केशवराज आमोदीमुखालेका कवितामा व्यङ्ग्यात्मकता
‘चित्त दुखेको ओखती’ कविता सङ्ग्रहका सर्जक कवि मुखाले रेग्मीले यस कृतिभित्र तीन किसिमका कविताहरूको संयोजन गरेका छन्- फुटकर, मुक्तक र गजल । यिनै तीन खाले संरचनामा निबद्ध कविताबाट चित्त दुखेको ओखती भरिएको छ ।

डा. कृष्णप्रसाद दाहाल :
भावनाको कसिलो र लयात्मक अभिव्यक्तिका रूपमा कवितालाई लिने गरिन्छ । सूत्रात्मकतामा व्यापकता हुनु नै कविताको सर्वोच्च उपलब्धि हो । अभिधा, लक्षणा र व्यञ्जनामध्येमा कविता धेरैजसो व्यञ्जनामा नै रमाउन मन पराउँछ । पाठकको चाहना पनि कवितामा व्यञ्जनाको आस्वाद आओस् भन्ने रहेको हुन्छ । नेपाली कवितामा विशिष्ट हस्ताक्षरका रूपमा कहलिएका कविहरूका कवितामा हामी व्यङ्ग्यात्मकताको व्यापकता पाउने गर्दछौ । व्यङ्ग्यात्मक कविहरूको यसै श्रृङ्खलामा जोडिन आइपुगेका छन्- कवि मुखाले रेग्मी ।
कवि मुखाले रेग्मीको ‘चित्त दुखेको ओखती’ चालीस ओटा कविताहरूको सङ्ग्रह हो । नराम्रो किसिमले मुख लाग्नेहरूलाई हाम्रो समाजमा ‘मुखाले’ भनिन्छ । मर्यादाशून्य भएका, अभिव्यक्तिमा सकारात्मकपन नहुने, तुच्छ र छुद्रभावको आयोजनमा रमाउनेहरू नै मुखालेका रूपमा कहलिने गर्दछन् । तर कवि मुखाले रेग्मी भने समाजका विकृति र विसङ्गतिको पर्दाफास गरेर गतिशील समाजको निर्माणका लागि कवितामार्फत आफूलाई क्रियाशील गराउँछन् । उनको मुखाले छदम नाममा व्यङ्ग्यात्मकताको महक आउँछ । त्यसैले कवितामा पनि व्यङ्ग्यात्मक भावको आयोजना गर्न मन पराउँछन् ।
व्यङ्ग्यात्मक मिठासद्वारा कविताको आयोजना गर्नु मुखालेको विशेषता हो । दशवर्षे माओवादी सशस्त्र विद्रोह र त्यसपछिको राजनीतिक विसङ्गतिप्रति कविले ‘पुतलीको कथा’ कविताका माध्यमबाट यसरी व्यङ्ग्यको झटारो चलाएका छन्-
रातो राहदानी बेच्यो
गोरखधन्दा गरेरै
गलगिद्ध खायो
नाक र चिउँडाको चाकाचुली खेलाएर
पाँच पुस्ता पुग्ने गरी कुम्ल्यायो
मसल र मनीको खोलो बगाएर
पुतलीको जुनी लियो
र,
सिंहदरबारमा सर्कस देखायो ।
यसरी यस कविताले राजनीतिक विकृतिको चित्रणका साथसाथै माओवादीको ज्यादतीपूर्ण राजनीतिको भण्डाफोर गर्ने कामसमेत गरेको छ । यसैगरी मुखमा राम-राम बगलीमा छुरा चलाउनेहरूको बिगबिगी बढिरहेको यथार्थलाई कविले ‘हुटिट्याउँको सबाइ’ कवितामा व्यङ्ग्य गरेका छन्-
मेरा कुप्रा बाजेसँग कुवा किनेको
कीर्ते कागज देखाएर
दङ्ग्याई-दङ्ग्याई
मलाई पानीको जार बेच्छ
तैपनि म चुपचाप छु ।
खास गरेर भारतले हामीलाई ललिपप देखाउँदै हाम्रो अस्मितामाथि खेलबाड गर्ने गरेको यथाचंप्रति यहाँ कविले चोटिलो व्यङ्ग्य पस्किएका छन् ।
मुक्तकीय शैलीमा लेखिएको कविता ‘प्रणय : दुई तरङ्ग’ हो । कविले यहाँ श्रृङ्गारिक भावविन्यास गरेका छन् । ‘प्रणय : दुई तरङ्ग’ मा उनी यसो भन्छन-
तिम्रो हेराइ अख्तियारझैँ लाग्छ
कतै यो तन्नेरी मनमा छापा मार्ने पो हौ कि !
तिम्रो हाँसो कुकर बमझैँ लाग्छ
कतै, कुबेलामा पड्किदिने पो हौ कि !
सस्तो मायाप्रीतिप्रति यहाँ व्यङ्ग्य गरिएको छ । ठालु भनाउँदाको शोषणबाट हाम्रो समाज आक्रान्त छ । त्यसैले समाजका सज्जन, भलादमीहरू किंकर्तव्यविमूढ भइरहेको वास्तविकतालाई समेटेर कवि ‘अलच्छिन’ कवितामा सामाजिक व्यङ्ग्य यसरी प्रस्तुत गर्दछन्-
असारे खेत असरल्लै छाडेर
हली, बाउसे र रोपारेको आँखा छलेर
सुकिला पोसाकमा ठाँटिएर गोरुहरू
‘असारको पन्ध्र’ विषयक प्रवचन कार्यक्रममा
घोक्रो-फुलाई फुलाई छाँटिरहेछन् भाषण ।
आज समाजमा अन्याय, अत्याचार, भ्रष्टाचार र बलात्कारका घटना एकपछि अर्को बढिरहेका छन् । न्यायका पक्षपातीहरू अन्यायको तराजुबाट आहत भइरहेका छन् । यसैलाई संयोजन गरेर कवि मुखाले ‘न्याय’ कविताको निर्माण गर्दछन् । पीत पत्रकारितामाथि व्यङ्ग्य हानेर लेखिएको कबिता ‘नलेखिएको कविता’ हो ।
दुई बुँदे ऐतिहासिक सम्झौता भयो
सम्पादक-पुत्री कविजीले जिम्मा लिए
ज्वाइँ-कविका कविता छाप्ने
सम्पादकजीले ठेक्कै लिए ।
‘घाम बिग्रिएछ’ गजल हो । यस गजलमा सत्यको बाटोबाट सबै कुराले नकारात्मकताको बाटो समाउने गरेकोमा कविले व्यङ्ग्यको घुँयत्रो हिर्काएका छन् ।
धेरैले मानेको राम बिग्रिएछ
धेरैले जानेको नाम बिग्रिएछ ।
राजनीतिक व्यङ्ग्यमा आधारित अर्को कविता ‘जुँघा’ पनि हो-
धरोधर्म ।
जुँघा जुधे भने कसैले कसैलाई गन्दैन
अरु कुरा गोली मार्दिनुस्
एक, दुई, तीन… सविधान बन्दैन ।
नेताका कारणले जताततै विकृति र भाँडभैलो भएको कुरा यहाँ देखाइएको छ । ‘राजनीति : तीन प्रकरण’ पनि तीव्र व्यङ्ग्यले भरिएको कविता हो । त्यसको एउटा अंश यस्तो छ-
दरिद्र घरको दोलाइँजस्तो
टाउको छोप्यो, खुट्टा नाङ्गै
बुट्टा छोप्यो, टाउको ह्वाङ्गै
कुकुरको पुच्छर जस्तो-
बाह्र वर्ष ढुङ्गामा हाले पनि
बाङ्गाको बाङ्गै ।
देशको राजनीति नसुध्रिएकोमा कविले व्यङ्ग्यात्मक किसिमले गुनासो व्यक्त गरेका छन् । नेताहरूको भ्रष्टाचारी प्रवृत्तिको उछित्तो काढ्ने काम ‘हरिशरणम्’ कवितामा गरिएको छ –
भक्कानो फुटेका भक्तहरूसँग पनि
भेटी खोज्छन्
नसा सुकेका अशक्तहरूसँग पनि
नैवेद्य सोध्छन् ।
मुक्तकीय संरचनामा आधारित कविता ‘केही मट्याङ्ग्राहरू’ हो । ‘नागरिक समाज’, ‘नागरिकता’ र ‘सायद’ गरी तीनओटा शीर्षकका मुक्तक शीर्षक यसभित्र समावेश गरिएको छ । घुमिफिरी कबिले यहाँ पनि राजनीतिक व्यङ्ग्य हानेका छन्-
जसले पनि
जहिले पनि
खुलेआम लिन पाउने
सदुपयोग कम, दुरुपयोग बढी हुने
राष्ट्रियताको लोगो अङ्कित
सर्वसुलभ कण्डम ।
राजनीतिलाई कण्डमका रूपमा चित्रण गरेर कविले राजनीतिप्रति तीतो असन्तोष जाहेर गरेका छन् ।
यस सङ्ग्रहभित्रका कवितामा कवि मुखालेले राजनीतिप्रति चरम वितृष्णा देखाएका छन् । जनताको भावनाअनुसार काम गर्न नसकेका हुनाले राजनेताहरूलाई शब्दका वाण हान्न उनी कतै पछि परेका छैनन् । आज नेताकै कारणबाट सार्वभौम सत्ता सम्पन्न देशका नागरिकको अस्तित्त्व सङ्कटमा परिरहेको छ । त्यसैले अभिधापरक ढङ्गले ‘म हराएको छु’ कवितामा कवि आफ्नो अभिव्यक्ति यसरी प्रस्तुत गर्दछन्-
हे नेताजी !
ए मन्त्रीजी !
अरु हराएको छैन
तपाईंहरूकै समर्थन र ताली हराएको हो
तपाईंहरूकै आस्था र विश्वास हराएको हो
नशामा हुनुहुन्छ भने होसमा आउनुहोस्
सपना देख्दै हुनुहुन्छ भने विपनालाई हेर्नोस् ।
मानवीय मनलाई दार्शनिक कोणबाट व्याख्या गरी लेखिएको कविता ‘मन’ हो । मनको व्यापकता कहाँसम्म छ भन्नेबारे अहिलेसम्म पूर्व-पश्चिम कतैका दार्शनिकहरूले पनि अन्तिम निष्कर्ष निकाल्न सकेका छैनन् । ‘ब्रह्म सत्यं जगन्मिथ्या’ भन्ने योगवाशिष्ठको मूलमन्त्रलाई लिएर ठूला-ठूला दर्शनका ठेली बनिसकेका छन् तर पनि ब्रह्म (मन) का सम्बन्धमा अझै पनि लेख्ने काम भइरहेको छ । यही मनको महत्तालाई लिएर कवि मुखालेले कवितामा आफ्नी दृष्टिकोण यसरी प्रस्तुत गरेका छन् –
मन
मधुवन हो
तपोवन हो
र, मसान पनि हो ।
उनी कवितामा व्यङ्ग्यको संयोजन यसरी गर्दछन्-
भकुण्डो खेल्न
कोकामै बम राख्द्या होला
टायम पास गर्दै गर्नु
बाबाहरू सपना मार्न गएका छन्
काका, मामा र दादा-दिदीहरू
प्रजातन्त्रको कोठेबारीमा
हिटलर फलाउँदैछन् ।
राजनीतिले शान्तिको बाटो छाडेर क्रान्तिको बाटोमा हिँडेकोमा कविलाई अलिकति पनि चित्त बुझेको छैन । आम नेपालीहरूको भावनाको प्रतिनिधित्व गर्दै ‘जनता’ कवितामा उनको व्यङ्ग्य यसरी छचल्किन्छ –
आइपरेको बेला हनबेर्नो हो जनता
जाइलाग्ने बेला हतियार हो जनता
चुनावअघि जनार्दन हो जनता
चुनावपछि रद्दीको टोकरी हो जनता ।
कवि मुखाले फुटकर कवितामा मात्रै होइन, मुक्तकमा पनि निकै नै सिद्धहस्त देखिएका छन् । ‘जनता’ मुक्तकीय संरचनामा तयार पारिएको कविता हो । ‘राजधानीको चिठी’ शीर्षकको कवितामा राजधानी काठमाडौंको वातावरणीय द्वासको चित्रण गर्दै राजनीतिक विकृतिको पुनः धज्जी उडाउँछन् कवि मुखाले । ज्यादै नै कारुणिक र संवेदनशीलताले भरिएको कविता हो यो-
नेताहरूको भाले भिडन्त देख्दा
प्रजातन्त्रका लागि हाम्रो छोरा
सहिद भएको पनि व्यथै लाग्न थालेको छ ।
कमसेकम
छोरो बाँचेको भए
बुढेसकालमा हलो जोतेरै पनि पाल्थ्यो
नेताको व्यवहारले फाटेको छाती
छोराको अनुहारले त टाल्थ्यो ।
ज्यादै नै मार्मिक किसिमले व्यङ्ग्यको आविष्कार गरिएको छ यहाँ । गरिबी र भोकमरीले सताएको नेपाली मानसिकताको तस्विर कविले ‘भोक : दुई तरङ्ग’ मुक्तकमा कोरेका छन्-
भोक मार्न
सहरबाट हिँडेको चामल
हाकिम र ठेकेदारको एम्बुसमा परेछ
टाउको काटिएको मुर्कट्टा ‘मल’
गाउँमा पुग्दा
भोकको जुलुसले थिचेर मिचेर
सहिद भएछ ।
हो, आज गरिब नेपाली जनताको नियति यही नै भइरहेको छ । कवि त्यसको हुबहु चित्रण गर्न एकदमै सफल देखिएका छन् ।
आज राष्ट्र, राष्ट्रियता र देशभक्तिको भावना सङ्कटमा परेको छ । देश र जनता भाँडमा जाऊन्, कसैलाई मतलब छैन । देशको छाती चिरेर त्यसबाट आएको रगत पिउदै ढ्याउ गर्न पाए नेतालाई पुग्छ । इतिहासमा वहाँभन्दा नालायक नेता नेपाल आमाले जन्माएकी थिइनन् । यसैलाई समेटेर ‘देश’ शीर्षकको कवितामा मुखालेले आफ्नो व्यङ्ग्य यसरी मुखरित गर्छन्-
अचेल ऊ
सुकिला मुकिला ब्वाँसा र
बिरालाहरूको हानथाप देखेर
कुनै अनिष्टको भयले झसङ्ग हुन्छ
घोषणापत्रका कोपराहरूमा
टल्पलाएको आश्वासन उबाएर
जङ्गबहादुरले कुल्चेको छाती धुन्छ ।
राजनीतिक विकृतिले उब्जाएको वितृष्णाको पराकाष्ठा हो यो ।
सूत्रात्मकताभित्र व्यापकताको आयोजना गर्न सक्नु कवि मुखालेको विशेषता हो । उनी फुटकर कवितामा पनि मुक्तकीय शैलीको प्रस्तुति दिन त्यत्तिकै दक्ष देखिन्छन् । यसको उदाहरणका रूपमा ‘केही तुफानी मट्याङ्ग्राहरू कवितालाई लिन सकिन्छ-
बाँच्न चाहने हो भने
मर्नेको हतियार खोस्नु पर्छ
हाँस्न चाहने हो भने
रुवाउनेको सत्ता पल्टाउनु पर्छ ।
चैतन्यले फूल पार्नु पर्छ
सङ्घर्षले चल्ला काढ्नु पर्छ ।
प्रत्येक कविमा गागरमा सागर भर्ने खुबी हुनुपर्छ । ‘यौटा सानो सरल कृतिमा पूर्ण संसार देऊ’ भन्ने राष्ट्रकवि माधव घिमिरेको कथनलाई अनुसरण गरेर कविता लेख्न सक्यो भने त्यस्तो कविलाई सफल मान्न सकिन्छ । कवि मुखालेलाई यस दृष्टिबाट हेर्दा कमजोर भन्ने ठाउँ छैन । उनी सूत्रात्मक अभिव्यक्तिमा तीव्र छन् । ‘समयको खेल’ मुक्तकलाई यसको उदाहरणका रूपमा सहजै उल्लेख गर्न सकिन्छ-
रावणसँग लडेर राम भगवान् भए
चाकडी गरेर बाँदर हनुमान् भए
विश्वकपभन्दा नि ठूलो त
समयको खेल पो रहेछ ।
यहाँ राजनीतिक व्यङ्ग्यका साथसाथै समयको महत्त्व दर्साउन कवि सफल भएका छन् ।
काठमाडौंको टुँडिखेललाई मानवीकरण गरेर लेखिएको कविता ‘टुँडिखेल’ हो । खुला मञ्चलाई सानो टुँडिखेल र सैनिक मञ्चलाई ठूलो टुँडिखेलका रूपमा परिभाषित गर्दै कविले यहाँ पनि राजनीतिक व्यङ्ग्य पस्कन पछि परेका छैनन् । सानो टुडिखेलमा भाषण छाँटेर ठूलो टुँडिखेलमा पुग्ने नेताहरूले सानो टुँडिखेलप्रति उपेक्षाको व्यवहार गरेको देख्ता मुखालेको कवित्व यसरी मुखरित भएको छ-
कुकुरका छाउरा छाउरीजस्तै
रङ्गीबिरङ्गी नेताहरू जन्माउँछ
चुनावको उलिनकाठमा चढाएर
भस्मासुरहरू अन्माउँछ ।
त्यतिञ्जेल ठूलो टुँडिखेल भने
गाँजाले लठ्ठिएको जोगीझैँ
विपश्यनामा बसेको योगीझैँ
चुपचाप बस्छ ।
कविले यहाँ यी दुई टुँडिखेललाई सौता हुन् कि भगिनी हुन् भनी प्रश्न गरेका छन् ।
‘केही रुमानी मट्याङ्ग्राहरू’ भित्र मुखालेले ‘प्रेम’, ‘जवानी’ र ‘रूप’ शीर्षकमा मुक्तकहरू प्रस्तुत गरेका छन् । ‘जवानी’ शीर्षकको मुक्तकमा उनले जवानीलाई नफर्कने खोलाका रूपमा यसरी व्याख्या गरेका छन्-
झलक्क हेर्दा निःशस्त्र
छामछुम पार्दा सशस्त्र
आफैसँग सारा कुँडाकर्कट सोहोर्ने
गएपछि नफर्कने
एउटा खोलो ।
यहाँ कविको यौनिक श्रृङ्गारिक भावना छताछुल्ल भएको छ ।
हास्य र व्यङ्ग्यले भरिएको कविता ‘…सियो’ हो । पूर्वराजा ज्ञानेन्द्रलाई प्रतीक बनाएर लेखिएको कविता हो यो । उच्च घरानिया खानदानमा प्रयोग गरिने क्रियापदका पछाडि ‘बक्सियो’ लगाएर बोलिने चलनलाई यहाँ विषय बनाइएको छ । राजतन्त्रको अन्त्य भए पनि ‘…सियो’ प्रयोगको अन्त्य नभाएको यथार्थलाई यहाँ देखाइएको छ ।
दरबार अभागी भए नि
यो भाग्यमानी रैछ मोरो ।
चाकडी गर्दा-गर्दा चाउरी परेको
चाउरे बक्सियो को छोरा ‘…सियो’
सेलिब्रेटी भएर निस्क्यो
कति राम्रो ग्रह परेर जन्मिएको रैछ
अभागी बाउको
भाग्यमानी छोरो ‘…सियो’ ।
स्पष्ट छ, कविले यस कवितामा हास्य र व्यङ्ग्यको सन्तुलित प्रयोग गरेका छन् । कवि मुखालेले यस सङ्ग्रहभित्र फुटकर कविता र मुक्तकका साथसाथै गजलको पनि संयोजन गरेका छन् । ‘जिन्दगीमा रहर पनि…’ यस गजलभित्र कविले सामाजिक विकृतिलाई औल्याएर श्रृङ्गारिक भावनाको मीठो प्रस्तुति दिएका छन्-
जो आशलाग्दो, उही जेठाजु परिदिएपछि
सागर पनि खुम्चिएर नहर हुँदो रै छ ।
आज नेपाली समाज अस्वस्थताको सिकार भइरहेको छ । मान, मर्यादा र भरोसाजस्ता शब्दहरू पलायन भइसके । मानिस क्षणिक सुखप्राप्तिका निमित्त जस्तोस्कै कुकर्म गर्न पनि पछि नपर्ने भइसक्यो । मानिस मानिसभित्र विश्वासको सङ्कटने जरा गाडिसकेको यथार्थलाई दृष्टिगत गरी कविले ‘निर्यात’ कवितामा व्यङ्ग्यका माला यसरी चलाएका छन्-
आशीर्वादमा समेत आतङ्कको हरक आएपछि
शुभकामनामा पनि सन्त्रास गन्हाउन थालेपछि
जिजीविषा पनि अब त
‘एड्स’ जस्तै डरलाग्दो भइसक्यो ।
सांस्कृतिक स्खलनप्रति समेत कविले चिन्ता प्रकट गरेका छन् । राजनेतालाई हलीको संज्ञा दिएर उनीहरूद्वारा सिर्जित विकृतिको धज्जी उडाउँदैछन् कवि मुखाले ‘हलीहरू’ कवितामा-
सहिदका सपना सिसाभरि फुटाएर
हाँडी गाउँको जात्रा मनाउँदैछन् हलीहरू ।
नेपाली समाज र राजनीतिका ठेकेदारहरूले वैयक्तिक स्वार्थको धरहरा बडा गरेर, मोज-मस्तीको ताण्डव नृत्य देखाएर, सुन्दर, शान्त र विशाल यो राष्ट्रको गरिमालाई धुलो बनाएर उडाइरहेको देख्दा कवि हृदय आहत बन्दै ‘आधुनिक रामायण’ शीर्षकको कविता आविष्कार गर्न पुग्छ-
बम र बन्दुक बोक्दा-बोक्दा
कलकलाउँदो उमेर खुइल्याएका
बबुरा बाँदरहरूलाई
पाँ-पाँच वर्षसम्म पिँजडामा राखेर कुँज्याएपछि
‘अयोग्य’ भनेर बिचल्ली पार्ने
स्वार्थी हनुमान्
‘मुक्ति’ टावरबाट पुच्छर झुण्ड्याएर
कहिले पाखुरा सुर्केर
कहिले जुँघामा ताउ लगाएर
सहरमा बल्छी थापेर बस्छ ।
मुख्यतः कविले यो कविता कुरा एउटा, काम अर्को गर्ने माओवादी नेताप्रति लक्षित गरेका छन् । राजनीतिक भागबण्डा र कुर्सीका लागि जस्तोसुकै क्रियाकलाप गर्न कहलिएका नेताको दृष्ट प्रवृत्तिको सातो उड्ने गरी लेखिएको कविता ‘नकचराहरू’ हो-
कहिले लठारिन्छन्
कहिले फाटाफाट गर्छन्
नेपालमा मात्र पाइने काँडेभ्याकुरजस्तै
दुर्लभ प्रजातिका नकचराहरू
कुर्सी पाइन्छ भने जननेन्द्रिय पनि साटासाट गर्छन् ।
मुक्तकीय शैलीमा नै तयार गरिएको कविको व्यङ्ग्यात्मक लेखनले यहाँ अझ बढी व्याप्ति पाएको छ । कवि मुखाले राजनीतिक व्यङ्ग्य हान्न मात्रै सिपालु छैनन्, भृङ्गारिक व्यङ्ग्य हान्न पनि त्यत्तिकै दक्ष छन् । ‘गुनासो’ शीर्षकको मुक्तकमा मायाको अभिव्यक्ति नबुझ्ने मायालुलाई कण्डै पुग्ने गरी उनी यसरी व्यङ्ग्य गर्छन्-
जुँघाको रेखीसँगै प्रतीक्षा गर्दागर्दै
नाकभित्रका रौँ पनि पाकिसके
कस्तो निष्ठुरी गाँठे तिमी त
कमसेकम, यो निम्तो त स्वीकार गर
अब त म अर्कैको बेहुलो हुन आँटिसकेँ।
सामाजिक सूक्तिमय अभिव्यक्तिले भरिएको मुक्तक ‘खस्रा’ कुरा हो । लोकजीवनमा प्रचलित उखानलाई यहाँ कवितात्मक बान्की प्रदान गरिएको छ ।
चारो खाने चरो आश्वासनले बाँच्न सक्दैन
पीरले पोलेको मुहार काउकुतीले हाँस्न सक्दैन ।
स्वीकृतिमूलक विचारले यहाँ उच्चता प्राप्त गरेको छ । जताततै प्रतिकूलता नै प्रतिकूलताको खाँडो जागेको देख्दा कविको मन ज्यादै नै कुँडिने गरेको छ । स्वीकृतिका ठाउँमा विकृतिको बिगबिगी बढेको छ । सामाजिक, सांस्कृतिक, धार्मिक, राजनीतिक, शैक्षिक, आर्थिक सबै ठाउँमा धूर्त, जाली, फटाहाहरूको साम्राज्य चलेको छ । यी सबैलाई विषयगत रूपमा समेटेर कविले ‘चित्त दुखेको ओखती’ कवितामा व्यङ्ग्यको लहर चलाएका छन्-
जलवायु परिवर्तनले होला
कुकुरले पुच्छर हल्लाउँदैन अचेल
बरू पुच्छरले कुकुर हल्लाउन थालेको छ ।
सबैको सापटी र उधारो खाएर
समयमा नै तिर्न नसक्ने
लबस्तरो भएको छ-लोकतन्त्र ।
डाँडामा पुगेर बाटो हराएको बटुवाझैँ
अलपत्र परेको छ-गणतन्त्र ।
मुक्तकीय संरचनाले निर्मित ‘चार आँखा जुद्धाखेरि’ कवितामा कविले पुनः श्रृङ्गारिक विषयको आयोजना गरेका छन् । प्रेमको मधुमासलाई लिएर कवि यस सङ्ग्रहका ठाउँ-ठाउँमा राम्ररी नै छचल्किएका छन् । त्यसैको अभिव्यक्तिभित्र यो कविता पनि पर्दछ-
चार आँखा जुद्धाखेरि
दुइटा मुटु घायल हुन्छ
तिम्रो एउटै मुस्कानले
मेरो मन कायल हुन्छ ।
श्रृङ्गारिक विषयलाई शिष्ट र मर्यादित किसिमले अभिव्यक्ति दिन उनी कुशल देखिन्छन् ।
जनता र कार्यकर्तामाथि ठगको राजनीति गरेर खान पल्किएका नेतालाई ‘यक्ष प्रश्न’ कवितामा व्यङ्ग्यको घुँयेत्रो यसरी चलाउँछन्, उनी-
पटक-पटक इन्कलाब कति घोकौँ हामीहरू
हात्ती जत्रै तिम्रो फट्याइँ कति बोकौँ हामीहरू
कत्ति धोखा खाँदा पनि तिम्रो मति सप्रिएन
तातो रगत चौलानीझैँ कत्ति पोखौँ हामीहरु ।
जनतालाई चरो, मुसो नगन्ने नेताहरूको धुलो चटाउने काम यस सङ्ग्रहका कवितामा गरिएको छ । प्रेमलाई सस्तो किसिमबाट हेरेर व्यवहार गर्नेहरूप्रति चोटिलो अभिव्यक्ति प्रदान गरेर लेखिएको मुक्तक ‘इच्छाको आयतन’ हो । सस्तो मायाप्रीति लगाउनेहरूप्रति कविले शब्दका घोचा यसरी वर्साएका छन्-
कसैलाई ठर्रासँगै
साहुनीको हिस्सी परेको अनुहार
पिउन पाए पुग्छ ।
वर्तमान समयका राजनेताको कुकृत्यलाई एक-एक गरी औल्याएर लेखिएको कविता ‘थप्पडको जुलुस’ हो । कवि मुखालेले नेताका चारित्रिक कमी-कमजोरीलाई खोतल-खातल गर्दै व्यङ्ग्यका बान्कीहरू एकपछि अर्को गरी यहाँ यसरी प्रस्तुत गरेका छन्-
चुनावमा जिताउँदा नि भएन
हराउँदा नि भएन
कस्तो ज्याद्रो जात होला यो
बन्द, हड्ताल रुचाउने
धर्ना, अनशन पचाउने
चड्कनलाई चिउरा मान्ने
चाप्लुसीलाई दही ठान्ने ।
यस किसिमबाट कवि मुखाले रेग्मीले ‘चित्त दुखेको ओखती’ कविता सङ्ग्रहको पूर्णाहुति गरेका छन् । राजनीति व्यङ्ग्यले भरिएको यो सङ्ग्रह नेपाली कविता परम्परामा आफ्नै किसिमका प्रतिष्ठा जमाउन सफल भएको छ । व्यङ्ग्य नै यस कविता सङ्ग्रहको उच्चतम प्राप्ति हो । खास गरेर समसामयिक राजनीतिलाई कविले राम्ररी नियालेका छन् । राजनेताहरूको अदूरदर्शिताले गर्दा आज देश सङ्कटग्रस्त अवस्थामा परिणत भइसकेको छ । जनताले कुकुरले नपाएको दुःख पाइरहेका छन् । यही विषयको सापेक्षतामा कविले चित्त दुखाएका नेपाली जनताको दुखाइ कम गर्ने ओखतीको खोजी गरेका छन् । समग्रमा भन्नुपर्दा नेपाली जनताको चित्त दुखेको ओखतीका रूपमा यो कृति नै आएको छ भन्दा कुनै अत्युक्ति हुने छैन । भाषा, भाव र अभिव्यक्तिको कुशलताले यो कृति उत्तुङ्ग बनेको छ ।
‘चित्त दुखेको ओखती’ कविता सङ्ग्रहका सर्जक कवि मुखाले रेग्मीले यस कृतिभित्र तीन किसिमका कविताहरूको संयोजन गरेका छन्- फुटकर, मुक्तक र गजल । यिनै तीन खाले संरचनामा निबद्ध कविताबाट चित्त दुखेको ओखती भरिएको छ । विषयगत दृष्टिले हेर्दा अधिकांश कविताहरू राजनीतिक व्यङ्ग्यात्मक विषयले भरिएका छन् । श्रृङ्गारिक मायाप्रीतिका विषयलाई पनि यहाँ कुशलतापूर्वक विन्यास गरिएको छ । सामाजिक विकृति र विसङ्गतिबोधक विषयले यहाँ उल्लेख्य उपस्थिति जनाएको देखिन्छ । दार्शनिक विषयलाई पनि कविले ‘मन’ कवितामा उत्तारेका छन् । यति हुँदाहुँदै पनि यस कविता सङ्ग्रहको मूल कथ्य भने राजनीति नै हो । विकृत राजनीतिले घाइते बनाएको नेपाली मानसिकतामा मलमपट्टी लगाउने काम यस सङ्ग्रहले गरेको छ । सामाजिक, पौराणिक, सांस्कृतिक र पर्यावरणीय बिम्ब र प्रतीकको सहज र सरल किसिमले प्रयोग गर्न मुखाले अब्बल देखिएका छन् । उपमा, रूपक र अन्त्यानुप्रास अलङ्कारहरूको उचित संयोजनले यस सङ्ग्रहका कविताहरू सुष्ठुचुम्बित बनेका छन् । बोझिला र कृत्रिम पद-पदावलीको प्रयोग यहाँ गरिएको छैन । जनजीब्रोको भाषालाई टपक्क टिपेर त्यसलाई काव्यात्मक बान्की प्रदान गर्न कवि निकै नै सिद्धहस्त देखिएका छन् । लयात्मकता र सङ्गीतात्मकताका दृष्टिले पनि कवि मुखालेका कविता रसिला र भरिला छन् । यिनै कवितात्मक तत्त्वगत विशेषताले यो कविता सङ्ग्रह नेपाली काव्य परम्परामा छुट्टै पहिचानका साथ खडा भएको छ । यति राम्रो कविता सङ्ग्रह प्रकाशन गर्न सफल भएकोमा कवि मुखाले रेग्मीलाई हार्दिक बधाई ज्ञापन गर्दछु ।
०००
संयुक्त क्याम्पस, पाटनढोका, ललितपुर ।
‘चित्त दुखेको ओखती’ (२०७१)
Subscribe
Login
0 Comments
Oldest




































