शुक्रराज कुँवरसहारा
यो उमेरमा दुःख पाइस् बुढी ! बुढ्यौलीको लौरो सम्झेर छोराहरूको खुब स्याहार सुसार गरेर हुर्काइयो, आज लौरो भाँचिएको जस्तो अवस्था आइपुग्यो।

शुक्रराज कुँवर :
हरिकृष्ण दम्पतीका चार सन्तान थिए । दुई भाइ छोरा र दुइटी छोरी । सबैको बिहे बटुलो भइसकेको थियो । छोरा बुहारी छोरी जुवाइँ अष्ट्रेलिया, क्यानाडा, अमेरिका जस्ता देशमा छरिएर रहेका थिए ।
खुशी थिए उनीहरू । एक कल गर्ने बित्तिकै छोराहरूले बैङ्क खातामा पैसा पठाइहाल्थे । छोरीहरूले पनि बाबुआमाप्रतिको आफ्नो कर्तव्य निभाएका थिए । पालैपालो गरेर उनीहरू अष्ट्रेलिया, क्यानडा अमेरिका घुमिरहन्थे । यसर्थमा उनीहरू आफूलाई भाग्यमानी सम्झन्थे ।
सत्तरी कटिसकेका थिए । बुढयौलीले आफ्नो रूप देखाइसकेको थियो । हातगोडा झमझमाउने दुख्ने लगायत अन्य बुढ्यौलीका रोगहरूले च्यापिसकेको थियो । बैङ्क खातामा रहेको पैसा झिक्न जान पनि गाह्रो थियो । अब भने उनीरुलाई हरपल सहाराको खाँचो थियो । छोरा बुहारीलाई भने ।
“कहाँ नेपाल आउने ? यता पि आर, ग्रिनकार्ड भइसक्यो ! हाम्रा पनि छोराछोरी ठुला भइसके, आफ्नै समस्या छ । भन्ने बित्तिकै कहाँ आउन सकिन्छ । कति पैसा चाहिन्छ भन्नु बरू पठाइदिउँला ।” छोरा बुहारीको स्पष्ट जवाफ थियो ।
हरिकृष्ण अस्पतालको बेडमा थिए । दुई बुढाबुढी मात्र, सहाराको सख्त खाँचो थियो । छोराहरूको जवाफले मन खिन्न थियो । छेउको वेडमा लम्पसार परेका अर्का बुढाको अवस्था पनि त्यस्तै थियो । सहाराविहीन । उनैसँग विलौना गर्न थाले ।
त्यसैबेला हरिकृष्णकी बुढी लौरो टेक्दै जाउलो बोकेर टुप्लुक्क आइपुगिन् । हरिकृष्णले गहभरि आँसु पार्दै भने “यो उमेरमा दुःख पाइस् बुढी ! बुढ्यौलीको लौरो सम्झेर छोराहरूको खुब स्याहार सुसार गरेर हुर्काइयो, आज लौरो भाँचिएको जस्तो अवस्था आइपुग्यो।”
आफ्नो बुढाको कारुणिक कुरा सुनेर हरिकृष्णकी बुढीले ढाडस दिँदै भनिन्- “सानो मन नगर बुढा ! छोराछोरीबाट धेरै ठूलो अपेक्षा राख्न पनि हुन्न । परदेशमा छन् । सहारा भनेको यो बुढ्यौलीमा बुढाको लागि बुढी र बुढीको लागि बुढा ! होइन र ?”
०००
धरान
Subscribe
Login
0 Comments
Oldest







































