डा. मुकेशकुमार चालिसेहामीलाई फुर्सद छैन, के गर्नु ? (२)
अपरान्ह हुन आँटिसक्यो, अलिकती तातोपानी घुट्क्याउन पाए मज्जाले फुर्थ्यो कि ? त्यो तृष्णाले अलि बल गर्यो । घुँडो दुख्दै र पैताला पोले पनि उठेँ र भाँडो खोजेँ। आधि गिलास जति रहेछ, अमृत भनि धोकेँ ।
बिहानको खाना खाएर आराम नै गरिरहँदा मगज त सगसग गर्न थालिहाल्यो । अनि ‘आज के लेख्छु भन्या थिएँ’ भनेर सम्झन कोशिस गर्छु । ज्या, के बिचार आएको थियो, सबै हरायो त मगजबाट । अब के गर्ने, बित्यास पर्यो भन्दै सोच्न थाल्छु । निकै पछि पत्तोलाग्यो सबैले ‘अवकाशप्राप्त समय फुर्सदिलो हुन्छ’ भन्ने गरेको हो कि होइन भन्ने चिन्तनबारे छलफल थियो ।
थपकाम केहि गर्ने कुरो भ्याइएला अब ? दिन त मध्यान्ह भयो त ! कि आज बृहत चिन्तन् मगजमा नै सङ्कलन गरिराख्नु पर्ला । भोलि बिहान निन्द्रा खुलेपछि गरौँ कि ? होइन, आजै गरौँ कि ? आज थालेँ भने आफ्ना मनका कुरा पनि अरुले बुझ्नेगरी लेख्नु पर्यो, जमाना नेपाली भाषा पनि राम्ररी नबुझ्ने छ । हाम्रा पालामा जस्तो ‘कपुरी क, र बाँध्यो ख, गाईगोडे ग’ भन्नलाई कक्षा एकदेखि पढनु पर्यो । अहिले त खोई के के पढ्छन् मुन्ट्याउँदै मन्टेस्वरीदेखि सुरु हुन्छ, क ख जान्नु अघि ‘बर्थ डे, क्रिसमस डे’ के के जानी सक्छन् ! बैसाख १ गते त कता मुण्टियो खै, जानेको भए उही जानुन् ।
पाको मानिसलाई अठोटेको काम ढक्कै र मसक्कै छाडिहाल्न मन लाग्दैन । आ… ढिलो भएपनि काम त् सुरुगरी हाल्नुपर्छ र समय लिए पनि सकिहाल्नु पर्छ भन्ने लाग्दछ । भोलिको के ठेगान, के होला होला ? वार्षिक पत्रिकाको ग्राहक बन्न छाडेको भयो हो केही समय । मनलागे दैनिक आईपर्ने नानाभाँतीका अनलाईन र अनुहारीकामा पाइने अपत्यारिला र चट्पटे समाचारमा दृष्टिगोचर गर्दै समय जान्छ । धेरै वर्ष खप्ने सामान किन्न छाडेकै कति भयो ? किनेर के फाइदा, आफूलाई मनपरेर किनेका फाटेकै छैनन् बिग्रेका छैनन् । तिनैको जगेर्ना गर्दै पुग्छ अब त । यस्तै तर्कना र मनशान्तिले केहि समय लिइहाल्छ । यस्ता गम्भीर चिन्तन पनि त गर्नुपर्यो नि, आफूले नगरे कस्ले गर्छ त ! मेरो समयको नितान्त आवश्यक काम मध्ये पर्छ क्यार । समय कटेर के भयो त ? भन्दाभन्दै मध्यान्ह नाघ्यो, अब लेख्न सुरसार गर्न पर्यो ।
यसो पानी खाएँ, एकफेर शौँच गरेँ अनि लेख्ने तयारीमा लागेँ । के लेख्नु, आफ्ना कुरा लेखौँ, आफूजस्तैले हेर्ने होलान्, सुध्रिने आश गरिएकाले आँखा लाउन्नन् होला । ए, कहाँ लेख्न कस्सिएको म त ? हरे, धुन्छु भनेर जम्मा भएका भित्रीलुगा र मोजा ओच्छ्यानकै छेउ मरणासन्न भएर लडेका छन् । मलाई पिलिपिली गरेर रुञ्चे अनुहारले हेरिरहेका छन् । मोजा त बाहिर जाने भए पो हतार गर्नु, बरु भित्रीलुगा फेरिरहनु राम्रो भनि धुने बिचार आयो । यसो सङ्गालेर तिनलाई बटुल्न खोजेको त् परदेश लाग्ने बाबुको हात समातेर पिञ्चे छोरो पछिलागेझैँ मोजाहरू लतारिन खोजे । ‘हरे, भोलि तिमीहरूको पालो’ भनेको मरे छोडेनन्, कट्टुमा अल्झेर हातमै आए । हत्ये गरेपछि माया लाग्यो, आखिर चिसो हुँदा न्यानो पार्ने र जुत्ताले औँला पाइताला दुखाउन नदिने तिनै हुन् । ‘लौत लौ’ भनेर सँगेटन खोजेको त सबै एकै पटक गञ्जी कट्टुको बिचमा नफुत्किने गरी चराको गुँडबाट बचेराले च्याए झैँ मतिर मुसुमुसु हाँस्दै बसे । अब, पानी र बाल्टिनको जोहो हुने ठाउँ थाह भए पनि धुने साबुन वा धुलोसाबुन कता खोपिमा विराजमान होला भनि गम्नुपर्यो । निकै गहिरो चिन्तनपछि ‘कति सोच्नु, पानी छेउछाउ सफा गर्ने केहि त होला’ भन्दै लर्किएँ ।
ठाउँमा नै पुगेँ, ‘मैमाथि थपिने हजुर ?’ भनेर अरुले प्रयोग गरेर बाँकि मट्याइलो पानीसहितको बाल्टिन क्वारक्वार्ती हेर्दै रहेछ । अब फेरि फसाद, त्यो फालेर सफापानी सारौँ, ‘प्रयोग गर्न मिल्ने कस्ले जान्ने भएर फ्याल्यो’ भन्ने पर्छ कि ? के गरुँ गरुँ भयो । निकै सोच्दै यताउती निरिह मुन्टो डुलाको त, एउटा खाली भाँडो छिल्लिएर लडिरहेको रहेछ । ‘के छ हालखबर तेरा बाबै ?’ भनेको त हलुका हावाको स्याँठले ‘केहि छैन, केही छैन’ भन्दै लडिबुडि गर्नथाल्यो । ‘पख, तैँ फेला परिस्, अब खा चिसो पानी’ भनेर उठाई पानीको जोहो गरेँ । ‘केले धोऊँ’ भनेर फेरि चक्कर लाग्यो । धुन ल्याएका मित्रहरू चिसो पानीमा डुबुल्की मारेर कामीरहेका छन्, सार्है टिठ लाग्यो । पसिना आउने गरेर खोज्दा पो टुप्लुक्क देखिए, पानीस्रोत छेवैमा सातभाइ टक्र्याक्क टुक्र्ुक्क बसिरहेका रहेछन् । कुनै सेता, कुनै राता, कुनै सुन्तले, कुनै निला, कुनै सप्तरङ्गी र कुनै खैरा तर सबै एउटै कामका दाजुभाइ । बिचरा एकआपसमा अङ्कमाल नगरेको कति भइसकेछ ! आफैँ नसक्ने भएर मतिर पो दाजुभाइ मिलाईदिन अनुनयकासाथ हेरिरहेका । म कमलो मनको मान्छे, अरुलाई त केहि भन्न नसक्ने, भन्या मान्नेलाई आफ्नो ज्यान दिन तयार हुने । मेरो त मनै कुँढिएर आयो तिन्को अवस्था र अनुरोध अनुभूत गरेर । आँखाबाट आँसु आउलाजस्तो भयो, तिनको छुट्टिभिन्न अवस्था देखेर । ‘भन्या माने म माया गरेर, थिचथाच गरी तिमीहरूलाई एउटै बनाइदिन्छु, मलाई पनि सहयोग गर है त !’ भन्न के भ्याएको थिएँ, मेरा हत्केलामा अलिअलि पानी छुवाउँदै लुट्पुटिन थाले र हातभरीका डल्ला बने । चिसो पानीमा कठ्याङ्ग्रिएका मेरा ज्यानमा टाँसिने मित्रमाथि लोटाउन थालेँ । कति खुसी भएका, बाफ्रे ! एकैछिनमा गजगजी गाज निकाल्न थाले । धेरै मिच्न नसक्ने म घामटले गाउँमा जानेको जुक्ति लगाइहालेँ, एक छिन घाममा गाजै सहित सुकाएँ ।
आफूलाई पनि सुस्ताउनु थियो नि ! उताउति हेरेर बिताउन मन लाग्यो । अहा, कति मिलेर एकअर्कालाई दुख नदिई, नछोई च्याउँच्याउँ गर्दै बेगसाथ एकबथान सुँगा मेरै आकासबाट उडेर कता लागे लागे । गन्न खोजेको भ्याइन । फेरि एक हार बकुल्ला मन्दगतीमा त्यसैगरी बराबर दुरी राखेर सल्ल्ल उड्दै त्यतै लागे । सुँगा बेतोड उड्ने र बकुल्ला प्यालप्याल गरेर उडी आफ्नोपन देखाउने किन होला ? कति मिलेका ? एउटै परिवारका होलान्, कोहि कसैलाई अखानो नपारी, घुर्कि नलगाई उड्ने । जाने ठाउँमा पहिला पुगौँ र जे छ जिप्ट्याउँ पनि नभने जस्ता । अरु नदेखेपछि हेर्छु त, ओहो मेरा मित्रहरू त् सुकेर टाट्ना परेका । ‘कता अल्मलिएछु, ज्या’ भन्दै उठाएर मित्रहरूलाई ठिक्क पानीमा हाल्छु । ‘निचोरिन पाउँ न प्रभो, बरु सुकोमल पाउनै पाउँ’ भन्दै टुप्लुङ्टुप्लुङ गरेर विनय गरिरहेका मैजस्ता बबुराहरूलाई उनीहरूका कुरा मान्दै मेरा दुई गोडाले ओल्टाई कोल्ट्याई पार्छु । ‘पुग्यो पुग्यो’ भन्दै उछिट्टिन खोजेपछि सकेको हातले सुम्सुम्याई ‘बाँ कि हावा खाउ है’ भन्दै सुकाउँछु । फेरि अरुसँग अलि मायाप्रिती गाँस्न जान खोज्ने स्वभावकालाई बतासले उकेरा लाउने बुझेर एक अर्कालाई च्याप्नेले च्यापीदिन्छु । बढि फुरफुर गर्ने चनमतेलाई फलामे च्याप्ने लगाई दिएको झन उड्न खोज्याझैँ गथ्र्यो । ‘अब, घामजानु अघि आउँला है’ भनि लागेँ लम्पटासनतिर ।
ओहो, लङ्काको लडाईँ जितेको अनुभूत भएर एकछिन प्रिय ओच्छ्यानमै लुट्पुटिन्छु । ‘अहा ! परिवारका सबै वरपर बसेका, कोही फलफूल ख्वाउन बल गरेका, कोही औषधिले फाइदा गरेको बुझ्न खोजेका, केटाकेटी झुम्मिएर गीतनाच गर्दै रहेका । क्या सुखीखुसी परिवार मेरो, म कस्तो आनन्दमा ! त्यहिबेला सानो बाबुले हातबाट छिनछिने खसाल्छ र छन्द्र्याङ्ग आवाजले कोठा थर्किन्छ ।’ म हत्तरपत्त उठछु, कोठामा कोही थिएन । निन्द्रा त होइन गलेर तन्द्रा पो लागेको रहेछ, मनखुसी हुने कल्पनाले । ए, घाम ओरालो लागिसकेछ । सुकिसकेका मित्रहरू फेरि स्याँठले चिसिएलान् भनि उठाउन गएँ, हिँड्न अलि अप्ठ्यारो लाग्यो । अघिनको कुल्चाईको पलिसा होला, होस् अब दुईतिन हप्तालाई परेन नि ! बेलाबखत, मेरा मित्रहरू हाततिर जाने घाँटीतिर छिर्छन्, दुईटा गोडातिर जाने एउटा गोडातिर छिर्छन् । कुरो बुझेँ, तिनले टुमरी मागेका हुन् । एउटा सियोको टुप्पोले अर्कोको नाथ्री घोच्दै धागो छिराएँ । अनि तिनका भ्वाङ् जोडजाड पार्देको, कति खुसी भएका, आफ्ना औकातमा आइहाले नि ! त्यसपछि आआफ्ना ठाउँमा तिनलाई मिलाएर सुताएपछि, कति ज्ञानी भई नुनु गरेका ! फेरि एकछिन थरक त् मार्नुपर्यो बा, बित्दो के छ र !
आज लेख्नखोजेको कुरा टिप्न मन खेलाउन थालेँ । अपरान्ह हुन आँटिसक्यो, अलिकती तातोपानी घुट्क्याउन पाए मज्जाले फुर्थ्यो कि ? त्यो तृष्णाले अलि बल गर्यो । घुँडो दुख्दै र पैताला पोले पनि उठेँ र भाँडो खोजेँ। आधि गिलास जति रहेछ, अमृत भनि धोकेँ । आनन्द लाग्यो । अब लेखनतिर लाग्नु पर्यो । अँ, लेखनको विषय पाका मानिसका समयतालिका, होइन, होईन, पाका मानिस फुर्सदिला हुन्छन् । लौ विषय पनि गोलमाल पर्यो । खासमा लेख्न खोजेको अनुभव नै हो । तर सल्लाह दिँदा साँढे डुक्र्याईमा म्याद गुज्रेको भन्थे, अस्तिन वरपर आउनुपर्नेहरू ! खोई के गरुँ ? आफूलाई लाग्या भन्ने त हो, प्रजातन्त्र कहिलेदेखि आको रे ? हामीले नबोले हाम्रा लागि कस्ले बोल्ला ? अर्कालाई गर्ने जमाना गयो भनेर आफ्नै लागि जुलुस निकालेका बहरजस्ता बलेख्रा देख्या कति भयो र ? हुन्छ म पनि आफ्नै लागि लेख्ने बिचार गरेँ ।
समयले नेटो काट्ला जस्तो भयो है । राम्रो कुराको थालनी गरेपछि पैयाँ छोड्ने अनि फत्ये गरेपछि छोड्नु पर्छ भन्थे । म पनि बसेपछि सिनित्त पारेर उठौँ भनेको फुर्सद नभएर पो, नत्र सकिहाल्थेँ नि । लौ भन्नुहोस् त, बिहान खाना खाएदेखि मलाई फुर्सद कहिले देख्नु भयो ? आज अरु काम गर्ने फुर्सद पाएकै छैन त, के गरुँ त ?
क्रमश…
लेखकका यस्तै सामग्रीहरू
१. मेरा अहिलेका साथीहरू, फ्रेसन्युज नेपाल डट कम अनलाईन, २०२१ नेभेम्बर २७
२. हामीले गर्ने कामहरू, फित्कौली डट कम अनलाईन, २०२१ दिसम्बर २८
३. हामीले किन यस्तो भोग्छौँ ?, फित्कौली डट कम अनलाईन, २०२२ जनुवरी ११
४. हामी जता भए पनि !, फित्कौली डट कम अनलाईन, २०२२ फरबरी ५
५. हामी यस्तैमा छौँ साथीहरू !, परिसम्बाद डट कम अनलाईन, २०२२ फरवरी ९
६. हामीलाई फुर्सद छैन, के गर्नु ?(१), फित्कौली डट कम अनलाईन, २०२२ फरबरी १७
ल.पु., चालिसेडाँडा
Subscribe
Login
0 Comments
Oldest





































