साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कार्यक्रम थालनीपूर्वका आतङ्कहरू

बाहिरबाट सुन्दा निकैबेरसम्म हलमा हल्लखल्ल चल्दै थियो । पछि थाहा भयो लालटिन बालेर भए पनि सभा सकेरै छाडेछन् । लोड सेडसेडिङ भइदिएकोले धन्न म भने त्यस आतङ्कको अन्तबाट बचेँ ।

Nepal Telecom ad

केही वर्षअघिसम्म नेपालभित्र कसको आतङ्क थियो, यसबारे नभन्ने । उहाँहरूका बारेमा कुरा नगरौँ । ज्यान लिने आतङ्कका बारेमा कुरा गर्‍यो भने फेरि जान्छ ज्यान, थनिन्छ आँकडा । यसैले त्यता म लागिनँ । ज्यानको ता मायाँ गर्र्नै पर्‍यो नि ! हैन र ? आतङ्क त्यति मात्रै कहाँ हो र ? ज्यानै लिने ता नभनूँ, तर त्यस्ता अरु कति छन् छन् । उहाँहरूको आतङ्कका बारेमा कुरा गरिनँ । म अहिले अरु नै आतङ्कका बारेमा कुरा गर्न लागिरहेको छु । कुन आतङ्कका बारेमा कुरा गर्न लागेको छु भन्ने कुराको भेउ यसको थाप्लो देखेपछि पाई पनि सक्नुभो होला ।

कहिले देशको कुनाकाप्चातिर पैरो बाढी, अनिकाल, महामारी, भोकमरी सुख्खाका समस्या पर्छन् । कहिले सर्पको बिगबिगी पर्छ, कहिले भने हात्तीहरू आएर जनतालाई आतङ्कित पार्दछन् । कहिले बर्डफ्ल्यू, कहिले इन्सेफलाइटिस, कहिले सलह, कहिले हैँजा, कहिले एडस, कहिले जन्डिस, कहिले के त कहिले के । अहिले कोरोनाको आतङ्क संसारभरि छ, सबै भुक्तभोगी छन् । यसले मान्छेलाई निखार्न थालेको छ, यसका पनि नाना रुपहरू विकास भइरहेका छन् । यसैको कारण मन्छेले मान्छेका सामु मुख नदेखाउने दिन आएका छन् । रोग, महामारी आदिका आतङ्क सधैँ उठिरहन्छन् देशभरि । एउटा न एउटा समस्याले देशमा अप्ठेरो पारिरहेको हुन्छ । मलाई भने अर्कै खालको आतङ्कको सामना गरिरहनु परेको छ । दिनको एउटा न एउटा कविसभा कविसम्मेलन आदिमा सामेल हुनु परेको छ परेको छ । अझ अहिले त भर्च्युअल अरे । लगातार चलेका छन् । बिहान, दिउसो, बेलुका अनि राती । यिनले सुत्न पनि दिने भएनन् । घरैमा बसी बसी कविता र भासन गर्नेहरूकोे आतङ्क छ । कान कम सुन्नाले मलाई ता अलिकति फाइदा भने भएकै छ । मत्लब म काव्य, गजल र भासनको आतङ्कमा परेर पिल्सिएको छु । मलाई लाग्छ अहिले देशमा भासन र कविताको आतङ्क जोडिएको छ । अझ भासन भन्दा पनि कविताको आतङ्कले देशलाई ढाकेको छ ।

कुरा अलिक रिस उठ्तो गर्छ नभन्नुहोला । वास्तवमा कुरा यथार्थ नै हो । देशका सबैतिर मन्त्री, नेता, पार्टीका सभापति, विशेष अतिथि, सल्लाहकार, सम्मानित प्रतिभा, लेखक, सम्पादक, कलाकार आदि सबैका कथ्थकेहरूले पिटेको छ । पानी परेपछि चैत्र बैसाखतिर छिचिमिरो पलाएझैं यिनका कविता र गजल पलाएका छन् । जनताहरू यिनका कविताले लोत भइसकेका छन्, साब्री परिसकेका छन् । हुँदाहुँदा कुनै बेला ता मुख्य अतिथि बनाउन ल्याएको मन्त्री नै कविताको लक्कु लाउन थाल्छ र पो परिन्छ त च्यापमा । यी मन्त्रीलाई कुनै छेक चाहिन्न कविता बगाउनर चुहाउन । कुनै भद्रो हेरिरहनु पर्दैन यिनले कविता खसाउन । जनताले यिनले घोप्ट्याएको कविताको भासन मात्र कानमा हालिदिनुपर्छ । जनता भनेका यिनका लागि मानौँ कविता र गजल खान नपाएका रित्ता पेट भएका भोका प्राणीहरू हुन् जसले यिनको सुझ न बुझको खोइलो खाएर पेट भर्दछन् र निर्बाह गर्दछन् । अनि जनता भनेको यिनको भासन र कविताको ताली हो जसले यिनलाई हरफै पिच्छे थपडी बजाउनुपर्छ । जनतालाई थपडी बजाउनका लागि उर्दी वा ह्विप नै जारी हुन्छ ।

कविसम्मेलन तथा ज्येष्ठ नागरिक सम्मान नामक एउटा स्रोताहरूले घन्चमन्च भएको सभाको कुरा सुनाऊँ कि ? अनुमति भए सुनाउँछु है त ।

मन्त्री, प्रमुख अतिथि र सभापतिलगायत्का भासनजीवीहरू दुई घन्टा ढिलो गरी उपस्थित भए तापनि आयोजकले ल्याइएका सबैलाई कफ्र्यू लगाएर हलबाट बाहिर जानबाट रोक लगाएका रहेछन् । कोही भाग्ला भनेर ढोकामा केही थान मुस्तन्डहरूलाई तैनाथी गरिएको रहेछ । मलाई भने बूढो भएकोले घरीघरी लघुशङ्का गरिरहनु पर्ने हुँदा घरीघरी बाहिर जानु परिरहन्छ । यसै भएको हुनाले मैले मुस्तन्डका साथ अग्रिम रुपमा अनुमति लिएँ लघुशङ्काको लागि । लामो बसाइपछि पनि आसनलाई सबैले ग्रहण गरिनसकको हुनाले मलाई बाहिर जानु पर्ने भयो । अनुमति लिएकै भए पनि सभाबाट बल्लबल्ल बाहिर वस्नका लागि बाहिर निस्कने मौका मिल्यो । भेला भएकाहरू छाँटिएलान् भनेर निकै कडाइका साथ मुस्तन्डहरूको पहरा लगाइएको थियो । म पनि तिनै मुस्तन्डहरूको खोरमा परेको थिएँ । कोही हाइ गर्थे, कोही खैनी माडेर खाइरहेका थिए, कोही गुट्खा चपाउँदै थिए । धेरैका हातमा मोबाइल नै थियो । सिग्रेट खान भने निषेध थियो ।

बल्लबल्ल कार्यक्रम सुरु भयो । परम्पराअनुसार आसन ग्रहणको कार्य नै पहिले हुने हुने हुनाले सुरुमा आसन ग्रहणको कार्यबाट कार्यक्रम थालियो । पहिले सभापति आसनमा बसे । अनि सभापतिको आज्ञाले मन्त्री विराजमान हुनुभो । मुख्य अतिथि, प्रमुख अतिथि, विशेष अतिथि, अतिरिक्त अतिथि अनि अन्य अनेकौं उपअतिथिहरूको मात्रै हुल पनि त्यस सभामा जम्मा १० थान पुग्यो । अझ तल दर्शकदीर्घामा बसेकाहरूकोे डफ्फा माथितिर सर्न थाल्यो । त्यसपछि मञ्चमा अझै अरुअरुलाई आसिन गराउने काम सुरु भयो । देशका सबै पार्टीहरूका प्रतिनिधिहरू नभए पनि तेह्र पार्टीका प्रतिनिधिका रुपमा जम्मा तेह्र थान माथि उक्लिए । आयोजकलाई कुर्सी मिलाउँदाको हैरानी छ, माइकबाट सबैको नाम लिएर मञ्चमा बोलाउने काम भइरहेको छ । पार्टीका तेह्र थान माथि उक्लिएपछि पालो आयो पार्टीका भ्रातृसङ्गठ माथि उक्लने । उनीहरू पनि पालैपालो माथि उक्लिँदै गए । मञ्च भन्दा तलको हलबाट क्रमशः मान्छेहरू माथि सर्दै गए, हलका कुर्सीहरू रित्तिनै नपाई माथितिर सारिन थालियो । मान्छेहरू तलबाट क्रमशः माथितिर उक्लिएका छन् । म हेरेको छु । बडो अचम्मका साथ हेरेको छु । एकै छिनपछि मञ्चमा अब नयाँ राज्यहरूका प्रतिनिधलाई बोलाउने काम सुरु भयो । पहिले कोचिलाको प्रतिनिधि, त्यसपछि खम्बुवान, लिम्बुवान, थरुहट, ताम्सालिङ, झाम्सालिङ, बोक्सालिङ ज्यापू प्रान्त, खरिया राज्य, बाहुन राज्य आदि सत्र थानसम्मका राज्यहरूका प्रतिधिहरू माथि उक्लिए । सुरुसुरुमा ता तलका मान्छेहरू माथितिर बोलाउँदा तलतिरैबाट ताली पिट्ने पनि केही बँचेका थिए तर अब ताली पनि माथिबाटै पिटिन थाल्यो । अर्थात् कुरा बुझियो होला नि !

माथि बोलाउँदा बोलाउँदा उद्घोषकको गलो पनि सुकिसक्न आँटेको बुझिन्थ्यो । अब ता माथि बोलाउने काम सकियो कि भनेर यसो विचार गरेको ता बाबा ठाकुरे हो अझै पो सकिएको रहेनछ । पूर्व पञ्च, पूर्व पार्टी प्रतिनिधि, पूर्व सभापति आदि पूर्वहरूको पालो आयो र उनीहरू पनि माथि उक्लिए । यति भएपछि कविताउने बेलाको नजिक नजिक पुगिन लागेको बुझियो । मलाई भने निकैपटक बाहिर जान मन लागे पनि कडा अनुशासनमा छु । स्वागतमन्तव्यको पालो आएको बुझेँ ।

त्यसै बेला तल लगभग रित्ता हलको पल्लो छेउबाट एउटा आवाज आयो- “यो अन्याय भयो, यस्तो पक्षपात गर्न पाइन्न । खै हामीलाई आसनग्रहण गराएको ?”

कुरा बुझ्दा महिला प्रतिनिधिको कोटा खालि नै रहेछ । त्यसबाहेक तेस्रो लिङ्गीलाई पनि सभामा माथि लगिएको रहेनछ । त्यसको जोडदार विरोध गरिएको रहेछ । सभापतिबाट आफैँ आफ्ना आसनबाट उठेर माइकमा आई क्षमा माग्दै आसन ग्रहण गर्न आग्रह भयो । त्यसै बेला मेरा नजिकै एउटा युवक हस्याङ्फस्याङ् गर्दै आयो र मसँग आग्रह गर्‍यो—“अङ्कल कुर्सी दिनुपर्‍यो । अघि तपाईंले पिसाप गर्न जान्छु भनेको होइन ? लौ बरु पिसाप गर्न जानुहोस्, याँ हामीलाई कुर्सीले अप्ठेरो परिसक्यो । तर भाग्न भने पाउनुहुन्न नि !”

“हुन्छ भाइ, म भाग्दिनँ, धन्य छ तिमीलाई । मलाई पिसाप फेर्न जान दियौ तिमीलाई धन्यवाद !’ भन्दै म बाहिर बस्न बाहिर निस्किँदै मात्र थिएँ “लौ जानु होस् तपाईंलाई छुट्टी भयो” उसले बडो सजिलै मलाई बिदा दियो । अनि म हलुकिन गएँ शौचालयतिर । एक मन ता उतैबाट चम्पट ठोकूँ भएको पनि हो तर फेरि मूल गेटका मुस्तन्डले ठोक्ने डरले त्यसो गरिनँ । फर्किएर हेर्छु त अघि म बसिराखेको कुर्सी कहिले कहिले माथि चढेछ जसमा महिला अतिथिलाई राखिएछ । म एउटा कुनामा उभिएर कविता सुरु हुनुपूर्वको भासन सुन्न थालेँ ।

अघिकै युवक आएर मसँग भन्न थाल्यो— “के गर्ने अङ्कल, आज यस्तै भयो । कुर्सी जति माथि मञ्चमा पुगिगए, तपाईं उभिनु परेकोमा अप्ठेरो नमान्नु होला । आज यहाँ तपाईँ जस्तै ज्येष्ठ नागरिकको सम्मानको कार्यक्रम पनि छ, तपाईँहरूकै कार्यक्रम भएकोले तपाईँले उठेरै भए पनि कार्यक्रमको शोभा बढाइदिनु पर्‍यो । नजानुहोला है ।”

“हो भाइ, मलाई अप्ठेरो लाग्या छैन, बरु अब कुनै पनि ठाउँमा स्रोताले बस्ने भन्दा मञ्चमा विराजमान हुनेको सङ्ख्या बढी हुने भएकोले मञ्चको आकार चौगुणा पार्नुपर्छ है” मैले भनेँ । मेरो ठट्टा उसले राम्रो गरी बुझेछ अनि भन्यो- “अङ्कल पनि क्या जिस्कनुहुन्छ ?”

मैले यसो हेरेँ सभाको स्रोता बस्ने हलतिर जम्मा दुई जना क्यामरा म्यान रहेछन्, केही चिचिला जस्ता विद्यार्थीहरू ललिपप खाँदै रहेछन् । नत्र केखान बसून् ती ? साथै केही बलपूर्वक ल्याइएका मान्छेहरू रहेछन् । त्यसबाहेक म रहेछु, अनि त्यही युवक रहेछ ।

अनि फेरि युवकसँग ठट्टा गर्न मन लाग्यो— “भाइ, अब स्रोताहरू पनि माथि नै गैहाले । त्यसो भएकोले हामी तलका केही स्रोताहरूलाई बिदा दिए हुन्न । बरु अब भासन गर्न यहाँ तल स्रोता बस्ने ठाउँमै पोडियम र माइक पनि यता तलैतिर ल्याएर उँभो फर्काउनुपर्छ । यतै तल दर्शक बस्ने ठाउँतिर राखेर पालो आएका बेला कवि र भासनकर्तालाई माथि मञ्चमा बसेकालाई सुनाउन त्यो माइक उतै फर्काउन पाए कसो होला ?” ऊ हाँस्यो मात्र ।

मैले अझै ठट्टा गरेँ- “तिमीलाई कुर्सीको खाँचो परेकोले गर्दा मलाई ता पिसाप गर्न जान दियौ, यी भुइँमा बसेकाहरूलाई पिसाप आयो भने के कोपरा लिएर थाप्छौ ?”

“कस्तो हँसाउनु भाको हजुरबाले पनि ! चुप लाग्नुहोस् । माथिबाट ध्यानपूर्वक सुनिदिने हाइकमानको कडा आदेश छ ।”

देशमा कति कित्ता काट्दा देशको विकास हुन्छ भन्नेदेखि लिएर कुन जातिलाई कतातिर थन्क्याउँदा उपयुक्त हुन्छ भन्ने कुरा कवितामा र भासनमा सुन्दै त्यस कार्यक्रम सुरु हुनुपूर्वको आतङ्कले मेरा कान भरिँदै गए, भासनको खहरे नै छुट्यो कविताको असिना नै पर्‍यो । कानका जाली फुट्ने डरले मैले अलिक सतर्क हुनै परेकाले कन्याएको जस्तो निहुँ पारेर कान थुनेँ ।

एउटा साधारण स्रोताले तलैबाट भन्यो  “अब ता रात परो, कविता सक्ता कसो पर्ला ? घर जानु पर्ने, गाई एकहाते छ अरुलाई दूध दिँदैन, त्याँ यसै सभाका सभापतिकोमा दुध पुर्‍याउनुु छ ।”

“केको कविता सक्ने ? भर्खर आसनग्रहण मात्र हुुँदैछ ।” अर्को कसैले व्यङ्ग्य गर्दै भन्यो ।

माथिको आदेश भनेर उसलाई त्यही युवकले थुम्थ्युम्याउँदै चूप लगायो । “तपाईंलाई दिउसो भरिको ज्याला भनेर रकम दिइएकै छ, किन हतारिनु हुन्छ ?”

त्यसै बेला निकै लामो लोडसेडिङ परिदिएकोले सभा अलिक बिथोलियो । अँध्यारो समेत भएकोले मुस्तन्डहरूले बाहिर निस्कने अनुमति दिए । माथि मञ्चमा तराईको हटिया बजार वा माछा बजारको जस्तो हल्ला चलेको सुनिँदै थियो । बाँकी तलमाथि केके भयो त्यो भने देखिएन अँध्यारोले । यसरी बिजुली गइदिएकाले त्यस आतङ्कबाट फुत्किएँ धन्य छ लोडसेडिङलाई !

बाहिरबाट सुन्दा निकैबेरसम्म हलमा हल्लखल्ल चल्दै थियो । पछि थाहा भयो लालटिन बालेर भए पनि सभा सकेरै छाडेछन् । लोड सेडसेडिङ भइदिएकोले धन्न म भने त्यस आतङ्कको अन्तबाट बचेँ ।

भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x