परशुराम पराजुलीहजुरबा !
सान्निध्यले तिनै साहित्यकारका कुरा सुनायो । राजेशमानले आफ्नो वृद्धावस्था वृद्धाश्रममा बित्ने देखेर झसङ्ग भयो अनि जुरुक्क उठेर भन्यो- "हिँड् छोरा, हजुरबालाई लिन ।

परशुराम पराशर :
“हजुरबा । ए हजुरबा !!” राजेशमानको छोरो सान्निध्य गाडीबाट ओर्लनेबित्तिकै कुदै र एकोहोरो कराउँदै मूलढोकातिर आयो ।
“आमा । हजुरबा खै ?” उसले आँगनमा उभिएकी आमासँग सोध्यो ।
“अहिले तिमीलाई किन चाहियो हजुरबा ? हामीलाई भन न के के भन्नु छ ? के के सुनाउनु छ ?” सन्ध्याले रातो अनुहार पार्दै प्रतिप्रश्न गरिन् ।
सान्निध्य काठमाडौँको प्रख्यात व्यापारी राजेशमानको एक्लो छोरो हो । ऊ सहरको प्रतिष्ठित बोर्डिङ स्कुलमा छ वर्षको हुँदादेखि नै बोर्डस् बसेर पढेको एक वर्ष भइसकेको थियो । ऊ हरेक पटक घर आउँदा उसलाई लिन मूलढोकामा आइपुग्ने हजुरबा नदेखेपछि सोधेको थियो । उसलाई सबैभन्दा बढी माया गर्ने, हजार कुरा सिकाउने, घर आउँदा ऊसँग खेल्ने साथीजस्तै प्यारो हजुरबालाई देखेन । छुट्टीमा घर आउँदा के के ल्याइदिने पनि गरेको थियो उसले ।
“यी मैले मेरो हजुरबालाई के ल्याइदिएको छु । हेर्नुस् त ।” उसले गोजीबाट मिल्कीबार चकलेट देखाउँदै भन्यो ।
“लल चुप लाग, पहिले तिम्रो झोला राख अनि कुरा गरौंला । मेरो छोरालाई मैले मिठो मिठो खानेकुरा ल्याइदिएकी छु, हेर्न भित्र जाऊँ त ।”
सन्ध्याले अल्मल्याउन भित्र बैठक कोठामा लगिन् । उसले चकलेट गोजीमै राख्यो र यताउति हेर्दै आमासँगै गयो ।
“हैन, यसलाई किन चाहियो हजुरबा ? हाम्रो त कुरै गर्दैन । अघि गाडीमा पनि हजुरबाकै कुरा गर्दै थियो ।” राजेशमानले भने ।
“ल, उहाँ त मेरो फेबरेट फ्रेन्ड हो नि त ।” सान्निध्यले बुबाको बोली सकिन नपाउँदै भनिहाल्यो ।
त्यस बेलासम्ममा काम गर्ने केटाले खानेकुरा ल्याइसकेको थियो । सान्निध्यका आमाबुबा खान थाले तर उसले खाएन ।
“किन नखाएको मेरो बाबु ? खाऊ ।” सन्ध्याले टाउको मुसार्दै भनिन् ।
“नाइँ के, खान्नँ । हजुरबा खै ? भन्नु न त ।” सान्निध्यले जिद्धी गर्यो ।
दुवैले फेरि मुखामुख गरे । राजेशमानले लामो सास तानेर भन्यो- “सान्निध्य । तेरो हजुरबा वृद्धाश्रममा बस्न जानुभएको छ । त्यहाँ उहाँलाई राम्रो छ । उस्तैउस्ता बुढाबुढी हुन्छन् त्यहाँ अनि कुरा पनि मिल्छ ।”
सान्निध्यले विद्यालयमा भएको वार्षिक कार्यक्रममा एक जना साहित्यकारले भनेको सम्झियो ।
उनले भनेकी थिइन्- ‘अहिले साना हुँदा बुबाआमाले छोराछोरीलाई आफूसँग नराखेर होस्टेलमा राख्छन् अनि त्यसको बदला उनीहरू पनि वृद्धवृद्धा आमाबुबालाई वृद्धाश्रममा नपठाएर के गर्छन् त । संस्कार नै त्यही सिक्छन् । माया भन्ने कुरा हामीले बुझाउन जानेनौँ भने उनीहरूले पनि हामीलाई माया गर्ने छैनन् ।’
“बाबा ! हजुरबाले तपाईलाई पनि होस्टेलमा राख्नुभएको थियो, हो ?”
“किन सोधेको छोरा, यो तैंले ?”
सान्निध्यले तिनै साहित्यकारका कुरा सुनायो । राजेशमानले आफ्नो वृद्धावस्था वृद्धाश्रममा बित्ने देखेर झसङ्ग भयो अनि जुरुक्क उठेर भन्यो- “हिँड् छोरा, हजुरबालाई लिन । उहाँ अब यहीं बस्नुहुन्छ । अनि तँ पनि अबदेखि घरबाटै स्कुल जाने है । म नै तँलाई पुऱ्याउन जान्छु ।”
बाबुछोरा गाडी लिएर वनकाली वृद्धाश्रमतिर लागे ।
०००
काठमाडाैं
सावधान ! (२०८१)
Subscribe
Login
0 Comments
Oldest









































