माधव पोखरेल गोज्याङ्ग्रेआन्द्रा भर्ने आन्दोलन
फेरि आन्द्रा भर्ने आन्दोलनमा होमिएकाहरूको आन्द्रा कुहिएर डाक्टरले काटेर मिल्काउनु पनि परेको छ । त्यति गर्दा पनि आन्दोलन रोकिएको छैन ।

मानव शरीरको संरचना विकसित गर्ने वैज्ञानिकका रुपमा रहेका सत्य युगीन इन्जिनियर ब्रह्माजीले गरेको आविष्कारलाई अहिले यसो बिचार गर्दा तिरस्कार गर्न मिल्छ । किनभने मानव शरीर भित्रका इन्द्रियहरू जो यस्ता छन् कि कुनै एक बिग्रियो भने मानव असहज रुपमा पुग्दछ । तर कुनै इन्द्रियहरू भने कहिल्यै उपयोगमा नआउने पनि छन् । ती चाहिँ फेरि कहिल्यै केही हुँदैनन् । अर्थात् भनाैँ सबै इन्द्रियहरूको समान रुपले उपयोग हुँदैन । जसका कारण मानव आफ्नै शरीरका लागि पनि आन्द्रा भर्ने आन्दोलनमा व्यस्त हुने गर्दछ ।
आन्द्रा हाम्रो शरीरको महत्वपूणर् अङ्ग भए पनि ब्रह्माजीले यसको व्यवस्थापन उचित ढङ्गले गर्न सकेको देखिन्न । यदि यसको व्यवस्थापन उचित रूपले भएको भए आज मानव दानव जस्तो भएर आन्द्रा भर्ने आन्दोलनमा होमिदैनथ्यो होला । वर्तमान विश्वमा धेरै प्रकारका आन्दोलनहरू भए र भैरहेका पनि छन् । तर ती आन्दोलन मध्ये आन्द्रा भर्ने आन्दोलन बालकदेखि बृद्धसम्मकाले गर्दछन् । कोही रोएर, कोही हाँसेर, कराएर, कोही प्ले कार्ड, व्यानर बोकेर आन्द्रा भर्ने आन्दोलन गर्दछन् । कोही कसैको हत्या गरेर, अपहरण गरेर, चन्दा मागेर, घरखेत कब्जा गरेर, घुक्र्याएर, फकाएर, रुवाएर, हँसाएर हर तरहले आन्द्रा भर्ने आन्दोलनलाई चर्काइरहेका हुन्छन् । आन्दोलन दबाउन पनि सम्बन्धित निकाय वा पक्षले एक कानले सुनेर अर्को कानले उडाउने गरेको उदाहरण पनि हाम्रा सामु रहेकोले आन्दोलनकारीहरू हेर्या हेर्यै भएको पनि देखेकै हौ ।
आन्द्रा भर्ने काम वास्तवमा नेतादेखि खातेसम्मकाले गर्नु पर्दछ । फरक यतिमात्र हो नेतालाई ठूलो भाग चाहिन्छ भने खातेलाई छाक टार्न पाए अर्थात् भोक लागेका बेलामा खान पाए पुग्छ । नेता हसुर्छन् भने ती खातेहरू भनेका बेलामा खान पनि पाउँदैनन । नेताले हसुर्न पाए भने आन्द्रा भरेर मात्र पुग्दैन, शरीरका कुनाकाप्चा, अन्तर, कुन्तर सबैतिर खचाखच भरेरमात्र उठने गर्दछन् । कतिपय नेताले त गलगिद्ध खाएर ओकल्नु समेत परेको छ । जुन कुरा हामीले उनीहरूले नभने पनि सुनेका छौ, पढेका छौँ । जनताका नाममा आन्द्रा भर्ने विविध तरिका हुन्छन् । राजनीति होइन कि लाजनीति गर्नेहरूले ती विविध तरिका अपनाएर ढाँटछल नीतिले आन्द्रा भर्ने काम धमाधम गरिरहेका हुन्छन् । आन्द्रा भरिएन भने फेरि पेटभित्र नै आन्द्राहरू कराएर आन्दोलन गर्न थाल्ने भएकोले पनि आन्द्रा आन्दोलित हुनुभन्दा पहिले नै मानवले आन्द्रा भर्ने काम गरिसकेको हुन्छ ।
आन्द्रा वास्तवमा अर्को अर्थले हाम्रो शरीरभित्रको भण्डार हो । त्यहाँ पुगेपछि हामीले खाएको खाने कुरा कुहिएर गन्हाउने बन्दछ । हामीले खाएको सफा र शुद्ध खानेकुरा फोहर भएर निस्कन्छ भने आन्द्राभित्रको शक्ति कति महत्वपूर्ण रहेछ भन्ने कुरालाई सबै पक्षले स्वीकारेको अवस्थामा आन्द्रे आन्दोलनको महत्व अझ बढेको छ । तर यो आन्दोलनले सीमित क्षेत्रमा मात्र प्रभाव पार्नु पर्नेमा व्यापकता पाएको छ । व्यापकता पाउनुको मुख्य कारण हाम्रो खाने थिति नै वेथितिको भएर हो भन्दा कुनै अत्युक्ति हुँदैन । थितिलाई कुल्चिएर आन्द्रा भर्न थालेपछि बेथितिले जरो गाडेको सत्य तथ्य भए पनि यसलाई वेवास्ता गर्दा भोग्नु परेका समस्याले आन्द्रा भर्ने आन्दोलनमा अझ ठूलो बल पुग्ने भएको छ ।
मानवको मात्र होइन पशुको पनि पेटभित्र आन्द्रा हुन्छ । आन्द्रा खाली भएपछि मानव वा पशुको पेटभित्रका इन्द्रियहरू एकापसमा चलमलाएर मष्तिष्कमा सूचना पुग्दछ र आन्द्राहरू आन्दोलित भएको संकेत मानव वा पशुले पाउँछ । पशुलेझैँ मानवले पनि आन्द्रा भर्ने आन्दोलनलाई जोडतोडका साथ अघि बढाएका हुन्छन् । आन्द्रा भर्न पशुले त एकापसमा झगडा गरे तिनीहरूकै सिको सिकेर मानवले आफ्नो खन्चुवा, झगडे, आरिसे स्वभाव र स्वरूप प्रदर्शन गरेको छ । ब्रह्माजीले यो चाहिँ ठूलो गल्ति गरेको ठहर्छ । ब्रह्माजीको दूषित ब्रह्मले देखाएको सोंच र बिचारको प्रयोगात्मक काम आज आएर गलत सावित भएको छ । तर एउटा कुरा के भने आन्द्रा बाहेक अन्य इन्द्रिय आन्द्राको तुलनामा ठूलो बनाएको भए आन्दोलन अझ चर्को हुन्थ्यो होला । किनभने सानो आन्द्रा खाली हुँदा त आन्द्रा भर्ने आन्दोलनले तिब्र गति लिएको छ भने ठूलो आन्द्रा वा अन्य इन्द्रिय धेरै अट्ने खालको भए त दुई चार जनाको भुँडीभित्र यो देश जम्मै पस्थ्यो होला । यस कुरामा चाहिँ ब्रह्माजीलाई धन्यवाद दिन मन लाग्छ तर उनी यस लोकमा देखिएका छैनन, केवल धर्मग्रन्थमा नामले मात्र सीमित रहेका छन् ।
मानव इन्द्रियहरूको संरचना गर्नेक्रममा ब्रह्माजीले इन्द्रियहरू प्रयोग गर्दा वा त्यसको उपयोग गर्दा अपनाउनु पर्ने विधि विधानका बारेमा मानव मष्तिष्कमा ज्ञान नभर्दा गल्ति गरेको ठहर्छ । त्यही गल्तीका कारण पनि मानव शरीरभित्रको आन्द्राहरूले मनपरी रूपले आन्दोलन गरी आन्द्रा भर्न थालेको स्पष्ट भएको छ । अब ब्रह्माजीले गरेको गल्ती सच्याएर आन्द्रा भर्ने आन्दोलन रोक्न सक्ने अवस्था पनि देखिदैन । मानवमात्र होइन पशु पंक्षि किरा, फट्याङ्ग्रा, जलचर,थलचर सबै खाले प्राणीहरू यसमा लागेका छन् । तर मानवले भने पच्न नसक्ने गरी आन्द्रा भर्छन् र छेर्छन । आन्द्रा खाली पार्नु हुँदैन, तर ठीक्क हुने गरी खानु पर्दछ । जसले गर्दा अरुले धेरै खायो भन्न नसकुन । भेट्टाए पछि अरुलाई नदेखाइकन लुकाएर हसुर्ने बानीले आन्द्रामा अटेस मटेस हुने गरी खाने र पछि रोगले ग्रस्त भएको घटना पनि यत्रतत्र चर्चा पाएर पर्चामा आएको छ । मर्चाले अन्न कुहाएझैँ चर्चा पछिको पर्चाले आन्द्रेहरूको हरि विजोग पारेको घटनालाई संझिएर आफूहरू पनि कुहिने डर राखेमा आन्द्राहरूले आन्दोलित हुनु पर्दैन । आफ्नो शरीरमा रहेका इन्द्रियहरूलाई तह लगाएर राख्न सक्ने क्षमतावान मानवको उत्पति गराउन नसक्ने ब्रह्माजीको अक्कल नै कमजोर रहेछ भन्ने कुराको पुष्टि आन्द्राहरू आन्दोलित भएबाट भएको छ ।
वर्तमान अवस्थामा भए म ब्रह्माजीलाई पदमा पुगेका नेता, अभिनेता, कर्मचारी, ब्रह्मचारी सबैको खान्की तोकेर आन्द्रा भर्ने आन्दोलनलाई रोक्न सुझाव दिन्थे । गाउँदेखि सहरसम्म चलेको आन्दोलनलाई कहिल्यै पनि नचर्काउन र यसको मुल तत्वलाई अग्राधिकार नदिन पनि म ब्रह्माजीलाई सुझाव दिन्थे । सर्व प्रथमतः नेताको पेटभित्र आन्द्रा आविष्कार नगर्न, गरे पनि लामा लामा होइन छोटो छोटो आन्द्रा आविष्कार गरेर धेरै खाने प्रवृतिलाई निरुत्साहित गर्न ब्रह्माजीलाई सुझाव दिन चाहन्छु । आन्द्रा भर्ने आन्दोलन नेपालमा मात्र होइन विश्व भरी नै चलेको भए पनि नेपालमा जति व्यापकता अन्य देशमा नपाएका कारण पनि यो आन्दोलन रोक्ने अस्त्र आविष्कार गर्नु आजको आवश्यकता ठहरिएको छ ।
आन्द्रा भर्ने आन्दोलनलाई मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य जस्ता कलाकारहरूले त ‘बोसे आन्द्रोई भुँडीको’ नामाकरण गरी चर्चा कमाए भने अरु कलाकारको त कुरै छाडौ । किनभने अरुको जस्तै उनीहरूको पनि पेटभित्र आन्द्रा हुन्छ । नेता त अझ आफ्नो पेटभित्रको आन्द्रालाई अझ बढी अटने कसरी बनाउने भन्ने ध्याउन्नमा लागेका हुन्छन । बाहिरको खोल एउटा छ भित्र अर्को खोलको ढोल बजाएर नेताहरूले आन्द्रा भर्ने आन्दोलनलाई उचाईमा पुर्याई आफैँ अस्तित्वहीन भएका छन । यस्ता खाले आन्दोलनले नेपालमा धेरै समय अघिदेखि तहल्का मच्चाएको भए पनि रोकथामको हालसम्मको प्रयासले कुनै महत्व राखेको पाइदैँन ।
आन्द्रा भर्ने आन्दोलन रोक्नका लागि कलाकार, पत्रकार, साहित्यकार, नागरिक समाज, सरकारी गैरसरकारी निकाय लगायतका विभिन्न समुहहरूले आ आफ्नो क्षेत्रबाट प्रयास गरिरहेका भए पनि तर त्यो प्रयास पनि हालसम्मको अवस्था अध्ययन गर्दा आवरणमात्र भएको टिकाटिप्पणी सुनिदै आएको छ । आन्द्रा भर्ने आन्दोलनका कारणले नै होला भित्रको गुदी व्बाँसोले खाएर खोक्रो मात्र बाँकी रहेको र हड्डीमा टाँसिएर बाँकी रहेको गुदीहरू पनि चक्कुले, दाँतले खुर्किएर आन्द्रा भर्न तम्सिनेहरूको जमातको कुनै कमी छैन ।
राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू वा जो कोही हुन हिजो उनीहरू पदमा नरहँदाको अवस्थामा होस् वा पदमा रहँदा होस् उनीहरू पनि वाहिर वाहिर आन्द्रा भर्ने आन्दोलनको विरोध गर्छन । भित्र भित्रबाट आफै औँला घुमाएर आन्दोलन गर्दै आन्द्रामा ठेलमठेल गर्दै खाँदछन । ‘गुरु भएपछि शिक्षाको के दुख’ भने झैँ गोप्य रूपले आन्दोलन गर्न सिकाउनेहरूले जस्तो प्रकारको शिक्षा दियो चेला चपेटाहरूले वा हुक्के, चिलिमे, ढोकेहरूले त्यस्तै शिक्षा लिने हुन । शिक्षा दिने गुरुले नै जव जवरजस्ती रूपले भिक्षा लिन सिकाउँछन भने चेलाहरूले सोही सिको सिक्नु कुनै नौलो कुरा होइन । फेरि आन्द्रा भर्ने आन्दोलनमा होमिएकाहरूको आन्द्रा कुहिएर डाक्टरले काटेर मिल्काउनु पनि परेको छ । त्यति गर्दा पनि आन्दोलन रोकिएको छैन, अझ बढेर शिखरमा पुग्न चुलिदै गएको छ । ज जसका आन्द्रा काटेर मिल्काइएको छ तिनीहरू त अझ उग्रगमनमा गै आन्द्रा भर्ने आन्दोलनलाई चर्काएर मुलुकलाई मात्र तहस नहस पारेनन, आफै तहस नहस भएर बसेका छन् । यो आन्दोलन पशु, पंक्षी, किट, पतङ्गभन्दा पनि मानव प्राणीमा फरक शैलीमा थैली भर्ने काम गर्ने प्रवृतिले वास्तवमा प्रकृतिकै उपहास गरेको छ भन्दा कुनै अत्युक्ति हुँदैन । यसको नियन्त्रण ब्रह्माजीका सात पुस्ता अघिको पितृहरूले जति प्रयास गरे पनि उनका सयौ पुस्ता पछिकाले मानव संरचना परिवर्तन गरे पनि नहुने पक्का छ ।
उदयपुर
Subscribe
Login
0 Comments
Oldest






































