कृष्ण प्रधानडाक्टर र औषधि
साइड एफेक्ट रोकथाम गर्न फेरि दस किसिमका औषधि । जुन डाक्टरको जति लामो प्रेसक्रिप्सन हुन्छ ती डाक्टर उति ठूला र भयङ्कर डाक्टर ।

अचेलका मानिसहरू निडर छन्, ढीट छन् । बन्दुक, बम, गोला-बारुदसित उसलाई ठ्याम्मै डर लाग्दैन । तर आौषधि, डाक्टर र सुई भनेपछि डरले लिङलिङ हुन्छन् । डाक्टरको शरण नलिई पनि उपायै छैन । जतिञ्जेल श्वास त्यतिञ्जेल आस ।
अचेल डाक्टर पनि थरि-थरिका हुन्छन्- नानीको डाक्टर, छातीको डाक्टर, हड्डीको डाक्टर । आँखा-नाक-कान (ईएनटी) को डाक्टर । अब नानीको मात्र डाक्टर हुनेछैन, युवकको डाक्टर र युवतीको डाक्टर अलग्गै, पेटको डाक्टर (भविष्यमा पानीपेटको अर्कै डाक्टर, आगोपेटको अर्कै डाक्टर होला) । वृद्धको डाक्टर, वृद्धाको डाक्टर । निकट भविष्यमा यस्तो समय आउला, सर्दी-खोकी लाग्दा तपाई डाक्टरकहाँ जँचाउन जाहनुहुन्छ अवश्यै । ती डाक्टरले भन्लान्- “सरी ! म ता हाच्छ्यूँ स्पेशलिष्ट हुँ ।”
कुनै डाक्टर हास्य स्पेशलिष्ट होलान् । रोगी जाँच्नभन्दा अघि पानीपेट कि आगोपेटमा कुतकुती लाएर भुतुक-भुतुक् पार्दै जाँच्दै भन्लान्- “कनै डर मान्नु पर्दैन । बिसेक हुन्छ ।”
हाम्रा पालाका डाक्टर तर अर्कै र बेग्लै प्रकारका थिए । जति भाको औषधि झोलामा बोकेर गाउँ-गाउँ डुल्थे । एनासिन, स्यारोडिन, क्रोसिन, इण्ट्रोकुइनल आदि उनको झोलाभरि हुन्थे । नाड़ी छामेर औषधि दिएपछि बिमार च्वाट्टै । टाउको दुख्नेलाई स्यारिडन, पेट बिग्रेकोलाई इण्टरोकुइनल, ज्वरो आएकोलाई ज्वरोको मात्रा हेरी क्रोसिन, एनासिन दिन्थे । बढ़्ता पैसा लिँदैनथिए औषधिको खास दाम बाहेक । उबेला उपरोक्त बिमारबाहेक अरु बिमारको नाम सुनिँदैन्थ्यो ।
गाउँका एकजनालाई चाल्नी पिलो निस्केछ । दुखेर खपिनसक्नु छ । मरैरे डाक्टरकहाँ आए । डाक्टर नम्र स्वरमा बोले- “निमपत्ता उमालेको तातो पानीले पिलो सेक्नू ।” तीन-तीनवटा इण्टेरोकुइनलका ट्याबलेट पनि दिए । भोलिपल्ट ती रोगी डाक्टरकहाँ आएर उनको चाल्नी पिलो स्याप्पै भएको कुरा सुनाए । बातको रोगीलाई क्रोसिनको धूलो लुगामा पोको पारी लालटिनको तातोमा सेक्नु भन्थे । काटेको भए स्यारिडनको धूलो काटेको ठाउँमा राखेर रगत आउन बन्द गरिदिन्थे ।
अहिले हाम्रा पालाको युग सिद्धियो भन्दा कुनै टुटा नपर्ला । गाउँका निरक्षर बुहारी अचेल पेट दुख्दा गाइनोकहाँ दुगुर्छिन् । गाइनोको घानमा परेपछि किसिम-किसिमका औषधिहरू । ती किसिम-किसिमका औषधि सेवन गरेपछि चालिस प्रकारका प्रतिक्रिया (साइड एफेक्ट) । साइड एफेक्ट रोकथाम गर्न फेरि दस किसिमका औषधि । जुन डाक्टरको जति लामो प्रेसक्रिप्सन हुन्छ ती डाक्टर उति ठूला र भयङ्कर डाक्टर । तीन प्रकारका एण्टिबायोटिक, दुइ सेट भिटामिन अनि दुइ स्ट्रिप स्लिपिङ्स पिब्स । निको भएपछि आधा दर्जन अर्थात् ६-६ वटा बड़े-बड़े आकारका टनिक । बस् फिट एण्ड फाइन । यता रोगी फिट एण्ड फाइन उता ब्याङ्क चित । रोग बिसेक भए पनि ऋृण तिर्न नसकेर आधा मासु ।
उबेलाका डाक्टरले रोगीलाई विशेष औषधि दिँदैन थिए । कसैलाई ’पानी धेर खानु’ भन्थे, कसैलाई ’एकाबिहानै घुम्नु जानु’ भन्थे । कुनै कुनै डाक्टर ता, “जाऊ… निश्चय डाक्टरकहाँ जाऊ । तिमीहरू डाक्टरकहाँ आएनौ भने हामी कसरी बाँच्नु ?”
फेरि थप्थे, “त्यसपछि प्रेसक्रिप्सन लिएर औषधि पसलमा जाऊ । औषधिवालाहरू पनि ता बाँच्न पऱ्यो । औषधि किनेर डस्टबिनमा फ्याँक्नु नभुल्नु नि । कारण तिमीले पनि ता बाँच्नुपर्छ ।”
सिलिगुड़ी (भारत)
Subscribe
Login
0 Comments
Oldest








































