साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आन्द्रा भर्ने आन्दोलन

फेरि आन्द्रा भर्ने आन्दोलनमा होमिएकाहरूको आन्द्रा कुहिएर डाक्टरले काटेर मिल्काउनु पनि परेको छ । त्यति गर्दा पनि आन्दोलन रोकिएको छैन ।

Nepal Telecom ad

मानव शरीरको संरचना विकसित गर्ने वैज्ञानिकका रुपमा रहेका सत्य युगीन इन्जिनियर ब्रह्माजीले गरेको आविष्कारलाई अहिले यसो बिचार गर्दा तिरस्कार गर्न मिल्छ । किनभने मानव शरीर भित्रका इन्द्रियहरू जो यस्ता छन् कि कुनै एक बिग्रियो भने मानव असहज रुपमा पुग्दछ । तर कुनै इन्द्रियहरू भने कहिल्यै उपयोगमा नआउने पनि छन् । ती चाहिँ फेरि कहिल्यै केही हुँदैनन् । अर्थात् भनाैँ सबै इन्द्रियहरूको समान रुपले उपयोग हुँदैन । जसका कारण मानव आफ्नै शरीरका लागि पनि आन्द्रा भर्ने आन्दोलनमा व्यस्त हुने गर्दछ ।

आन्द्रा हाम्रो शरीरको महत्वपूणर् अङ्ग भए पनि ब्रह्माजीले यसको व्यवस्थापन उचित ढङ्गले गर्न सकेको देखिन्न । यदि यसको व्यवस्थापन उचित रूपले भएको भए आज मानव दानव जस्तो भएर आन्द्रा भर्ने आन्दोलनमा होमिदैनथ्यो होला । वर्तमान विश्वमा धेरै प्रकारका आन्दोलनहरू भए र भैरहेका पनि छन् । तर ती आन्दोलन मध्ये आन्द्रा भर्ने आन्दोलन बालकदेखि बृद्धसम्मकाले गर्दछन् । कोही रोएर, कोही हाँसेर, कराएर, कोही प्ले कार्ड, व्यानर बोकेर आन्द्रा भर्ने आन्दोलन गर्दछन् । कोही कसैको हत्या गरेर, अपहरण गरेर, चन्दा मागेर, घरखेत कब्जा गरेर, घुक्र्याएर, फकाएर, रुवाएर, हँसाएर हर तरहले आन्द्रा भर्ने आन्दोलनलाई चर्काइरहेका हुन्छन् । आन्दोलन दबाउन पनि सम्बन्धित निकाय वा पक्षले एक कानले सुनेर अर्को कानले उडाउने गरेको उदाहरण पनि हाम्रा सामु रहेकोले आन्दोलनकारीहरू हेर्‍या हेर्‍यै भएको पनि देखेकै हौ ।

आन्द्रा भर्ने काम वास्तवमा नेतादेखि खातेसम्मकाले गर्नु पर्दछ । फरक यतिमात्र हो नेतालाई ठूलो भाग चाहिन्छ भने खातेलाई छाक टार्न पाए अर्थात् भोक लागेका बेलामा खान पाए पुग्छ । नेता हसुर्छन् भने ती खातेहरू भनेका बेलामा खान पनि पाउँदैनन । नेताले हसुर्न पाए भने आन्द्रा भरेर मात्र पुग्दैन, शरीरका कुनाकाप्चा, अन्तर, कुन्तर सबैतिर खचाखच भरेरमात्र उठने गर्दछन् । कतिपय नेताले त गलगिद्ध खाएर ओकल्नु समेत परेको छ । जुन कुरा हामीले उनीहरूले नभने पनि सुनेका छौ, पढेका छौँ । जनताका नाममा आन्द्रा भर्ने विविध तरिका हुन्छन् । राजनीति होइन कि लाजनीति गर्नेहरूले ती विविध तरिका अपनाएर ढाँटछल नीतिले आन्द्रा भर्ने काम धमाधम गरिरहेका हुन्छन् । आन्द्रा भरिएन भने फेरि पेटभित्र नै आन्द्राहरू कराएर आन्दोलन गर्न थाल्ने भएकोले पनि आन्द्रा आन्दोलित हुनुभन्दा पहिले नै मानवले आन्द्रा भर्ने काम गरिसकेको हुन्छ ।

आन्द्रा वास्तवमा अर्को अर्थले हाम्रो शरीरभित्रको भण्डार हो । त्यहाँ पुगेपछि हामीले खाएको खाने कुरा कुहिएर गन्हाउने बन्दछ । हामीले खाएको सफा र शुद्ध खानेकुरा फोहर भएर निस्कन्छ भने आन्द्राभित्रको शक्ति कति महत्वपूर्ण रहेछ भन्ने कुरालाई सबै पक्षले स्वीकारेको अवस्थामा आन्द्रे आन्दोलनको महत्व अझ बढेको छ । तर यो आन्दोलनले सीमित क्षेत्रमा मात्र प्रभाव पार्नु पर्नेमा व्यापकता पाएको छ । व्यापकता पाउनुको मुख्य कारण हाम्रो खाने थिति नै वेथितिको भएर हो भन्दा कुनै अत्युक्ति हुँदैन । थितिलाई कुल्चिएर आन्द्रा भर्न थालेपछि बेथितिले जरो गाडेको सत्य तथ्य भए पनि यसलाई वेवास्ता गर्दा भोग्नु परेका समस्याले आन्द्रा भर्ने आन्दोलनमा अझ ठूलो बल पुग्ने भएको छ ।

मानवको मात्र होइन पशुको पनि पेटभित्र आन्द्रा हुन्छ । आन्द्रा खाली भएपछि मानव वा पशुको पेटभित्रका इन्द्रियहरू एकापसमा चलमलाएर मष्तिष्कमा सूचना पुग्दछ र आन्द्राहरू आन्दोलित भएको संकेत मानव वा पशुले पाउँछ । पशुलेझैँ मानवले पनि आन्द्रा भर्ने आन्दोलनलाई जोडतोडका साथ अघि बढाएका हुन्छन् । आन्द्रा भर्न पशुले त एकापसमा झगडा गरे तिनीहरूकै सिको सिकेर मानवले आफ्नो खन्चुवा, झगडे, आरिसे स्वभाव र स्वरूप प्रदर्शन गरेको छ । ब्रह्माजीले यो चाहिँ ठूलो गल्ति गरेको ठहर्छ । ब्रह्माजीको दूषित ब्रह्मले देखाएको सोंच र बिचारको प्रयोगात्मक काम आज आएर गलत सावित भएको छ । तर एउटा कुरा के भने आन्द्रा बाहेक अन्य इन्द्रिय आन्द्राको तुलनामा ठूलो बनाएको भए आन्दोलन अझ चर्को हुन्थ्यो होला । किनभने सानो आन्द्रा खाली हुँदा त आन्द्रा भर्ने आन्दोलनले तिब्र गति लिएको छ भने ठूलो आन्द्रा वा अन्य इन्द्रिय धेरै अट्ने खालको भए त दुई चार जनाको भुँडीभित्र यो देश जम्मै पस्थ्यो होला । यस कुरामा चाहिँ ब्रह्माजीलाई धन्यवाद दिन मन लाग्छ तर उनी यस लोकमा देखिएका छैनन, केवल धर्मग्रन्थमा नामले मात्र सीमित रहेका छन् ।

मानव इन्द्रियहरूको संरचना गर्नेक्रममा ब्रह्माजीले इन्द्रियहरू प्रयोग गर्दा वा त्यसको उपयोग गर्दा अपनाउनु पर्ने विधि विधानका बारेमा मानव मष्तिष्कमा ज्ञान नभर्दा गल्ति गरेको ठहर्छ । त्यही गल्तीका कारण पनि मानव शरीरभित्रको आन्द्राहरूले मनपरी रूपले आन्दोलन गरी आन्द्रा भर्न थालेको स्पष्ट भएको छ । अब ब्रह्माजीले गरेको गल्ती सच्याएर आन्द्रा भर्ने आन्दोलन रोक्न सक्ने अवस्था पनि देखिदैन । मानवमात्र होइन पशु पंक्षि किरा, फट्याङ्ग्रा, जलचर,थलचर सबै खाले प्राणीहरू यसमा लागेका छन् । तर मानवले भने पच्न नसक्ने गरी आन्द्रा भर्छन् र छेर्छन । आन्द्रा खाली पार्नु हुँदैन, तर ठीक्क हुने गरी खानु पर्दछ । जसले गर्दा अरुले धेरै खायो भन्न नसकुन । भेट्टाए पछि अरुलाई नदेखाइकन लुकाएर हसुर्ने बानीले आन्द्रामा अटेस मटेस हुने गरी खाने र पछि रोगले ग्रस्त भएको घटना पनि यत्रतत्र चर्चा पाएर पर्चामा आएको छ । मर्चाले अन्न कुहाएझैँ चर्चा पछिको पर्चाले आन्द्रेहरूको हरि विजोग पारेको घटनालाई संझिएर आफूहरू पनि कुहिने डर राखेमा आन्द्राहरूले आन्दोलित हुनु पर्दैन । आफ्नो शरीरमा रहेका इन्द्रियहरूलाई तह लगाएर राख्न सक्ने क्षमतावान मानवको उत्पति गराउन नसक्ने ब्रह्माजीको अक्कल नै कमजोर रहेछ भन्ने कुराको पुष्टि आन्द्राहरू आन्दोलित भएबाट भएको छ ।

वर्तमान अवस्थामा भए म ब्रह्माजीलाई पदमा पुगेका नेता, अभिनेता, कर्मचारी, ब्रह्मचारी सबैको खान्की तोकेर आन्द्रा भर्ने आन्दोलनलाई रोक्न सुझाव दिन्थे । गाउँदेखि सहरसम्म चलेको आन्दोलनलाई कहिल्यै पनि नचर्काउन र यसको मुल तत्वलाई अग्राधिकार नदिन पनि म ब्रह्माजीलाई सुझाव दिन्थे । सर्व प्रथमतः नेताको पेटभित्र आन्द्रा आविष्कार नगर्न, गरे पनि लामा लामा होइन छोटो छोटो आन्द्रा आविष्कार गरेर धेरै खाने प्रवृतिलाई निरुत्साहित गर्न ब्रह्माजीलाई सुझाव दिन चाहन्छु । आन्द्रा भर्ने आन्दोलन नेपालमा मात्र होइन विश्व भरी नै चलेको भए पनि नेपालमा जति व्यापकता अन्य देशमा नपाएका कारण पनि यो आन्दोलन रोक्ने अस्त्र आविष्कार गर्नु आजको आवश्यकता ठहरिएको छ ।

आन्द्रा भर्ने आन्दोलनलाई मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य जस्ता कलाकारहरूले त ‘बोसे आन्द्रोई भुँडीको’ नामाकरण गरी चर्चा कमाए भने अरु कलाकारको त कुरै छाडौ । किनभने अरुको जस्तै उनीहरूको पनि पेटभित्र आन्द्रा हुन्छ । नेता त अझ आफ्नो पेटभित्रको आन्द्रालाई अझ बढी अटने कसरी बनाउने भन्ने ध्याउन्नमा लागेका हुन्छन । बाहिरको खोल एउटा छ भित्र अर्को खोलको ढोल बजाएर नेताहरूले आन्द्रा भर्ने आन्दोलनलाई उचाईमा पुर्‍याई आफैँ अस्तित्वहीन भएका छन । यस्ता खाले आन्दोलनले नेपालमा धेरै समय अघिदेखि तहल्का मच्चाएको भए पनि रोकथामको हालसम्मको प्रयासले कुनै महत्व राखेको पाइदैँन ।

आन्द्रा भर्ने आन्दोलन रोक्नका लागि कलाकार, पत्रकार, साहित्यकार, नागरिक समाज, सरकारी गैरसरकारी निकाय लगायतका विभिन्न समुहहरूले आ आफ्नो क्षेत्रबाट प्रयास गरिरहेका भए पनि तर त्यो प्रयास पनि हालसम्मको अवस्था अध्ययन गर्दा आवरणमात्र भएको टिकाटिप्पणी सुनिदै आएको छ । आन्द्रा भर्ने आन्दोलनका कारणले नै होला भित्रको गुदी व्बाँसोले खाएर खोक्रो मात्र बाँकी रहेको र हड्डीमा टाँसिएर बाँकी रहेको गुदीहरू पनि चक्कुले, दाँतले खुर्किएर आन्द्रा भर्न तम्सिनेहरूको जमातको कुनै कमी छैन ।

राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू वा जो कोही हुन हिजो उनीहरू पदमा नरहँदाको अवस्थामा होस् वा पदमा रहँदा होस् उनीहरू पनि वाहिर वाहिर आन्द्रा भर्ने आन्दोलनको विरोध गर्छन । भित्र भित्रबाट आफै औँला घुमाएर आन्दोलन गर्दै आन्द्रामा ठेलमठेल गर्दै खाँदछन । ‘गुरु भएपछि शिक्षाको के दुख’ भने झैँ गोप्य रूपले आन्दोलन गर्न सिकाउनेहरूले जस्तो प्रकारको शिक्षा दियो चेला चपेटाहरूले वा हुक्के, चिलिमे, ढोकेहरूले त्यस्तै शिक्षा लिने हुन । शिक्षा दिने गुरुले नै जव जवरजस्ती रूपले भिक्षा लिन सिकाउँछन भने चेलाहरूले सोही सिको सिक्नु कुनै नौलो कुरा होइन । फेरि आन्द्रा भर्ने आन्दोलनमा होमिएकाहरूको आन्द्रा कुहिएर डाक्टरले काटेर मिल्काउनु पनि परेको छ । त्यति गर्दा पनि आन्दोलन रोकिएको छैन, अझ बढेर शिखरमा पुग्न चुलिदै गएको छ । ज जसका आन्द्रा काटेर मिल्काइएको छ तिनीहरू त अझ उग्रगमनमा गै आन्द्रा भर्ने आन्दोलनलाई चर्काएर मुलुकलाई मात्र तहस नहस पारेनन, आफै तहस नहस भएर बसेका छन् । यो आन्दोलन पशु, पंक्षी, किट, पतङ्गभन्दा पनि मानव प्राणीमा फरक शैलीमा थैली भर्ने काम गर्ने प्रवृतिले वास्तवमा प्रकृतिकै उपहास गरेको छ भन्दा कुनै अत्युक्ति हुँदैन । यसको नियन्त्रण ब्रह्माजीका सात पुस्ता अघिको पितृहरूले जति प्रयास गरे पनि उनका सयौ पुस्ता पछिकाले मानव संरचना परिवर्तन गरे पनि नहुने पक्का छ ।

उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भेडा दिवस

भेडा दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
राष्ट्रिय पिण्ड दिवस

राष्ट्रिय पिण्ड दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
नेपाल कछुवा दल

नेपाल कछुवा दल

माधव पोखरेल गोज्याङ्ग्रे
जालझेल

जालझेल

माधव पोखरेल गोज्याङ्ग्रे
व्यशासन भित्रको कुशासन

व्यशासन भित्रको कुशासन

माधव पोखरेल गोज्याङ्ग्रे
नगरगाउँका सिंहमहाराज

नगरगाउँका सिंहमहाराज

माधव पोखरेल गोज्याङ्ग्रे
दादागिरी

दादागिरी

विश्व विनोद
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
0
Would love your thoughts, please comment.x
()
x