मातृशोक सुसेली
बस्न मन छैन् आमा छैनन् घरमा पस्न मन छैन् । ढोगेँ भक्तिले अडेको छ संसार मातृ शक्तिले ।
दुर्गा अधिकारी भमरकोटे :
आँखा देखिन
केही दिन साहित्य
मैले लेखिन ।
थिएँ दुखमा
विधाताले दिएको
मातृशोकमा ।
नाता तोड्नु भो
सत्ताईस बैशाख
धर्ती छोड्नु भो ।
रोग थिएन
तर पनि दैवले
बाँच्न दिएन ।
मेरो जागिर
दस वर्ष सेवामा
थिएँ हाजिर ।
अघिल्लो दिन
संकेत यो दिनु भो
आएछ लिन ।
अन्त्य घडीको
यही वाक्य आमाको
सुन्न परेको ।
केही लान्न म
भो भो पुग्यो मलाई
अब खान्न म ।
खान्न चुठ्दिन
नचलाऊ मलाई
अब उठ्दिन् ।
स्वर्ग रोज्दै छु
नबोलाऊ मलाई
बाटो खोज्दै छु ।
हरिशरण
जन्म हुन्छ कहाँको
कता मरण ।
मेरी जननी
परलोक हुनु भो
आज सवारी ।
दया नराखी
किन यस्तो प्रहार
भयो म माथि ?
भएँ वेसुर
सोधौँ मैले को संग
मेरो कसुर ।
मातृ जगत
गैगो सार उडेर
एक्लो फगत ।
किन रुवायौ
दुखका सागरमा
आज डुबायौ ।
पीडा अपार
शिरमाथि बज्रको
गर्यौ प्रहार ।
गल्ती थिएन
हाने धर्मराजले
बज्र टरेन ।
ज्ञानी तिमीले
गर्यौ बज्र प्रहार
के को इबीले ।
नदी जसरी
बग्छन् आँसु थामिन्नन्
रोकौँ कसरी ।
कता गयौ नि
आँखा झिम्म नगर्दै
टाढा भयौ नि ।
छैनौं पछाडि
मेरी माता बिलायौ
आँखै अगाडि ।
दुर्गा बबुरो
आमा स्वर्ग जानुभो
भयो टुहुरो ।
हुन्छु झसङ्ग
केमा चित्त दुखायौ
सोधौँ कोसंग ।
बाटो बिराएँ
माफ गर्नुस् आमाले
धेरै सताएँ ।
भन्नै परेको
मात्र ज्युँदो शरीर
मन मरेको ।
मेरी जननी
तिमीलाई थाहै छ
म छु अज्ञानी ।
पारे खरानी
आशा दिए स्वर्गको
भिज्यो सिरानी ।
दिन्छन् इनाम
मरेको लास माथि
माला के काम ।
बच्चा खातिर
माकुराले अर्पियो
ज्यानै मास्तिर ।
रुन्छु धर्केर
आउदिनन् थाहा छ
अब फर्केर ।
सधैं म रुँदा
घरवार शुन्य छ
आमा नहुँदा ।
रह्यो नि धोको
कुनै दिन सम्झेर
छैन नरोको ।
बस्न मन छैन्
आमा छैनन् घरमा
पस्न मन छैन् ।
ढोगेँ भक्तिले
अडेको छ संसार
मातृ शक्तिले ।
०००
कपन, काठमाडौं