प्रा. कपिल अज्ञातपोतेमा व्यङ्ग्य खोज्दै शेषराज
व्यङ्ग्यमार्फत मुलुकको विसङ्गतिप्रति असहमति जनाउँदै आदर्शमूलक समाजको परिकल्पना गर्नु उनको मुख्य विशेषता हो । समाज परिवर्तन र प्रवृत्ति परिवर्तनको शंखघोष गर्नु उनका निबन्धका विशेषता हुन् ।

नौ सय जन्तीका साथ आफैले नौमति बाजा बजाएर नौ लाखका गहना किनेर, नौ डाँडा कटाएर, नौ थरी क्रिम पाउडरका साथ झकिझकाउ पारेर रातारात भित्र्याएकी साथीले नौ महिना नहुँदै आइन्दा नौ घण्टा पनि साथ दिन नसक्ने भनेर खुट्टा लुलो पार्न थालिन् । ल अब भन्नुहोस्, अब कसको साथ खोज्नुहुन्छ ?
‘तावाबाट उफ्रिएको माछो भुंग्रोमा व्यङ्ग्यवेद-४’ मा समावेश गरिएको ‘साथी कति जाति’ शीर्षकको यो हास्यव्यङ्ग्य निबन्धमा तामझामका साथ बिहे गरी घर भित्र्याइएकी नवदुलहीले गरेको घातप्रति व्यङ्ग्य गरिएको छ । पछिल्लो समय नेपाली समाजमा भइरहेकामध्ये यो ज्वलन्त उदाहरण पनि हो । निबन्धमा उनले अप्ठेरो परिस्थितिमा साथ दिने नै असल र आत्मीय साथी हुन्छ भन्ने भावार्थ प्रस्तुत गरेका छन् ।
पोखराको मध्यभागमा छ महेन्द्रपुल बजार । त्यही महेन्द्रपुलमा करिब करिब सत्ताइस वर्षदेखि सञ्चालनमा आएको बुद्ध विशाल बजार छ । बजारको पूर्वतिर मुख्यद्वारको दायाँ साइडको छैटौं सटरमा एक सानो पोते पसल छ । झण्डै बत्तिस वर्षदेखि सञ्चालनमा आएको त्यही पोते पसलमा कहिले सेन्टिमेन्टल त कहिले रोमान्टिक गीत सुन्दै मसिनो रंगीन धागोमा रंगीनै पोते उनिरहेको अवस्थामा भेटिन्छन् एकाउन्न वर्षीय पोते साहुजी व्यङ्ग्यलेखक शेषराज भट्टराई । खोटाङको विकट गाविस सुङ्देलमा जन्मिएर पोखरालाई कर्मथलो बनाएका उनी अत्यन्तै व्यस्त व्यवसाय पोतेकै बीच साहित्य साधनामा तल्लिन छन् ।
‘प्रायः पसलमा म एक्लै हुन्छु गीत सुन्दै पोते उन्छु । जीवनका आरोह अवरोह सम्झिन्छु । अरूले दिएका घात-प्रतिघात सम्झिन्छु । कहिले भावुक हुन्छु कहिले रोमान्टिक हुन्छु र घर फर्केपछि खाना खाइवरि सबै सुतेपछि म लेख्न बस्छु ।’ रातको समयमा लेख्न रुचाउने उनले सुरूका दिनमा स्थानीय र राष्ट्रिय पत्रपत्रिकामा चुपचाप हास्यव्यङ्ग्य छपाए । पछि तिनैलाई किताबको रूप दिए । हालै उनले पाँचौ कृति ‘धर्मको धोक्रो’ बजारमा ल्याएका छन् ।
पसल र आवासको दूरीको बाटो जम्मा बाह मिनेटको छ । बिहानीको खाना खाएर आरामले पसलतर्फ आउँछन् । म आरामले ढल्कि ढल्किदै आइरहेको हुन्छु । भावुक छन्, तर ठट्यौली पारामा बोल्छन्, ग्राहकहरू खाउँलाझैँ पर्लक्क घुरेर हेर्छन्, म मुसुक्क मुस्कुराइदिन्छु उनीहरू कुल हुन्छन् । र, फटाफट चुरापोते अडर गर्छन् । र खनखन पैसा तिरेर फर्कन्छन् ।
पसलमा नानाथरीका ग्राहक आउने र कतिपयको व्यवहारका कारण उनीहरूकै विषय बनाई लेख लेख्न प्रोत्साहन मिल्ने उनको अनुभव छ । ग्राहकवर्गको सन्तुष्टिलाई नै आफ्नो सन्तोष मान्ने लेखक भट्टराईलाई व्यवसायी बन्छु भन्ने लागेको थिएन । तर, जीवनको कुनै मोडमा लेखक बन्छु भन्ने लागेको सम्झिन्छन् । व्यवसायी त होइन, लेखक बन्छु भन्न मन लागेको थियो । तर अहिले दुवै भएको छु दुवैतिर सन्तोष छु । खुसी पनि ।
दुई दशक लामो व्यापारिक अनुभवले खारिएका उनी अनुहार हेरेर ग्राहक चिन्छन् ग्राहकको लवज अन्दाज गरेरै व्यापार गर्छन् । उनी भन्छन्, ‘यिनै पोतेले नै खानबस्न, बालबच्चा र श्रीमतीको रहर र चाहना किन्न सकेको छु । किताब लेख्न र छपाउन सकेको छु र कहिलेकाही हवाईजहाज चढ्ने रहर पनि पूरा गर्ने गरेको छु र त म यी पोतेका दानाहरूलाई माया गर्छु र यिनीहरू पनि मलाई ।’
कहिलेकाहीँ आक्कल झुक्कल म जाँदा उनी दुःख, पीडा र चोटका गुनासा मात्र होइन, अनौठो तर रमाइला किस्सा पनि सुनाउन भ्याउँछन् ।
‘मान्छेले मलाई मान्छे नै गन्दैनन् ।’ मान्छेले उनलाई मान्छे नगनेकोमा उनी कुनै व्यङ्ग्य नगरी सिधै मुस्कुराउँछन् । ‘म यहीं खुरुखुरु पोते उनिरहेको हुन्छु मान्छेहरू मलाई देख्दैनन् । र सोध्छन् ‘यहाँ मान्छे छैन कि क्याहो ?’ म हाँसिदिन्छु र भन्छु ‘म यहीं छु त ।’ उनीहरू ए तपाई हो ? भन्दै मान्छे चिन्ने प्रयास गर्छन् । उनीे मुस्कुराउँदै भन्छन् । अचम्म लाग्छ, मान्छेहरू मलाई मान्छे नै गन्दैनन् । तर खास खोजेका चाहिँ साहुनीलाई अर्थात् महिलाले मात्रै पोते उन्छन् भन्ने मान्यता । ग्राहकले मान्छे अर्थात साहुजी नचिनेको प्रति उनको कुनै गुनासो छैन । एकछिन हाहाहा गरी हाँसिदिन्छन् र टारिदिछन् । तर, भनाउँदा साहित्यकारले उनलाई नचिनेको प्रति भने उनको गुनासो छ । ‘जसले मलाई लेख्ने हौसला थपिदिन्छन् लेख्ने झन ऊर्जा मिल्छ, जाँगर चल्छ ।
भैरव प्रतिभा पुरस्कार प्राप्त गरेका उनी कुनै सभा समारोहमा जाँदैनन् । साहित्यिक गोष्ठी सेमिनार धाउँदैनन् । बाहिर चिनिन चाहँदैनन् । कसैको नजरमा पनि साहित्यकार भनेर चिनिन नचाहने उनी कर्ममा विश्वास राख्छन् । कर्म गर्नुपर्छ । कर्मको फल पाइन्छ ।
स्कुले जीवनदेखि नै साहित्य लेखनमा लागेका उनले पचासको दशकदेखि विभिन्न पत्रपत्रिकामा लेख रचना छपाउँदा छपाउँदै पहिलो कृतिका रूपमा ‘ऋषिमुनिका सन्तान सिसीमुनि’ व्यङ्ग्यवेद- १ (२०५९) प्रकाशित गरे । त्यसपछि ‘जातले पकाएको भात हास्यव्यङ्ग्य सङ्ग्रह (२०६७), ‘कहिले सासूको पालो कहिले बुहारीको पालो’ व्यङ्ग्यवेद- ३ ( २०६९), ‘तावाबाट उफ्रिएको माछो भुंग्रोमा व्यङ्ग्यवेद- ४ (२०७१) र ‘धर्मको धोक्रो’ व्यङ्ग्यवेद- ५ (२०७४) गरी पाँच कृति बजारमा ल्याए ।
व्यङ्ग्यमार्फत मुलुकको विसङ्गतिप्रति असहमति जनाउँदै आदर्शमूलक समाजको परिकल्पना गर्नु उनको मुख्य विशेषता हो । समाज परिवर्तन र प्रवृत्ति परिवर्तनको शंखघोष गर्नु उनका निबन्धका विशेषता हुन् ।
विभिन्न उखान, टुक्काको प्रयोग गर्दै देशप्रेम, माटोप्रेम, समाजप्रेम र संस्कृति र संस्कारलाई अँगाल्दै समाजमा भइरहेका विकृति, विसङ्गति, भ्रष्टाचार, व्यभिचार, ढिलासुस्तीप्रति व्यङ्ग्य गर्न उनी खप्पिस छन् ।
नेपाली हास्यव्यङ्ग्यविधाका पाँच कृति बजारमा ल्याइसकेका भट्टराईको हास्यव्यङ्ग्य लेखन बेजोड छ । उनले निबन्धमा हास्यकला, शब्दकला, वाक्यकला, उखानटुक्का कलामा विशेष ध्यान दिएका छन् । उनका कृति पढिसकेपछि पाठकलाई सम्झी सम्झी हाँस्ने बनाएका छन् । त्यसइतर उनका व्यङ्ग्यात्मक निबन्धले घोरिन भावुक भई समाजका विभिन्न पाटाका विकृति, विसङ्गति विरुद्ध सोच्न बाध्य बनाउँछन् । निबन्धभित्र विभिन्न उखान टुक्का प्रयोग गरी पठनयोग्य बनाउनु उनको लेखनको कला हो । सामाजिक, आर्थिक र राजनीतिक जीवनका समसामयिक विषयलाई केन्द्रविन्दु बनाएर उनले कलम चलाएका छन् ।
त्यसइतर सामाजिक चेतना, सन्देश र नैतिक शिक्षा दिनु उनको मूलभूत पक्ष हो समाज, संस्कृति र मानवीय विकृत प्रवृत्तिको चिरफार गर्दै समतामूलक एवं आदर्शमूलक समाजको परिकल्पना गर्नु उनको निबन्धगत वैशिष्ट्य हो । छोटा छोटा बान्कीमा विशिष्टकला घुसाउँदै व्यङ्ग्य कस्नु उनको जाँगर हो खुबी हो र, उत्साह हो ।
बास्तवमा नेपाल पो दुर्गन्धमय छ त यहाँका नेता, सांसद सुगन्धमय नै छन् अनि नेपाल पो गरिब छ त नेपाली कहाँ गरिब छन् र ? विगत केही वर्षयताको नेपाली राजनीति र त्यसले समाजका विभिन्न क्षेत्रमा पारेको नराम्रो छापलाई उनले तिखो व्यङ्ग्य गरेका छन्- नेपाल पो गरिब छ नेपाली त कहाँ गरिब छन् र ?
‘दुई स्वास्नीको पोइ कुना पसी रोई’, ‘मलामी’, ‘ऐना‘, ‘खाममित्र दाम’, ‘पर- जा तन्त्रमा हवीप’, ‘खोपडीको घनत्व’, ‘स्वादे जिब्रो अल्छे तिग्रो’, ‘सहरको सहभोज’, ‘खुल्ला दिसामुक्त क्षेत्र’, ‘गोहीको आँसु बगाएर गोजी भर्नेहरू’, ‘चोकमा सबैथोक’, ‘खटाएको मानु कति खानु’, ‘कहिले सासूको पालो कहिले बुहारीको पालो’, ‘आइमाई आगो काल र समुन्द्र’, ‘जातले पकाएको भात’, ‘सति जाने पति’, ‘ससुरालीको सिधा सबैलाई बिदा’, ‘न्यायका नोकरहरू’, ‘उपियाँ र रूपियाँ’, ‘छोराछोरी बराबरी’, ‘सुत्ने बेलामा रिन खान बेलामा घिन’, ‘पोहोर मरिन् सासू अहिले आयो आँसु’, ‘साथी कति जाति’ ‘जहाजको यात्रा’, ‘हाँसोको चासो’, ‘बोटमा भोट बडाबडा ओठ’, ‘भुईंचालो र स्वास्नीसँगको संगत’, ‘नमस्कारको लत’, ‘हेलाको फेला’, ‘इच्छापत्रको इतिहास’, ‘डाक्टरको डर’ ‘मोदी महात्म्य’, ‘मुसा व्यापार’ लगायतका हास्यव्यङ्ग्य निबन्ध बेजोड छन् ।
सिस्नोपानी नेपालका हास्यकलाकार लक्ष्मण गाम्नागेले उनको बारेमा भनेका छन्, ‘हाँसो हराएको वर्तमान समयमा हाँसो र व्यङ्ग्यको बेजोड सन्तुलनद्वारा पाठकलाई काउकुती लगाउन खप्पिस छन् शेषराज भट्टराई ।’
०००
‘हास्यव्यङ्ग्य निबन्ध कस्तो हुनुपर्छ ?’ (२०७९)
Subscribe
Login
0 Comments
Oldest



































