साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लोप्पा

तरिका मिलेन भने अरूलाई खुवाएको लोप्पाले आफ्नै अधर अस्मिता अँध्यारो र अभरमा पर्न पनि सक्छ । त्यसैले लोप्पा कडा एन्टिबाइटिक औषधी जस्तै हो । ठिक ठाउँमा परेन भने क्षतिको ठूलै पहाड आइलाग्छ ।

Nepal Telecom ad

लोप्पा सित्तैमा मिल्ने भएर हो कि क्या हो कसैलाई पनि प्यारो लाग्दैन । हर तरहले लोप्पा खान्छन् खुवाउँछन् तर मीठो मान्दैनन् । रिसले कन्सिरीको कपाल ठाडो भएका बेलामा चेतावनी दिँदै मान्छेले मान्छेलाई नै भन्ने गर्छन् थुतुनु थान्कामा राख नत्र लोप्पा खालास । लोप्पा देख्नमा सामान्य भए पनि खान चाहिँ मान्छे डराउँछन् । लोप्पासँग सातै जाने भएर होला हत्तपत्त नजिक पर्न रुचाउँदैनन् । तापनि हाम्रो समाजमा लोप्पा खाने खुवाउने चलन जीवितै छ । यो नम्बरी नभए पनि अजम्बरी छ । लोप्पा खाने र खुवाउने चलनको सुरुआत मानव सृष्टिसँगै भएको हुनुपर्छ । इतिहास जन्मिनु भन्दा पहिला नै । उहिलेका र अहिलेका सबैले लोप्पा खाने खुवाउने ऐंचो पैंचो चलिरहन्छ जगत्मा । तब न आफन्त इष्टमित्र भएको सार हुन्छ । जाबो सित्तैमा पाइने लोप्पा पनि नखाने नखुवाउने के आफन्त के इस्टमित्र ?

सानैबाट आफ्ना अभिभावकले मिठाइ चकलेट किन्नुपर्दा होस् या कापी कलम मलम कोसेलीपात किन्नु पर्दा वा नाना र खानाका मामलामा पनि जानाजानी वा भूलचुक लोप्पा खुवाइ खुवाइ लोप्पे संस्कार सिकाइ सकेका हुन्छन् । फलतः त्यही कला गला र थला बसेका बेलामा बाबु आमातिर नै प्रयोग र प्रक्षेपण गर्न पुग्छन् । त्यसैले नै भन्ने गरेका होलान् बाह्र छोरा तेह्र नाति बुढाको धोक्रो काँधै माथि । परिवारमा लोप्पा खानुभन्दा खुवाउन मजा मान्नेहरू धेरै हुन्छन् । कसैले कसैलाई लोप्पाको रसास्वादन गराइयो भने अन्नै खुवाए जसरी विजयी भावमा खुसीले गद्गद् हुन्छन् । संग्राम जितेझैँ गर्छन् । बाहिरी चोट पनि नलाग्ने भित्री धोको पनि पुरा हुने भएर होला बिहान उठेदेखि बेलुका नसुतेसम्म कसलाई लोपार्ने होला भनेर विभिन्न बाहनामा खोंचे थापी राखेका हुन्छन् ।

लोप्पा पेट भरिने कुनै ठोस तत्त्व होइन तर यसको आस्वादले धेरै रन्थनिन्छन् र लज्जा बोधले निथ्रुक्क हुन्छन् । तरिका मिलेन भने अरूलाई खुवाएको लोप्पाले आफ्नै अधर अस्मिता अँध्यारो र अभरमा पर्न पनि सक्छ । त्यसैले लोप्पा कडा एन्टिबाइटिक औषधी जस्तै हो । ठिक ठाउँमा परेन भने क्षतिको ठूलै पहाड आइलाग्छ ।

परिस्थिति प्रतिकूल हुँदा यो खान खुवाउन सजिलो छ । एकदम मिलेका साथीसँगी, बाबु आमाले छोरा छोरीलाई खुवाउने लोप्पाको कुनै हिसाबै छैन । सयौँ चोटि खुवाए पनि खास अर्थ राख्दैन तर वाकयुद्धबाट थान्को लाग्न सकेन भने हत्तपत्त यसलाई अगाडि सारिन्छ । हातको अर्धचन्द्राकार भावमा कसैको अनुहार अगाडि दायाँ या बायाँ हातले विस्फारित नेत्रको भावभङ्गिमा अत्यन्त जाँगरका साथ दरो हात पारेर ललाटदेखि तल चिउडाको डिलसम्म धस्काइन्छ भने त्यसलाई लोप्पा खुवाएको भनिन्छ । घुस जस्तै लोप्पा पनि अनधिकृत हो । यसलाई प्रयोगमा ल्याउन, खान, खुवाउन, कानूनतः वर्जित छ । तर पनि एक अर्काको अड्कलबाजीमा आपसी ह्याउ र दाउको आधारमा जसले जसलाई खुवाउन पनि मिल्छ । भर्खरै मात्र नेपालकै एक जना मेयरले राज्यको चौथो अङ्गको मान्यता र गुणस्तर प्राप्त पत्रकारलाई पीतपत्रुकारको खप्कीले खर्लक्क खाँदै जघन्य आरोपका साथमा ढ्याउ गरुन्जेल लोप्पा खुवाएर आत्मसन्तुष्टि लिएका थिए । यसरी लोप्पै लोप्पाले विभूषित गर्दा आंशिक शब्द शस्त्रले अझ सरस, धारिलो र मर्मस्पर्शी बनाउन पनि मिल्छ । विश्वका धेरै नेताहरूले हरेक खुर्ची कामको मद्दत लिएर एकले अर्कालाई निरन्तर लोप्पा खुवाएर आफू भाले भएर माथि परेको महसुस गर्छन् । जस्तै अमेरिका, चीन, भारत, उत्तर कोरिया, इरान लगायत पावर, पाइन र माइन देखाउन लालायित राष्ट्रहरूले कसले कसलाई व्यवहारले बढी लोप्पा खुवाउन सक्ने भनेर हाकाहाकी प्रतिस्पर्धा गरिरहेका छन् । जे होस् आफूलाई चौबिस क्यारेट साबित गर्ने ध्याउन्नमा लोप्पाको सहारा लिने चलन हिजो पनि थियो, आज पनि छ र भोलि पनि हुनेछ । चलन बाजेकै पालाको हो हामीले बिँडो धानेको मात्र ।

यस विषयमा नेपाली शब्दकोश मौन रहे पनि लोप्पा खास गरी तीन प्रकारको हुन्छ ।
१. भौतिक लोप्पा
२. व्यवहारिक लोप्पा
३. प्राकृतिक लोप्पा
भौतिक लोप्पा जुन आमने सामने भएर कर बाहुबलको माध्यमबाट लेनदेन, सरसापट गरिन्छ । सक्नेले तिर्छन्, फर्काउँछन्, नसक्ने चुप लागेर ग्रहण गर्छन् बस्छन् । महिला पुरुष भनेर भेद नगरिने नपुसंक लोप्पा सक्नेले निर्धालाई खुवाउने र निर्धाले जबरजस्ती पचाउनु पर्ने चलन छ । गाउँघर, सहर, बजार, कोठा, चोटा, चुलोचौको, गोठ, ग्वाली, धारो, पँधेरो, मठ मन्दिर, मसानघाट, चारैदिशा, चारै धाम जता हुन्छ परिस्थिति आफू अनुकूल हुँदा जसलाई जसरी खुवाउन पनि मिल्छ । भौतिक लोप्पा खुवाउँदा प्रत्यक्ष गवाही, साक्षी पनि हुन सक्छन् किनकि अरूका अगाडि पाइन, माइन र पावर देखाउनु पर्ने हुनाले यो फेस टु फेस प्रयोग हुन्छ । प्रत्यक्ष अपमान बोधक यस प्रकारको लोप्पा नेपाली समाजमा पहिला पहिला सासूले बुहारीलाई खुवाउँथे भने अहिले उल्टिएर बुहारीले सासुलाई खुवाउन थालेका छन् । आगामी पुस्ताका लागि यो शुभ सङ्केत होइन । तै पनि कुमालेको चक्रझै समयको चक्रसँगै नसोचेको नसम्झिएको, कल्पनै नगरेकाहरूले लोप्पा खुवाउन पनि सक्छन् । हिजो नेताले लोप्पा खुवाए भने भोलि पत्रकारको पनि पालो आउन सक्छ । लाटोको खुट्टा बाटोमा पर्न सक्छ । त्यसैले हरेस नखाउँ लोप्पा खाऊँ ।

दोस्रो व्यवहारिक लोप्पा त्यस्तो लोप्पा हो जसले सारा जगत्लाई तिरिमिरी झ्याइँ पार्छ । भौतिक लोप्पाको जस्तो तुरुन्त रियाक्सन देखिँदैन । समय गुज्रिदै जाँदा व्यवहारिक लोप्पाको कारण पनि उघ्रिदै र उद्रिदै जान्छ र अन्तमा मान्छेले लोप्पा खुवाएको आभास, अनुमान र अनुभव एकासाथ गर्छन् । जस्तो उदाहरणका लागि चुनावताका दलले जनतालाई दिएका बाचा बन्धन आश्वासन कहिल्यै पूरा नगर्नु व्यहवारिक लोप्पा हो । काठमाडौँमा मेलम्चीको पानी पचहत्तर सालको भदौमा झकिझकाउ पारेर वितरण गर्ने भनेर सरकारले घोषणा गर्‍यो तर छ्याहत्तर साल भरिमा पनि मेलम्चीको पानी दुलही रानी बनेर काठमाडौँ भित्रिने छाँटकाँट छैन । जनता काकाकुल जिन्दगी जिउन बाध्य छन् तर सरकारले चाहीँ खालास पानी भन्दै व्यवहारले मज्जाले लोप्पा खुवाइरहेको छ ।

सरकारले उत्तर र दक्षिणबाट एक वर्ष भित्रमा रेलको खेल देखाउने भन्दै रेल है रेल भन्दै घुटुक्क थुक निल्ने पारेको छ तर आज रेलका कुरा फेल भइरहेको छ भने व्यवहारले यसमा पनि आम जनतालाई दमदार लोप्पा खुवाएको छर्लङ्ग हुन्छ । गरिब असहायलाई निःशुल्क दबाइमुलो, सानो ठूलो, तातो चुलो, लगायत वृद्धवृद्धालाई सेवा सुविधा, प्राकृतिक प्रकोप, भूकम्पपीडितलाई रस, राहत, उद्धार, अनुदान र हत्या हिंसा गर्नेलाई कडा सजाय, रामराज्य भन्छ तर व्यवहारमा निर्मला पन्तको झै पाउलास् न्याय भनेर जनतालाई जोर हातले लोप्पा खुवाउने काम प्रायः सबै क्षेत्रमा मौलाइ रहेको छ ।

व्यवहारिक लोप्पा सासूले ज्वाइलाई पाञ्चायन पुजाको शैलीमा प्रायः दैनिक जसो खुवाइ राखेका हुन्छन् । नबुझेजस्तो गर्नु, बुज पचाउनु ज्वाइको बाध्यता हो । बिरालो हेरे बाघ हेर्नु पर्दैन, दाजुभाइ हेरे शत्रु हेर्नु पर्दैन भन्नुको प्रमुख कारण नै व्यवहारिक लोप्पा हो । भौतिक लोप्पाका असर क्षणिक हुन्छ भने व्यवहारिक लोप्पा अधिक पीडादायी, कहाली लाग्दो र दीर्घकालीन असर गर्ने खालको हुन्छ । प्राकृतिक लोप्पालाई दैविक लोप्पा पनि भन्न सकिन्छ । जस्तो सन्तान चाहेर पनि नजन्मिनु । राम्रो पढेर पनि ज्यान जाला सरकारी जागिर नपाउनु । अचानक भएको सम्पत्ति गुम्नु । अकल्पनीय घटनाहरू जुन मान्छेको बल बुताले भ्याउँदैन भने त्यस प्रकारको लोप्पालाई प्राकृतिक लोप्पा भनिन्छ । भूकम्प गएर धनजनको व्यापक क्षति हुनु, बाढी पहिरोले गाउँ बस्ती सखाप पार्नु । असिनाले बाली नाली नष्ट पार्नु, आदि दैविक वा प्राकृतिक लोप्पाभित्र पर्छन् । यस प्रकारको लोप्पा भयावह र खतरनाक मानिन्छ जुन मानवको बल ,बुता र बसमा हुँदैन । प्राकृतिक एकतर्फी लोप्पा प्राणीले चुपचाप सहनुपर्छ । तर लोप्पा लोप्पा नै हो जुन खाए पनि मन, मुटु, माइन, जिब्रो, पेट, हात, खुट्टा, सबै बटारिन्छ र जोरी खोज्न पुगिन्छ । एउटा सामान्य लोप्पाले अदालतको ढोका ढक्ढक्याउन पनि सक्छ । त्यसैले त भन्ने गरिन्छ हेपेको खोलाले बगाउँछ ।

लोप्पा खाएको मानवको अनुहार आक्रामक, अँध्यारो र दुर्बल प्रतीत हुन्छ । किनकि नेपालमा चोर, डाका, फटाहाको डंका ठूलो र बोक्सीको आँखा ठूलो भन्ने चलन छ । डंका र ठूला आँखाले हरेक कुरा बसमा पार्न सकिन्छ भन्ने संक्रीणर् सोचाइले जरा गाडेको छ । त्यसैले लोप्पा खुवाउने सज्जनले विजयी भावमा सिउर हल्लाउँदै, जिब्रो फट्कार्दै, मिठ्याइ रहेको हुन्छ भने लोप्पा खाने पण्डित चाहिँ नुन खाएको कुखुरा झैँ मरें, सकिएको भावमा, अभावमा लल्याकलुलुक सिऊर आधा झुकाएर तंग्रिने यत्न प्रयत्न गरिरहेको हुन्छ । जे होस् हृदय खोलेर एकले अर्कालाई लोपारिन्छ भने त्यहाँ स्वार्थ र बैमनस्यताको विजारोपण रहेछ भनेर ठोकुवा गरे हुन्छ । स्वार्थ सङ्क्रमित भएपछि लोप्पाको धरहरा चढ्नु नौलो कुरा होइन ।

जति लोप्पा खाए पनि जसले लोप्पा ख्वाए पनि बाहिरी छाला त बोक्रिदैन तर अन्तर देहको सात पत्रेमा गहिरो चोट पुग्छ । यसो भए पछि मनमस्तिष्क अमिलो हुन्छ र देह उद्वेलित भएर आउँछ । त्यसैले हत्तपत्त एक हर्कालाई लोप्पा खुवाउने काम लत्तपत्त भएर फापसिद्ध नहुन पनि सक्छ तर सारै अप्ठ्यारो अक्करमा परेर ठक्कर सहनै नसकेमा लोप्पाले विभूषित गर्नैपर्छ । त्यसो त लोप्पाको भावभङ्गीले खर्लप्प खाँदा मात्र पनि आफ्नो इज्जत स्खलन भएको आभाष गर्ने सज्जनहरू पनि लोकमा जीवितै छन् । अर्काको अस्तित्व र अस्मितामा धावा बोल्दा कसलाई दुख्दैन र ? हेप्ने होच्याउने, तिरस्कार, उपेक्षा गर्नेका यावत पक्षमा भौतिक या व्यवहारिक नफरतको भरपर्दो जवाफ हो लोप्पा ।

निर्जीव, पशु र मृतात्मामा यो लागु हुँदैन । परिस्थिति हेरेर जीवित प्राणीले जीवित प्राणीलाई बहादुरी देखाउन स्वार्थ सिद्धार्थ प्रयोगमा ल्याउन रुचाउँछन् । मानव मानमर्दनको अचुक अस्त्रको रूपमा लोप्पालाई मानवमाथ अगाडि प्रक्षेपण गर्ने पुरानै पारा हो । जिजु, च्याब्जुका पालादेखि आजका नवपुस्ताले पनि लोप्पालाई व्यवहारमा वरण गर्न आनन्द मान्छन् । लाग्छ भावी सन्तान दरसन्तानले पनि यसको अंगिकार गरिरहने छन् । किनकि यो मानव वस्तीमा मान्छेलाई विना रक्तपात थान्को लगाउन उपयुक्त छ । त्यसो भएपछि तिनै काल लोप्पाको भविष्य भँड्खालामा पर्देन । हरेक हात हतियारको भविष्य शंकाको घेरामा छ तर लोप्पाको भविष्य अत्यन्त ज्वाजल्यमान र उज्ज्ल छ । चोर, ढाँट, ठग, फटाहाको बजार बाक्लिँदै गएको वर्तमान अवस्थामा अन्तर्राष्ट्रिय गुणस्तर र मान्यता प्राप्त भौतिक, प्राकृतिक वा व्यवहारिक लोप्पाको अनुशरण आजका पठीत अगुवा वर्गले पनि गर्नैपर्छ र ? जय लोप्पा ।

फुलबारी, पोखरा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
मत दुई हजार बयासी

मत दुई हजार बयासी

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
सरकाे र घरकाे कुटाइका कुरा

सरकाे र घरकाे कुटाइका...

शेषराज भट्टराई
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
बाजी

बाजी

नन्दलाल आचार्य
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
0
Would love your thoughts, please comment.x
()
x