सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हवाइबालाहरू

यी सुन्दरी बालाहरू गीत गाएर होइन मुसुक्क मुस्काइदिएरै गाहकीहरूलाई हुरूक्कै र भुतुक्कै पारी आफ्नो सामग्री हावाजहाजभित्रै सक्नेछन् ।

Nepal Telecom ad

हावाजहाजभित्र बसेर उड़्नु मज्जा कि नमज्जा त्यो ता उड़्नेहरूलाई मात्र थाहा छ । कतिवटा हावाजहाजले खानेकुरो सित्थैमा दिँदोरहेछ भने कतिले चाहिँ मनग्गे खानेकुरो दिएर पैसा असुल गर्दोरहेछ । यसपाली यस्तै एउटा हावाजहाजमा उड़्ने मौका जुऱ्यो मलाई । रनवेमा हावाजहाज गुड़्ने बित्तिकै सुन्दरी सुन्दरी हवाइबालाहरूले किसिम किसिमका निर्देश दिएपछि एकक्षणमा भटाभट खानेकुरो बाँड़्ने काम भयो । कतिले खाए कतिले फर्काए ।

एकक्षणपछि एकजना सुन्दरी हवाइबाला आएर सुरिलो स्वरमा भनिन्, ‘तपाईं बस्नुभएको सिटको अघिल्तिरको खोपिल्टामा हाम्रो कम्पनीको एउटा पत्रिका छ… हेर्नुहोस् र हाम्रो कम्पनीद्वारा उत्पादित (विभिन्न सामग्रीको नाम र दाम समेत) सामग्री अहिल्यै नै किन्नुहोस् …अब हामी केही क्षणमै हाम्रो गन्तव्यस्थलमा ओर्लनेछौं । अर्की सुन्दरी हवाइबाला मुस्कुराउँदै भन्न थालिन्, ‘हामीसित यस्तो स्वादिष्ट खानेकुराहरू पनि छन्… जसले लिन चाहनुहुन्छ बटन् थिच्नोस् हामी तपाईंको काखैमा आइपुग्छौं ।’

यसपालीको यो हावाइ यात्रामा हवाइबालाहरूले आफ्नै कम्पनीद्वारा उत्पादित सामग्री जबरजस्ती हवाईयात्रुहरूलाई किनाउने लिँड़ेढिपी गरेका देख्दा रेलमा चढे़र यात्रा गरेजस्तै नै लाग्यो । रेलमा पनि ता स्टेशन स्टेशनमा घुमन्ते पसलेहरू चढ़ेर किसिम सामग्री जबरजस्ती बेच्ने गर्दछन् । हवाइजहाजभित्रका सुन्दरी हवाइबालाहरूको बान्किलो मुहार, सुरिलो बोली, सलक-सलक परेका कोमल आकर्षिला हातहरूले आफू बसेको अघिल्तिर मुस्कुराउँदै उभिदिँदा कुन हरिलट्ठकले उनीहरूले ल्याएका सामग्री फर्काउने आँट गर्लान् । रेलमा सामग्री बिकाउनेजस्तो डिङ्गर काले न काले, कोही लुङ्गी लाउने चाहिँ हावाजहाजभित्र हुँदैन कुरा त्यति मात्रै फरक हो ।

हावाजहाजभित्र सुन्दरीसुन्दरी हवाईबालाहरूले आफ्नो कम्पनीको सामग्री बिकाउने भरमग्दूर प्रयास गरेको देख्दा मलाई कस्तो लाग्यो भने निकट भविष्यमा बादलको थुम्का थुम्कामा हवाइ स्टेशन बनिनेछन् र त्यहाँ पाँच/दश मिनटको निम्ति हावाजहाज रोकिनेछ अनि उक्त हावाजहाज कम्पनीकै सुन्दरीसुन्दरी युवतीहरू हावाजहाजभित्र मुस्कुराउँदै चढ़ेर आफ्ना कम्पनीका सामग्रीहरू बेच्न हवाइयात्रुहरूलाई वाक्कै र दिक्कै लाउनेछन् । पाइलट र सहपाइलट एकक्षण हावाजहाजबाट ओर्लेर कुनै होटल वा रेष्टुराँमा चियापानी गर्नेछन् । रेलभित्र घुमन्ते पसलेहरू गीत गाउँदै, किसिमकिसिमको आवाज निकाल्दै आफ्नो सामग्री बिकाउन लागे झैँ यी सुन्दरी बालाहरू गीत गाएर होइन मुसुक्क मुस्काइदिएरै गाहकीहरूलाई हुरूक्कै र भुतुक्कै पारी आफ्नो सामग्री हावाजहाजभित्रै सक्नेछन् ।

तर एउटा कुरो केमा सञ्चो लागेको छ भने, रेलमा चढ़ी दिल्ली, मुम्बई, बङलोरबाट आउँदा स्टेशनै पिछे भाइ (किन्नर) हरू थपड़ी बजाउँदै ग्वारग्वार्ती रेलमा चढ़ी पैसा मागेजस्तो वा पैसा नदिँदा चिरिक्कै चिमोटेजस्तो कम्तिको पनि हवाइजहाजमा हवाइबालाहरू पनि ग्वारग्वार्ती हवाइजहाजमा चढ़ेर पैसा माग्नु ता परै जावोस् त्यसरी चिरिक चिरिक नचिमोट्लान्। फेरि रेलका यात्रुहरू पनि कति ता त्यस्तै हुन्छन् नि मोराहरू! किन्नरले मज्जाले चिमोटोस् नै भनेर रेलको बर्थमा सुतेको बहना गरी सुतिदिन्छन् । किन्नरको चिमोटाइमा टेसिलो आनन्दनाभूति उपलब्ध हुँदो हो मोराहरूलाई । तर हावाजहाजमा सुत्ने ठाउँ भा’पो सुतेकोजस्तो बहना गर्नु ? तर मेरा विचारमा किन्नरहरूको छिप्पेको औँलीको चिरिक्कै चिमोटाइभन्दा पनि हवाइबालाहरूको मुस्काइ नै काफी छ हवाइयात्रुहरूलाई ।

सिलिगुड़ी (भारत)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
चपरी (२)

चपरी (२)

कृष्ण प्रधान
चपरी (१)

चपरी (१)

कृष्ण प्रधान
घुस(२)

घुस(२)

कृष्ण प्रधान
घूस- १

घूस- १

कृष्ण प्रधान
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे
क्वालिटी एजुकेसन

क्वालिटी एजुकेसन

देवीप्रसाद घिमिरे
आइडिया

आइडिया

भोजराज रेग्मी ‘मुखाले’