देवीप्रसाद चापागाईंपलेँटी
पलेँटीलाई समग्रतासँग नजोड्नेहरू आफैं असफल भएर नै छाड्छन् । पलेँटी कसाइ र एकोहोरो बसाइमा मात्र उन्नति हुने होइन बरु एकाग्रतासँग यसको साइनो जोडिए फुलेर पनि फल्थ्यो कि ? नभए उस्तै उस्तै ।

टुक्रुक्क, उपरखुट्टी, थ्याच्च, पलेँटी थकाइ पार्ने काइदाको रूपभन्दा फरक नपर्ला । बसाइको प्रकृति हेरी बाध्यता, अवश्यकता र चाहनाको पूर्वानुमान लगाउने चलन गृहस्थी जीवनमा पर्यायवाची मानिन्छ पलेँटीलाई । पलेँटी कसाइको तौरतरिकाबाट कुरोकन्थो जोइटिङ्ग्रे, पोइटिङ्ग्रे र दलटिङ्ग्रे के हुने हो अलिकति छनकको भेउ लगाउँछन् बुद्धिजीवीहरू ।
दुई खुट्टालाई कैँची कसाइमा आबद्ध गरी मेरुदण्डलाई अलिकति कुक्रुक्याएर भुइँतिर घोरिँदै फनक्क लक्ष्यमा नजर कुदाउनु पलेँटीको योगासन भन्दा कति फरक पर्ला त ? आफू यथास्थानबाट नओर्लिई लक्षित पात्रलाई समकोणमा नथ्याई यसको सहायता लिने प्रचलन उहिलेदेखि चलेकै हो । मोबाइल अन गर्दा पनि पलेँटी कसिएको पाइएमा थोरैतिनो सन्चो बिसन्चोको मात्रा पूर्वानुमान गर्न सकिन्छ । अब सहजै बोलौं, नेपाले कल्चरमा पलेँटीले बेग्लै स्थान ओगटेको छ । धोतीकछाड बेर्नेदेखि कट्टु पाइजामा भिर्नेसम्मले पलेँटीको एउटै र उही प्रकृतिको अनुमान ओकल्छन् । फर्सीगैह्राकी दालचिनीमैया होस् कि थोतीमाटाकी बित्तेकुमारी, घोचाटारका निगालेकुमार हुन् कि कोल्टीगाडका फापरकान्त, पयौंखर्कका टेकलौरीप्रसाद हुन् वा बतासेदरबारका बाँकटेदत्त सबैको चिन्तनमा उस्तै उस्तै तर्क फुर्नुमा पलेँटीको सर्वव्यापकतामा शंका गर्नु अन्याय पो होला कि ?
कतिपय आधुनिक व्यवहार पूर्वव्यवहारको विकसित रूपकै झल्को मान्न सकिन्छ । आधुनिक चिकित्साविज्ञानले आरोग्यताको अचुक ओखती योगासनलाई ल्याप्चे मारेको छ । योगासनको सगोत्रीय आसन पलेँटी भनिदिँदा धेरै अन्याय नहोला । बानरको खलकलाई पुच्छ अपुच्छमा वर्गीकृत भएझैं वाकयुद्धको भेषधारी पलेँटी र रोगको भण्डारलाई ताल्चा मार्दै ट्वाल्ल हुनु योगासन । फरक यति नै हो ।
अचेलका धुवाँनाथ, धुवाँकान्त, धुवाँशरण, धुवाँलाल (चुरोट पिउनेहरू), थुकबहादुर, थुकहरि, थुकबल्लभ, थुककृष्ण (खैनी खानेहरू), पानलोचना पानकुमार, पानदिल, पानभक्त (पान सुपारी खाई जिब्रो रङ्ग्याउनेहरू), ल्वाँङकेशव, ल्वाँङशंकर, ल्वाँङगोविन्दे, ल्वाँङदोर्जे (ल्वाङ सुपारी) का अम्मलीका मनमा पनि पलेँटीको औधी बखान भएको तर्कमा खोट लगाउने आधार भेटिँदैन । अनुप्रासको रासी चुल्याउने भैरवदेखि शब्दको दाइँमा विचारको गोरु घुमाउने केशवराज पिँडाली, जदौमा मानवताको नीचता देख्ने श्याम गोतामे आज भइदिएका भए आधुनिक पलेँटीको धनञ्जय उड्थ्यो कि ? भैरव भन्थे होलान् कि, आजको मानवको घुक्र्याइँ, लुक्र्याइँ, फुक्र्याइँ, पुड्क्याईं, उचता, नीचता, निष्ठता, व्यस्तथा पलेँटीकै गर्भबाट जन्मिएको हो । खै खैका महापण्डित लामिछाने बाहुन पिँडाली पलेँटीको घुचुकमा नै ताक्थे होलान् । साहित्यिक जजमान नघटाउने श्याम गोतामे सायद पलेँटी कसुवा पाठककै खोजीनितीमा रम्थे होलान् । भूतको भिनाजु, मसानको सालो, मुर्कट्टाको साँढुभाइ सबै सबै यसरी नै बटुलिन्थे कि ?
चुम्बकका विपरीत ध्रुव नछुट्टिएझैं, दिनबाट अँध्यारो र उज्यालोमध्ये एकलाई अलग्याउन नसकिएको गथासो बतासेडाँडाका पुल्टुङदत्तदेखि बाख्रेपानीका लुच्याइँकान्तको मतैक्य देखिन्छ । बारुलेखर्ककी चाल्नुकुमारीदेखि विछट्टगन्जकी लालमती पनि एकपाखे देखिन्न । आजको व्यस्त युगमा पलेँटीका समर्थक र विरोधी दुवै यत्रतत्र सर्वत्र नपाइएला भन्न सकिन्न । हिजो तराजु तलमाथि हुन्थ्यो होला, आज दुवै स्थिर छन् । त्यति मात्र फरक बाखैेपानीदेखि विछट्टगन्ज यसरी नै पो पोखिएलान् त ।
अँ, अब पलेँटीका समर्थकको बाटो कुरौँ । मेरा आदरणीय मितबुबा बासीराम खतिवडा गोल्डेन रङको तौलिया बेरेर खान बस्दा औधी सुहाउँथ्यो । टुक्रुक्क पिर्कामा बसी खानेको उनी बेपत्तै विरोधी थिए । मेरा ठूलामामा पलेँटी कसेर खान नै जान्दैनथे । उहाँहरू दुई जना एकै कार्जेमा सँगै भएका भान्छेले कुरा बुझिदिनु पथ्र्यो । एउटाको पालो सकिएपछि अर्कोलाई बोलाउने गर्नुहुन्थ्यो मेरी हजुरआमा । उहाँहरू एकअर्कालाई टुक्रुके र पाथी भाते भन्दै पेच हानाहान गरेको मैले नै कति पटक सुनेको छु । पछि डाइनिङ टेबुलको प्रवेशले मात्र उहाँहरू सन्धिमा नथ्थिनु भयो । हाम्रा काका काँचुलीशुक्ल ल्याण्डलाइन फोनलाई पलेँटीफोन र मोबाइललाई ‘बुर्कुसीठाँडो’ भन्थे अरू आलोचनाभन्दा पनि हस्सीमजाकमा उडाइदिन्थे यस्ता अनुभव धेरै छन् । पलेँटीमा भलाद्मीपन देख्नेहरू उच्चता, विशिष्टता पोख्छन् । सर्वक्षेत्रमा पलेँटी मार्नेहरूलाई अरूहरू पुरातनपन्थी, एकलकाँटे, अविकसित भन्दै झाँको झार्दछन् । आखिर केचाहिँ गज्जब तपाईंं हाम्रो मथिङ्गल दाहिने देब्रे हुँदाहुँदै कतै न कतै टुङ्गिन्छ । हाम्रा ठूलाबाका दुई भाइ छोरा थिए, प्रशन र प्रशन्न दुवै मास्टर भए । जेठोले साठी वर्षसम्म नै जागिर खान भ्याए, कान्छो प्रशन्न एक ठाउँमा स्थिर रहन सकेन । लगभग एक दर्जन विद्यालय र महाविद्यालयका शिक्षक बने । प्रशन भाइलाई टुक्रुके मास्टर र भाइ प्रशन्न दाइलाई पलेँटीमास्टर भनी पेच हान्थे । जेठाले छोराछोरीको विवाहपश्चात निवृतिभरण पाई जीवन जिए । कान्छोले सहरमा घर बनाइ छोराछोरीलाई विदेशमा पढ्ने वातावरण पनि दिए । दुवैको प्रगति भएपछि मात्र पलेँटी र टुक्रुके शब्दलाई आर्यघाटमा अन्तिम समाधि गरिएझैं गरियो ।
स्वभावग्रहण आफ्नो रुचिअनुरूप अपनाइने काइदा हो । टुक्रुक्क बस्नु, पलेँटी मार्नु, उपरखुट्टी लगाउनु, बारम्बार गाला कन्याउनु, तिरन्तर कान कोट्याउनु, लगातार नाकमा दाहिने वा देब्रे हात मुसार्दै केही सोच्नु, खानापश्चात पेट छाती मुसार्नु, नुहाइसकेपछि निधार र घुँडो सुम्सुम्याउनु त्यो आलोच्य विषय नबनाई बसेर होस् वा पलेँटी कसेर दशोन्नतिक समाधान निकालौं । टुपीराम, खुर्सानीकान्त, टोपीलाल चस्मादत्त भन्दै हिचाउनु र गिज्याउनुको साटो देशको विकासमा चासो दिए कस्तो हुन्थ्यो होला ?
एकै पेशामा विशिष्टता हासिल गर्नेलाई जसका मनमा जे उठे पनि पलेँटीदत्त, पलेँटीराम, पलेँटीकृष्ण, पलेँटीकान्त भन्दै हेयभाव पस्कनु फर्याकफुरुक गरिरहनेलाई चुरुम्फेशरण, चुरुम्फेदत्त चुरोम्फेकिशोरको सम्बोधनमा शब्द खर्चिनुको साटो पेशामा संलग्न रही उन्नति र प्रगतिको शिरमा आरोहण गर्ने सत्प्रयास हृदयको अन्तरकुन्तरमा अविराम रोपिए मातृभूमिको अश्रुमिश्रित भाव हाम्रा श्रवेन्द्रियबाट नेटो काट्थ्यो कि ? नत्र कुरो उही ।
पलेँटीलाई समग्रतासँग नजोड्नेहरू आफैं असफल भएर नै छाड्छन् । पलेँटी कसाइ र एकोहोरो बसाइमा मात्र उन्नति हुने होइन बरु एकाग्रतासँग यसको साइनो जोडिए फुलेर पनि फल्थ्यो कि ? नभए उस्तै उस्तै ।
०००
हाल, काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest









































