वासुदेव तिमल्सिनाजोरुका गुलाम
उसले छोरालाई बोलायो र सोध्यो, “घरको मौसम कस्तो छ छोरा ? आँधितुफान या सुनामी ?” “त्यस्तो केही छैन । सबै ठीक छ । किन र ड्याडी ?”

बासुदेव तिमल्सिना :
“आज कति गते हो ?” पदमनाथ अफिसमा काम गरिरहेकै बेला उसकी पत्नीले मोबाइलमा सोधी ।
“२० गते हो । किन ? के भयो र ?” पदमनाथले हडबडाएर जवाफका साथै प्रश्न पनि गर्यो ।
उताबाट पत्नीले कुनै उत्तर नदिई फोन काटिदिई । पदमनाथलाई फोन फर्काउने साहस भएन । पदमनाथलाई डर लाग्न थाल्यो । ऊ सोच्न बाध्य भयो ।
“आज मेरो जन्मदिन हो ? होइन । बुढीको पनि होइन । एनिभर्सरी होइन । छोराको जन्मदिन पनि होइन । सासुससुराको जन्मदिन पनि होइन, एनिभर्सरी पनि होइन । खानेपानी, बिजुलीको पैसा पनि बाँकी छैन । किन सोधी त गते ?” यस्तै सोच र भयले उ आक्रान्त भयो । दिउँसो खाजा खान पनि मन लागेन । अफिस छुट्टी भयो । ऊ डराइडराइ घर लाग्यो । आज साथीहरुसँग बिदा हुन पनि बिर्सियो । घर नजिकैको चौरमा छोरो भकुण्डो खेलिरहेको थियो ।
उसले छोरालाई बोलायो र सोध्यो, “घरको मौसम कस्तो छ छोरा ? आँधितुफान या सुनामी ?”
“त्यस्तो केही छैन । सबै ठीक छ । किन र ड्याडी ?”
“बिहान तेरी मम्मीले आजको गते सोधेकी थिई ।”
छोरो हाँस्यो र भन्यो, “आज मैले क्यालेण्डरका दुई चार पाना च्यातेर भकुण्डो बनाएको थिएँ । त्यसैले मम्मी कन्फ्यूज्ड हुनुभयो होला र हजुरलाई सोध्नुभो ।”
०००
लालबन्दी, सर्लाही
Subscribe
Login
0 Comments
Oldest







































