बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

जेष्ठ नागरिकका समस्याहरू

जेष्ठ नागरिकहरूप्रति उचित सम्मान आदर गरिएन भने हाम्रा सन्ततिहरूले हामीमाथि सम्मान गर्ने छैनन् र हाम्रो जीवन अहिलेका जेष्ठ नागरिकहरूको भन्दा निरिह र दयनीय हुन जान्छ ।

Nepal Telecom Spring Offer

मानव विकास र सभ्यताको सुरुवातसँगै जन्मपछि मृत्यु पनि सँगै जोडिएर आएको पाइन्छ । शरीर मरेर गएतापनि जिवित छउन्जेलको कर्मले मानिस अजर, अमर रहन्छ भन्ने हाम्रो सामाजिक मुल्य, मान्यता रहेको छ । शास्त्रहरूमा समेत मानवको कर्मले नै स्वर्ग र नर्कको वास निर्धारण गर्छ भनिएको छ । यो एउटा धारणा पनि हो कि मानिसले नराम्रो कर्म नगरुन राम्रै राम्रो कर्म गरेर जिवित हुँदै सुख सयल भोगुन् । यही मानव जीवनको विभिन्न उमेर समूहका चरणहरू मध्ये वृद्ध अवस्थाको वारेमा यहाँ चर्चा गरिन्छ ।

विश्वका हरेक मुलुकमा कति उमेरदेखि वृद्ध अवस्था भन्ने आ-आफ्नै नीति र नियम रहेको छ । यसमा त्यस देशको आर्थिक, राजनैतिक र सामाजिक आदि कारणले प्रत्यक्ष, अप्रत्यक्ष रुपमा प्रभाव पारेको हुन्छ । हाम्रो देश नेपालमा भने ६० वर्षभन्दा माथिको उमेर समूहकालाई वृद्ध भन्ने गरिएको छ । कानुनी रुपमा पनि यही उमेर समूहलाई बृद्ध अवस्था भनेर मान्यता दिइएको छ । सुरुका दिनहरूमा बुढा-बुढी त्यसपछि वृद्ध -वृद्धा र हाल आएर जेष्ठ नागरिक भनी सम्मानजनक शब्द प्रयोग गरेको पाईन्छ ।

समयसँगै शब्द सम्मान र परिभाषामा समेत व्यापक परिवर्तन हुदै आउनुलाई सकारात्मक रुपमा हेर्न सकिन्छ । हुन त हरेक जात/जातिमा केही न केही चाड, पर्व छन् जो यो उमेरहरूमा लक्षित छन् । जस्तो कि हिन्दु धर्मावलम्बीको हकमा मातातिर्थ औँसी र कुशे औँशीमा आफ्ना बा आमालाई नयाँ लुगा दिने मिठो मसिनो ख्वाउने प्रचलन सदियौँदेखि चल्दै आएको पाईन्छ । आफ्ना नहुनेले समेत आज आएर विभिन्न वृद्ध आश्रममा गएर उहाँहरूलाई लुगा, खाना दिएर यो पर्व मनाएको पाइन्छ ।

सन् १९८२ मा भिएनामा भएको बृद्ध सम्बन्धि विश्व सम्मेलनले जेष्ठ नागरिक सम्बन्धि कार्य योजना पारित गरी सन् १९९१ मा बृद्धहरूको सम्बन्धमा संयुक्त राष्ट्रसंघीय सिद्धान्त समेत लागू गरियो र यसलाई जागरुक बनाउन सन् १९९९ मा अन्तराष्ट्रिय बृद्ध वर्ष मनाइयो । यसरी अन्तराष्ट्रिय रुपमा हेर्ने हो भने प्रत्येक वर्ष अक्टोवर १ तारिखलाई अन्र्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको रुपमा मनाउन थालिएको पाइन्छ । यो दिन उनीहरूको हक हितमा विभिन्न सभा, समारोह र सेमिनार मार्फत् पहल भैरहेको छ ।

जेष्ठ नागरिक इतिहासका साक्षी वर्तमानका आदर्श र सम्मानका पात्र तथा भविष्यका मार्ग दर्शक हुन् भन्नेमा पक्कै दुईमत रहन्न । उनीहरूका जीवनका भोगाईहरू एउटा पाठशाला नै हुन् । जसले जीवनमा सही गलत छुट्याएर अघि बढ्नलाई सवै सन्ततीलाई दिशानिर्देश गर्दछ ।

हाम्रो समाज र संस्कारले ठुलोलाई सम्मान गर्नुपर्दछ भनेर सिकाउँदछ । यो सम्मान उमेरलाई मात्र हैन कि उहाँहरूले परिवार, समाज र राष्ट्रलाई गर्नु भएको योगदानको समेत सम्मान हो । उहाँहरूका जिवन्त गाथा र कथाहरूले सभ्य र सुसंस्कृत समाज निर्माणमा महत्वपूणर् भूमिका खेल्दछन् । हिजोको विकास, सभ्यता, चेतना र शिक्षाका धरोहर हुन् जेष्ठ नागरिक । नयाँ पिढीले उहाँहरूका कर्महरूलाई पथ प्रदर्शकका रुपमा लिन सकिन्छ ।

समयको गति सँगै नयाँ पुस्ताले उहाँहरूप्रति गर्ने व्यवहार, मान, सम्मान, उहाँहरूका वचनहरू मनन् गर्ने कुरामा समेत व्यापक परिवर्तन आएको छ । “उहिलेका कुरा खुइलिए, अर्ति ,वुद्धि ,उपदेश को सुन्छ, हामी आधुनिक युगका पुराना जमानाका कुराले चल्न सकिँदैन” भन्ने गरेको धेरै सुनिन्छ । समयको वहावसँगै परिवर्तन हुनु र परिष्कृत हुनु भनेको सवै पुरानालाई अपमान र अवहेलना गर्नु पनि हैन । परिवर्तनका पनि सिमा हुन्छन् कतिपयले यसलाई नाघेको प्रसस्त उदाहरण हाम्रो गाँउ, समाज र ठाउँमा थुप्रै पाइन्छ ।

त्यसैगरी हुर्के बढेका छोरा, छोरी पढ्न कमाउन शहर वा विदेश जाने बढ्दो क्रमले उनीहरूको स्याहार, सम्भारमा समस्या आएको छ । सामाजिक जीवन र व्यवहारीक जीवन दुवै कठिन हुँदै गएपछि उनीहरूमा विभिन्न मानसिक, शारीरिक समस्या समेत देखिएका छन् । घरमै वा देश भित्रै रहँदा त उनीहरूको पालन पोषणमा उदासिन धेरै सन्ततिका कारण जेष्ठ नागरिक दुःखी छन् । त्यसैगरी आधुनिकीकरणको बढ्दो प्रभावले एकात्मक परिवारको संख्या दिनानुदिन बढ्दै गएको पाइन्छ ।

विशेषगरी शहरी साथै ग्रामिण क्षेत्रमा पनि यो क्रम बढिरहेकाले भोली गएर यसले एउटा विकराल सामाजिक समस्या निम्त्याई जेष्ठ नागरिक एक्लिदै नजालान् भन्न सकिदैन । जन्म, शिशु, वालक, वयस्क र वृद्ध हुँदै जानु एक प्राकृतिक नियम हो । यसबाट हामी सवैले कुनै न कुनै दिन गुज्रनु पर्छ भन्ने तितो सत्यलाई बुझ्न नसक्नुनै एउटा अभिसापको रुपमा सावित हुँदैछ । भोली मेरो पनि बाटो त्यही हो भन्ने कुरा नबुझीदिनाले धेरै समस्याहरू अझ थपिँदै गईरहेको पाइन्छ । वयस्कहरू वैदेशिक रोजगार र शिक्षाको लागि वाहीरिदैँ जानुले अधिक मात्रामा कुनै दिन गएर वृद्ध वृद्धाहरूको मात्र देश होला भन्न नसकिने अवस्था दिनानुदिन बढ्दै जाँदैछ ।

मानविय सोचले समेत यसमा नकारात्मक भूमिका खेलेको पाइन्छ । कतिपय अवस्थामा जस्तो कि ४०/४५ वर्ष पुगेपछि म बुढो भएँ भन्ने सोचले पनि चाडँै मानसिकरुपमा थकित बनाउँछ । अन्तर्राष्ट्रिय क्षेत्रतिर हेर्ने हो भने यो वेला आफ्नो प्रगती र उन्नतीका निम्ती काम गर्ने बेला हो । यो उदासीपनले बैराग्यता सिर्जना गरी स्वास्थ्यमा समेत नराम्रो असर पारेको देखिन्छ । त्यसै पनि बढ्दो उमेरसँगै मानिस शारिरिक रुपमा कमजोर हुन्छ भने उदासी र वैराग्यताले मानसिक रुपमा झन् शिथिल बनाउँदछ । बढ्दो उमेर र तनावको कारण छालामा सुख्खापन आउने, अनुहार चाउरीने, आँखा र कानको क्षमतामा कमी साथै पाचन प्रणालीमा समेत असर पर्दछ । त्यस्तै नशा तथा वाथको रोग लाग्ने, चाँडै विर्सने वानी तथा ढाड, घुँडा, हाडजोर्नी दुख्ने समस्या समेत आउने गरेको पाइन्छ ।
यी शारिरीक र मानसिक समस्यासँगै जेष्ठ नागरिकहरूमा पारिवारीक समस्या समेत धेरै आउने गरेको छ । कुन छोरा वा छोरीसँग बस्ने, सम्पत्ति भोगचलनमा सन्ततिबाट प्रतिवन्ध, सम्पत्ति खाएर पनि राम्रो पालन पोषण नगर्ने, नियमित स्वास्थ्य परिक्षण नहुनु, अझ उपचार नै नहुनु, सन्तानबाट घृणित भएर मठ मन्दिर वा वृद्धाश्रमको शरण लिन पुग्नु ,आदि रहेका छन् । यस्ता समस्याहरू दिन प्रतिदिन बढ्दै गइरहेको हुँदा घर, परिवार, गाँउ, समाज सरोकारवाला निकायल कसरी समाधन गर्न सकिन्छ भनी बेलैमा जेष्ठ नागरिकहरूलाई समाजमा सम्मान पूर्वक वाच्न सक्ने वातावरण निर्माण गर्नु आवश्यक देखिन्छ ।

नेपालमा जेष्ठ नागरिकहरूको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । वि.सं.२०५८ सालको जनगणनामा ६० वर्ष भन्दा माथिको जनसंख्या ६.५ प्रतिसत थियो भने वि.सं. २०६८ सालमा यो ८.१३ प्रतिशत पुगेको छ । जुन करिव २१ लाखको हाराहरीमा हुन आउँदछ । यसरी नेपालमा जेष्ठ नागरिकहरूको संख्या बढ्नुमा औसत आयुमा आएको सुधार/बृद्धिलाई प्रमुख कारण मानिन्छ । यसरी संख्या बृद्धिभएको कारणले पनि पहिलेका नितीनियम पर्याप्त नभएकोले परिमार्जित हुनु आवश्यक छ ।

आफ्ना आमा बुवालाई देवता सरह मान्ने “मातृ देवो भवः पितृ देवो भवः” को भावना करिवकरिव मृत अवस्थामा पुगिसकेको छ । यसलाई जागृत गराउन आवश्यक छ । बृद्धा अबस्था अभिशाप होइन भन्ने भावना सबैमा ल्याउनु पर्दछ । डा. करुणा कुँवर भन्नु हुन्छ -कतिपय जेष्ठ नागरिकहरू त छोरा, छोरी संँग कुराकानी गर्न पाए मात्र पनि आनन्दित र प्रफुल्लित हुन्छन् । यो पनि एउटा मानसिक परामर्श हो । बृद्ध ,बृद्धाहरूलाई माया तथा हेरचाहको आवश्यकता हुन्छ । राम्रो गरि हेरचाह गरेमा शारीरिक तथा मानसिक रुपमा बलियो बनाउन सकिन्छ । उमेर अनुसार उनीहरूले गर्न सक्ने काममा प्रोत्साहित गर्नु पर्छ ।

त्यस्तै पर्याप्त रुपमा आरामको आबश्यक्ता पर्दछ । पौष्टिक आहार र सरसफाईमा पनि ध्यान दिन जरुरी छ । सुरक्षित तथा सफा वातावरणमा राख्नु पर्दछ । बृद्ध- बृद्धालाइ मन लागेका काममा परिवारबाट बन्देज लगाइनु हुँदैन यदि त्यस्तो भएमा मानसिक विचलन बढ्न जान्छ । जीवनको आनन्द लिन खुल्ला छाडि दिनु पर्छ । मनमा लागेका र आफ्ना बिगतलाई प्रस्फुटन गर्न दिनु पर्छ ।

त्यसैगरी जेष्ठ नागरिकहरू घरमा वा बृद्धा आश्रममा कहाँ बस्दा रमाउँछन् उनीहरूको स्वेच्छामा छाडिदिनु पर्छ । जेष्ठ नागरिकलाई आत्मबिश्वासी र आत्मसन्तुष्टि भएर बस्न सक्ने सरकारी नीति आवश्यक छ । त्यस्तै दैनिक स्याहार केन्द्र, बृद्ध आश्रमको आवधारणा सबैले बुझ्न आबश्यक छ । बृद्धाहरूलाई लगेर फालिदिने कुनै ठाँउ नभई बृद्धाश्रम एउटा उनीहरूको सामुहिक घर हो भन्ने धारणा बुझाउन जरुरी छ ।

जेष्ठ नागरिकहरूले पनि आफू बुढो भएँ भन्नु भन्दा उमेर ढल्कँदै गए पनि कसरी आफुलाई स्वस्थ राख्न सकिन्छ भनेर व्यायाम गर्ने, नियमित स्वास्थ परीक्षण गर्ने गर्नु पर्दछ । उमेर अनुसारको मनोरञ्जन गर्नु पर्दछ । आफूले जानेको क्षमतालाई प्रस्फुटन गर्नु राम्रो हुन्छ, जस्तो गीत गाउनु ,कविता भन्नु, वाजा वजाउनु आदि । सकेसम्म आफुलाई सक्रिय र क्रियाशील राख्दा राम्रो हुन्छ । बृद्ध अवस्थामा पुगियो भनेर आफूलाई शिथिल राख्नु हुँदैन आफुले सक्ने काम गर्नु पर्दछ । सफा सुग्घर भएर बस्नु पर्दछ । आफ्ना बिगतका रमाइला दिन सम्झेर खुशी मान्नु पर्छ । रिस, राग, द्वेष जस्ता भावना त्यागी परिवारका सदस्यहरूसँग खुसी बाँढ्ने प्रयास गर्नु पर्दछ ।

उमेर ढल्कँदै जाँदा मानिसमा चिढचिढाहट आउने, रिस चाँडै उठ्ने स—साना कुराले पनि मनमा असन्तुष्टि उत्पन्न हुने गर्दछ । त्यसैले भरसक सकेसम्म आफूलाई शान्त बनाउने प्रयास गर्नु पर्दछ । हामीले बृद्ध- बृद्धाहरूको बेइज्जत गर्ने उनीहरूको दुःखलाई हाँसोमा उडाउने जस्ता कार्य गर्नु हुँदैन । गाली गर्ने, कुटपिट गर्ने, होच्याउने जस्ता कार्य गर्न हुृँदैन । उनीहरूको भावना बुझेर, पुर्‍याउन सक्ने रहर र चाहानालाई पुरा गरिदिनु पर्दछ । त्यस्तै उनीहरूको दैनिकी अवलोकन गर्दै सयनकक्षको सरसफाइ र औषधि सेवन जस्ता कुरालाई बिशेष ध्यान दिनु पर्ने हुन्छ । घरको वातावरण बृद्ध- बृद्धालाई सहज हुने बनाउनु पर्दछ ।

बृद्धा आश्रम वा दैनिक स्याहार केन्द्र- जस्तो भएता पनि जेष्ठ नागरिकको लागि परिवारमा बस्नु जस्तो सुबिधा अन्यन्त्र हुन गाहृो छ । जेष्ठ नागरिकहरूको ज्ञान सीप र अनुभवलाई राज्यले देश विकासमा लगाउनका लागि २०५८ सालमा एउटा कार्यनीति तयार गरेको थियो । सोही अनुसार २०६३ मा जेष्ठ नागरिक ऐन र २०६५ मा नियमको व्यवस्था भएको थियो । जसअनुसार आफ्नो हैसियत अनुसार परिवारले पालन पोषण गर्नु पर्ने ,इच्छा बिपरित अलग राख्न र बस्न बाध्य गराउन नहुने ,आफ्नो चल -अचल सम्पत्ति आफु खुसी गर्न पाउने । त्यस्तै सार्वजनिक सवारी साधन, सामाजिक कार्य ,स्वास्थ्य सेवा,धार्मिक तथा सार्वजनिकस्थलमा आवश्यक सेवा र सुविधा प्रदान गर्नु पर्ने सवैको कर्तव्य हुने व्यवस्था गरेको छ । स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाले ५० प्रतिशत सहुलियत दिनु पर्ने ,यातायातका भाडा दरमा ५० प्रतिशत छुट दिनु पर्ने जस्ता धेरै व्यवस्था गरेको छ ।

राज्यले केही वर्ष अगाडीवाट जेष्ठ नागरिकहरूलाई बृद्ध भत्ताको शुरुवात गरेको र त्यसलाई रु पाचसयवाट बढाएर यही श्रावण महिना देखि मासिक एकहजार बनाएको छ र औषधि उपचार खर्च पनि दिने व्यवस्था गरेको छ । यस्ता सुबिधाहरू सहज रुपमा पाउन नसक्दा कहिले काही जेष्ठ नागरिकहरूले आन्दोलन गरेको पनि सुन्नमा आउछ । जति पनि सुबिधा राज्यले जेष्ठ नागरिकलाई दिएको छ ति सकारात्मक पक्षलाई निरन्तरता दिन र निर्माण भएका कानुनहरूलाई कडिकडाउ रुपमा पालन गर्न सके जेष्ठ नागरिकहरूका समस्या धेरै हद सम्म समाधान हुन सक्ने देखिन्छ ।

यस भन्दा पनि विद्यालय तहदेखि नै जेष्ठ नागरिकहरू प्रति सम्मान गर्न सिकाउने खालको नैतिक शिक्षा दिनु अझ बढी आवश्यक देखिन्छ । हामी सबैले एक दिन बृद्ध अवस्था भोग्नै पर्छ । त्यसैले जेष्ठ नागरिकहरूप्रति उचित सम्मान आदर गरिएन भने हाम्रा सन्ततिहरूले हामीमाथि सम्मान गर्ने छैनन् र हाम्रो जीवन अहिलेका जेष्ठ नागरिकहरूको भन्दा निरिह र दयनीय हुन जान्छ । त्यसैले आजैदेखि जेष्ठ नागरिकहरूको सम्मान गर्ने संस्कारको विकास गरौँ अनि मात्र हाम्रो सभ्य संस्कृतिमा कुनै विकृति आउने छैन । जेष्ठ नागरिकको सम्मान गर्नु राज्य र तपाई हामी सबैको दायित्व हो यसलाई हामी सबैले आत्मसात् गर्दै जेष्ठ नागरिकको सम्मान गरौं ।

०००

फित्काैलीको सूचना
Nepal Telecom Spring Offer
डाँडामाथिका उज्याला जून !

डाँडामाथिका उज्याला जून !

डा. मुकेशकुमार चालिसे
पाका मानिस सम्बन्धी स्थानिय तहको कानूनी दायित्व

पाका मानिस सम्बन्धी स्थानिय...

मञ्जुकुमारी पाैडेल
पाका मान्छेका केही गुन-बैगुनका कुरा !

पाका मान्छेका केही गुन-बैगुनका...

डा. मुकेशकुमार चालिसे
जेष्ठ नागरिकको पालन पोषण र उजुरी सम्बन्धी कानूनी व्यवस्था

जेष्ठ नागरिकको पालन पोषण...

मञ्जुकुमारी पाैडेल
पाकामा साईटिकाको समस्या !

पाकामा साईटिकाको समस्या !

डा. मुकेशकुमार चालिसे