पिँडालु पण्डितजनताको सरकार
घरैपिच्छे मन्त्री, टोलैपिच्छे मन्त्री । अनि, भाग नपुग्ने कल्लाई ? जहाँ जाउ मन्त्री नै मन्त्री । मन्त्री पनि बलिया मन्त्री । अहिलेको जस्तो छ्वास्स केही गल्ती गर्यो कि गइहाल्ने मन्त्री होइन ।

पुजारीलाई पेडा र जँड्याहालाई जाँड मात्र होइन, सुनारलाई सुन र तरकारीमा नुन सबै उत्तिकै प्यारा वस्तु हुन् । यति मात्र नभएर अमिनलाई जमिन र पुलिसलाई सर्जमिन, सैनिकलाई फायर र आन्दोलनकारीलाई टायर पनि उत्तिकै प्यारा वस्तुभित्र पर्छन् । यसरी कसलाई के मन पर्छ भनेर केलाउँदै जाने हो भने यसको सूची सोचेभन्दा धेरै लामो हुन्छ । सबैको गोप्यता भङ्ग हुन्छ । त्यसैले यो सूचीलाई लम्ब्याउनेतिर अहिले नलागौँ, बरू कुरा गरौँ जनताको सरकारको ।
सरकारलाई जनता मन नपरे पनि जनतालाई सरकार खुबै मन पर्छ । सरकार सबैको प्रिय वस्तु किन भयो होला भत्रे जिज्ञासामा व्यक्तिपिच्छेका धारणा हुन सक्छन् । जसलाई जे सरोकार हुन्छ उसले उसै गरी शब्दको व्याख्या गर्ने चलन नौलो होइन । कुनै एउटा सामान्य शब्दका विषयमा सत्तरी जनालाई बोल्न दियो भने एक सय सत्तरी किसिमको धारणा व्यक्त हुन्छ । अनि कुन ठीक कुन बेठीक छुट्ट्याउनै गाह्रो । यसैगरी सरकारका विषयमा पनि कसैले जिज्ञासा राख्ने हो भने एकैछिनमा सात सय सत्तरी किसिमका मत व्यक्त हुन सक्छन् । यो अनौठो विषय पक्कै होइन ।
उहिले उहिले राजालाई सम्बोधन गर्दा सरकार भनेर सम्बोधन गर्थे । सायद यो सम्बोधनको अर्थ हुन्थ्यो- प्रभु, स्वामी, मालिक, ठालु, हर्ताकर्ता, सर्वश्रेष्ठ आदि इत्यादि । यसले चाकरीलाई इङ्गित गथ्र्यो । चाकरीबोधक देखिन्थ्यो यो शब्द । हुन त यो शब्दले देश वा राज्यको शासकमण्डल अथवा शासन सञ्चालन गर्नेहरूको समूह वा अस्तित्वलाई पनि जनाउँथ्यो । तर त्यतिखेरको त्यो प्रयोग भने चाकरीका लागि नै हुन्थ्यो र चाकरीका लागि नै व्यक्त गरिन्थ्यो । अनि कतिखेर हामी साना केटाकेटीलाई प्यार गरेर बोलाउँदा पनि ‘मेरो राजा’ भनेर लेग्रो तान्थ्यौँ । यहाँ पनि केही न केही नजानिँदो रूपमा चाकरी नै प्रतिविम्बित हुन्छ । त्यो लेग्रो तनाइमा केही न केही स्वार्थ लुकेकै हुन्छ ।
केलाउँदै र कोट्ट्याउँदै जाने हो भने सरकारका विषयमा अनेकन् मत व्यक्तिन सक्छन् । अनेकौँ धारणा र अवधारणा तेर्सिन सक्छन् । आरिस्टोटलदेखि ओबामासम्म मात्र होइन, इन्द्रदेखि नरेन्द्रसम्मकै उपमा आउन सक्छन् । गर्न गले पनि बोल्न गल्नेवाला कोही छैन यहाँ । अर्काका कुरा कोट्ट्याउन र चाहिँदो नचाहिँदो भट्ट्याउन को कम छ ? कुरामा श्रम र श्रमिक, गैँती र घन भट्ट्याउनेहरू काममा कैँची र मनमा मेवा पालेर गौँडागौँडामा गर्जेको पनि नदेखिएको होइन । त्यसैले सरकारको परिभाषा पनि मान्छे र परिस्थिति पिच्छे फरक-फरक हुनु कुन अनौठो कुरा भयो र ?
यहाँ सरकारको मात्र होइन जनताको सरकारको कुरो छ । घरघर, टोलटोल र बस्तीबस्तीमा सरकारको कुरो छ । मतलब जताततै सरकारको उपस्थितिको कुरो छ । एउटा मात्र सरकारले त्यो सम्भव छैन । सङ्घीय लोकतान्त्रिक गणतन्त्र भएका बेलामा पनि सर्वसुलम हुन नसके सर्वसाधारण जनताका लागि कहिले सर्वसुलम हुन्छ सरकार ? त्यसैले सरकारलाई अहिले जतिसक्दो सर्वसुलम बनाउनु जरूरी छ । तल्लोभन्दा तल्लो ठाउँसम्म सरकार गठनको व्यवस्था मिलाइनु जरूरी छ । बरू किसानले खेतीपातीका समयमा मल नपाए केही हुत्र । बीउ पलबीउ नपाए केही हुत्र । उब्जेका अनाजको भाउ र बजार नपाए केही हुत्र । अझ त्योभन्दा अघि सिँचाईका लागि कुलो र खानका लागि पानी नपाए पनि केही हुत्र । तर, तिनका लागि सरकार भने चाहिन्छ । त्यो पनि सर्वसुलभ रूपमा ।
ढोका ढोकामा भेटिने सरकारको आवश्यकता छ जनताका लागि । ढोका खोल्दा पनि सर्लक्क सरकार देखिनुपर्छ र ढोका बन्द गर्दा पनि । सपनामा पनि सरकारको उपस्थिति चाहिन्छ र विपनामा पनि । हावा जस्तो हुनुपर्छ सरकार । जनताका लागि ऊ झ्याल, ढोकाबाट मात्र होइन खटप्वालबाट छिरेर पनि पुग्न सक्ने हुनुपर्छ । अनि न निमुखा जनताका घाँटीघाँटीमा अड्केको सरकारको तिर्सना र प्यास मेटिन्छ । यसरी प्यास मेट्ने गरी एकपटक निर्धक्कसँग सरकारको उपस्थिति गराइदिने हो भने यी भोक प्यासले ग्रसित जनता जनताको सरकार चाहियो भनेर पटक-पटक कराउने पनि थिएनन् होला । सरकार टाढा भएर न यिनलाई यस्तो बढी चासो भएको हो । नजिकबाट एकपटक अनुभूत गरे भने पक्कै पनि तिनले सरकारको माग बाँचुन्जेल फेरि दोहोर्याउने छैनन् ।
सरकारका विषयमा पिँडालुको मत जनताका पक्षमा छ । जनताका सरोकारका पक्षमा छ । मौसमका बेला खेतबारी र बगैँचामा लटरम्म फलफूल झुत्तिए झै जनताका आँखामा जताततै सरकारै सरकार झुत्तिनुपर्छ । ओडार, त्रिपाल, झुपडीबाट सुरू भएर घरैपिच्छे, टोलैपिच्छे, गाउँपिच्छे सरकार झुल्नुपर्छ । फुल्नुपर्छ । अझ जिल्लापिच्छे, अञ्चलपिच्छे, क्षेत्रपिच्छे, देशप्रदेश पिच्छे सरकार हुने हो भने तिर्खाएका जनता मात्र होइनन् पिँडालु पनि आफ्ना लुरे गोडा हल्लाउँदै एकपटक लहलहाउँदा हरिया पात फट्कारेर सबैका सामु मजैसँग नाच्नेछ ।
राज्यलाई पाइला पाइलामा नयाँ नयाँ सरकार गठन गर्नुपर्ने यो नितान्त नौलो कुराले टाउको दुख्न सक्छ । सरकार चलाउने खर्चका कुराले भाउत्र हुनसक्छ । जताततै कार्यालय खोल्नुपर्ने कुराले अलमलिन सक्छ । माउ सरकार भने पनि बाउ सरकार भने पनि केन्द्रमा एकछत्र ढलीमली गरेको सधैँको ढाडे सरकार ढलमलिन सक्छ । तर, जतिसुकै जे भए पनि गौँडा गौँडामा सरकार गठन गर्ने कुरा अब फिर्ता हुन सक्तैन । जनताको सरकारको कुरा नबढ्नु अघि बढिसकेपछि अब पछाडि फर्किने कुरै आउँदैन ।
नयाँ जमाना नयाँ जुक्ति । अब नयाँ तरिकाले सरकारका विषयमा सोच्नुपर्छ । नयाँ तरिकाले सरकार चलाउनु पर्छ । सरकार चलाउने खर्चका कुराले आत्तिनु पर्दैन । सरकारमा पुगेँ भनेर मात्तिनु पर्दैन । चिन्तारहित सरकार चलाउनु पर्छ । न फुट्दा डर हुने न जुट्दा डर हुने सरकारको अवधारणा पहिल्याउनुपर्छ । अनि ठाउँ ठाउँमा त्यस्तै सरकार गठन गर्नु र चलाउनु पनि पर्छ ।
यो नयाँ अवधारणा अनुसार सरकार निर्माण गर्दा घरभित्र सीमित हुने सरकारलाई घर सरकार, वडामा सीमित हुनेलाई वडा सरकार, टोलभरि सीमित हुनेलाई टोल सरकार, गाउँभरि कार्यक्षेत्र हुनेलाई गाउँ सरकार, जिल्लाभरि कार्यक्षेत्र हुनेलाई जिल्ला सरकार भनेर नामकरण गर्न कत्ति पनि गाह्रो हुत्र । त्यसैगरी अञ्चल हेर्नेलाई अञ्चल सरकार, क्षेत्र हेर्नेलाई क्षेत्रीय सरकार, प्रदेश हेर्नेलाई प्रदेश सरकार भनेर सजिलैसँग नामकरण गर्न सकिन्छ । अनि यी सबैका टाउकामा बेलाबेलामा ट्वाक ट्वाक पार्न केन्द्रमा परम्परित एउटा टाउके सरकारको व्यवस्था गर्न सकिन्छ । यसलाई माथि भनेझैं माउ सरकार वा बाउ सरकार भनेर पनि नामकरण गर्दा हुन्छ । यसरी सरकारको व्यवस्था गर्न सके देशैभरि जतासुकै सरकारै सरकारको उपस्थिति जनिनेछ । सरकारको अनिकाल कहीँ कतै पर्दैन । विपत्का बेलामा सरकारी राहत लिन आँगनदेखि पिँढीसम्म, बलेसीदेखि मझेरीसम्म चुल्हो खडा गरेजस्तो जताततै सरकार । अनि घरैपिच्छे मन्त्री, टोलैपिच्छे मन्त्री । अनि, भाग नपुग्ने कल्लाई ? जहाँ जाउ मन्त्री नै मन्त्री । मन्त्री पनि बलिया मन्त्री । अहिलेको जस्तो छ्वास्स केही गल्ती गर्यो कि गइहाल्ने मन्त्री होइन ।
सर्वसुलभ सरकार गठनको यो अनौठो सूत्र विश्वका कुनै पनि मुलुकले थाहा पाए भने कसैलाई सोध्दै नसोधी एकैचोटि यस्तो अनौठो सरकार गठनको अनुकरण गरिहाल्न सक्छन् । व्यवहारमा ल्याइहाल्न सक्छन् । अनि जुन देशले पहिला सरकार गठनको यो सूत्रको प्रयोग गर्छ विश्वभर त्यसैको सरकारको मोडेल भनेर चम्किन थाल्छ । त्यसैले यस्तो चम्किने अवसर अरूलाई किन दिने ? ‘सरकारको नेपाल मोडेल’ भनेर विश्वलाई हामीले किन नचिनाउने ? चिनाउनु पर्छ । यसमा ढिला गर्नु भनेको नेपालको ख्याति कमाउने अवसरलाई पुस्तौँसम्म पछाडि धकेल्नु हो । राष्ट्रको भलो नचिताउनु हो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उपहास गर्नु हो । त्यसैले यो शुभकार्यमा कोही पनि पछि नहटौँ । दह्रो खुट्टा बनाएर अगाडि बढौँ । जनताका ढोका ढोकामा सरकार गठन गरेर तिनलाई तीन छक पारिदिऊँ । विश्वले पनि उदेक मानोस् । अझ सकिन्छ भने ठूला परिवार भएका ठाउँमा घर सरकार पनि गठन गरिदिऊँ । यति गर्न सके लामो समयदेखि नजिकको सरकारको पर्खाइबाट तड्पिएका नेपाली जनता प्रफुल्ल मनले रमाउँदै पाल, त्रिपाल र घरकटेराका ढोका ढोकाबाट बाहिर निस्केर खुशीले एकसाथ नारा लगाउन थाल्नेछन्-
‘जनताको सरकार जिन्दावाद ।’ ‘जिन्दावाद, जिन्दावाद ।’
‘घर घर सरकार जिन्दाबाद ।’ ‘जिन्दावाद, जिन्दावाद ।’
‘सरकारको नेपाली मोडेल जिन्दावाद ।’ ‘जिन्दावाद, जिन्दावाद ।’
‘जित कसको जनताको ।’ ‘जनताको, जनताको ।’
‘जनताको सरकार जिन्दावाद ।’ ‘जिन्दावाद, जिन्दावाद ।’
‘युवामञ्च’, २०७३ असार
Subscribe
Login
0 Comments
Oldest







































