शेषराज भट्टराईरूपान्तरित दासदासी र सामन्ती
त्यसैले तिनै दलका दासहरू ङिच्च दाँत देखाएर भन्ने गर्दछन् मेरो दल राम्रो, उत्तम, हितकारी, परोपकारी, टन्न भकारी आदि ।
अहिले हामी कोरोना महामारीले थिलथिलो हुने गरी पिरोलिरहेको समयमा कोभिड नाइन्टिनलाई छल्दै बाँच्ने, नाच्ने र हाँस्ने प्रयास गरिरहेका छौँ । ठूलै उपलब्धि हुने ठानेर हो क्यार सरकारले आम नागरिकलाई तिन महिना अति कडा र त्यसपछि थोरै नरम किसिमले जनतालाई लकडाउनमा लड्काइ रहेको छ । यस्तो पिरलो र शास्ती न भूतो न भविष्यति होला जस्तो छ । जनता बेचयन छन् । उन्मुक्तिका लागि धेरैले आत्महत्या रोजे । सरकार तेल सकिएको वर्तनझै धिपधिप गरिरहेको छ । खर्च धान्न नसकेर हो कि या जनताले दश अर्बको हिसाब मागेर हो रुन्चे हाँसो देखाइरहेको छ । जनता टुलुटुलु सरकारको रुन्चे मुख हेरिरहेका छन् ।
यस २१ औँ शताब्दीलाई अनिकाल नभनेर उत्तरआधुनिक काल भनिरहेका छन् । जनता अन्न खान नपाएर धन्न धन्न बाचिरहेको अवस्था छ । यस बेला चरमयान्त्रिक विकासदेखि सरोगेस बेबी लगायत अरू धेरै उपलब्धिले गर्दा विश्व आफै उम्लिरहेको छ । भनिन्छ “धेरै उम्लिएपछि पोखिन्छ” भारत र चीन घिन नमानी सीमाको विषयलाई लिएर सिँगौरी खेल्न सिङ नङ्ग्रा उद्याइरहेका छन् । सामान्य घम्साघम्सी धकेलाधकेलमै भारतीय सेना २० जना गर्मीका मच्छड मरेझै मरे । जे होस् लडाइको बैनाबट्टासँगै चीनसँग पौठेजोरी खोजिरहेको छ । नेपाल दुई ढुङ्गाबिचको तरुल मूकदर्शक बनेर साँढेको जुधाइ बाच्छाको मिचाइ हुने तरखरमा पनि तर मार्ने ध्याउन्नमा उँघिरहेको छ । यस्ता यावत गतिविधि वर्तमान नेपालको ताजा वस्तुस्थितिको साथै मूल विषयमा प्रवेश गरौँ ।
उहिले शताब्दीयौँ अगाडि नेपाल देशका शासक वा धनमत्तुहरूले दासदासी राख्ने चलन थियो । अङ्ग्रेजहरूले भारतमा शासन गरेर सिंगो भारतलाई दास बनाएका थिए । अमेरिकाका तत्कालीन राष्ट्रपति अब्राहम लिङ्कनले सन् १८६१ मा त्यहाँको दास प्रथा उन्मूलन गरेका थिए । नेपालको दास प्रथालाई उकेरा र मलजल गर्ने काम जङ्गबहादुर राणाले गरेका थिए भने दास प्रथा अन्त्य गर्ने काम चन्द्र शमशेरले गरेका थिए । विश्वमा सन् १९८१ मा दास प्रथा अन्त्य गर्ने अन्तिम बहादुर राष्ट्र मौरिटानिया मानिन्छ । शंखधर शाख्वा, पृथ्वीनारायण शाह, जङ्गबहादुर राणा हुँदै झाँगिँदै मौलाउँदै सप्रिएर आएको दास प्रथाको घाँटी चन्द्र शमशेरले वि.सं. १९८२ वैशाख १ गते कानूनी रूपले निमोठिदिएका थिए ।
छुटपुट अवशेषमा रहेका अन्य दासजन्य क्रियाकलाप वि.सं. २०२० मा नेपाल छुवाछुत मुक्त देश घोषणा भयो । त्यस्तै २०५७ मा कमैया प्रथाको जरो उखेलियो । २०६२ मा हलिया प्रथा र २०७० मा कमलरी प्रथाको अन्त्य भयो । विभिन्न नाम उपनामका काम गर्ने मानवलाई पशुधन झै किनबेच लेनदेन ऐंचोपैचो चल्ने चलनलाई दासप्रथा भनिन्छ । दासप्रथाको जरो खरो रूपले उखेलिएपछि मालिकहरू मरणासन्न भए । नोकरले लात हानेको पीडा भगवान्ले मात्रै शान्त पार्न सक्छन् क्यार । मालिकहरू कमाराकमारीहीन, दासदासी रहित बन्दा जसलाई पनि सास रहित बन्न मन लाग्छ । तर के गर्नु प्राण भन्दा धन प्यारो छ । आफ्नो माया आफूले बाहेक अरू कसैले गर्दैनन् । जे हुनामी भै त हाल्यो । जे पर्छ त्यही टर्छ । समय सुल्किँदै गयो । बगेको खोला फर्किदैन समयले कसैलाई पर्खिदैन । आज हामी दासदासी रहित पृथ्वीमा विचरण गरिरहेका छौँ । तर यस जगत्का मानवको गतिविधि विचार गर्दा कर्म फेरिएको हो धर्म फेरिएको हो बाटो फेरिएको हो । खास गरी भित्री रूपमा गतिविधि उही उस्तै छ । जस्तो थियो पहिला त्योभन्दा चर्को र लामो लर्को छ दासदासीको ।
दास प्रथामा एकदेशका सेनाले अर्को देशमा गएर लडाइँ गर्यो भने जित्नेले हार्ने देशका सेना र देशलाई समेत दास बनाउँथे । एक देशले अर्को देशलाई बन्धक बनाउँथे । युरोपले सन् १६५० देखि १८५० सम्म अफ्रिकालाई बन्धक तथा दास बनाएको थियो । मान्छेलाई जब समस्याले गाँज्छ, अप्ठ्यारो अभावमा छटपटाइरहेको हुन्छ तब शक्तिशाली, पुँजीपति, सामन्तीहरू निरीह, निम्सरा, न्यून आय भएका देश, व्यक्ति, परिवार अनि तल्लो वर्गलाई दासदासी, कमारा कमारी बनाउन लालायित हुन्छन् । किनकि थोरै माम दिएर धेरै काम बोकाउन पाइन्छ । तिनको प्रतिवाद गर्ने शारीरिक र बौद्धिक क्षमता हुँदैन । त्यसैले गरीब, कंगाल, मांसहीन कंकाल देखिने लुते, लाटोलाई भरमार काम र आंशिक खाना नाना दिएर हरपल, हरेक श्रममा जोत्नु जोत्छन्, दल्नु दल्छन् पेल्नु पेल्छन् । जसले बढी शोषण दमन गर्छ उही गन्य मान्य मालिक उही समाज र देशको हर्ताकर्ता हुने कस्तो दुर्भाग्य ।
अघाउन्जेल श्रीमती भित्र्याएर बग्रेल्ती छोराछोरी बुहारी भएर पनि घरको काम पार लगाउने छाटकाट नभएपछि दासदासीको खलक सन्तान दरसन्तानलाई नै दास बनाउँथे । कमारा कमारीलाई खाने बस्ने घरजमको व्यवस्था सहित आफ्नै निगाह र तजबिजमा आफ्नै निर्देशन मुताविक उठबस गराउने चराउने चलन थियो । पुस्तौँपुस्ता यसै गरी चर्थे । मालिकलाई चित्त नपर्दा ह्याकुलो नहाँस्दा साधारण सदस्य पनि नरहने गरी गलहत्याउने चलन थियो । त्यस किसिमको बानी व्यहोरा हाम्रो समाजमा अझै पनि ज्यूँ का त्यूँ छ । उबेला दासदासी बन्न सदस्यता लिनु पर्ने प्रावधान थिएन तर अहिले छ । अभाव र चरम समस्याले घाँटी अँठ्याउँदा शरम नमानी खाँटी महाजन खोज्यो, रोज्यो अनि लुसुलुसु गयो, खुसुखुसु खायो, हुसुहुसु हग्यो, फुसुफुसु मर्यो जिन्दगी टर्यो । समयमा जसले जे गर्यो गर्यो जानेरै गर्यो । जसरी पनि बाँच्नै पर्यो । खानै पर्यो । चर्यो चर्यो यता सर्यो उता सर्यो कस्ले के गर्यो ? धन सम्पत्ति जोड्ने मालिकको साथ संगत छोड्ने भन्ने कुरा आकाशको फल आँखातरी मर । छाडेर काँ जाने, के खाने ? त्यसैले दासदासी प्रथा समय सापेक्ष र तत्कालीन समयको खाँचो र माग थियो । अहिले पनि त्यस्तै छ । सरकार नै खाट्टी सामन्ती साबित भइसक्यो । अनि जनताले सास्ती नपाए कस्ले पाउँछ ? तर देशमा जे हुन्छ राम्रै र हाम्रै भलाईका लागि हुन्छ । मात्र बाँच्न सक्नु पर्यो । देख्न, भोग्न, ठोक्न, ढोग्न पाइन्छ ।
दासदासी बनाउने सामन्ती उत्पात थिए र अहिले पनि छन् । राजीखुसी दासदासी बन्न रुचाउने पनि उधुमै थिए र अहिले पनि छन् । भित्री व्यवहारमा कमाराकमारी, दासदासी, हलियाँ, कमैयाँ, कमलरी, अझै जिउँदै भए पनि बाहिरी व्यवहारमा कानूनी रूपमा अस्तित्वमा छैनन् । नोकर, कर्मचारी, स्टाफ, अफिसर, हाकिम बडाहाकिम पनि दासदासीका अर्का पाटा सामन्ती राष्ट्रका नोकरहरू हुन् । एउटा सिक्काका दुई पाटा । यी कर्मबीर कर्मचारीहरू राज्यबाट दमित छन् । समय परिमार्जन र परिष्कृत हुँदै गयो तर व्यवस्था परिमार्जन र परिष्कृत हुन सकेन । पढालेखा लेखाजोखा गर्ने टाठाबाठाहरू बाटबाटै ठेस लाग्ने गरी फेला पर्न थाले । त्यसैले चन्द्र शमशेरले मोहन शमशेरलाई भनेका थिए रे जङ्गबहादुरले बोकामा चढेर शासन गरेका थिए । म गोरुमा चढेर शासन गरिरहेको छु र तैले बाघमा चढेर शासन गर्नुपर्ने छ । नभन्दै नौ महिना वा एक दुई वर्षभन्दा बढी एउटै प्रधानमन्त्री हुनै छाडिसके । कठालो समाउने र कट्टु फुस्काउने खेलमा व्यस्त छन् हाम्रा आधुनिक राजनेताहरू । उग्र टाठा बाठाले सरकार चलाउन थाले । फलतः पुराना सरकारले गरेका सारा काम विस्थापित आफ्नो काम स्थापित गर्न थाले । आफ्नो काम सदर अरूको काम बदर गर्दै नयाँ सामन्ती सोचको प्रादुर्भाव हुँदै गइरहेको छ । रक्सी एउटै भए पनि बोतलको लेबल फरक गरे । नेपालीमा मात्रै लेखिएको थियो भने अङ्ग्रेजीमा लेबल थपे अनि झन कडा रक्सी भन्दै महँगो मूल्यमा बेच्न प्रोत्साहित गरे । अहिलेका सामन्तीहरू पान नं. सहित दर्ता भएर खुलमखुल्ला दुनियाँलाई दासदासीको सदस्यता वितरण गरिरहेका छन् । पालन पोषण र रोजगारी दिने बाहनामा शोषण दोहन, दमन गर्नेहरूले कानूनी मान्यता पाएर हाम्रो समाज र विश्व नै दासदासी कमारा कमारी, कमलरी, हलियाँ बाङ्गा बलिया राख्नेहरू कोरोना महामारी जस्तै भित्रभित्र भयाबह र डरलाग्दो रूपले फैलिरहेका छन् ।
नजाने गाउँको बाटो नसोध्नु भनेझै अरू देशको कुरा के काट्नु आफ्नै देशका पुराना सामन्तीहरूले दासदासी, कमारा कमारीलाई बेहिसाब खान लाउन दिन्थे । आफ्नै रेखदेखमा घर आँगन गोठ जता पायक पर्छ त्यतै कुटी, छाप्रो झुपडी बनाएर दासदासीका परिवार नै पालिदिन्थे । बिरामी अशक्त बने सशक्त ढङ्गले रेखदेख र उपचार गरिदिन्थे । निःस्वार्थ भावनाका साथ देखभाल हुन्थ्यो । दासदासीको जिन्दगी राम्रैसँग चल्ने गरेको थियो । आन्द्रादेखि आङसम्म मालिकले नै ढाकिदिन्थे । काम घटीबढी भए पनि दानापानी समान थियो । परिवारका सदस्यको मानमर्यादा हुन्थ्यो । ठूलाको इज्जत हुन्थ्यो । दासदासी खुसी थिए । मालिक मालिक्नीको जस्तै प्रजनन क्रिया पनि र्याल चुहिने लोभलाग्दो थियो । आजका मालिक मालिक्नीको हैसियत हविगत हँसीचेहरा हेर्यो उदास र उदेक लागेर आउँछ । मिठो मसिनु गाँस मात्रै होइन सन्तान समेत कटौती गरेर सुखी परिवार भन्दै फुँइ लगाउँछन् । सायद यही भएर भनेको हुनुपर्छ “विनाशकाले विपरीत बुद्धि” ।
समयले कोल्टो फेर्यो । काम गराइ भन्दा पनि पढाइका कुरा अगाडि आयो । देशमा चन्द्र शमशेरले भनेझैँ बाघको शासन सुरु भयो । टाठाबाठा चतुर चण्डालहरूले राज गर्न थाले । आफू मालिक बनेर अनधिकृत रूपले लुँड्याउने अभिलाषा हरेक समाजमा पलाउन थाल्यो । भैराखेको राजाको मुन्टो निमोठ्न पाए आफू राजा हुने उत्कट इच्छाले गाँज्न थालेकाले नै नेपालको राजसंस्था वि.सं. २०५८ जेठ १९ गते राति सबा ९ बजेपछि ध्वस्त पारे । अहिले छ सय एक जना बिराला राजा भएका छन् । ती ढाडेहरू ङ्याउ ङ्याउ कराउँछन् खान्छन् तर मुसा मार्दैनन् त्यसैले भन्ने गरेका होलान् “धेरै बिराला भए भने मुसा मार्दैनन” । तामसी विचार तामसी खानपानले मान्छेहरू भुइँमा न भाँडामा हुन थाले । विकृति विसङ्गतिले सीमा नाघ्न थाल्यो । भैराखेका संगति सकारात्मक कामलाई विसङ्गति विकृति भन्दै अनर्गल अर्थ लगाउन थाले । यस बेला नयाँ लोकतान्त्रिक गणतन्त्र नेपालका ताजा कलकलाउँदा, भरभराउँदा दुनियाँले आहा ! भनेको सरकारले देशलाई स्वाहा पार्न लागे र जनतालाई पाहा पछारेझैँ तातो ढुङ्गामा पछारी रहेका छन् । सरकारले मान्यता दिएका सामन्ती शोषक पोषक, चुसक, पीडक, खोसक, हडपकहरूको उदय हुन थाल्यो । तिनै सामन्ती दुष्टात्मालाई नै भगवान्ले भूल गरेर छप्पर फोरेर दिनु दिइरहेका छन् । कमारा कमारी दासदासीहरू अझै पनि थाङ्नामा मस्त निदाइ रहेका छन् ।
समयले तिखारेका, हरेक व्यवहारले अर्जापेका खुंखार सामन्तीहरू अहिले देशको मालिक बनेका छन् । वित्तीय सङ्घसंस्था, बैंक, विद्युत् पावरहाउसका मालिक बनेका छन् । कर्मचारी सङ्घ सङ्गठनका अगुवा बनेका छन् र तिनको संरक्षण सम्बद्र्धन र भलाइका लागि भन्दै अगणित पैसा उठाएर पेट र पोल्टो भरिरहेका छन् । सरकारका हरेक घटकहरू भ्रष्टाचारमा नाकै नदेखिने गरी डुबेका छन् । अक्टोपसले झै हरेक मुखबाट चुस्न, खान, समाउन, रमाउन सरकारले प्रेरित गरिरहेको छ । आधुनिक दासदासी कमारा कमारीहरू धनराशिको ध्याउन्नमा चौबाटोमा चौकिदार गरिरहेका छन् । अर्काको श्रीमती र सम्पत्ति ताकेका छन् । मालिक मस्ताराम सिन्को नभाँची दिनको दिन अविच्छिन्न आम्दानीका लागि नैतिकता लिलाम गरिरहेका छन् । अब अलिकति पवित्र आत्मालाई साक्षीराखेर तौलिनु होस् उबेलाका सामन्ती र यस बेलाका सामन्तीमा कुन बढी गनाउने ? ऊ सिनु कि यो सिनु ? गनाउन चाहिँ ऊ भन्दा यो ज्यादा गनाइ रहेको छ ।
दलको नाममा दर्ता भएपछि दल्नै पर्दो रहेछ । दल भएपछि शोषण गर्न लायक सरकारी मान्यता प्राप्त हुन्छ । हाम्रो सरकार र समाजले दर्तालाई बडो मान्यता दिएको छ । दर्ता भएपछि शोषण दमनका दैला र शृङ्खला उघ्रिदै जान्छन् । शोषण दमनमा सामन्ती शोषकको अमनचयन लुकेको हुन्छ । त्यसैले सर्वसाधारण जनताहरू त्यस्ता दर्तावाले दल, उपभोक्ता समूह, सङ्घ संस्था, क्लब, आमा समूह, बाबु समूह, बाल, बृद्ध, युवायुवती समूह, लगायत एनजिओ, आइएनजिओ, आदि आधुनिक सामन्ती सूचक निकाय संगठनमा सङ्गठित हुन पुग्छन् । सर्वसाधारणको खुन पसिना चुस्न वर्षाका चुकाझै चौतर्फी सल्बलाउन थाल्छन् । त्यस्तै दलको सदस्यता हासिल गरेर त्यसको परिधिमा चारपाउ फ्याकेर बुर्कुसी मार्दै झण्डा र डण्डाका मद्दतले थुर्न थर्काउन दमन शोषण गर्न छुट भएको ठान्छन् । उहिलेको जमानामा निम्नवर्गका मानव दासदासी नबन्दा सामन्तीले जसरी जसरी रिस डाहा हेला होचो गर्थे अहिले दलमा दर्ता नभएको मानव दमित, दलित, पतित, जस्तै हेला होचो वा थिचोमिचोमा पर्छ । एउटा दलको सदस्यता लिएर त्यसको छत्रछायाँमा रहेर त्यसले बबन्डर मच्चाउन सक्छ । त्यसले जे भन्छ त्यसै गर्ने अघोषित दासदासी कमारा कमारी, हलियाँ, कमलरी बनिसकेको दलका दासदासीले पत्तै पाउँदैनन् । मासिक वा वार्षिक लेबी, चन्दाको धन्दा, व्याज, मिटर व्याज जति असुले पनि हुने सामन्तीहरूलाई उबेलाका सामन्तीले के उछिन्थे । आजको विश्व स्वतन्त्रताको रन्कोमा दलको दलाइमा परेको थिचिएको मरेको भेउ नै पाउँदैनन् ।
त्यसैले तिनै दलका दासहरू ङिच्च दाँत देखाएर भन्ने गर्दछन् मेरो दल राम्रो, उत्तम, हितकारी, परोपकारी, टन्न भकारी आदि । उहिलेका दासदासीले पनि आफ्ना मालिकको हाइहाइ गुणगान, असल, हितकारी भनेनन् होला त ? फक्लक्क भनी भनी टक्लक्क खाने कुरा आउँथ्यो होला त ? त्यसैले भन्ने गरिन्छ “महाजनो येन गतः स पन्थाः । अर्थात् ठूला मान्छे जताजता गए, हिँडे बाटो त्यही हो । यसै कारणले भेदभाव, थिचोमिचो, हेलाहोचो बढ्दै जान्छ र कमारा कमारी, दासदासी, फैलिँदै फुल्दै फक्रिँदै जान्छन् । यसका विपरीत श्रीकृष्णले गीतामा भनेजस्तो गर्न गराउन कम्मर कसेर तयारीका साथ बसौँ र आधुनिक दासदासी, कमारा कमारी, कमलरी, हलियाँ अथवा अरू कुनै थिचोमिचोले अचडिएको भए “य यथा मां प्रपद्यन्ते तांस्तथैव भजाम्यहम्” । अर्थात् मप्रति जस्ले जस्तो भाव वा व्यवहार गर्छ म पनि त्यस्तै गर्छु । त्यसैले भनेका रहेछन् “जस्तालाई त्यस्तै ढिडालाई निस्तै” । दासताको मुक्तिका लागि उत्तम जुक्ति यत्ति नै ।
फूलबारी, पोखरा
Subscribe
Login
0 Comments
Oldest







































