सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

दशैँको दशा

आफ्नै घरमा ताल बेताल कसरी फुत्कने प्रभु यो महाजाल ! यो साल यस्तै भो चालचलन । कति भनौँ मनको जलन । कसरी फुत्कने जञ्जालको महाजाल ! यस्तै हुने हो भने दशैंको दशा जात्रा हुने हो कि अर्को साल !

Nepal Telecom ad

रामकुमार पाँडे :

दशैँ आयो खाउँला पिउला, कहाँ पाउँला, चोरी ल्याउँला धत्त पाजी छुट्टै बसौँला । नभन्दै दशैं आउन पाको हुन्न चोरको बिगबिगी यसरी बढ्छ जसरी निर्वाचन क्षेत्रको बजेटमा सांसद्को जगजगी बढ्छ । डबल तलब पाउने कर्मचारी महङ्गीको मारले आफैँलाई खसीको मार परेको महसूस गर्छन् । दशैंको दशाले कति मान्छे जिउँदै मर्छ ।

दशा पनि एउटा हो र । लुगाफाटा नफेर्ने बाटामा कुनै लाटा भेटिन्नन। यो कुरा यति नै सत्य छ जति ख्याउटे नेता पदमा पुगेपछि बंगुर मोटाए झैँ मोटाउँछन् भन्नेमा छ । आफ्ना जन्मजालमा भने तालतालका अवस्था भएपछि व्यवस्था नगरी भो ? कसैका कटुका जिप खस्केका, कसैका पाइन्टका हिप खुइलेका । प्यारीलाइ सारीदेखि सके घरको आल्मारी फेर्नु पर्ने हुन्छ । दशा एकैपल्ट आउँछ भन्छन् । नभन्दै घरको सामल तुमल स्वाहा पार्ने सलहको कलह र जन्ती जस्ता पाहुनाका पूजा नगरे कोही प्रसन्न हुने हैनन् । सन्तानले डाँडाकाँडा ढाकुन् नभने पनि नौ डाँडापारिदेखि काँढा जस्ता लाटा गाँडा सन्तानका छुचुन्द्रे ताँती दाजु, भाइ, दिदी बहिनीका छोरा नातीको ताँतीको नानाभाँतीको माग, साग खान नसक्ने समयमा कसरी पुर्‍याउने भुँडे भाग ।

चाडमा मुखमा माड लगाएर मात्र सन्तुष्ट हुने र नेताले चन्द्रमा छुने ठुलो भन्ने कुरा एक हो । घरको डर छुट्टै छ । परिकार नपुराए ढोका लाग्छन, शान्ति भाग्छन् । त्यसैले पुयाउनै पर्छ जो जसले जे ठुल्ठूला नारा उराले पनि नाना भाँतिको मागको ताँती लागेपछि कसको बाउको के लाग्छ । घर घर राजनीतिले वरालेपछि भाउ बढाउने दाउमा हुन्छन् । व्यापारी चमत्कारी सेल भन्ने पसले पनि झेल गरेर दोब्बर बनाएर एक चौथाइ घटाउने राजनीतिको थिति त छँदै छ । केही नपाएर दशैं अघि पेश्की भने झैं भए जति पितृका नाममा कर्मकाण्डीलाई सके डोको नभए पोको पितृका नाममा भर्नु पर्छ । मेरो पितृ जिउँदा भएका भए झटारो हान्थे । सन्तानको सकसमा के दिन्थे बकस । आफ्ना सन्तानलाई जिउँदै नर्कमा धकेलेर कुन स्वर्गका पितृ प्रशन्न होलान् र खोड। त्यसमाथि पितृको भाग बजाउनेलाई कतै अपचले पखाला लागेको जोगी बनाउने पिर ।

दशैँ बजार जान पाको हुन्न बिना हजार किन्ने कुरामा नजर नलगाए । थोरैतिनाले त असली माल मोल मोलाइमा बोल्दै नबोल । अनि अरुलाई हुन्छ । फलमासु ख्वाए पनि आफूले खानु परेन हाडखोडको झोल । भारती सामान नक्कली, पक्की छैन । पाए सम्म बेलायती चाहियो । खोजेको कुरा कहाँ पाइयो ? कसैलाई विदेशबाट पठाइ देओ भने पनि आउने त उही चिनियाँ, नभए कोरिया । न जापानी न जर्मनी ! घाँस खाने जीव त विदेशबाट झिकाउनु पर्छ भने सियो नबन्ने ठाउँमा आफ्नो गाउँ भनेर के गर्नु !

यत्रो घाँस हुने मुलुकमा भेडा च्याङ्ग्रा बाहिरबाट ल्याउनु पर्ने । साँचै भनौँ भने सरकारी कार्यालयका छानामाथि उम्रेको घाँस र नेताहरूको गिदी हुने ठाउँमा भरिएको लिदीले नै उर्भर बनाएको ठाउँमा मान्छेले त घुस र घाँस खाएर बाँचेका छन् भने खसी पाल्न नसकिने हैन । जसरी जनतालाई खसी पारेर जन नेता बसी बसी कबाफको रबाफ पुराउँछन् जनताले नेतालाई खसी नबनाएसम्म मासुले- निकाल्ने आँसु रोकिन्न । खान पनि ताजालाई बासी बनाएर गन्हाउने भए पनि- स्वाद लिने ठाउँमा मान्छेको भन्दा खसी बोका र भेडाको मान मनितो हुने नै भो ।

खसी खानै पर्ने । के गर्ने । खसी किन्न जानै पर्‍यो । पेस्किको लक्कु लानै पर्‍यो । जख्खु खसीको मोल बोल्दै नबोल ! सुन्दै सातो जान्छ । नकिने बालबच्चाले के खान्छ ? दशैँमा दारा तिख्याएर आउने टीका लाउनेलाई के ख्वाउने ? जंगलको सिंहले त शिकार गरेर आफ्ना डमरुलाई भाग राख्छ भने इम बजाउन र शङ्ख फुकेर पूजा चलाउन पनि बलीको चलन उहिल्यैदेखि चलीआएको हो । दशैँमा मासु नखाने भनेर खसीको ठाउँमा फर्सी खानु भएन । उही पनि मासु पाए सिंगै खसी खान खोज्नेले पशु बली भएन भन्दै त्यसको सट्टा कुभिन्डो र घिरौंला चढाए हुन्छ नभनेका हैनन् । कुभिन्डोको माला लगाएर ज्वाँइलाई सम्मान गर्दा आफ्नो रवाफ पुग्ने हैन । घिरौलालाई खसी कबाफ नबनाए पनि उहिलेको मोलको बोलकबोल गर्दा अहिलेको घिरौला खसी भन्दा कम भएको छैन ।

त्यसमाथि अहिले मासु मात्र खाएर कहाँ पुग्छ र ? कसैलाई चौरासी व्यञ्जन होला । कसैलाई थाल वरिपरि घेरो चाहिएला परिकारको सत्कार । अनि त खसी नकिनी फर्सीले पुग्ने कुरो भएन । उठ जोगी फट्कार गाला जहाँ जाला त्यहीँ खाला भन्दै खसी किन्ने तर्खरमा पुगेँ खसी बजार । बाफ रे बाफ ! खसी पनि गज्जब गज्जबका । मधिसे खसी लायक लायकका । क्या भाउ बढे छ । पहाडीमा आँखै लागेन । हिमाली च्याङ्ग्रा र उपत्यकाको भेडा त काम लाग्ने कुरै भएन । मधिसे खसी नै दन्काउनु पर्छ भनेर राष्ट्रबैंकले निकालेको नयाँ नोट मधिसेलाई खर्खर्ती बुझाएर खसी बजारबाट बाहिर मात्र के निस्केको थिएँ, मधिसे खसी त आलस तालस भएर त्यहीं सिलटिम्मुर खाला जस्तो भो ।

वरिपरिका तमासेले दस दस हजार हालेको खसी मर्‍यो भने खानु भएन छिटो लगिहाल्नोस् भन्न थाले । के आपत पर्‍यो ! कस्तो झ्याउलो आइलाग्यो ! घर लानु अघि घाट लैजानु पर्ला भनी ट्याक्सीमा दौडाउने सुर कसें । ट्याक्सी पनि मौका छोपेर हजार कडा सय, तपाईंको खसी दस हजारको हजार दिने भए मात्र लान्छु पो भन्छ बा !

एक हजारको लोभ गर्दा दस हजार उड्ला भनी बोल्दै नबोली चढाएँ मधिसे खसीलाई ट्याक्सीमा । एउटाले भन्यो शहरको त जंगली भेडा बाखाले पनि मोटर चढ्न पाउँदा रैछन् । काम नपाएर थुप्रेका सबै गलल्ल हाँसे । ट्याक्सी हुइँकियो । घरमा पुगी निकाल्न पाको छैन ड्राइभरले हकार्न थाल्यो । मेरो ट्याक्सी त बर्बाद भो । सफा गर्दिनोस् । यस्तो रोगी खसी हालेर । पेट हेर्‍यो खाद्य मन्त्रीको भूँडी जस्तो । मेरो ट्याक्सी ट्वाइलेट हो कि गोठ हो । परेन फसाद । झिकी दे भन्दा थपिदे भने झैँ भो ।

परेन फसाद ! अक हजार थमाएँ र चुपचाप घरतिर गएर हत्तरपत्तर बाधें । तर खसी आँखा चिम्लेर ढल्ला ढल्ला जस्तो देखेपछि हत्तपत्त ढालियो । पानी तताएको थिएन । टन्टलापुर घाममा सुकर डुङडुङती बसाउन थाल्यो । खसीको भुँडी हेर्दा कतै बाखी परेको जस्तो मनमा आयो । लिङ्ग भेद नगर्नेलाई काम लाग्ला जस्तो लाग्यो । हुन त लिङ्ग भेदको जमाना हैन तैपनि मनले मानेन । आफू पनि महिला नेत्रीसँग लैङ्गिक दूरी घटाउन पर्छ भन्ने मान्छे । ओल्टाइपल्टाइ हेर्दा खसी त खसी नै हो । भुँडी हेर्दा कतै जलग्रह भएको हो कि ? भन्ने पनि शंका लाग्यो । आजभोलि मधेस पनि प्रदूषित भएकाले मधिसे खसीले खान नहुने कुरा खाएर भुँडी फुलेको हो कि भन्ने लाग्यो । हत्तर पत्तर भुँडी नै अपरेशन गरेँ । बाफ रे बाफ ! दश किलो त लाद्रो नै रैछ । मानौँ एउटा घुस्याको भरी थैलो ! भुँडी फोर्दा पो मधिसे खसीको रहस्य खुल्यो ! गहुँको गेडो बर्रर झर्‍यो । जोखेको ठ्याक्कै दश किलो रैछ ! खाइस बाबु खसी ! लुछिस् नानी लाम्टा ।

गहुँलाई मासुको मूल्य तिरेपछि जसरी गुहिया फोहरलाई गुँदपाक भनियों त्यसरी नै लुटिएछु । अनि लाग्यो यहाँ चोर समाउने पुलिस छैन पुलिस रमाउने चोर चाहिँ छ । भुँडी झिकेपछि खसी त भिजेको भंगेरो जस्तो देखियो । नढाँटी भन्दा देख्न चाहिँ मरेको मुसो जस्तो थियो तर खाने चिजलाई के मुसो भन्नु । हे प्रभु दुर्गा माता के भाको ! कलियुगमा नगद जाता खोस्टा आता दस हजारको खसिको दश किलो भुँडी !

भुँडीभित्र गहुँको दाना । खाइस् बाबु भुँडीको भुटुवा खाना ! एक मनले लाग्यो मासु नखाने र पशुबध गर्न हुन्न भन्नेलाई यही गहुँ पिंधेर रोटी खिलाउँ । जमाना पनि कस्तो आयो । मान्छे काटेको कसैलाई मतलब छैन । बलीको विरोध । खुकुरीको र खँडाको चोट हलाहल र गिलोटिनलाई के थाहा !

कबाफको रबाफ गर्न पर्नेलाई कस्ले दिने जबाफ । आफै बोक्सी आफैँ धामी । जसरी एकातिर मानव अधिकारको प्यारा नारा अर्कातिर दुई दुई जिब्रेका दुई रूप सारा । यही ताल हो भने जिउँदो खसी खाने कोही हुने छैनन् । उही पनि लागेकालाई पान र कर्मकान्डीलाई दान छुटाउने को ?

मासु दशैँको खसी अगाडि नै ढाल्नु पर्‍यो । दशैँ आउँदा आउँदै मासु सकियो । खान हुने भए सिङ समेत उडाउँथे । हाडखोड मात्र बाँकी भो । जो खोज्छन् त्यही हाडखोड, छाला र बोसो कचौरा भरी दिने सुरले पकाइयो । केटाकेटीलाई कान र पुच्छरले फकाइयो । दाँत बलियो हुनेलाई काँचै छालाको चुइङ्गम बनाइयो । दाँतले लाम्टा च्यापेर एक हात अगाडिसम्म तान्दा पनि मासु र छाला छुट्टेको हैन । उल्टै चिप्लेर गुलेलीको ढुङ्गाले लागे झैँ हाडले झन्डै दाँत भाँचेको । ओठ सुन्नेर खसीको फिला जस्तो भयो ।

खाइस बाबु मासु । टीको थाप्न जाँदा सासूले मासु दिँदा खान नसकेर आँखा भरी आँसु । खसीको मासु दशैँ अघि नै सफाचट भएपछि घरमा फट फट हुने नै भो । बाँकी बक्यौता हाडछाला काँचोकाँचै बनाएर राखियो । जम्मा जम्मी खसी एउटा कसैलाई झोल कसैलाई चौटा !

बुढाखाडा पाहुनालाई छाला अलि पाकेन रसै भनेर दिए भैगो । केटाकेटी छाडालाई एउटा छाला भए चुइगमको काम चलि गो । यति के सोचेको थिएँ एक हुल टीका लगाउन पसे र मासु भातै बजाउने सुरले लमलेट कसेर बसे । गोरु बेचेको साइनो लगाउँदै मित बाका रखौटी पटिका छोराछोरीका पनि केटाकेटी भान्छामा पसे र बसे । मासु ! मासुको कबाफ खाउँ न भन्न थाले । मासु भन्दा आफूलाई गहुँ सम्झेर बर्बरी आँसु आउँछ ।

कस्ता बिछुक आलो घाउमा नूनचुक ! टीको टालो कता हो कता सिक्काको कुरा गर्न थाले । पख पख टीका लगाउ अनि पाउला खाउला पिउला मात्र के भनेको थिएँ । यसपाली महंगी बढ्यो, तलब बढ्यो दक्षिणा पनि बढ्यो होला नि भने । टीको टाँसेर खाममा लुकाएर दिएको त एउटाले हत्तपत्त खाम बिनाकाम च्यातेर भनी हाल्यो पोहर भन्दा त बढेछ । कति दिने कति लिने । आफ्नो त दक्षिणाको दोब्बर दिँदादिँदै चट ।

मानमनितो नगर्दा इज्जत खुस्किने । तिनका आमा बाबुले पनि छोराछोरीलाई बाखाको पुच्छरै रूवाएर ल्याएका रहेछन् ।
एकछिन चुप लागेर बसेका हैनन् । उता बिगार्लान् कि भन्ने पिरलो भिन्नै । भान्छामा सलह पसे झैैं पसेर बैठकमा छुचुन्द्राका ताँती पसेर बृन्दावनमा बाँदर बसेर सबै स्वाहा केही नपाएर जाँदा घरको उत्तराधिकारी केटोको नयाँ जुत्ता लगाएर आफ्नो थोत्रो छोडेछन् । दशैं दशा भनेको यही हो । कता हेर्नु कता धान्नु ? उता श्रीमती मेकपमा व्यस्त । श्रीमान आफ्नो नातालाई स्वागत गर्नेको फजीत । भाइलाई भात, ज्वाँइलाई फुका चिउरा । ज्वाँइको गर्धन फुलेर अब जिन्दगी जान्न भन्थे रे धन्न आएछन् ।

श्रीमतीका नातामा श्रीमती भरङ्ग श्रीमानको नातामा श्रीमती दङ्ग, फुरुङ्ग, श्रीमान् सबका आफ्नै तालको दशैं । कोही घरै उठाएर नोकर चाकर बालबच्चा र तिनका साथी संगाती कान्छा बाउ जेठा बाउका छुचुन्द्रे ताँती ल्याउने । नाति पनातिसम्म लाइन लाग्न भ्याउने । सबैको माग भातै बजाउने ! उता आफूलाई ससुरालीको मेजमानीमा जानु कि मामा घरमा खानु ? आफ्नै घरमा ताल बेताल कसरी फुत्कने प्रभु यो महाजाल ! यो साल यस्तै भो चालचलन । कति भनौँ मनको जलन । कसरी फुत्कने जञ्जालको महाजाल ! यस्तै हुने हो भने दशैंको दशा जात्रा हुने हो कि अर्को साल !

०००
जाउलाखेल, ललितपुर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
दस दनक

दस दनक

रामकुमार पाँडे
धन्य नेताको नाक !

धन्य नेताको नाक !

रामकुमार पाँडे
टाउकाको खेल

टाउकाको खेल

रामकुमार पाँडे
कानमा तेल

कानमा तेल

रामकुमार पाँडे
दिग्भ्रमित यात्रा

दिग्भ्रमित यात्रा

श्रीप्रसाद पाेखरेल
पोइटिङ्ग्री

पोइटिङ्ग्री

गाेपेन्द्रप्रसाद रिजाल
कान्छाबाका तीन दारी

कान्छाबाका तीन दारी

मुक्तिनाथ शर्मा
जिउँदो समय

जिउँदो समय

नन्दलाल आचार्य
राष्ट्रिय सहमति

राष्ट्रिय सहमति

डा. टीकाराम पोखरेल
सतीको सराप

सतीको सराप

ह्यारी- ८०