बाबुआमा काव्यांश- ९
हिँड्दा दुष्कर्म त्यागी अनियम अरिले पेल्न सक्दैन बोक्नू। आफ्नोे कर्तव्य सङ्लो नियम डगरमा गर्वका साथ पोख्नू ॥ गल्नेछन् दुष्ट वैरी हृदयतल सफा हुन्छ आफ्नो विचारी । बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥
दीनानाथ पोख्रेल :
पल्टन्छन् पत्र पढ्ने मनन मन गरोस् वृद्धका दिव्य कर्म।
पुज्नै पर्नेछ मैले सुर बुध जन हुन् ज्येष्ठता कृत्य मर्म ॥
आनाकानी गरेमा सुर बुध जनको रुन्छ आत्मा बिचारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥४१॥
राखे सद्भाव मैले सुर बुध जनमा ज्येष्ठता मान जम्छ ।
बन्दै धर्ती विवेकी असल पथ चुनी कर्म पस्केर रम्छ ॥
फ्याँकौँ जे छन् अमिल्दा अनियम मनमा दुष्टता हुन् बिचारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥४२॥
राम्रो बाटो सुमान्छे खुद चयन गरी हिँड्दछन् शिष्टतामा ।
बाङ्गो रोज्छन् कुमान्छे कुपथ प्रिय गुनी दुख्दछन् दुष्टतामा ॥
उम्दा चोला छ हाम्रो छलकपट नहुन् स्वच्छ आभा उमारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥४३॥
हिँड्दा दुष्कर्म त्यागी अनियम अरिले पेल्न सक्दैन बोक्नू।
आफ्नोे कर्तव्य सङ्लो नियम डगरमा गर्वका साथ पोख्नू ॥
गल्नेछन् दुष्ट वैरी हृदयतल सफा हुन्छ आफ्नो विचारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥४४॥
होचा अग्ला अमिल्दा हृदयतलविषे चेत छानेर फ्याँकोस् ।
छातीमा नित्य डस्ने खलरिपु जति छन् मास्न सायुज्य डाकोस्॥
आओआओ युवा हो युगपथ दगुरौँ कर्मका हौँ पुजारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥४५॥
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest