डा. मुकेशकुमार चालिसेपाका मान्छेका बिर्सने बानी
बिर्सनु मानवीय गुण हो । उमेरअनुसार बिर्सने मात्रा र निरन्तरता हुँदा भने बेलैमा होसियार हुनुपर्छ । उमेरिएका पाका मान्छेमा शारीरिक कमजोरी, पारिवारिक सामाजिक बेमेलपनले चिन्तित भई उल्टापाल्टा क्रियाकलाप हुनलागे त झन खतरा हुन्छ ।
प्रा.डा. मुकेशकुमार चालिसे :
मान्छेहरूमा कुनै पनि घटना वा कुरा मस्तिष्कमा रहेपछि मात्र सम्झने हुन्छ । देखेजानेका र सिकेका कुरा हाम्रो दिमागमा तीन किसिमबाट जम्मा हुन्छः क्षणिक, अस्थाई र स्थाई । दैनिक आवश्यकताले दोहोरिएको अवस्थामा विषय र प्रसङ्गहरू ताजा भइ सम्झनामा अद्यावधिक भएका हुन्छन् । बाआमाले दोहोर्याइरहेमा बालककालका कुरा बिर्सन लागे पनि सबै झल्झली सम्झेजस्तै लाग्छ । त्यसैले त सानै उमेरमा पहिलो दिन विद्यालय गएको समय र परिस्थिति बिर्सन सकिन्छ तर पहिलो कक्षामा सिकेको क, ख, ग र ए, वि, सी हामीलाई अझै सम्झना छ र देख्नासाथ चिन्छौँ । पछि उमेर बढ्दै जाँदा तत्काल आवश्यक र मन परेका कुरामा दिमागले अस्थाई सम्झना राख्दछ र अति आवश्यकलाई स्थाई रूपले जम्मा गरी राख्छ । त्यसैले त विद्यालय र महाविद्यालय स्तरका विभिन्न विषयमा राम्रो अङ्कसहित उत्तीर्ण भएकाले पनि अहिले सबै प्रश्नपत्र मुखाग्र भन्न सक्दैनन् । अस्थाई आवश्यक्ताले सञ्चित त्यसबेलाको ज्ञान अहिले आवश्यक छैन र मस्तिष्कले राख्दा पनि राखेन । त्यसबेला सिकेका जीवनोपयोगी ज्ञान पछि पनि प्रयोग गरिएकाले दोहोरिएका सबै अझै सम्झिन सकिएको छ ।
उमेरिदै जाँदा पाका मान्छेले कामका अनुभव र सिकेको ज्ञानका निचोडमात्र सँगाल्न लाग्दछ । हरेक कालखण्डमा सिकेका र जानेका कुरा खरर नआउन सक्छ । दैनिक बोलिने मातृभाषा बाहेक विभिन्न उमेरमा सिकेका भाषाहरू अलिअलि सम्झे पनि सिक्दाजस्तै बोल्न र लेख्न नसकेको त्यहि मस्तिष्कको सञ्चयको कारण हो । त्यसैले सामान्यतया बिर्सनु जीउँदो मान्छेका लागि अनौठो कुरा होइन । काम, कुरा, मान्छे र वस्तुहरू पहिला केहि समय अघिसम्म राम्ररी चिनेको, जानेको तर अचेल नजान्न र चिन्न छोडेपछि भने बेलैमा परिवारका जिम्मेवारले होस पुर्याउनु पर्छ । कहिँ तपाईंका मानिला पाका मान्छे विस्मृतिको सिकार हुनलाग्नु भएको त होइन ? शङ्का गर्ने केही लक्षणहरू देखिएमा उहाँहरूका काम कार्वाहीले उहाँहरूलाई मात्र होइन पूरै परिवारलाई समस्या हुनसक्छ ।
विस्मृति र बिर्सने समस्याः
आफैँलाई वा आफन्तलाई यदि बिर्सने समस्या छ भने गफैमा उडाएर इतरिनुभन्दा बेलैमा समस्या समाधान गर्न तपाइँहरूले विस्मृतिका महत्त्वपूर्ण पूर्वसङ्केतहरू देखिएका छन् वा छैनन् हेक्का राख्नुपर्दछ । पाका मान्छेमा अबोध, सिक्न उत्सुक ज्ञान र अनुभवको कमि भएका बालबालिकाको जस्तो क्रियाकलाप हुनथाल्यो भने सतर्क होऔँ । जस्तो चिया पकाउँदा चियापत्ति, चिनी, पानी र दुध हालेको देखेर एक अबोध केटाकेटीले बाल्टीनमा देखेका ती चिजहरू हाल्न सक्छ । रोटी बनाउन पिठो मुछेको देखेर एक मुठी पिठोमा एक गिलास पानी हाली किन साह्रो भएन भनेर सोध्नसक्छ । अरूले चङ्गा बनाएको देखेर वा उडाएको देखेर तपाईंका महत्त्वपूर्ण लेखका कापी वा पुस्तक च्यातेर बनाउन कोशिस गर्नसक्छ । भातपकाई खेलेको भनेर ठूलो परालको कुन्युमै आगो लगाउन सक्छ । दृष्टि र दूरीको आँकलन ठिक्क नभएकाले छानामा चढ्ने, सानो चौडाईको अट्टालिका दौडने गर्नसक्छ ।
यस्ता क्रियाकलाप सानै उमेरमा कम विकसित मस्तिष्क क्षमता, ज्ञान र अनुभवको कमिले भएका हुन्छन् । तपाईंका उमेरिएका पाका मान्छेले यस्तै क्रियाकलाप गरे तपाइँ के भन्नुहुन्छ ? नसा र मगजमा केहि असर देखापर्न थालेको हुनसक्छ । क्यानाडाको अल्जाईमर संघले सजिलोका लागि केही सामान्य विस्मृतिका लक्षणका कुरा बुँदागतरूपमा सबैका जानकारी लागि प्रशारित गरेको छ । नेपालका नसाविज्ञ तथा मानसिक अस्पतालका चिकित्सकका भनाई पनि त्यस्तै रहेका छन् । अवस्था बिग्रिसकेको छैन, सुरुवात हुन खोजिरहेछ, बेलैमा बुझि उपचारमा अघि बढौँ, निको भइहाल्छ नि !
१. दैनिक कामको क्षमतामा सम्झना ह्रासः
तपाइँ आफैँ, आफन्त, र चिनेजानेका मान्छेमा बारम्बार चिजबिज बिर्सने र त्यसै बारेमा बारम्बार नयाँ जानकारी लिइरहने तथा सोध्ने बानी देखिएको छ ? हो, कहिलेकहीँ खासखास भेट्ने समय, साथीभाइका नाम वा फोन नम्बर बिर्सन सकिन्छ र केहि समयको प्रयासमा फेरि सम्झिने हुन्छ । विस्मृतिमा जान लागेको वा रोग भइसकेको व्यक्तिमा चिजबिज र जानकारी छिटोछिटो बिर्सने स्वभाव नियमित देखिन्छ । हिजोआजकै वा भर्खरकै कुरा पनि नसम्झने, सिकेको कामकुरो बिलकुल नौलो जस्तो गरेर व्यवहार गर्ने हुनसक्छ । एकछिन अघि भनेका कुरा एकछिन पछि ‘कहाँ भन्याथ्यो र ?’ भनेजस्तो प्रतिक्रिया देखाउने हुन्छन् ।
२. जानेकै कामहरू गर्नै गाह्रोः
तपाइँ आफैँ, आफन्त, हेरविचार गरिएको र चिनेजानेका मान्छेमा सधंै र दैनिक गरिने काम पनि कसरी गर्ने भन्ने समस्या छ ? बिहान उठेर लुगाफाटो मिलाउने, पट्ट्याउने, हातमुख धुने, खाना तयार गर्ने र बाहिर जान बाहिरी लुगा लगाउन पनि अलमल र अनौठो हुन्छ ? हो, धेरै व्यस्त वा सम्बन्धित कामबारे बढि चिन्तित हुँदा र बोझ अनुभूति भएको अवस्थामा केहि बिर्सन सकिन्छ । हतारमा मोजा लगाउन बिर्सेला अथवा पाकेका धेरै परिकार भए केहि पस्कन बिर्सन सकिन्छ । यस्तो बिर्साई ठिक स्वास्थ्य रहेकाले काम सम्पन्न भएको ठानिएको एकैछिनमा सम्झिहाल्छन । यो त स्वभाविक नै हो, जोकोही स्वस्थ्य मान्छेमा पनि यस्तो हुनसक्छ । तर विस्मृतिमा गएको वा च्याप्न लागेका मान्छेलाई यसअघि जीवनभरि सफलतापूर्वक गरिएका दैनिक खाना, नानाको तयारी र राम्ररी सिकिएको खेल समेत अब गर्न नसकि अन्यौलमा भएको देखिन्छ ।
३. बोल्ने शब्दको समस्याः
तपाइँ आफैँ, तपाइँका आफन्त र चिनजानका मान्छेमा बोल्दाबोल्दै अड्किने, कुराकानी र सवालजवाफमा उपयुक्त शब्द भन्न र सट्टामा अर्को शब्द प्रयोग गर्ने क्षमतामा ह्रास वा नसक्ने भएको छ ? ठ्याक्कै अर्थपूर्ण शब्दचयन त अध्ययनको कमीले पनि हुनसक्छ । अन्य प्रसङ्गमा कुराकानी भइरहँदा अन्य प्रसङ्ग अपर्झट आउँदा किंकर्तव्यविमूढ भई नबोलेको हुनसक्छ । यस्तो त सामान्य सबैलाई हुनसक्छ, नौलो र अनौठो होइन । तर सामान्य चलनचल्तीका, देखेजानेका र दैनिक प्रयोग भइरहने शब्दहरू नै भन्न नसक्ने भएको अवस्थाले चाहिँ समस्या जनाउँछ । अझ अरूले भनेका दैनिक बोलीचालीका कुरा र तिनको अर्थ नै नबुझ्ने अवस्थाले त विस्मृतिको खतरा नै देखाउँछ ।
४. समय, दिन र ठाउँबारे झुक्किनुः
तपाइँ आफू, आफन्त र चिनजानका मान्छेमा समयको अन्दाज गर्न नसक्ने, यसै हप्ताको हिजोआजका बार बिर्सने र कैयौँ पटक घुमफिर गरेको ठाउँमा अलमलिएर बिलखबन्दमा परेर अलपत्रको अवस्था देख्नुभोग्नु भएको छ ? उस्तैपर्दा आज कुन बार हो भनि भन्न नसक्ने र घरकै कुन कोठामा किन जानुभएको भन्ने हेक्का पनि नभएको अवस्था किन आयो होला ? कहिलेकाहीँ स्वस्थ्य मान्छेलगायत सबैलाई बिनाकारण पनि एकसुरमा हुँदा त्यसो हुनसक्छ । विस्मृति भएका मान्छेमा घर बाहिर किन गएको ? कहाँ पुगेको ? आफ्नै घरछेउको गल्लीमा पनि कसरी आईपुगेँ ? अब घर जान कताबाट जानुपर्छ ? कुनै कुरामा स्पष्टता हुन्न । हरेक कुरामा उसलाई अलमल र सोचाईमा बादल लागेजस्तो भएको हुन्छ । सबै वरपरका कुरा उस्तै लाग्छन, बाटै पहिल्याउन नसकेर अलमल्ल परेको अवस्था हुन्छ । कसैले ‘झुँगी लाग्दा त्यस्तै हुन्छ’ भन्छन्, तर झुँगी धेरैबेर लाग्दैन, बिस्तारै छोड्छ । सधैं र सबै बेला त्यस्तो हुनु चाहिँ विस्मृतिकै लक्षण हो ।
५. सही निर्णयको अभावः
तपाइँ आफू, आफन्त र चिनजानका मान्छेमा सामान्य आफ्नो स्वास्थ्य वा सुरक्षामा आँचआउने कुरासमेत खेलाँची सम्झेको जस्तो गरी गर्न उद्यत हुने मानसिकता छ ? बेलाबेला नियमित स्वास्थ्य उपचारमा जाने तालिकामा बेवास्ता गर्नु, सञ्चो नहुँदा पनि चिकित्सकको परामर्श लिने विचार नआउनु, सुरक्षित राख्नुपर्ने हतियारलाई बिना उद्देश्य चलाउनु वा प्रयोग गरिरहनु आदि कुराले सही निर्णय गर्न नसकेको लक्षणहरू देखाउँछन् । बिना कारण त्यसो गरिरहने मानसिकता र स्वभावले विस्मृतिको खतरा हुन लागेको सङ्केत गर्दछन् । त्यस्ता मान्छेले जाडोमा पातला र गर्मीमा बाक्ला कपडा बिना कारण र चित्त बुझ्दो प्रतिक्रिया बिना लगाउने गरिरहेका हुन्छन् । औषधि खाने समय, मात्रा र उपयुक्त समय उल्टोउल्टो तर्कसहित बिनाकारण गर्न पनि सक्छन् । यस्ता क्रियाकलापले विस्मृतिले च्याप्दै लगेको नै प्रमाणित गर्दछ । बिषमज्वरले निस्लोट हुँदा, शरीरमा ग्लुकोज अतिकम हुँदा मान्छेले जथाभावी बोल्ने, बर्बराउने र उल्कादेखिने काम गर्न खोजेर ‘सन्निपात भयो’ भन्छन् घरगाउँमा, हो त्यस्तै क्रियाकलाप सामान्यतया बाहिरी शरीर स्वस्थ्य हुँदा पनि गर्ने चाहिँ मस्तिष्ककै विग्रह हुनसक्छ । त्यस्तो निर्णय उल्टोपाल्टो ठिक भन्दै गर्ने काम विस्मृति हुँदा पनि गरेको देखिन्छ ।
६. अनौठा सोचाईको समस्याः
तपाइँ आफू, आफन्त र चिनजानका मान्छेमा हिसाबकिताब, चिन्ह र अक्षरबारेमा खास बुझाई हराएको पाइन्छ । सामान्यतया हिसाब अल्मलिनु अथवा आफ्नो बैँक खाताको हिसाब नबुझ्नु हुनसक्छ, यस्तो स्वभाविकै हो । तर विस्मृति भएकाहरू वा च्याप्न खोजेकाले अङ्कको मान, प्रति इकाईको मतलब, जोड, घटाउ बुफ्न असमर्थ हुन्छन् । पढेलेखेका मान्छेमा त्यस्तो समस्या आए एक पछाडि शून्य आउँदा दश हुन्छ भन्ने नै बुझ्न सक्दैनन् । क पछाडि वर्णमालामा ख आउँछ पनि भन्न अप्ठ्यारो परेको देखिन्छ । विस्मृतिले च्याप्दा उनीहरूका मस्तिष्कमा पहिले जानेका र चलनचल्तीमा सिकेका सामान्य कुरा पनि उल्टापाल्टा अभिव्यक्त गर्ने बनाइरहेको हुन्छ । त्यसैले वास्तविक क्रियाकलाप र निर्देशित कुरामासमेत ठोस क्रिया हुँदैन ।
७. चिजबिज हराउनु वा ठिक ठाउँमा नराख्नुः
तपाइँ आफू, आफन्त र चिनजानका मान्छेले चिजबिज बिना कारण हराइरहने वा राख्नुपर्ने ठाउँमा नराख्ने गरेको देख्नुसुन्नु भएको छ ? हो, कहिलेकाहीँ आफ्ना सामान हराउने हुन्छ अथवा हतारमा साँचो र हाते थैली कतै राख्न सकिन्छ, एकछिन बिर्सनु अनौठो होइन । विस्मृतिले च्यापेका मान्छेले अनौठाअनौठा काम बारम्बार गरेका पाइन्छन् । सामान्य भात पकाउन चामल पानी नापो मिलाई हाल्ने त कुरै छाडौँ, त्यो भाँडोमा बेसार, अदुवा र नुनचिनी हाल्न पनि सक्छन । स्त्रीलाई टेबल वा बट्टामा राखी थन्क्याउनु पर्नेमा फ्रिजभित्र वा पानीले भरिएको बाल्टिनमा राख्न सक्छन । नाडीघडी खुट्टामा वा खाने तेलको भाँडोमा हाल्न सक्छन् । किन गर्छन् त्यसो उनीहरू नै भन्न सक्तैनन् बरु ठिक गरेँ भन्न सक्छन् । पाको मान्छेमा त्यस्तो क्रियाकलाप हुनु निश्चयनै स्वास्थ्यको समस्या हो र मगज सम्बन्धिनै हुनसक्छ ।
८. स्वभाव र आनिबानीमा परिवर्तनः
तपाइँ आफू, आफन्त र चिनजानका मान्छेले अचानक हिजोआज पहिलेभन्दा फरक व्यवहार गरिरहनुभएको छ ? परिस्थितिअनुसार खुसी र दुःखको बेला फरक व्यवहार तथा अभिव्यक्ति हुनु सबैमा हुले सामान्य मानवीय गुण हो । तर भइरहेको भन्दा उल्टापाल्टा व्यवहार लगातार देखिनु चाहिँ विस्मृतिको लक्षण हो । त्यस्तो समस्या भएकाहरूमा एक्कासी मूर्दाशान्तिको अवस्था, बिनाकारण रुवाबासी र अचानक हुर्दङ्के स्वभाव देखाउने गरेको पाइन्छ । हँस्यौली प्रसङ्गमा निहुँ खोजेर झगडा गर्नु, रुनु, अप्ठ्यारो परिस्थितिमा हँस्यौली गर्नु, मान्छे बितेको ठाउँमा ईतरिएर अनमेल ठट्टा गर्नु त्यस्तो समस्या भएको मान्छेलाई सामान्य हुन्छ । अर्थात् असारमा द्यौसी खेल्न रौसिनु र दशैँताका रोपाइँ गर्न तम्सनु जस्तो भएन त ? यो सामान्य व्यवहार होइन, मस्तिष्कमा केहि समस्या देखा पर्दैछ भन्ने लक्षण नै हो ।
९. व्यक्तित्वमा परिवर्तनः
तपाइँ आफू, आफन्त र चिनजानका मान्छेमा अचानक हिजोआज पहिलेभन्दा विपरीत चरित्र देखापरेको छ ? मान्छेका चरित्र र व्यक्तित्व उमेरिदैै जाँदा बिस्तारै अनुभवका प्रभावले फरक पर्दै जानु स्वभाविक नै हो । पाको हुँदैजाँदा कुरौटे मान्छे गम्भीर र गम्भीर स्वभाव भएका कुरौटेमा फेरिन सक्छन् । विस्मृतिले प्रभावित मान्छे हरेक कुरामा अलमलमा पर्छन्, कुनै कुरा बुझेकोजस्तो हुँदैन । हरेक कुरामा शङ्कालु भएर विश्वास नै गर्दैनन् र कुनै काम गर्न अघि बढ्नै खोज्दैनन् । हरेक कुरामा अनाशक्ति, कसैको महत्त्व नदेख्ने, कुनै कुरामा चाख नलिने अथवा हुटिट्याउँले आकाश खस्छ भन्छ रे भन्ने कथाजस्तै डरको पोको हुन्छन् । अति उन्मादले देखिने जस्तै हदै काल्पनिक डरले लुक्न खोज्ने, अरूले थाहा पाउँछन् भनी बोल्नै डराउने र जहिल्यै आफूलाई खतरा छ भनिरहन्छन् । मस्तिष्क आघातले पनि त्यस्तो भएको हुनसक्छ र वस्तुस्थितिको ठोस विश्लेषणको अभाव भई काल्पनिक कुरामा हराउन थाल्छन् ।
१०. उत्साह र अग्रसरता निमिट्यान्न हुनुः
तपाइँ आफू, आफन्त र चिनजानका मान्छेमा कुनै कुराले उत्साह नै नआउने, कुनै पनि कुरामा आनन्द नै नलिने, साथीभाइ, परिवारका सदस्य बिच कसैसँग नरमाउने र मनपर्ने कामकुरो कुनै नभएको पाउनु भएको छ ? हो, लामो समय लगातारको घरधन्दाबाट वाक्क हुनु, बन्दव्यापारबाट दिक्क हुनु र सामाजिक रीतिरिवाजबाट हैरान भई भाग्न खोज्नु स्वभाविक नै हो । तर बेलाबेलाको घटना र फरकपनले मान्छेहरू त्यस्ता समस्या र सोचाईबाट फेरि फर्किएर उत्तिकै चाखले काममा लागिहाल्छन् । विस्मृति भएका मान्छे ईखअनख, लाजशरम, चाख र स्फूर्ति नभएका, मोहनी हराएकाजस्ता सुस्त खालका हुन्छन् । उनीहरूलाई हरेक काममा संलग्न हुन विभिन्न कारण र महत्त्व देखाएर उक्साइरहनु पर्छ, घच्याडिरहनु पर्छ र लतारिरहनु पर्छ । आफैँ अग्रसर हुने कुनै लक्षण नै देखाउँदैनन् । उनीहरूमा सामान्य मानवीय जाँगर उत्साह र रमाइलो केही भएको देखिँदैन ।
११. सतर्क हुनुपर्ने लक्षणः
तपाइँ आफू, आफन्त र चिनजानका मान्छेमा देखेको कुरा के हो भन्न अप्ठ्यारो पर्ने वा अलमलिने, खासखास जानकारी कसरी ठिक्कसँग गर्ने भन्ने समस्या छ ? देखेको कुराको बुझाई, ठम्याई, अवस्थित स्थितिमा आकार प्रकारको ठिक र जस्तात्यस्तै मूल्याङ्कन गर्न नसकेको देखिन्छ । आँखाको समस्याले हरेक कुरा दुई ओटा वा छायाँछाप पनि देखिने हुनसक्छ र चिजबिज समात्न वा राख्न धरमराएको जस्तो लाग्न सक्छ । औँलाले देखाउँदा ठिक दिशा देखाउन वा कुनै कुरा छुन खोज्दा हात भने वस्तुबाट टाढा पुर्याउने हुनसक्छ । ताकेर कुनै कुरा फाल्दा अलग ठाउँ वा कोणमा गइरहने हुनसक्छ । यस्ता केही समस्या विस्मृतिका पनि लक्षण हुन सक्छन् तर आँखा जचाएर आँखाको समस्या होइन भनी निरोपण गरेपछि मात्र भन्न सकिन्छ ।
अन्त्यमा,
बिर्सनु मानवीय गुण हो । उमेरअनुसार बिर्सने मात्रा र निरन्तरता हुँदा भने बेलैमा होसियार हुनुपर्छ । उमेरिएका पाका मान्छेमा शारीरिक कमजोरी, पारिवारिक सामाजिक बेमेलपनले चिन्तित भई उल्टापाल्टा क्रियाकलाप हुनलागे त झन खतरा हुन्छ । मस्तिष्कको क्षमता र कमजारीले ज्ञानेन्द्रीयले दिएका आदेशलाई कर्मेन्द्रीयले बेढङ्गले प्रस्तुत गर्दा पाका मान्छेलगायत परिवारनै अप्ठ्यारोमा पर्न सक्छन् । सुरुवाती अवस्थामा नै बिर्सने समस्या खुट्ट्याएर विज्ञ चिकित्सक सल्लाहमा औषधि गरे निको हुन्छ । ‘पात्तिएका, छिल्लिएका पाका मान्छे, गनगने र बिब्ल्याँटा बूढाबूढी, खुस्केका मान्छे’ यस्तैयस्तै भनी हाँसोको पात्र पाका मान्छेलाई नबनाउँ । बरु समयमा नै हेक्का राखी उपचार गरी उहाँहरूका सञ्चित ज्ञान र सिपलाई परिवार र समाजलाई अझै समृद्ध बनाउन प्रयोग गर्नलाई अघि बढौँ ।
०००
२०७९ भदौ ५
मानिला मान्छेका धामा (२०७९)
Subscribe
Login
0 Comments
Oldest





































