाग्यो होला । तर यस प्रवृत्तिले उनका रचनाको गुणवत्तालाई अझ बढाउन नदिए पनि उनको गरिमा घटाइहालेको भने छैन । यति छोटो जीवन अवधिमा पनि प्रत्येक विधामा, प्रत्येक लक्ष्यित पाठक वर्गमा नेपाली साहित्यलाई पुर्‍याउन देवकोटाले जति प्रयास गरे, अर्को त्यस्तो महारथी अहिलेसम्म देखिएको पाइन्न ।

४. निस्कर्ष
अतः देवकोटाको पुनर्मूल्याङकन गर्दा उनको समग्र योगदानमाथि न्याय गर्नुपर्छ, परिमार्जन नगरेकै आधारमा उनका काव्यकृतिहरूको, क्रमशः विकसित हुँदै गएको वैचारिकीको र उनको पक्षधरताको अवमूल्यन गर्ने प्रयास हुनुहुँदैन । आलोचनात्मक दृष्टिकोण राख्न्नु भनेको उनको प्रतीक मेटाइदिनु होइन । समाज, राष्ट्र अथवा देश प्रतीकहरूको समष्टि हो । प्रतीक विना यी चल्दैनन् । देवकोटा हाम्रो नेपाली साहित्यको आकार निर्माणका विराट प्रतीक हुन् । यी घिमिरे वा रिमाल होइनन्, यी भूपी वा मोहन कोइराला होइनन् । देवकोटा जे हुन्, यी कोही पनि ती होइनन् । प्रतीकहरू भत्काउन सजिलो हुँदैन । सभ्यता प्रतीकहरूमा बाँच्छ ।
धन्यवाद,

०००
२०८० को लक्ष्मी जयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा देवकोटा संग्रहालयमा आयोजित विशेष समारोहमा प्रस्तुत कार्यपत्र ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दुष्ट गाथा

दुष्ट गाथा

श्यामल अधिकारी
0
Would love your thoughts, please comment.x
()
x