बम बम भोला !!!
सदस्यहरूले प्रश्नमाथि प्रश्न जोडेर मन्त्रीहरूलाई आच्छु आच्छु पार्ने समयलाई पो ‘शून्य समय’ भनिदो रहेछ ।
राष्ट्रिय पञ्चायतका ती काइदा, कानून, विधि र माननीय सदस्यहरूको व्यवहार पनि म लण्ठका लागि त एउटा बुझ्न नसक्ने गोरखधन्दा सरह न भइरहेछ । त्यहाँ सदस्य र मन्त्रीका बीच हुने प्रश्नोत्तरको समयलाई नै लिनोस् । त्यसको नाम ’शून्य समय’ राखिएको रहेछ । म गोंजले सोचें सदस्य र मन्त्रीहरूले बोल्दा बोल्दा थाकेपछि केही पनि नगरी शान्त भएर कुर्सीमा पसारिई उँघ्ने समयलाई ‘शून्य समय, भनेको हुनुपर्छ । उत्सुक हुँदै पुगेँ म राष्ट्रिय पश्चायत सारा सदस्यहरू उँघेको हेर्न । तर कहाँ र, सदस्यहरूले प्रश्नमाथि प्रश्न जोडेर मन्त्रीहरूलाई आच्छु आच्छु पार्ने समयलाई पो ‘शून्य समय’ भनिदो रहेछ । सदस्यहरू शान्त भएर कुर्सीमा बसी उँघ्ने समय त मन्त्रीले देश विकासको विषयलाई लिई बोल्न लागेको समयलाई पो भनिदो रहेछ ।
यो पेचिलो कुरो दिमागमा नचढेबाट म निर्बुद्धि पुगेँ त्यस दिन मित्र घुर्चुच्चानन्द कहाँ र सोधें “मित्रवर ! राष्ट्रिय पञ्चायतमा शून्य समयको अर्थ शान्त बेला नभएर किन अभियान बेला भयो ?”
उसले भन्यो “मन्त्रीहरू सदस्यहरूका जिउँदा जागता प्रश्नबाट ज्ञान शून्य अवस्थामा पुग्ने हुँदा यसको नामाकरण शून्य समय भएको हो । सचिवले सम्बन्धित मन्त्रालयको फाइलबाट टिपोट गरेर दिएको उत्तरमा कुनै सदस्यले पूरक प्रश्न गरिदियो भने मन्त्रीहरू ज्ञान शून्यबाट चेतना शून्य पनि हुने अवस्थामा पुग्ने भएका हुनाले यस प्रश्नोत्तर समयको नाम शून्य समय हुनु ज्यादै उपयुक्त भएको छ ।”
घुर्घुच्चानन्दको शून्य समयको विश्लेषणपछि मेरो पट्टाँ अलि घाम लागे जस्तो भयो र म खुशी खुशी घर फर्के । अनि शून्य समयको घम्साघम्सीबाट राजनैतिक ज्ञानको अभिवृद्धि गर्ने उद्देश्यबाट म राष्ट्रिय पञ्चायत धाउन थालें । दुई तीन शून्य समय धानेपछि दिमागमा बुद्धि र अक्कल के अलिकति चढे-चढे जस्तो भएथ्यो सूर्यबहादुर थापा र मरीचमानले भक्ति मार्गका कुरा गरेर फेरि सवै माटो बनाइदिई त हाले ।
पुगेँ म फेरि हान्निदै घुर्घुच्चानन्द कहाँ । मेरो निन्याउरो अनुहार देखेर उसले भन्यो “किन फेरि नून खाएको कुखुरा जस्तो भइरहिछस् ?”
मैले भनें “यार ! तैले शून्य समयको विश्लेषण गरेर मेरा दिमागबाट अलिकति गोबर झिकी त्यसमा अलिकति बुद्धि के हालिदिएको थिइस् त्यो फेरि सूर्यबहादुर र मरीचमानको भाषणले गोबरमै परिणत भएर गयो । सदस्यहरूले शून्य समयमा भन्दा पनि गहन शास्त्रीय कुरा त अन्य समयमा पो भन्दा रहेछन् !”
मेरो कुरा सुनी ऊ केही बेर गम्भीर भएर चुपचाप बस्यो र पछि भन्यो “के भए त्यस्ता शास्त्रीय कुरा ?”
मैले भनें “हेर न, छलफल भने उहाँ श्री ५ को सरकारको नीति र कार्यक्रममाथि भइरहेछ, सदस्यहरू चाहि ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भने झैँ धर्मकर्मका कुरा गर्न पुग्दछन् । सूर्यबहादुर थापा त देवाधिदेव महादेव पशुपतिनाथका ठूला भक्त पो रहेछन् । पाशुपत क्षेत्र फोहोर भयो, शौचालयमा परिणत भयो भन्ने गुनासो गरेको कति कति ।”
उसले भन्यो “हो त नि । फोहोर त भएको त छ नि पाशुपत क्षेत्र ।”
“थियो रे फोहोर पहिले तर अब हिजो आज छैन रे ।” मैले भनें । मेरो कुरा सुनेर उसले उतर्सिदै भन्यो “कसले भन्यो तँलाई यी सब झूठा कुराहरू । फोहोर भएको नै हिजो आज हो । पहिले त सारा पाशुपत क्षेत्र नै स्वच्छ र साफ थियो ।”
मैले भनेँ “मरीचमान श्रेष्ठले भनेको क्या । काशी विश्वनाथको एउटा मान्छे यहाँ मूल भट्ट भएको थियो रे र सारा पाशुपत क्षेत्रमा फोहोर र मैला त्यसैले गरेको रे । त्यसले पशुपतिलाई भक्तजनहरूले चढाएको भेटी पनि थोरै मात्र देखाएर धेरै आफै खान्थ्यो रे त्यसैले भक्तजनहरूले मिलेर विश्वनाथजीको त्यस मान्छेलाई मूल भट्टबाट बर्खास्त गरी त्यस ठाउँमा अहिले नयाँ भट्टको नियुक्ति गरेका छन् रे ।”
मेरा कुरा सुनेर उसले भन्यो “छिः छिः छिः छिः मरीचमानले त यावत कुरा झूठ र मनगढन्त पो गरेछन् । पहिलेको मूल भट्ट विश्वनाथले पठाएको नभई भक्तजनहरूले नै उभ्याएको पाशुपत मतावलम्बी व्यक्ति थियो । उसले पशुपतिनाथलाई माथमा र भक्तजनहरूलाई काखमा राखेर भक्तिपूर्वक देवाधिदेवको पूजाआजा चलाएर आएको थियो । उसले पाशुपत क्षेत्रको सुव्यवस्था गरेबाट स्वयं देवाधिदेव तथा भक्तजनहरू प्रसन्न थिए । तर त्यस सुव्यवस्थाबाट भेटी तथा नैवेद्य लुटी खान नपाएका नन्दी, भृंगी र बाँदरहरू सबै चिढिए र तिनैले षड्यन्त्र गरी स्वयं भृंगीहरूले डामेर पशुपति क्षेत्रमा छाडेको एउटा साँढेलाई हाल मूल भट्ट बनाएका छन् । त्यो साँढे पशुपतिनाथको भक्त नभएर नन्दी, भृंगी र वानरहरूको भक्त छ र पूरै अनिश्वरवादी छ । त्यसले पाशुपत क्षेत्रमा सर्वत्र गोव्र्याउने र शौच गर्ने गरेर दुर्गन्ध फैलाएको छ । यो देखी सारा भक्तजनहरू अवाक् र दुःखी छन् ।” उसले एउटा लामो सास फेर्यो ।
यो सुनी अनि मैले हात जोडेर कातर हुँदै प्रार्थना गरे “बम बम भोला, यस देशको रक्षा गर्नु होला । वामांगमा भगवती उमालाई विराजमान गराई तेत्रो नेत्र खोलेर पापको क्षय र धर्मको जय त अब गर्ने पर्यो ।”
व्यङ्गयै व्यङ्ग्य (२०४५)