
शीत
मैले छोरोलाई डाकेर तिमीहरू मिलेर बस, मलाई बृद्धाश्रम पुर्याइदेऊ भनेँ । छोरोले मुहार हँसिलो बनाउँदै हुन्छ भन्यो ।

कान्ति पौडेल :
ती दिन क्या थिए । उहाँले बुढेसकालमा पाल्नका लागि तैंले जसरी पनि छोरा जन्माउनुपर्छ भन्नुहुन्थ्यो । म एक्लैले जन्माउने हो र भन्दै म पनि जिस्किन्थेँ ।
बिहे भएको दश वर्षपछि तीनओटी छोरीमुनि निकै रहरमा एक छोरो जन्मियो ।
मलाई अझै पनि झलमल्ल याद छ उहाँले छोरालाई पहिलो पटक हातमा लिएर बुढेसकालको लौरो आयो भन्दै छोराको म्वाई खानु भएको थियो र मेरी सानी भन्दै मलाई अँगालो हाल्दा सासूबुढी लजाएर बाहिर निस्कनु भएको थियो ।
भएजति माया दिएर हामीले सन्तान हुर्कायौँ । सबैको बिहे गरिदियौँ । छोरीहरू आफ्नो आफ्नो कर्म घर गए । छोराको बिहे भएको एक वर्षमा उहाँ बित्नु भयो ।
बुहारी र मेरो भनाभन दिनदिनै बढिरहेको थियो । देखेको कुरा भनिहाल्ने मेरो बानी मेरी बुहारीले कत्ति मन पराएकी थिइन । मलाई नशा सम्बन्धी समस्या छ । बसेपछि जुरूक्क उठ्न गाह्रो हुन्छ । पानीमा धेरै खेल्न पनि हुँदैन । कहिलेकाहीँ बुहारी कपडा धुन जाने बेलामा मेरो पनि यत्ति धोइदे न भनेर दिँदा ‘बसीबसी शासन लाउँछे राक्षसनी बुढीले’ भन्दै गाली गर्दै कपडा नलगी धारातिर जान्थी । अँगेनामा कहिलेकाहीँ आगो ताप्दा नि ‘टाङ फट्टाएर बसेकी छे अल्छिनी’ भन्थी । कति कुरा नबोलेर नै बचाइदिन्थेँ ।
खाना खाएपछि छोराबुहारीको भनाभन चलेको थियो । म सधंैजसो चल्ने भनाभनको केही वास्ता नगरी आफ्नो ओछ्यानमा गएर सुतेँ । भोलिपल्ट बिहानै कहिल्यै नउठ्ने छोरो चिया लिएर बिहानै मेरो ओछ्यानमा पुगेको थियो । म छक्क परेँ । चिया टेबलमा राखिदिँदै छोरोले भन्यो-
‘आमा मैले तपाईं र तपाईंकी बुहारीमा एउटा रोज्नु पर्यो ।’
म झसङ्ग भएँ । दोहोर्याएर सोधेँ- फेरि त्यही भन्यो । जुरूक्क उठेर म कहाँ जाउँ यो बुढेसकालमा छोरो भन्दै रोएँ । छोरो ‘नरोऊ तिमी नि’ भन्दै झर्किंदै ढोका बाहिर निक्लियो ।
मेरो बुढेसकालको लौरोले आज आएर यसरी भन्ला भन्ने कल्पना पनि गरेकी थिइनँ । मनमा निकै सहन नसक्ने पीडा भयो । बुहारी र मलाई छोरोले मिलाएर राख्न सक्नुपथ्र्यो । मैले आफ्नै छोराको घरबार बिगारेर कसरी मलाई रोज भन्न सक्थेँ ?
छोरीहरूसँग दुखेसो पोखेँ । छोरीहरूले हाम्रोमा आउनु म पाल्छु भनेका थिए तर मन मानेन । मैले छोरोलाई डाकेर तिमीहरू मिलेर बस, मलाई बृद्धाश्रम पुर्याइदेऊ भनेँ । छोरोले मुहार हँसिलो बनाउँदै हुन्छ भन्यो । त्यसको चार-पाँच दिनमा छोरो आफैले बृद्धाश्रम ल्याएर छोडिदियो ।
त्यो दिनदेखि मेरा आँखा कहिल्यै ओभानो छैनन् । यहाँ आफूजस्तै अरू पनि छन् तर मन मान्दैन । मानिसहरू हामीलाई नै भेट्न भनेर आउँछन् । प्रत्येक आउने जति मान्छेको आकृतिमा म मेरा सन्तान खोज्छु पाउँदिनँ । निराश हुन्छु । आजभोलि मलाई सास फेर्ने हावा पनि नपुगे जस्तो लाग्छ ।
निकै एक्लो महसुस गर्छु । रोएर थाकेपछि कति बेला निदाउँछु थाहै पाउँदिनँ । हरेक बिहान बाहिर शीत परे जस्तै मेरो सिरानीमा आँसु परेको हुन्छ ।
०००
बेनी, म्याग्दी ।