डा. मुकेशकुमार चालिसेजेष्ठ नागरिकको सम्मान, सभ्यताको पहिचान
अनुभवका खानी ज्येष्ठ नागरिकमा भएको त्यहि ज्ञान र अनुभवलाई मार्ग दर्शनको रुपमा उपयोग गर्न सकियो भने समृद्ध मुलुकको निर्माण सहज रुपमा गर्न सकिन्छ ।

पवित्रा अधिकारी :
नेपालमा वि.सं.२०७८ पुस ११ गते देखि राष्ट्रिय स्तरमा ज्येष्ठ नागरिक दिवस मनाउन थालिएको हो । नेपाल सरकारको निणर्य बमोजिम हरेक वर्ष पुस ११ गतेलाई राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको रुपमा मनाउन थालिएको थियो । यो वर्ष महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, तथा ज्येष्ठ नागरिकका क्षेत्रमा काम गर्ने बिभिन्न सघंसस्थाहरूले आ-आफ्नो क्षेत्रमा बिभिन्न कार्यक्रमहरू गरेर यो दिवस मनाउँदै छन् । राष्ट्रिय स्तरमा ज्येष्ठ नागरिक दिवस मनाउनुको मुख्य उद्देश्य जनमानसमा ज्येष्ठ नागरिकको बारेमा जनचेतना अभिवृद्धि गर्नु हो । ज्येष्ठ नागरिकहरूको मानव अधिकारको संरक्षण, स्वस्थ र मर्यादित जीवनशैलीको प्रवर्धन, र उनीहरू माथि हुने दुव्र्यवहार, हिंसा र विभेदको रोकथामका लागि आवाज उठाउन बिभिन्न नीति तथा कार्यक्रम तय गर्नु यो दिनको प्रमुख विशेषता हो । यो दिनको लागि यस वर्षको नारा “ज्येष्ठ नागरिकको सम्मान सभ्यताको पहिचान” रहेको छ ।
१९९१ को १६ डिसेम्वरमा बसेको संयुक्त राष्ट्रसंघको साधारण सभाले ज्येष्ठ नागरिकको अधिकार सम्बन्धी सिद्धान्तहरू स्थापित गरेको थियो । जसमा उनीहरूको स्वतन्त्रता, सहभागिता, स्याहार, आत्मपरिपूर्ति र सम्मान प्रमुख छन् । जस अनुसार ज्येष्ठ नागरिकको सम्मान भन्नाले ज्येष्ठ नागरिकहरू शारीरिक एवम् मानसिक शोषणबाट मुक्त भई स्वतन्त्रतापूर्वक सम्मानजनक र सुरक्षित जीवन बाँच्न पाउनुपर्छ भन्ने बुझिनु पर्दछ । साथै उमेर, लिङ्ग, बणर्, जाति, धर्म, अपाङ्गता वा अन्य कुनै आधारमा ज्येष्ठ नागरिकहरूलाई विभेद गरिनु हुँदैन । उनीहरूले गरेका उत्पादनशील, सामाजिक, आर्थिक कार्यबाट राष्ट्रले प्राप्त गरेका योगदानका आधारमा उनीहरूको कदर गर्नुपर्छ भन्ने कुरा बुझिनु पर्दछ ।
नेपालको संविधान-२०७२ को धारा ४१ मा “ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ” भनी मौलिक हकको रूपमा उल्लेख गरेको छ । ज्येष्ठ नागरिकहरूको सामाजिक सुरक्षाको प्रत्याभूति दिनु राज्यको दायित्व हो । यहि कुरालाई दृष्टिगत गर्दै ज्येष्ठ नागरिकको सम्मान, वृद्धावस्थामा हुन सक्ने समस्या र विभिन्न अप्ठ्याराहरूलाई सम्बोधन गर्न ज्येष्ठ नागरिकको कानुनको रुपमा ज्येष्ठ नागरिक सम्वन्धी ऐन, २०६३ तयार गरिएको थियो । जुन, अहिले २०७९ मा संशोधित भई लागु भैसकेको छ । जसले ६० वर्ष वा सो भन्दा माथिका ब्यक्तिलाई ज्येष्ठ नागरिक भनि परिभाषित गरेको छ ।
ज्येष्ठ नागरिकसँग मानव मुल्य र मान्यता, संस्कृतिक तथा सामाजिक सभ्यताको दरिलो सम्बन्ध कायम रहेको हुन्छ । समाजको हरेक विकासको गति र तिव्रतामा पनि ज्येष्ठ नागरिकको भूमिका अतुलनीय रहँदै आएको छ । ज्येष्ठ नागरिकलाई सम्मान गर्नु सांस्कृतिक, नैतिक र व्यावहारिक सबै पक्षले उचित छ । एउटा उदाहरणीय र सहयोगी समाजलाई बढावा दिनको लागि पनि ज्येष्ठ नागरिकलाई सम्मान गर्नु अति आवश्यक रहन्छ । यहाँ यस्ता केही कारणहरूको चर्चा गरिएको छ, जुन कारणले गर्दा ज्येष्ठ नागरिक साँच्चिकै सम्मानका लागि सुयोग्य छन् भन्ने ठहर गर्दछः-
१) ज्ञान र अनुभवः ज्येष्ठ नागरिकसँग वर्षौंको परिश्रम र जीवनका अनुभवबाट सिर्जित ज्ञानको भकारी रहेको हुन्छ । सामान्य जीवन जिउने तरिका देखी कृषि, पुर्वाधार, शैक्षिक, ब्यवस्थापकीय आदी जस्ता बिविध ज्ञान र अनुभवका खानी ज्येष्ठ नागरिकमा भएको त्यहि ज्ञान र अनुभवलाई मार्ग दर्शनको रुपमा उपयोग गर्न सकियो भने समृद्ध मुलुकको निर्माण सहज रुपमा गर्न सकिन्छ । उनीहरूको अन्तर्दृष्टि व्यक्तिगत विकास र सिकाइको लागि पनि बहुमूल्य हुन सक्छ ।
२) सांस्कृतिक मूल्यहरूः ज्येष्ठ नागरिक र सांस्कृतिक मूल्यलाई पर्यायवाची शब्द भन्दा पनि फरक नपर्ला । किनभने हरेक सांस्कृतिक मूल्य मान्यताहरूसँग ज्येष्ठ नागरिक जोडिएरै आइहाल्छन् । यो सांस्कृतिक मानक प्रायः ज्येष्ठ नागरिकहरू परम्परा, चलन र सांस्कृतिक सम्पदाका वाहक हुन् भन्ने विश्वाससँग पनि जोडिएको छ । उनीहरूलाई सम्मान गर्नु भनेको समाजको सांस्कृतिक संरचनालाई सम्मान र संरक्षण गर्ने उपयुक्त तरिका हो ।
३) समाजमा योगदानः प्रायः ज्येष्ठ नागरिकहरूले आफ्नो समग्र जीवन केही न केही काम गरेर आफ्नो समुदायमा महत्वपूर्ण योगदान दिएकै हुन्छ । तिनीहरूको विगत र वर्तमानका योगदानहरूलाई उचित मूल्याङ्कन गरी सम्मान गर्नाले सबैमा सकारात्मक कृतज्ञताको भावना बढ्छ । समाजमा उनीहरूले गरेको सकारात्मक प्रभावलाई स्वीकार गर्ने परिपाटीको विकास हुन्छ ।
४) प्रेरणा र नमुनाः कतिपय ज्येष्ठ नागरिकहरूले युवा पुस्ताका लागि प्रेरणा र नमुनाको रूपमा काम गरिरहेका हुन्छन् । तिनीहरूको लगनशीलता, लचिलोपन, र चुनौतीहरू पार गर्ने क्षमताले समान परिस्थितिहरूको सामना गर्नेहरूलाई प्रेरणा र मार्गदर्शन प्रदान गर्न सक्छ । यस्ता ज्येष्ठ नागरिकहरूलाई आदर सम्मान गर्दा जीवनको बहुमूल्य पाठहरू एक अर्कामा प्रसारण गर्ने अवसरहरू बढ्दै जान्छन् ।
५) अन्तर-पुस्ता सद्भाव प्रवर्द्धनः ज्येष्ठ नागरिकलाई सम्मानले पुस्ता पुस्ताबीचको पुल निर्माण गर्न मद्दत गर्छ । यसले विभिन्न उमेर समूहहरू बीच समझदारी र सहयोगको वातावरण सिर्जना गर्दछ । परिवार र समुदायहरूमा एकता, शान्ति, मेलमिलापको भावनालाई निरन्तरता र बढावा दिन्छ ।
६) हेरचाह र समर्थनः उमेरगत परिवर्तनको कारणले गर्दा कतिपय ज्येष्ठ नागरिकहरूले शारीरिक, मानसिक वा संज्ञानात्मक चुनौतीहरूको सामना गरिरहेका हुन्छन् । उनीहरूलाई सही आदर सम्मान गर्दै आवश्यक हेरचाह र समर्थन गरेको खण्डमा उनीहरूले आफ्नो जीवन मर्यादित रहेको अनुभव गर्न सक्छन् । यसले पारिवारिक तथा सामाजिक दृष्टिकोणबाट उनीहरूको भलाइ सुनिश्चित गर्दछ साथै बुढेसकालमा आउने परिवर्तनहरूको लागि समानुभूति देखाउँछ ।
७) मनोवैज्ञानिक कल्याणः सम्मान र मर्यादित जीवनको अनुभवले ज्येष्ठ नागरिकहरूको मनोवैज्ञानिक पक्षको विकासमा सकारात्मक योगदान पुर्याउँछ । यसले उनीहरूको गरिमा र आत्म-मूल्यको भावनालाई कायम राख्न मद्दत पनि गर्दछ । सामाजिक अलगाव र एक्लोपनको जोखिम कम गर्दछ । जुन अहिले धेरै ज्येष्ठ नागरिकहरूमा देखिने साझा चिन्ताको विषय हो।
८) धार्मिक तथा नैतिक विचारहरूः विश्वमा यस्तो कुनै धर्म वा समुदाय छैन, जसले ज्येष्ठ नागरिकहरूलाई आदर सम्मान गर्ने कुरामा बिमती राख्दछ । हाम्रो सनातन धर्मले त झन् ज्येष्ठ नागरिकहरूलाई जिउँदा देवताको संज्ञा दिएको छ । यदि हामी हाम्रो धार्मिक तथा नैतिक विचारहरूमा अडिग भएर लाग्छौँ भने हामीले ज्येष्ठ नागरिकको सम्मान गर्नै पर्दछ । हामीसँग यस्ता धेरै नैतिक दिशानिर्देशहरू छन् जसले ज्येष्ठ नागरिकहरूलाई सम्मानपूर्वक व्यवहार गर्ने महत्वलाई जोड दिन्छ । यसमा ज्येष्ठ नागरिक माथि हुने दुव्र्यवहार, घरेलु हिंसा र भेदभाव विरुद्धको सुरक्षा, निष्पक्षता साथै उनीहरूको मर्यादित जीवनको लागि गरिने दैनिक व्यवहारहरू समावेश गर्न सकिन्छ ।
९) सामाजिक सद्भाव : समाजमा सामाजिक एकता तथा मेलमिलाप कायम राख्नमा ज्येष्ठ नागरिकको ठूलो हात रहेको हुन्छ । समाजलाई कसरी मिलाएर राख्ने, कसलाई के जिम्वेवारी दिने भन्ने कुरको सहि हेक्का राख्ने क्षमता पनि ज्येष्ठ नागरिकमा रहेको हुन्छ । यस्तो महत्वपूर्ण जिम्वेवारी बहन गर्ने ज्येष्ठ नागरिकलाई सम्मान गर्नाले नयाँ पुस्तामा साझा जिम्मेवारीको भावनालाई प्रोत्साहित गर्दछ ।
०००
पवित्रा अधिकारी एजिङ नेपालसँग सबद्ध हुनुहुन्छ ।
Subscribe
Login
0 Comments
Oldest


































