नरनाथ लुइँटेलटिकट प्रकरणको विकट परिणाम
गनगनकान्त निन्द्रैमा दाह्रा किट्दै चिच्याए- “मेरो टिकट..... । उसको होइन... मेरो..... । टिकट.... उम्कियो । लौ न मलाई ब्ल्याकमै भए पनि टिकट देओ टिकट.... !”

गनगनकान्त औधी खुसी भए । नपाउनुको बहुमूल्य वस्तु उनको हात पर्ने नै भयो । त्यो वस्तु हात पार्न उनले थोरै मेहनत गर्नु पर्यो र ! धेरैवटा रात र दिन सर्लक्कै जोडेर उनले चाकडी पुर्याएनन् कि, जिहजुरी गरेनन् कि, हुनेवाला आम्दानीको पचास प्रतिशतसम्म भागबण्डा गर्ने कबुल गरेनन् कि, पक्षभित्रकै विपक्षीसँग कठालो तानातान गरेनन् कि, उसको विरुद्धमा कपोलकल्पित कथा बनाएर घण्टौंसम्म फोनबाटै पोल सुनाएनन् कि ! आखिर गनगनकान्तको ज्याद्रोखाले ढिपी र ज्यानमारा किसिमको धम्कीका अगाडि कसैका बाउको केही लागेन । अन्ततः यो जमानाको बहुमूल्य वस्तु उनको हात पर्ने नै भयो । उनी सुरुवाल स्याहार्दै पार्टी कार्यालय पुगे । बहुमूल्य वस्तु बितरणका निम्ति कार्यालयमा बिपत्तै रमाइलो जमघटको आयोजना रहेछ । हँसिलो मुखमुद्रामा दुवै हातको अँजुली बनाएर उनी दातातर्फ बढे ।
तर अचम्म ! उनका दुवै खुट्टा जमीनमा गाडिएको खा“बोजस्तै हलचल नै पो गर्दैनन् त । उनी अगाडि बढ्न खोज्छन्, कसैले उनको खुट्टा समातेर डेग चलाउन दिइरहेको छैन । “मेरो खुट्टा कसले समात्यो ? मलाई छोड्दे ।” गनगनकान्त जोडले चिच्याए, कराए, पुकारा गरे, तर अह“, पाइला अगाडि सार्न सक्दै सकेनन् । हेर्दाहेर्दै उनको हात पर्नुपर्ने बहुमूल्य वस्तु अर्कैको हातमा पर्यो । उनको रातदिनको जपना सिसा फुटेझैं टुक्राटुक्रा भएर भुइँमा खस्यो । गनगनकान्तको हृदय नराम्रोसँग थर्कियो, आँखाअघि कालो अँध्यारो मात्रै नाच्यो । त्यो अँध्यारोले उनलाई सर्लक्कै निल्न थाल्यो । उनी साँच्चि नै भुइँमा पछारिएर, छाती पिटीपिटी कोकोहोलो शब्द निकालेर रुनथाले । उनको चिहिर्याउँदो शब्दमा खाली तीन अक्षर मात्र स्पष्ट बुझिन्थ्यो- “टि क ट !”
उज्यालो हुन तीनप्रहर बाँकी छँदै घरै थर्किने गरी पतिदेव चिच्याएको आवाजले पत्नी छमछम्मायालाई नराम्रोसँग तर्साएर ब्युँझायो । उनी उठेर बत्ति बालिन्- छेउमै सुकला गर्नु भएका पतिदेव गनगनकान्त ओछ्यानमै बेतोडसँग मडारिइरहेका छन् । तन्ना सोहोरिएको छ, तकिया खाटबाट उहिले कहिले झरिसकेको थियो, बाक्लो सिरक गुजुल्टो परेर खुट्टामा बेरिएको थियो । बेलुका सुत्दा सारसौंदै सुतेका पतिदेवको यो हालत देख्दा छमछममाया छक्क परिन् । उनको सुद्धिले समेत काम गरेन । छेउको टेबुलमा पानीको जग थियो, एउटा हातले जग समाइन् र अर्को हातमा एक पसर पानी खन्याएर पतिदेव गनगनकान्तको अनुहारमा छ्याप्प छेपिदिइन् । पतिदेव एकचोटि नराम्रोसँग तर्सिए । उनको शरीर मडारिन छोडेर बिस्तारै चल्मलायो । उनले बिस्तारै आ“खा खोले । यतिञ्जेल ओल्लो कोठा पल्लो कोठाबाट छोराछोरी समेत बाबालाई के भयो भन्दै त्यहीँ आइसकेका थिए ।
“होइन, तपाईंलाई के भयो यस्तो ?” छमछममायाले अनुहारको पानी र नाक-मुखको राल-सि“गान पछ्यौराले पुछिदिंँदै मायालु पाराले सोधिन् । गनगनकान्त जुरुक्क उठेर ओछ्यानमा बसे र सबैको अनुहार पुलुपुलु हेरे- उनी आफैंलाई लाज लागेर आयो । “धत्तेरी मैले त कस्तो सपना पो देखेछु, ऐंठन पनि भएछ ।”
“यस्तो ऐंठन हुँदा रेलको टिकट धोएर त्यसको पानी खुवाइदिए आराम हुन्छ” सासूले उहिले भनेको कुरा छमछममायाले झलक्क सम्झिइन् । अनि दुईवर्ष अघि कुन्नि केको भ्रमणमा उनकै पतिदेव इण्डिया जाँदा चढेको रेलको टिकट उनले जतनसँग राखेकी थिइन् । त्यसैलाई झिकेर जगको पानीमा चुर्लुम्म डुबाइन् । अनि टिकट डुबाएको त्यो पानी पतिदेव गनगनकान्तलाई खान भनिन् । कता चुनावमा टिकटको कुरा, कता रेलको टिकट डुबाएको पानी ! गनगनकान्त हैरान-हैरान भए ।
उज्यालो हुन बाँकी नै थियो । टिकट उम्किएको सपना देखेका गनगनकान्त पलङ्गको ओछ्यानमा फेरि पल्टिए तर आँखामा निन्द्रा पटक्कै परेन । यता कोल्टो फर्क्याे टिकट, उता कोल्टो फर्क्याे टिकट, डसना-तन्ना सबैमा टिकट बिझायो, सिरकको मलमल खोलमा पनि टिकट अल्झिएर सर्याक-सुरुक गरिरहे जस्तो लाग्यो । त्यसपछि आँखा झिमिक्क नगरी बिहान भयो ।
गनगनकान्त त्यस दिन बाहिर कतै निस्किएनन्, उनी झोक्राएर घरमै बसिरहे । दिउँसो आँखा एकदमै भटारिए जस्तो भयो । उनी एकछिन झकाउँ क्यारे भनेर उही पलङ्गमा यसो के पल्टिएका मात्र थिए- पुनः हिजो बेलुकीकै सपना दोहोरियो । खुट्टा कसैले समातेको छ, अँजुली थापेर उनी अगाडि बढ्न खोज्छन् मरे सक्दैनन् । हेर्दाहेर्दै त्यो बहुमूल्य वस्तु अर्कैको हातमा थपक्क पर्छ । त्यो मान्छे गदगद भएर घरी गनगनकान्तलाई हेर्छ, घरी हातको बहुमूल्य वस्तुलाई । उसको हाँसोमा गनगनकान्तले दाह्रा-नङ्ग्रा र टाउकामा यमानको सिङ भएको राक्षसको हाँसो देखे । उनलाई उखुम औडाहा भएर आयो । हेर्दाहेर्दै मान्छेका अनगिन्ती टाउकाहरू टेक्दै त्यो मान्छे बहुमूल्य वस्तु काखी चेपेर बेतोडसँग दौड्यो । गनगनकान्त निन्द्रामै चिच्याए- “त्यो टिकट मेरो हो मेरो… ।”
“क्या बाबा पनि ! केको तपाईंको हुन्थ्यो नि, उहा“ भने ब्ल्याकमा समेत टिकट नपाएर आफूले फिलिम नै हेर्न पाईंन, कस्तो बोर भो !” शोफामा व्याग फुयात्त फालेर छोरी चाउचाउले लामो सुस्केरा हालिन् । बाबाको इन्तु न चिन्तुको स्थितिबारे उनलाई ख्यालै भएन । गनगनकान्तको छोरो टाइटफिट फुत्त भित्र पस्यो- “‘साइट भिजिट’मा जाने भनेर त्यत्रो योजना बनाए साथीहरूले, ‘लास्ट-आवर’मा आएर नेपालगञ्जको फ्लाइट-टिकट पाइएन, क्या झुर भो ।” “ब्ल्याकमा पाइस् होला नि !” चाउचाउले सोधी । “तैँले चाहिँ ब्ल्याकमा पाइस् होला नि !” टाइटफिटले पनि उसैगरी मुख बिगार्यो । गनगनकान्त निन्द्रैमा दाह्रा किट्दै चिच्याए- “मेरो टिकट….. । उसको होइन… मेरो….. । टिकट…. उम्कियो । लौ न मलाई ब्ल्याकमै भए पनि टिकट देओ टिकट…. !” मानौ गनगनकान्तका लागि टिकट भनेको अजम्बरी बुटी हो, जन्मघुटी हो । बाबाको असामान्य स्थितिबारे दुवै छोराछोरीलाई बल्ल केही आभाष हुनथाल्यो । त्यही बेला छमछममाया कोठाभित्र पसिन् । “नाइट बसको टिकट समेत ब्ल्याकमा लिनुपर्ने भएपछि हामी ठहरै भएनौं त अब !” उनको यो भनाइ सुनेर हो कि नसुनेरै हो- गनगनकान्तले “लौन मेरो टिकट…..” भनेर चिच्याउँदै अर्को कोल्टो फेरे । “लौन नि ! उहाँलाई कतिबेरदेखि ऐंठन भइराखेको रे’छ” भन्दै छमछममायाले हतार-हतार अनुहारमा पानी छम्की दिइन् ।
पानी छम्किएपछि ब्युँझिएका गनगनकान्त उठेर खाटमा धुम्धुम्ती बसे र पत्नी तथा छोरा छोरीका मुखमा निर्निमेष हेर्नथाले । पत्नी छमछममाया च्याँठिइन्- “के क्वारक्वारती हेरिराख्या भन्या ? छोरो ‘साइट-भिजिट’ जान फ्लाइटको टिकट नपाएर झोक्राउने, छोरी फिलिम हेर्न टिकट नपाएर चाउचाउ कपाल थक्रयाउने, तपाईं भने सांसदको टिकट नपाएर दिउँसै सपना देखी बर्बराउने । यो घरको चालामाला देखेर म बौलाउन मात्र बाँकी छ । त्यसैले मैले गाउँको पुर्ख्याैली घर फर्किन नाइटबसको ब्ल्याक नै भए पनि टिकट लिएर आएकी छु । अब चुनाव-सुनाव होइन, लौ खाटबाट उठ्नोस् र गुन्टा कस्नोस् । छिटो गर्नोस्, बस छुट्ने बेला भो ।” पत्नीको कुरा सुनेर गनगनकान्तलाई भाउन्न भएर आयो । संसार सबै रिङ्ग रोटेपिङ घुमे झैं भयो । हेर्दाहेर्दै फेरि उनी गर्लम्म ढले । “….त्यो बसको साटो ब्ल्याकमै भए पनि संसदकै टिकट पाए पनि त हुन्थ्यो नि ! लौ न मेरो टिकट…. !!” गनगनकान्त बेहोस भएर ढले पनि उनको यो गनगन भने कोठा र घर छिचोलेर पर बाटोसम्म प्रष्ट सुनिँदै थियो ।
कलङ्की, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest



































