डा. टीकाराम पोखरेलचुनाव
आफूले खोजे जस्तो कुनै पनि उम्मेदवार नपाएपछि अन्त्यमा भोट दिनेहरूले कसैलाई पनि भोट नदिने निणर्य गरे ।

एकादेशमा चुनाव आयो ।
चुनाव आएपछि चुन्नै पर्यो ।
चुन्ने अधिकार भएकाहरू चुनिने इच्छा भएका उम्मेदवारहरूको विगत हेर्न थाले ।
तर बिडम्बना ! चुन्नेहरूले आफूले भने जस्तो उम्मेदवार पाएनन् ।
चुन्नेहरू आफ्नो उम्मेदवार चोर, बदमास, मुर्ख, फटाहा, लुच्चो, ज्यानमारा, झुट बोल्ने होस् भन्ने चाहन्थे । भोट दिनेहरू आफूले चुनेको मान्छेले आफूमाथि शोषण गरोस्, उनीहरूको कुनै आवाज उसले नसुनोस्, चुनाव जितेर गएपछि उनीहरूको घरदैलोमा फर्केरै नआओस् र भोट दिनेको भलाई गरेर भोट दिनेको टाउकोमा ऋणमाथि ऋणको बोझ नथपोस् भन्ने इच्छा राख्थे ।
तर उम्मेदवारहरूभने त्यस्ता थिएनन् । सबै उम्मेदवारहरूसज्जन, विद्वान्, ज्ञानी, इमान्दार, न्यायप्रेमी र सत्य कुरा बोल्ने मात्र थिए । चुन्नेले खोजेजस्तो नभएर चुनिने चाहना भएकाहरू कसैमाथि शोषण नगर्ने, सबैको कथाव्यथा ध्यान दिएर सुन्ने, भोट दिनेहरूको समस्याहरूसमाधान गर्ने, सबैको भलाई नै भलाई गर्ने, सधैँ गरिबको घरदैलोमा पुगेर दुखसुख साटासाट गर्ने र सबै देशबासीको पिरमार्का बुझ्ने खालका थिए ।
उम्मेदवारहरूको विगतको यस्तो काम भोट दिनेहरूलाई पटक्कै मन परेको थिएन । किनभने विगतमा यस्तो सेवाको काम गरेर ती उम्मेदवारहरूले भोट दिनेहरूलाई ऋण बोकाइरहेका थिए । उम्मेदवार हुनेहरूको सेवाको ऋणको बोझले भोट दिनेहरूथिचिएका थिए । त्यसैले उनीहरू थप ऋणको बोझमा पिल्सिन चाहँदैनथे ।
आफूले खोजे जस्तो कुनै पनि उम्मेदवार नपाएपछि अन्त्यमा भोट दिनेहरूले कसैलाई पनि भोट नदिने निणर्य गरे ।
भोट दिनेहरूको यस्तो निणर्य थाहा पाएपछि उम्मेदवारहरूले पनि भोट दिनेहरूको चाहना अनुसार आफ्नो रङ्ग परिवर्तन गरे ।
अन्ततः चुनाव भयो ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































