साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वरिस्ट सुँगुरको सहर भ्रमण

सहर नजिकै पुगेर मूल सडकमा चढ्यो सुँगुर समूह । कतैबाट टेँ टेँ, कतैबाट पाँ पाँ, कतैबाट भाँ भीँ आवाजले सुँगुरको कानै खान थाल्यो ।

Nepal Telecom ad

गाउँ गाउँमा शौचालय बन्न थालेपछि सुँगुरलाई मर्का पर्नु स्वाभाविक हो । अझ कतिपय गाउँ वा सहर नै खुला दिसामुक्त हुन थालेपछि सुँगुरहरू आत्तिएका थिए ।

कुनै जमानामा पृथ्वीलाई पाताललोकबाट उद्धार गर्ने भगवानका अवतार मान्छन् आफूलाई सुँगुरहरू । वंश परम्परासँगै अंश परम्परा रहेको समाजमा नेताको सन्तान नेता, धनीका सन्तान धनी, माग्नेका सन्तान माग्ने हुँदै आएको छँदै छ । अनि भगवानका सन्तान भगवान भइहाल्छन् नि पृथ्वीलाई आफूहरूले बचाएपछि पृथ्वीमा आफूहरू पनि बाँच्नुपर्छ माग
माग तिनीहरूको छ । पृथ्वीलाई बचाउनेले पृथ्वीमा बाँच्न नपाउने ?

बगरमा सुँगुर सम्मेलन तोकियो । तीन जिल्लाको सङ्गमस्थल भएको बगरमा थप दुई जिल्लाका आगन्तुक सुँगुर पनि थिए । सुँगुरमाथि आइपरेका समस्याबारे छलफल चल्यो ।

एउटाले नाक फुलाउँदै भन्यो मेरो गाउँलाई पनि पूणर् खुल्ला दिसामुक्त घोषणा गरिएको छ तर हाम्रा शुभचिन्तकहरू धेरै छन् । धेरै नरनारी नारायणलाई मान्दै थिति मानेका छन् । बिहान उज्यालो नआउँद खेत, फूलबारी र नदी किनारमा निर्धक्क निस्कन्छन् दिसा बस्न ।

भुत्ला सेतै भइसकेको बूढो सुँगुरले डिँच्च दाह्रा देखाउँदै बोल्यो- ए, तँमा सुँगुरको सामान्य संस्कार पनि छैन ? पैले अधेक्षता ग्रहण हुन्छ, बोल्ने पालो दिन्छ अनि न बोल्ने हो । आफ्नो जातको परिचय पैले दिन थाल्छ । असभ्य ।

नाक फुलाउने सुँगुरको नाम खुम्चियो । रौंमा देखिएको फूर्ति पनि सेलायो बूढो सुँगुरले देख्यो कि आफ्नो वर्चस्व सुँगुरसभामाथि कायम भयो । आफ्नो नातेदारलाई सिस्टमअनुसार बोल्न अह्रायो ।

एउटा सफासुग्घर सुँगुरलाई वंशावली सुनाउन लगायो उल्ले । भगवानको अवतारदेखि अहिलेसम्मको बिर्तान्त यसरी सुनायो कि संसारका सप्पै चौपायामध्ये सर्वश्रेष्ठ साबित गरिहाल्यो । नाक ठूलो र कान ठाडो पारेर उसले जब बतायो कि हात्ती र गैंडा, भालु आफ्नै सन्तान हो तब उसको नाक हात्तीभन्दा पनि ठूलो भएको भान भयो । सारा सुँगुरहरू ऊप्रति हो कि आफैँप्रति गर्व गर्न थाले ।

उदघोषकले स्वागत गर्न लगायो । स्वागतकर्ताले यत्तिमात्र भन्यो अ‍ैले याँ स्वागतको लागि केइँ बेबास्था छैन, बल्लतल्ल यौटा नालीको पानी पिउने बेबास्था भाको छ, खाजा खाना नजिकको सहराँ डुलेर गरम्ला ।

तेसपछि सप्पैले समस्या राखे, सप्पैको समस्या मान्छे नै देखियो । समाधान गर्न सुगुर एकता समिति बन्यो । सुँगुर एकता समूहमा पनि दुई विचारधारा देखियो शान्तिकारी र कान्तिकारी । शान्तिकारी गुटको भनाइ थ्यो कि मानव समाज जसरी परिवर्तित हुँदै छ, त्यसरी नै परिवर्तित परिवेशमा समायोजन गरिनुपर्छ कान्तिकारी गुटको भनाइ थ्यो कि मानिसलाई पाठ पढाउनुपर्छ ।

पैलो सम्मेलन भएकोले धेरै विवाद नगरी त्यै बूढोलाई राजा र सप्पैभन्दा पैले बोल्नेलाई मन्त्री तथा सुँगुर वंशावली सुनाउनेलाई सलाहकार बनाएर तीनतिरका तीनजनाकै तीन मत मिलेर एक भएको कुरालाई सप्पैले सुइकार गर्ने गरी सभा सकियो । सभाबाट सहरतिर प्रस्थान गर्नुभन्दा पहिले सप्पै सुँगुरले एक स्वरमा किरिया खाए अबको सम्मेलनअघि सुँगुर साम्राज्य स्थापित गर्ने ।

अब सप्पै सहर हेर्ने रहरको लहरमा लागे । स्वागतकर्ता अघिअघि र अन्यान्य पछिपछि अगाडि बढ्न थाल्दा मञ्चमा उभिएर एउटाले भाषण सुरु गर्यो । उसको भाषण सुन्दै सप्पै अगाडि बढ्दै गए । अगाडि बढ्दै गर्दा सप्पैको कानमा पर्दै थ्योः “हामी क्रान्ति गरेर पनि सुँगुर अधिकार स्थापित गर्नुपर्छ । बूढापाकाले पद ओगटेर हुँदैन । जस्ले सुँगुर अधिकार स्थापित गर्छ उस्लाई पद दिनुपर्छ अबको सम्मेलनमा । म पदमा नरहेर नै काम गर्ने किरिया खान्छु । म कतैबाट पनि सुँगुर अधिकारमाथि हस्तक्षेप सहदिनँ । सुँगुरको कान्तिकारी इतिहास कायम गर्छु । हात्ती, गैंडा र भालुलाई पनि आफ्नो पक्षमा मिलाउँछु । सुँगुरको एकल जातीय साम्राज्यभन्दा हात्ती, गैंडा र भालुसमेतको बृहद् स्वजातीय स्वायत्ततायुक्त साम्राज्यको पक्षमा रहनुपर्छ ।”

सहर नजिकै पुगेर मूल सडकमा चढ्यो सुँगुर समूह । कतैबाट टेँ टेँ, कतैबाट पाँ पाँ, कतैबाट भाँ भीँ आवाजले सुँगुरको कानै खान थाल्यो । यस्तै गाडीले फालेको धुँवाले भित्रैबाट वान्ता गराउला जस्तो पनि हुन थाल्यो कतिलाई । छेउछेउमा हिँड्दा गाडीले किच्ने डर भएकोले सप्पै सुँगुरले सिधा पूरा सडक नै कब्जामा लिए । सयौँको सङ्ख्यामा अनगिन्ती सुँगुर व्यवस्थित भएर सडकमा हिँड्न थालेपछि सडकको अनुशासन नमान्ने गाडीहरूले डरले केही गर्न सकेनन् । अगाडि बढ्दै जुलुस एउटा चेकपोस्टमा पुग्यो । त्याँ गाडी रोकेको देखेर सुँगुरहरू डराए तर अगाडि हिँडेको सुँगुर सरासर चेकपोस्ट पार गरिहाल्यो । कसैले लाइसेन्स, पासपोर्ट वा ब्लुबुक केही चेक गरेन । सयौँको सङ्ख्यामा रहेको सुँगुर रैली देखेर सडक आफैँ खाली हुँदै गयो ।

गन्हाउने गलीमा एउटा चोक छ, सुँगुरको लागि त्याँ संबथोक छ । त्याँ पुगेर एकछिन आराम गरी सुँगुरको हुल सालिकतर्फ लम्कियो । झन्डै मध्यभागमा सयौँको जुलुस देखेर कसैले केई गर्ने आँट किन गरेन भने यदि सुँगुरमाथि कसैले लाठीचार्ज गर्दा भाग्ने क्रममा धेरैको घर, पसल वा गाडीमा पस्न सक्थ्यो । बरु जुलुसको अदप सबले मानेर जान दिइरहेका थिए । एक छिन त यस्तो पनि लाग्थ्यो, मेरो सहर सुँगुरको कब्जामा छ ।

खुद्राखाद्री नास्ता होटलनेर पुग्यो जुलुस । त्यहाँ नाली तेसै गनाउने थ्यो । एउटा सुँगुरले खप्न सकेन । नालीमा थुतुनु डुबाइ हाल्यो । भाग्य उसको बलियो थ्यो । कसैले आधा खाएर फालेको कुखुराको मासुको टुक्रो भेट्टाइहाल्यो । इफेमलेभन्दा सारा सुँगुरमा खबरको सञ्चार भइहाल्यो । एउटा वरिस्ट सुँगुरले त नालीमा हाम्फाली नालीको सुगन्ध सहरभरि फैलाइदियो । पूरा थुतुनु डुबाएपछि नालामा च्याप्यो एउटा जेरी गालामा । फेरि डुबायो भेटायो जेरी । अर्को वरिस्टले एउटा स्याउ फेला पारो । यसरी कसैले सुन्तला, कसैले भर्खर फालेको भात फेला पारो । कसैले अँध्यारोमा विसर्जन गरेको मानव मल पनि फेला पार्‍यो । यसरी सहरको बीचमा सुँगुरहरूले अनौठा, नौला र परम्परागत सप्पै किसिमका परिकार खान पाउँदा धन्य भएको अनुभूति गरे । खुल्ला दिसामुक्त घोषणा गरेर के भो ? सहर त सुँगुरप्रिय बन्दै गएको छ नि ? आहालको आनन्दसँगै नौला परिकारको स्वाद गाउँमा काँ पाउनु ? भोकलाई मीठो भोजन ज्युनार दिएपछि सुँगुरको हुल अनुशासित भएर निस्कन खोज्दै थ्यो । एउटाले काँबाट हो कुन्नि लट्ठी भेट्टाएर एउटा सुँगुरमाथि बजारिहाल्यो ।

अनेकौँ सुँगुरले उसमाथि धावा बोले । जुन पसल नजिकबाट सुँगुरमाथि हमला भएको थियो, तेसमा कैयौँ सुँगुर पसिहाले । पसलमाथि नै सुँगुरको कब्जा भयो । लट्ठी हान्नेलाई सुँगुरहरूले चारैतिरबाट घेरेर पछार्‍यो । भुइँमा लडायो । कुस्ती खेले झै गर्‍यो । थुतुनु र दाह्राले जिउभरि हालत पुऱ्यायो । यसलाई मरेको भन्ठानेर सुँगुर एकता जिन्दावादको नारा लगाउँदै सालिकतर्फ बढ्यो ।

सालिकमा सुँगुरको जुलुस एकछिन रोकियो । चौबाटोमा एक छिन कसैले बन्द गरिदिँदा सडकको हालत कस्तो होला ? तर धेरै बेर नरोकी सोझै अगाडि बढ्यो जुलुस । एउटाले फिलिमको पोस्टर देख्यो । “हाम्रो जातको फोटो नै रहेनछ । यसको विरोध गर्नुपर्छ” एउटाले भनेपछि होमा हो सप्पैले मिलाउँदा पनि ढिलो भइहाल्यो । अलिक अगाडि बढेपछि यस्तो चोक आयो जहाँ सम्पूणर् वातावरण सुँगुरप्रिय थियो । त्यहाँका बासिन्दालाई हृदयले धन्यवाद दियो जुलुसले । त्यैँ एकजना भन्दैथे- “सुँगुरको कुनै देश र भेष हुँदैन । खोरमा पालुञ्जेल पनि गन्हाउने कुरै खाने हो । सफासुग्घर खानेकुरा र ठाउँ दिने हो भने बिरामी परिहाल्छ सुँगुरलाई स्वतन्त्रता दिने हो भने गुहुँ नै खान्छ ।“

लामो समय सुँगुर पालेका एकजनाले त्यसको भावानुवाद सुँगुरबोलीमा अर्को एकजनाले भन्दिएछन् । तेसपछि सुँगुरलाई हेप्नेलाई जुलुसले लखेट्न थाल्यो । ऊ अझै पनि भाग्दै छ ।

तेस दिनदेखि कतिपय सुँगुर जाँ देखे नि तेइँ हो भनेर कसै कसैलाई लखेट्न सुरु गर्दिहाल्छ ।

भरखरै प्रकाशित ‘व्यङ्ग्यम्’ हास्यव्यङ्ग्य सङ्ग्रहबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
सुप्रिमो

सुप्रिमो

सञ्जय साह मित्र
कुत्ताभक्ति

कुत्ताभक्ति

सञ्जय साह मित्र
विवाह विदा र हनिमून प्याकेज

विवाह विदा र हनिमून...

सञ्जय साह मित्र
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x