नन्दलाल आचार्यमाइतीलाई दर
हेर्दाहेर्दै चेलीहरूले ‘माइतीराजालाई तीजको दर’ भन्दै दूधभात, मिठाई र अरू खानेकुरा दुबै बाउछोरालाई पेटभरि खुबाए ।

‘ए बाबा, भोक लाग्यो । खानेकुरा दिनुस् न ।’ पाँच वर्षे छोराले हिरूवासँग याचना गरिरह्यो ।
हिरूवाले अनेक ठाउँमा चाल्नो परेको वस्त्र पहिरेको थियो । सर्वाङ्ग नाङ्गो छोरो काँधमा बोकेको थियो । हिरूवा तीज महोत्सवको रौनकता नियाल्दै थियो । छोरोलाई भने नाचगानमा कुनै चाख थिएन । उसलाई पेटमा कुदिरहेका मुसाले हैरान पारेका थिए ।
‘पख बाबु पख । हामी मागेर खाने ठाउँमा आएका छैनौँ । ढुकेर खाने ठाउँमा आइपुगेका छौँ ।’ हिरूवाले छोरालाई मनाउन खोज्यो । तर छोराको पेटले मानेन । हाडलाई छालाले मात्र बेरेको पिलन्धरे शरीर कन्याउँदै छोराले बर्रर आँसु झार्यो ।
आफ्नो काँधमा खसेको छोराको आँसुको तातोले हिरूवाको होस खुल्यो । भोकले छोरो मूर्छा पर्न लागेको महसुस गर्यो । तीज महोत्सवमा महंगा गरगहना र पहिरनमा कम्मर मर्काइमर्काई नाचेका चेलीहरूको नृत्यबाट विमुख हुन वाध्य भयो । त्यहाँको भान्सास्थलमा गएर छोराको लागि हात पसार्यो ।
‘तँ भतुवा, सुकेनासले पक्रेर जिउँदै सुकेको छोरो देखाएर भीख माग्छस् ? यहाँबाट सुइकुच्चा ठोकिहाल् नत्र तातो डाडुपुन्युले डाम्न नपरोस् ।’ भुँडे भान्सेले प्रहार गरेको ध्वनिरूपी बज्रले हिरूवा मरेतुल्य भयो र आँसु पुछ्दै फोहर फाल्ने ठाउँतिर हेर्न थाल्यो ।
त्यहाँ फालेका खानेकुरा बटुलबाटुल पारेर ल्यायो । धोइपखाली गरी छोरालाई दियो । गिद्धले सिनो भेटेझैँ हापझाप गरी खानलाई छोराले हातमात्र लगाएको थियो; दुईटी चेलीले खोसेर पहिलेकै ठाउँमा फ्याँकिदिए । भुँडे भान्सेतिर रिसाएको सिंहले हेरेजस्तै गरी हेरे । उता छोरो अनुहार बिगारेर रुन थाल्यो । यता हिरूवा अलमलमा पर्यो र ‘हजुर, हजुर’ भन्दै हात जोडी रह्यो ।
हेर्दाहेर्दै चेलीहरूले ‘माइतीराजालाई तीजको दर’ भन्दै दूधभात, मिठाई र अरू खानेकुरा दुबै बाउछोरालाई पेटभरि खुबाए ।
०००
सिर्जनाकुटी, सिरहा
Subscribe
Login
0 Comments
Oldest








































