हरि खनालनेताजीको दर्शन
अनुहार छः एउटा हातले एमसिसीको विरोधमा झण्डा बोकिरहेको र अर्को हातले एमसिसीलाई मुसारिरहेको ।

“नेताजी आउनु भएको छ । झट्टै तल आउनु रे ।” पत्नी महोदयाको आवाज आयो । “नेताजी आउनुभयो ? त्यो पनि मेरो घरमा ? भर्खर नुहाएर बसेको फेरि नुहाउने झञ्झट आइलाग्ने भयो ।” फतफताउँदै निस्केँ ।
मलाई देख्नासाथ नेताजी मुस्कुराए । नेतालाई हेर्दाहेर्दै उनको अघिल्तर अर्को आकृति उभियो । अनुहार नेताजीकैजस्तो । फरक यति हो कि त्यसका दाँत लाखेको मकुण्डोमा बनाएकाजस्ता थिए । आँखा हरर फिल्ममा देखिने प्रेतका जस्ता । जिब्रो बाहिरैसम्म निस्केको । आश्चर्य त यो थियो कि जिब्रोभरि पत्ती र दाँती थिए । त्यो भयानक अनुहार देखेर डर पैदा भयो । आश्चर्य ! हेर्दाहेर्दै त्यो अनुहार क्षणभरिमै परिवर्तन भयो । अनुहार एकः सगरमाथाको टुप्पोमा पुगेर चियाइरहेको महँगी । अनुहार दुई तराजु लिएर उभिएको अनुहार । जसको हातमा लिएको तराजुमा माल राखेर जोख्नेमुनि वेल्डिङ गरी झुण्ड्याइएको उपहार नामक ढक । अनुहार तीनः सडकको अलकत्रा चपाइरहेको । अनुहार चारः किशोर किशोरीहरूलाई डोरीले बाँधेर जहाजभित्र पसाइरहेको दृश्य अनुहार पाँच एउटा घरको चित्र हातमा लिएको । घरमा प्रदेश मन्त्रालय लेखिएका पन्ध्रओटा झ्याल । अनुहार छः एउटा हातले एमसिसीको विरोधमा झण्डा बोकिरहेको र अर्को हातले एमसिसीलाई मुसारिरहेको ।
“हैन हो लठ्कजी कता हराउनुभयो ?” एउटा कर्कश आवाज आयो । आकृतिहरू हराए । नेताजी देखिए आसेपासेका साथमा । बल्ल उनको पुरानो अनुहारमा आँखा परे । मेरा बदमास आँखाले पाँच वर्षअघि उनी आएको बेलाको अनुहार सम्झेको रहेछ । त्यतिबेला अनुहार फुङ्ग थियो । आँखाका डिल सुनिएका थिए । दाह्री चुस्स थियो । खुट्टामा गोल्डस्टार थियो । हातका औँला खाली थिए । भुँडीको नाम निशान थिएन । उनी फ्याङ्लो सर्टमा थिए ।
अहिलेः गर्धन दसैँका लागि पालेको बोकाको जस्तो । गाला आकारमा भोगटेजस्तो रङमा स्याउजस्तो । कपडा फ्रेन्च कोट र सर्ट । हातका सबै औँलामा औँठी । भुँडी हावा भरेको बेलाको बेलुनजस्तो । नेताजीको अनुहार निरीक्षणपछि दायाँबायाँ हेरेँ । दायाँबायाँका मानिस पनि फरक थिए । पहिले दाउरे चाउरेहरूको भिँड देखिन्थ्यो । अहिले पसल राखेको पाँच दिनमै मालामाल भएका पसले ठेकेदार, पढाउन छोडेर हिँडेका शिक्षक, कर्मचारीको व्यापार गर्ने कर्मचारी नेता, नेताजीका झोले भएर हिँडेका मुन्द्रे झ्यापुल्ले देखिए ।
“हैन तपाईँ त बोल्नुहुन्न नि ?” नेताजीले हपारे ।
“हजुरले चलाउनु भएको एमसिसी विरोधी आन्दोलनमा लाठी खाएदेखि हत्तपत्त बोली नै आउँदैन । कसैले बेलैमा एमसिसी लाठी भनिदियो भने बोली पनि छिटै आउँछ र आँखाले पनि छिट्टै दृश्य परिवर्तन गर्छ नत्र अल्झिरहन्छ । हजुरहरूले आन्दोलन गराउँदै कति छिटो पास गर्नुभयो अहिले नामै लिन छोडे । म लाठी खानेले लाठी खाएको यतिका महिनासम्म पनि बोल्न देख्न त्यसकै नाम लिनुपर्ने ।” मैले सुनाएँ ।
“यो सबै समस्याको समाधान चुनावपछि हुनेछ । भोट त मागिरहन नपर्ला तपाइँसँग तर….।” उनी बोल्दाबोल्दै एकजना युवती सामुन्ने देखिइन् । बाफ रे । कपाल लरक्क बायाँ छातीतिर झारेकी । हँसिलो अनुहार, कानमा हल्लिरहेका कुण्डल, चम्किला आँखा । घाँटीसम्म त सजिलै हेरेँ । त्यसपछि अँ छातीमा दुई अमले पारदर्शी टालो । हेर्दै थिएँ माथिबाट पत्नी महोदय चिच्याइन् “एमसिसी“ । उनले एमसिसी भनिदिएपछि मेरो आँखा रोकिए । युवतीले छातीको दुई अमले टालोभित्रबाट एउटा चुनाव चिह्नवाला पर्चा निकालिन् र मुस्कुराउँदै हातमा राखिदिइन् ।
“आखिर तपाईँ जन्मजन्मका लागि हाम्रै दाश सरी है हाम्रै कार्यकर्ता हुनुहुन्छ ।” नेताजी फिस्स हाँसे ।
“हो हजुर । हजुरहरूजस्तालाई भोट नदिएर चोट पाउनु छ र ? बरु जाँदाजाँदै एउटा सल्लाह है । यसपालीचाहिँ मतपत्र छपाउने बेलैमा सल्लाह मिलाउनु होला ।”
“कस्तो सल्लाह ?”
“मतपत्र चकलेटजस्तो बनाउनु पर्यो ।”
“किन नि चकलेटजस्तो ?”
“भनेकोजस्तो परिणाम आएन भने चपाउनु परेन ?” नेताजी मुस्कुराए । उनले धाप मार्दै भने- “आइडियाचाहिँ तपाईँसँग छ क्या ।”
धादिङ
Subscribe
Login
0 Comments
Oldest







































