देवीप्रसाद मिश्रबुढ्यौली (काव्य शृङ्खला- २३)
खाली हात लिएर बस्नु नपरोस् सम्पूर्ण पाकाजन ॥ आम्दानी किन चाहियो र गतिलो होस् व्यस्तता जीवन ॥ चोयाबाट विभिन्न वस्तु कतिले गर्छन् यहाँ आर्जन । पोयाबाट तयार हुन्छ कतिको त्यस्तै घरेलु धन ॥

देवीप्रसाद मिश्र :
सिपको समादर गरौँ
छन् पारङ्गत यी विभिन्न सिपमा हाम्रा बुढ्यौलीजन ।
जुट्छन् साधनमा उदात्त मनमा छन् शिल्पकारी धन ॥
रम्छन् पौरखमा कला छ सँगमा गर्छन् सुधा आर्जन ।
खासै छैन बजार मूल्य चिजको छन् चित्तमा रोदन ॥११२॥
आए याम नयाँ नयाँ अब यता नौलै भयो चिन्तन ।
नौला यामसँगै रमाउन सदा चाहिन्छ त्यस्तै धन ॥
झण्डै पैँतिस लाखको छ गणना नेपालमा वृद्धको ।
ठान्छन् आदर होस् समस्त भवमा आस्था कला शिल्पकाे ॥११३॥
गर्दा यो अनुमान जन्मदरको भन्दा उता वृद्धको ।
देख्छौँ झन् अभिवृद्धि दोबर यता खोजी छ निष्कर्षको ॥
छन् गन्ती परिवार पाँच अहिले खाएर बस्नेजन ।
एकै मात्र कमाउने छ घरमा यो दुःखदायीपन ॥११४॥
पाका मानिस छन् यिनै विषयका चिन्ता व्यथामा सब ।
खाका कोर्नु प-यो नया मगजले निष्कर्ष के हो अब ॥
खोज्दाभित्र अवश्य मिल्दछ चुरो छन् साथ सम्भावना ।
राम्रा यी गुरुयोजना तय गरौँ पुग्छन् सबै कामना ॥११५॥
खाली हात लिएर बस्नु नपरोस् सम्पूर्ण पाकाजन ॥
आम्दानी किन चाहियो र गतिलो होस् व्यस्तता जीवन ॥
चोयाबाट विभिन्न वस्तु कतिले गर्छन् यहाँ आर्जन ।
पोयाबाट तयार हुन्छ कतिको त्यस्तै घरेलु धन ॥११६॥
यस्ता शिल्प कला समादर सदा गर्छन् विदेशीजन ।
सक्छौँ बेच्न उता र आउँछ यता जीवन्तकारी धन ॥
एकातर्फ यता उजागर हुने गुम्दै गएको कला
अर्कोतर्फ समस्त वृद्धजनले ठान्छन् खुसीको पला ॥११७॥
(क्रमशः)
०००
२०८०/२/२०
ताप्लेजुङ, हाल- काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































