साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भाइहरूलाई पत्र

यो व्यहोराको पत्र उनको सल्लाह बमोजिम मूलद्वारमा नै टाँसिदिएको छु । अहिले पो सोच्दैछु । पत्र वाचन गर्न नसकेर मुलद्वारलाई दुर्व्यवहार पो गरे कि ती प्रिय भाइहरूले ।

Nepal Telecom ad
जेन काइजेन :

भाइहरू,
तपाईंहरूले गत साल नै मलाई जीवनको अत्यन्त ठूलो पाठ पढाएर जानुभएको छ । हेर्नोस्, तपाईंहरूलाई त्यस कुराको त्यति हेक्का छैन होला । नेताका भाषण सुन्न जाँदा हामी पो नेता चिन्छौँ त ! उहाँहरूले बोलेका हरेक वाक्यमा कसरी हामी थप्पडी र सुसेलीले प्रोत्साहित गर्छौँ ? तर नेताहरूले हामीलाई चिन्नुहुन्छ त ? चिन्नुहुन्न नि । तल ग्राउन्डमा धुस्रै र फुस्रै भएर थप्पडी मार्नेलाई कसरी चिन्नु ?

भाइहरू, तपाईंहरूलाई पनि मैले नेताहरू जत्तिकै महान् ठानेको छु । तपाईंहरूको कार्य कुशलता, क्षमता, धैर्यता, खतरा मोल्न सक्ने गुण तथा तोकिएको समयसीमा भन्दा छिटो कार्य सम्पन्न गर्न सक्ने क्षमताप्रति म नतमस्तक छु ।

गतवर्ष मात्र त हो । म त्यहि गौशालातिर डेरामा थिएँ । जहान कता कामतिर गइन् । म पनि यसो तरकारी लिन चोकतिर लागेको थिएँ । झ्याल, ढोका सबै बन्द थिए । ताला चाबी पक्का थिए । तल्लो तलामा र माथिल्लो तलामा पनि भाडामा बस्ने सदस्यहरू थिए नै । म निर्ढुक्कसँग दायाँबायाँ रमिता हेरेर एक घन्टा घुमेँछु । घर आउँदा मुलढोका उदाङ्गो छ । ए ! उनी आइछन् । शायद खाजा पनि बनिसक्यो होला भन्ने अनुमानसँग भित्र पस्दा त आफ्नो अनुमानले फेल खाएजस्तो लाग्यो । यसो राम्रोसँग विचार गर्दा त तपाईंहरू पो आउनुभएको रहेछ । दराज सराज खोल्न, ओछ्यान पल्टाउन र भएका कामलाग्ने धातु र पैसा जुगाड गर्न भ्याउँनुभएछ तपाईंहरूले । छक्क पर्नु कि आतेश मान्नु भनेर विचार गर्दागर्दै उनी आइपुगिन् ।

उनले इशारामै गौशाला पुलिस चौकितिर देखाइन् । उनको वाक्य फुट्न सकेन । म उनका हरेक इशारा बुझ्छु । उनले खोकी नै नलागि घाँटी बजाउनुको अर्थ; भीडमा मलाई घुरेर हेर्नूको अर्थ, गर्मी महिना पनि जाडोले थर्थराए जस्तो दाँत किट्नुको अर्थ, आँखा पिर्लिक्क पल्टाएर सेता पारेर घुरेर हेर्नुको अर्थ, सुन्या नसुनेइ गर्नुको अर्थ, अचानक तिमीबाट मेरो हजूर भन्नुको अर्थ सबै मलाई कण्ठ छ । यो जाभा स्क्रिप्ट अथवा सी प्लस जस्तो कोड ल्याङ्वेज बुझ्ने अद्भूत क्षमता सँझिदा म आफूलाई असाध्य ट्यालेन्ट मान्छु ।
उनको इशारा अनुसार म दौडेर पुलिस चौकि पुगेँ । जनसेवामा बसेका पुलिसहरूले पहिले त प्रश्न सोध्न थाले ।

पु ‌: तपाईको नाम ?
— उल्काप्रसाद उपाध्याय ।
पु : ठेगाना ?
— पुरानो भन्नु कि नयाँ ?
पु : घटना भएको स्थल ?
— कट्कटे गल्ली
पु : घटना विवरण ?
— चोरी । सर्वस्व लग्यो ।
पु : समय ?
— म । हामी नभाको बेला ।
पु : के के थियो ?
— सुन, चाँदी, नगद, मोबाइल ।
पु : बैंकमा नराखेर किन घरमा राखेको ।
— प्रयोग गर्नुपर्छ नि त हजुर ।
पु : अब उनीहरूले गर्छन् प्रयोग । असावधानी । कस्ता थिए ? कतिजना ?
— देखिएन हजूर ।
पु : ए । ल जानोस् ।

त्यति नै भयो । खुटपत्तो लागेन । हुन पनि हो, छन पनि छ तर देखिँदैन भनेको के हो भन्थे उहिले उहिले गाउँ खाने कथामा । ठ्याक्कै त्यस्तै भो तपाईंहरूलाई फेरि कहिल्यै देखिएन ।

अब त्यो त्यस्तै भयो । लेखान्त नै त्यस्तै रहेछ भनेर चुप लागियो । ढोका राम्ररी बन्द नगरेको आशंकामा घरैमा धेरै केरकार र मारमुङ्री खपियो । घरभित्रको कुरा के गर्नु हजुर ? अब यो पुरानो कुरा नगरौँ ।

यसपालि माघमा जाडोको छुट्टी त भयो । त्यता मधेश झर्नुपर्ने काम परी त गयो । काम पनि कस्तो पर्‍यो भने सालाको विवाह पर्‍यो । नजाउँ कि भन्ने कुरा सोच्न पनि नमिल्ने परो । नयाँ ठाउँ डेरा सरिएको छ । अब फेरि ती भाइहरू आउलान्, घर कोठा रित्तो छ भनेर जहानसँग सल्लाह माग्ने विचार आयो । उनले बुँदागत रुपमा भाइहरूलाई सम्बोधन गरेर पत्र लेखेर साफी गरी २४ पोइन्ट प्रिती फन्टमा डबल स्पेस गरेर छापिकन मुलद्वारमा टाँस्न सुझाव दिइन् । भाइहरूलाई लेखेको पत्रको व्यहोरा यस प्रकार छ ।

प्रिय भाइहरू,
१. ढोकाको चाबी त्यहि जुत्ता राख्ने दराजको माथि खुइलिएर पहेँला भएका जुत्ताका भित्र छ । पहिलेजस्तो चुकुल नै नभत्काउनुहोला ।
२. भित्र रहेको दराज तपाईंहरूले भत्काएर छाड्नुभएको मर्मत गरेको छैन ।
३. ओछ्यानमुनि कुनै नगद छैन ।
४. भाँडाकुँडा पत्रुमा पनि जाँदैनन् । तपाईंहरू पुराना भाँडा पनि बोक्नुहुन्न भन्ने मलाई विश्वास छ ।
५. नवयुगका, डिजिटल युगका तपाईं भाइहरूलाई मनपर्ने मोबाइल, कम्प्युटर र स्मार्टवाच म सँग छैन । म त बेटरी पनि टिक्ने पैसो पनि कम पर्ने उहि टिकटिके मोबाइल बोक्छु । उनको मोबाइल त उनी शौचालय जाँदा त सँगै लिएर जान्छिन्, घरमा छाड्ने कुरै भएन ।
६. अब बाँकी कामलाग्ने ग्यास सिलिन्डर ग्याँस सकिएर ग्यासवालाकैँमा पुर्‍याएको छ ।
७. बिहेमा सिलाएका एकजोडी सुट सालाको बिहेमा लगाउन लिएरै गएको छु ।

त्यसर्थ, भाइहरू आफ्नो समय व्यर्थमा खेर नफाल्नुहोला । तपाईंहरूका लागि उपयोगी हुन नसकेकोमा म अत्यन्त दुःखी छु र क्षमायाचना गर्दछु ।

तपाईंहरूको विश्वासी
उल्काप्रसाद उपाध्याय

यो व्यहोराको पत्र उनको सल्लाह बमोजिम मूलद्वारमा नै टाँसिदिएको छु । अहिले पो सोच्दैछु । पत्र वाचन गर्न नसकेर मुलद्वारलाई दुर्व्यवहार पो गरे कि ती प्रिय भाइहरूले ।

०००
झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x