साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दौरा र लौराको लोमहर्षक लडाईं

लौराको अस्तित्व यसरी उठेमा अब हाम्रा सुकिला दौराहरूको अस्तित्व धरापमा पर्ने सुनिश्चित छ । हामी कहिल्यै पनि नबौरिने गरी निख्रिने छौँ । सकिने छौँ, सिद्धिने छौँ । तीस वर्षदेखिको हाम्रो गोरखधन्दा सबै समाप्त हुने छ ।

Nepal Telecom ad

यी पङ्क्ति लेख्न जमजमाउने लेखन्ते पनि एक लठुवा नै हो । ‘काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर’ गर्नेहरूलाई व्यङ्ग्यशास्त्रमा बडो प्रष्टसँग ‘लठुवा’ भनेर परिभाषा गरिएको छ । पत्यार नलागे णत्वमा राखेर त्यो शास्त्रको पाना पल्टाएरै पढे पनि हुन्छ । मुलुकले यत्रोबिधि उन्नति प्रगति गरेर समृद्धिको शिखर चुमिरहेको यो घडीमा कुरै नबुझि कलमलाई ‘लाठो’ बनाउँदै जथाभावी प्रहार गर्नखोज्ने लेखक भनाउँदाहरू साँच्चिकै ‘लठुवा’ हुन् । शास्त्रले नै भनेपछि त मान्नु पर्‍यो नि ! ‘कि ज्ञान जान्नू, कि भनेको मान्नू’ । ज्ञान पनि नजान्ने र भनेको पनि नमान्ने लठुवा लेखकहरूलाई त उहिले उहिले झापा मोरङतिर उत्पादन हुने गरेको, खाडीमा कुहाएर मुङ्ग्राद्वारा पिटिने ‘पटुवा’ पिटे झैं पिट्नु पर्ने !

हैन, यी लठुवाहरूको शुद्धि र बुद्धि कहिले फिर्ने हँ ? मुलुकमा यत्रो ठूलो परिवर्तन भएको छ, झलमल्ल गणतन्त्रको घाम लागेको छ, जनकल्याणका लागि सरकारै सरकार बनेका छन्, मन्त्री नै मन्त्री बनेका छन् । सांसदै सांसद चुनिएका छन्, चुनेका छन् । जता गयो उनीहरूकै सवारीले बाटो काटिसाध्य न छेकिसाध्य ! बाटै नभएका भीरतिर, पुल बनिरहेका छन् । नाली फराकिएर बाढी बन्दै सडक पसिरहेका छन्, हालेको पिच दुई महिना नभै पुकुपुकु उप्किँदा छन् । लाखौँ रुपयाँको बजेट निखारेर चारहाते स्वास्थ्य भवन खडा भइरहेका छन् । भ्यूटावरहरूको कुरै नगरौँ । यत्रतत्र सर्वत्र विकास र निर्माणको मुलै फुटिरहेको र मुलुकमा रामराज्य ओइरिरहेको यथार्थलाई अनदेखा गरी क्यै भएको छैन भन्न मिल्छ ? केही भएन भन्दै कविता कथ्ने, गीत बनाउने बाङ्गा बाङ्गा निबन्ध लेखेर उछितो काड्दै सामाजिक सञ्जाल नामका असामाजिक मिडियामा छारस्ट गर्ने अराजनीतिक यी लठुवाहरूको अरु कामै केही छैन कि क्या हो ? परिवर्तनपछिको शान्त मुलुकलाई अशान्त पार्नखोज्ने यी प्राणी कहाँबाट अवतरित भएका हुन् हँ ? यिनलाई त लौरो लगाएर लखेट्नु पर्ने भो ।

अहिले यी पङ्क्ति लेख्दै गरेको एउटा लठुवाले २०५० सालतिरै ‘लौरोगाथा’ लेखेर कुर्सी र पदमा बसेकाहरूको व्यर्थै लेथ्नु काढेको थियो । आजको दुनियाँमा अनाचार, भ्रष्टाचार, पापाचार, दूराचार नहुने कुनै देश छ ? छ भने त्यो देश देश नै हैन, लौ जा ! दिव्य तीस वर्षअघिदेखि भ्रष्टाचार गर्दै पदमा विराजमान हुन् वा पदमा नहुन् तिनलाई लौरै लौरो लाउनु पर्छ भनेर लेख्ने लेखन्तेकै उलामालामा लागेर अहिले केही लौरोधारीहरू चुनावमा उठेछन् । कति त अब आउने चुनावमा उठ्ने ताहुमाहुर गर्दै छन् रे ! ‘लौरोगाथा’ यिनीहरूको सिद्धान्त, दर्शन, रणनीति, कार्यनीति सबै हो रे ! । उनीहरूका घोषणापत्रमा समेत लौरोकै महिमा गान गाइएको देखिन्छ ।

यसरी लौराधारीहरूको बर्चस्व बढ्नु भनेको अबको नेपालमा अमनचयन खलबलिनु हो । ‘जिसका लाठी उसका भैँसी’ । भैँसी, गाई, बाख्रालाई लखेट्ने वा पिट्ने पुनित कार्यमा संलग्न हुने गरेको लाठी अर्थात् लौरो लिएर राजनीतिमा आउन खोज्नु यो देशकै निम्ति साह्रै ठूलो अपसकुन हो । यो अपसकुनलाई बेलैमा रोक्नु वा छेक्नुको अर्को विकल्प नै छैन । कृपया, ए जनता जनार्दन ! लौरोलाई छेक, रोक । नत्र यो लौराले हाम्रो सुखको स्वर्गमाथि धावा बोल्ने छ, हाम्रो अस्तित्वलाई पोल्ने छ, हाम्रो इज्जत र आबरु खोल्नेछ र चरम नाङ्गो पारेर चरचरी चिर्दै हाम्रो बोसो झिकेर उसको पसिनामा घोल्ने छ । अहा…हा.. । यस्तो दुर्गति कसरी सहन सकिएला ?

लौ न, लौरो सम्झँदा नै आङ जुरूङ जुरूङ हुन थाल्यो । धराने धूलोबाट उठेको एउटा लौरो धूलैमा लडिबुडी गर्दै छ । उसलाई त्यत्रो पद-प्रतिष्ठा, शान सौकत, प्राडो-पजेरोले पटक्कै पगालेको छैन । हैन त्यो लठुवा त कहिले पाइप र ढुङ्गा बोक्दै गरेको देखिन्छ । कहिले बगरका छाप्रातिर पाप्रा टाँसिएको अनुहार लिएका मजदुरसँगै गिटी कुट्दै गरेको भेटिन्छ । यता काठमाडौंको फोहरबाटै खडा भएको अर्को लौरो यै फोहरलाई मोहर बनाउँछु भन्दै दगुरेको दगुर्‍यै छ । पश्चिमतिरको अर्को लौरे हमालले पनि कमाल देखाउँन थालिसक्यो । यी लौराहरूका यस्ता कुकृत्यले त हामी सुकिला मुकिला बौराहरूको दौरा फोहर पार्दिने भए । हाम्रो त सर्वस्व र वर्चस्व नै पिँडालुको पातबाट पानी झरे झैं झार्दिने भए । हामी त एकलौटी दलीय बत्थु बोका थियौँ, अनाहकमा खसी पार्दिने भए ! के साँच्चि अब हाम्रा दिन गए ? हन, यी ज्याद्रा लौरा कताबाट आए ?

सिंहदरवारको धूरीबाट हामी घोषणा गर्छौ- अब आआफ्नो ठाउँबाट लौराहरूलाई निषेध गर । लौराहरूलाई उठ्नै नदेऊ । बरु मुर्दावादका चर्को नाराले कुट । यी लौराहरू लौरा हैनन् विषालु साप हुन्, तिनलाई चुट्नुसम्म चुट । यिनको गाथा गाउँदै कविता लेख्नेहरूका कलम थुत, यिनको प्रशंसामा गीत र गजल पोष्ट गर्ने साइट र सञ्जालका ल्याप्टपहरू जफत गर । युट्युब र फेसबुकहरूमा हुक हाल । हाम्रो स्वर्गको सिंहासन ताक्ने यी लौराहरूलाई घेराबन्दीमा राख, चल्न चटपटाउनै नदेऊ । यिनीहरूको चटपटले हाम्रो ऐशआराममा छटपट पैदा गरेको छ, यिनका तथाकथित लौरो दर्शनलाई झटपट मैदा पिसे झै पिस । धूलो पार । बाँसुरी खोस, जसको सुरिलो धूनमा मान्छेहरू लठ्ठिन लागेका छन् । च्याब्रुङ, खैजँडी र मादलहरू फुटाल, जसको एकै घिन्ताङमा गरिब दुखीहरू बाउँठिन थालेका छन् । लौराको यो उपद्रवलाई रोक ।

सिंहदरवाको खोपीबाट हामी ऐलान गर्छौ- हाम्रा आदर्शका धरहरा ढलाउने गरेर लौराहरू उठेका छन् । लौराहरूमाथि जाल हान, भाँजो हाल, घेराबन्दी गर, शंख फुक, चेपुवामा पार, निचोर, चिथोर । जबरजस्त भाँच, टुक्रा टुक्रा पार । यिनीहरूको अस्त्तिव नामेट गर, बाल्नु परे बाल, पोल्नु परे पोल, गोल पनि बाँकी नराख, खरानी पार । खरानीमै पनि परानी छिपेको हुनसक्छ, पानीले पखाल र सुलुल्ल बगाऊ । जरा बाँकी रहनै नदेऊ, उखेल । लौराको अस्तित्व यसरी उठेमा अब हाम्रा सुकिला दौराहरूको अस्तित्व धरापमा पर्ने सुनिश्चित छ । हामी कहिल्यै पनि नबौरिने गरी निख्रिने छौँ । सकिने छौँ, सिद्धिने छौँ । तीस वर्षदेखिको हाम्रो गोरखधन्दा सबै समाप्त हुने छ ।

सिंहदरवारको धुरीबाट गरिएको यो उत्तेजक घोषणाले दलीय दौराहरू लौरादेखि कति आतङ्कित भएका छन् भन्ने प्रष्ट हुन्छ । यो घोषणा सुनेर यी पङ्क्तिको लेखक नामधारी यो लठुवालाई चाहिँ गौरवबोध भएको छ । किनभने लौराको तागत, लौराको शक्ति र लौरे क्षमता यति शक्तिशाली छ भन्ने कुराको भेउ नै पाएको रहेनछ । अब हेर्नु छ सुकिला मुकिला दौरा र धूलोबाट उठेका धुस्रेफुस्रे लौराहरू बीचको लोमहर्षक लडाईं ।

०००
फित्कौली अड्डा, कलङ्की, काठमाडौं
२०७९ साउन १७

सुलेख, अङ्क १२०, ०७९ भदाै

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सेकेण्ड ह्याण्ड

सेकेण्ड ह्याण्ड

भोजराज रेग्मी ‘मुखाले’
श्राद्ध

श्राद्ध

त्रिलोचन ढकाल
बानीले रानी हुन्छ, बानी बिग्रे खरानी हुन्छ

बानीले रानी हुन्छ, बानी...

नगिता लेप्चा राई
तर्सिङहोम (२)

तर्सिङहोम (२)

कृष्ण प्रधान
0
Would love your thoughts, please comment.x
()
x