हरिप्रसाद रिमालबुढ्यौली
सहारा बुझेँ पुत्रपौत्रादिलाई तिनैका लहैमा भएको कमाइ सबै सुम्पिएँ साथमा छैन मोह नथेग्ने भयो प्राणले दुख्छ देह ॥

मिलेका सबै दन्तका पङ्क्ति भागे
भताभुङ्ग गाला भए सोच्न लागेँ
हिजोका कुनै जोस छैनन् मभित्र
लथालिङ्ग छन् मासिए दृश्यचित्र ॥१
छ खोकी गलामा सधैँ श्वास रोक्छ
बुढो खोक्छ भन्छन् कता भित्र दुख्छ
भनूँ आज यी वेदना छन् समस्त
निकालिन्छुझैँ लाग्छ बन्दै अशक्त ॥२
जवानी छँदा केस काला मिलेका
थिए आज छैनन् सबै छन् गलेका
तुसारो परेझैँ भए दुःख लाग्छ
सढेको मुढोतुल्य बन्दैछु आज ।३
न खाना मिठो लाग्छ खाइन्न धेर
चपाइन्न सारो कुरा जान्छ खेर
कुनै छेउमा आउँदैनन् बुढाका
झिँगा मित्र छन् साथ बस्ने चनाखा ।४
न छोराबुहारी बुढी साथ बस्छन्
प्रपौत्रादिका चित्त धेरै रुखा छन्
प्रपौत्री कहाँ छन् कुना पस्न थाले
नबोल्नू भनेको छ भन्छन् बुबाले ॥५
सहारा बुझेँ पुत्रपौत्रादिलाई
तिनैका लहैमा भएको कमाइ
सबै सुम्पिएँ साथमा छैन मोह
नथेग्ने भयो प्राणले दुख्छ देह ॥६
सहारा यही एक ओम्कारमात्र
बुझी जप्न थाल्दैछु विश्वासपात्र
तिमी सिन्धुको नाउ हौ ज्ञानखानी
म हूँ नीच माया गरी पार ज्ञानी ॥७
०००
सूर्यविनायक, भक्तपुर
Subscribe
Login
0 Comments
Oldest







































