आर.आर. चौलागाईंअब हामी किन चाहियो र !
पोखरी पुरै खाली छ अब तिमीले जत्ति बाँकटे हाने पनि हुन्छ रङ्गमञ्च पुरै खाली छ अब तिमीले जत्ति नाटक देखाए पनि हुन्छ ।

(हेटौँडाको साहित्यिक गतिविधिलाई सम्झेर लेखिएको)
मान्छेको कमी हुँदैन
मालाको कमी हुँदैन
प्रशंसाको कमी हुँदैन
तालीको कमी हुँदैन
खर्चको कमी हुँदैन
अब हामी किन चाहियो र !
मान्छे हामीले जम्मा गरिदिएकै छौँ
फूल हामीले रोपिदिएकै छौँ
दर्शक र श्रोता हामीले खोजिदिएकै छौँ
हातहरू हामीले ठिक्क पारिदिएकै छौँ
बैँक हामीले भरिदिएकै छौँ
अब हामी किन चाहियो र !
कुर्सीमा बस्न नपाएर
पद ओगट्न नपाएर
अबीर दल्न नपाएर
माला लाउन नपाएर
पैसा उडाउन नपाएर
नमस्ते खान नपाएर
तिमीलाई खूब औडाहा भएको थियो
तिमीलाई खूब छटपटी भएको थियो
तिमीलाई खूब डाहा भएको थियो
तिमीलाई खूब ईर्ष्या भएको थियो ।
कुर्सी पनि सप्पै तिम्रै हो
पद पनि सप्पै तिम्रै हो
अबीर पनि सप्पै तिम्रै हो
माला पनि सप्पै तिम्रै हो
पैसा पनि सप्पै तिम्रै हो
नमस्ते पनि सप्पै तिम्रै हो ।
मैदान पुरै खाली छ
अब तिमीले जत्ति लडीबुडी गरे पनि हुन्छ
पोखरी पुरै खाली छ
अब तिमीले जत्ति बाँकटे हाने पनि हुन्छ
रङ्गमञ्च पुरै खाली छ
अब तिमीले जत्ति नाटक देखाए पनि हुन्छ
ब्यानर पुरै खाली छ
अब तिमीले जत्ति ब्रस दौडाए पनि हुन्छ ।
अब हामी किन चाहियो र !
अब हामी किन चाहियो र !!
अब हामी किन चाहियो र !!!
२०७९ वैशाख ६
Subscribe
Login
0 Comments
Oldest







































