देवीप्रसाद मिश्रबुढ्याैली (काव्य शृङ्खला- ६४)
आएँ धरामा कुन कर्मसाथमा लिएर जाने चिज के छ हातमा न साेच आयो दिलमा निरन्तर याे देह पारूँ अब विष्णु मन्दिर।।

देवीप्रसाद मिश्र :
निराशले मानव पस्छ खाडल
अठाेटमा मिल्छ विशेषता, फल
सङ्कीर्णका बीज सबै हटून् पर
याे देह पारूँ अब विष्णु मन्दिर।।४०७।।
संसारका साेच थिए भयङ्कर
अपूर्णमै पूर्णविराम छन् पर
तथापि लाग्दैन कुनै ठुलाे डर
याे देह पारूँ अब विष्णु मन्दिर।।४०८।।
पसेर हिँड्दै परिवार कुञ्जमा
रमाउँदै झन् धनधान्य पुञ्जमा
जे हात पारेँ फल ठान्छु सुन्दर
याे देह पारूँ अब विष्णु मन्दिर।।४०९।।
जम्मा गरेँ अर्थ अनेक भाैतिक
भएन याे जीवन खै अलाैकिक
सँघारमा छन् असरल्ल जन्जिर
याे देह पारूँ अब विष्णु मन्दिर।।४१०।।
भाेगेँ अनेकौँ सुखसार,सङ्कट
खाली छ मेराे दिलदारकाे घट
हटाउँदै मानसका सबै पिर
याे देह पारूँ अब विष्णु मन्दिर।।४११।।
अपूर्णकी अस्थिर कामनासित
पूर्णेन्दुमा पुग्छु मिलाउँदै हित
भनेर लागेँ अझ झाँगियाे पिर
याे देह पारूँ अब विष्णु मन्दिर।।४१२।।
पछ्याउँदै छिन् अझ कामना तर
भरङ्ग पार्छिन् दिल चञ्चले छ र।
बनाउँदै नित्य म चित्त सुस्थिर
याे देह पारूँ अब विष्णु मन्दिर।।४१३।।
आएँ धरामा कुन कर्मसाथमा
लिएर जाने चिज के छ हातमा
न साेच आयो दिलमा निरन्तर
याे देह पारूँ अब विष्णु मन्दिर।।४१४।।
( क्रमशः)
०००
२०८१/४/१७
Subscribe
Login
0 Comments
Oldest







































