शेषराज भट्टराईतरखाने तरिका
तर नखाएको मरन्च्याँसे ज्यानले पराइलाई कसरी ठटाउने ? बिना तरको फुस्रो मान्छेले माया पिरती कसरी बसाउने ?

जुनसुकै कुरा पनि खान जानिएन भने सिलटिम्बुर खाइन्छ । तलब खान होस् या घुस खान अहिलेको जमानामा अर्काको होस् या आफ्नु खान जान्नु नै आफ्नो हात माथि पार्नु हो । हरेक खानेकुरा खान जान्नुपर्छ । केही गमक्र्याउनुपर्छ केही तान्नुपर्छ । केही घटघटी पिएर बिना छटपटी बस्नुपर्छ त केही स्लानी पानी जस्तो थोपा थोपा ग्रहण गर्नुपर्छ । झोल, ठोस, ट्याबलेट वा सुठो धुलो हरकुरा खानकै खातिर कतिपयलाई ढुङ्गाले हानेर हुन्छ कि तानेर हुन्छ खान चाहिँ जान्नुपर्छ । अन्य खुराक भन्दा तर खान जानियो भने त ज्यान दुनियाँबाट मानियो भनेर जाने हुन्छ ।
खानेकुरा भन्नेवित्तिकै सबै खुराक एउटै दर्जाका हुँदैनन् । कुनै खानेकुराले मान्छे मात्तिन्छन् त कुनै खानेकुराले आत्तिन्छन् । जस्तो तलब धेरै खाने मात्तिन्छन् भने घुस धेरै खाने आत्तिन्छन् । कुनै खानेकुराले तताउँछ त कुनैले चिस्याउँछ । खान पाएर तात्तिने र खान नपाएर चिसिने हाम्रै ओरिपरि छन् । कुनै खानेकुराले मोटाइन्छ त कुनैले दुब्लाइन्छ । कुनै खानेकुराले जिब्रै टोकाउँछ भने कुनैले अधमरो बनाएर राख्छ । सबै खानेकुरा समान हैसियतका हुन्थे भने धर्मात्माहरू बोतलको भारी नै बोकेर बोलबम जान्थे होलान् । त्यसैले चौरासी व्यञ्जनको आआफ्नै विशिष्ट महत्त्व र महिमा हुन्छ । तरिका पुर्याएर खाए विष पनि खुराक बन्छ । तरिका मिलेन भने पानी पनि पोइजन बन्छ । जस्तो पानीमा डुबेर, सर्किएर वा मकै/खुराक अड्किएर सास बन्द गर्दै मास छर्न जानुलाई ज्वलन्त उदाहरण मान्न सकिन्छ ।
जिउने पिउने कलामध्ये तर निकालेर खाने कला नै सर्वोत्तम कला हो । यो कला हर क्षेत्रमा लागू हुन्छ । एउटा व्यापारी चाप्लुसीका दुइटा हात मुसार्दे फुस्रा खस्रा ग्राहकबाट तर निकालेर खान सिद्ध हस्त हुन्छ । जुन क्षेत्रका मान्छेले पनि तर निकालेर खानलाई नक्षत्र हेरिराख्नु पर्दैन । मौका मिल्नासाथ तर निकाल्ने तरखर गरिहाले हुन्छ । तर निकालेर खाने कलार्जन गरेर अर्कालाई थला पार्ने जगतमा छुट छ । त्यसैले तर खान जाने मात्र पनि मान्छेको जिन्दगी सजिलै वारको पार हुन्छ । अतः तर निकाल्ने तरिका मेरो ठेलाइ र पेलाइ होइन । समयको माग हो । हुन त मान्छेले पृथ्वीको गर्भमा रहेको तरुल खनेर खान जानिसकेको अवस्थामा दुधमा तैरिएको तर खान सिकाउनु महामूख्र्याइ नै हो ता पनि नजान्ने सोझासिदा सिकारुका हकमा अद्भुत ओखती सञ्जीवनी बुटी साबित हुन पनि सक्छ । त्यसैले प्रस्तुत गन्थन मन्थनमा देखे भोगेका तर खाने तरिकाका विषयमा चर्चा परिचर्चा गर्नु मनासिब नै ठहर्ला ।
दूध उमाले पछि त्यसको माथिल्लो भागमा तैरिएर रहने सार बस्तु, पौष्टिक तत्त्वले भरपुर बाक्लो पदार्थलाई तर वा छाली र अङ्ग्रेजीमा क्रिम भनिन्छ । तर क्रिम छाली जे भने पनि दुधमाथि तैरिएर रहने जालीलाई तर भन्ने चलन पुरानै हो । दुध, मोइ र दहिको तुलनामा तरको स्वाद अति विशिष्ट र महत्त्वपूणर् मानिन्छ । त्यसैले नेपालमा प्रजातन्त्रको प्रादुर्भाव पछि तर खानेको दर नेताको भुँडी झैँ ह्वात्तै बढेको छ ।
घर जग्गा दलाली गरेर होस वा अस्पताल, स्कुल, कलेज खोलेर या मेनपावर कम्पनीको मालिक बनेर या अरू नै कुनै इलम अक्रम बक्रम आम्दानीको अखडा थापेर पनि तर खान तम्सिने बग्रेल्ती छन् । देशमा प्रजातन्त्र आउँदा एक्लै आएन सँगै लुटतन्त्र पनि लिएर आयो । यही लुटतन्त्रको छुटको फाइदा उठाउँदै ब्रह्मलुट मच्चाउनेहरू वर्षाको च्याउझैँ उम्रिएका छन् । तरतत्त्व नै मोहिनीमय उधुम मीठो खुराक हुनाले यसमा लुटपुटिएकाहरू हम्मेसी यसलाई छोडेर बाहिर निस्कन रुचाउँदैनन् । त्यसैले पावर फुल भगवान्को थानमा घुइँचो लागेझैँ तर खाने तौर तकिरामा पनि अत्यास लाग्दो घुइँचो, घचारो, लछारो, पछारो हुने गरेको पाइन्छ । यो आफैमा देश विकासका शुभ सङ्केतहरू हुन् । प्रजातन्त्रमा हात बाँधेर लाटीले केरा हेरेझैँ हेरि मात्र राख्ने हो भने तरको के महत्त्व ? तरमा तँछाड मछाड चल्छ र न सबै तरपिपासुहरू म्याराथुन उछिन्ने ध्याउन्नमा लीन मात्र होइन तल्लीन छन् ।
तर जेसुकैमा लाग्दैन । हरेक झोल कुरामा तर लाग्थ्यो भने पानीमा पनि तर लाग्थ्यो होला । पानीमा तर लाग्दैन । पानीमाथि मैलो तरपर्नु अलग कुरा । तर लाग्नलाई घिउ मोइ भएर हुँदैन दूध नै चाहिन्छ । तर लाग्नु दुधको अलग र विशिष्ट विशेषता हो । तर नखाने जन्तुभन्दा तर खाने मानवको कदको हद अब्बल र सुविधा भोगी हुन्छ अनि निमोनियाले मुन्ट्याउन खोजेको मान्छेले तरतिर नफर्किए पनि हुन्छ । किनकि चिल्लोमा फुरुक्क हुनेलाई तरले हुरुक्क मात्र होइन उपर्तली बनाउन पनि सक्छ ।
मानव व्यवहारको उकाली ओराली आरोह अवरोह पार गर्ने क्रममा तर खाने इच्छा, आकाङ्क्षा र रहर सबैमा जाग्छ । तथापि राम्रो, नराम्रो, असल, कमसल, उच, नीच, समावेशी, समाजवादी, साम्यवादी, सर्बसत्तावादी, अधिनायकवादी, आदि अनेक फुर्का र फुँदा जोडेर तरवितरण प्रणाली चुस्त र दुरुस्त भएको भए समान रूपले दुनियाँ लाभान्वित हुने थिए । के गर्नु समय स्वार्थग्रस्त भएको हुनाले हर दर्जाका मानव चोला स्वार्थ सङ्क्रमित भएर स्वयंवादी हुनु स्वभाविकै मान्नुपर्छ । स्वार्थलम्पट मानवबाट निःस्वार्थ, निस्कपट, पुरोहितको आश गर्नु व्योर्थ र निरर्थक मानिन्छ । अनेक रङ्गीविरङ्गी उदण्डता, हतकण्डा, अपनाएर भोकको भकारी भर्नु मै मान्छेहरू रत्तिराखेका हुन्छन् । नानाभाँती विभेदकारी उपाय अवलम्बनका शस्त्र अस्त्रहरू मानवले मानव चोलामै प्रक्षेपण गर्नु नै तर खाने प्रधान तत्त्व र तरिका भित्र पर्छन् ।
नेपालमा व्याप्त नाम दाम कमाएका शैक्षिक संस्थाहरू दुइटै हातले तर खान पल्किएका छन् । तरको एकदम बाक्लो लुँडो चाहिँ नयाँ विद्यार्थी भर्नामा लाग्ने गर्छ । विद्यार्थी भर्ना गर्दा उच्च अङ्क ल्याएकालाई पनि प्रतिस्पर्धाको चाल्नामा छानेर अत्यन्त जेहेन्दार विशिष्ट श्रेणीका छात्र छात्रालाई मात्र भर्ना लिनु नै तरैतर छानेर खाएको मानिन्छ । तरैतर छानेर राखेपछि घिउको डल्लो ठूलो लाग्नु स्वभाविकै हो । अर्को स्कुलले मरिमेट्दै दिलो ज्यान दिएर, मुन्टाले टेकेर असल, स्तरीय बनाएका विद्यार्थीहरू हडपेर/खैचिएर स्वघोषित स्तरीय शैक्षिक संस्थाको शंखघोष गर्नु चोर विरालोझैँ चलाख हुनु हो । चोर बिरालाले आफू जस्तो चलाख, चतुर र बुद्धिमान शायद अरूलाई देख्दैन । ठान्दैन होला । अनि हरतरहले हडपेका तिनै गुणस्तरीय विद्यार्थीलाई यता पल्टायो चुप्पा गर्यो, उता पल्टायो चुप्पा गर्यो अनि ठूला ठूला तरका बुजा हाल्न उधुम, उल्कापात मजा नआउने कुरै भएन ।
अर्कै शैक्षिक संस्थाले पाखुरी बजारेर, मरिमेटेर, विश्वमा विक्ने बनाएका विद्यार्थीहरू परिस्थितिले कोल्टो फेर्दा तिनै विश्वास पात्र भाइबहिनीहरू जननी विद्यालयप्रति अन्तर्घात नुनचुक थप्दै तर छान्ने, जाल हान्नेका ढडियामा पस्न पुग्छन् । असल नसडिएका, नकुहेका, राम्रो, स्तरीय छानेर राख्ने सडेगलेका, कमसल, नजान्नेलाई कसिङ्गरझैँ फाल्ने, जान्नेलाई आफ्नो ढडियामा हाल्ने उच्च कोटिको शैक्षिक संस्थाको अति उत्तम उन्नत तरिका मध्ये एक हो । यस्तै उपाय अवलम्बन गरेर तर खाने तौरतरिकामा अब्बल, साबित हुनु नै विद्वान् हुनुको सफलीभूत सार्थकता मानिन्छ ।
शैक्षिक अखडामा यसरी हाकाहाकी तर खाने तरिका घनिभूत रूपमा व्यापक र व्याप्त छ । सोझासिदा अभिभावकहरू बुद्धिमान संस्थाका बुज्रुकहरूले दुइटै करपरिचालन गरेर लपलपी तर चाटेको हेर्न बाहेक के गर्न सक्छ र ? तै पनि सक्नेले गर्छ नसक्ने कुरा मात्र गर्छ भन्नु होला । मानव जुनी लिएर जन्मिएपछि आफ्नै पारा र पौरखको तर तयार पार्ने गौंडा गल्छेडा बेलैमा तयार नगरे उनीसँग जुनी कसरी कटाउने ? तर नखाएको मरन्च्याँसे ज्यानले पराइलाई कसरी ठटाउने ? बिना तरको फुस्रो मान्छेले माया पिरती कसरी बसाउने ? त्यसैले तर है तर । तिनै पुस्तालाई तह लगाउने तर बेलैमा जोहो जगेडा गर्नलाई पनि प्रजातन्त्रमा तर खाने तरिका आफू पनि सिक्नुहोस् र अरूलाई पनि सिकाउनुहोस् ।
फुलबारी, पोखरा
Subscribe
Login
0 Comments
Oldest







































