साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कहिल्यै ननिभ्ने धुवाँ

तपाईंले बिर्सनुभयो सायद । आज यहाँ; तपाईंको अड्डामा छिरेपछि चाइने मलाई आफ्नै धूवाँकुटीको झलझली याद आइरहेछ हरिभक्तजी ! भैरवको मुस्कानमा अलिकति उदासी मिसियो ।

Nepal Telecom ad

उज्यालोन्मुख पुतलीसडकको अँध्यारो गल्ली । गल्लीको दुई घरजति भित्रको झनै अँध्यारो घरको चिसो न चिसो भुईंतलामा उनीहरू छिरे ।

भित्र मस्तै भीडभाड रहेछ । दुई-तीन वटा टेबुल-बेन्ची भरिभराउ थिए । बाँकी दुई अर्ध-खाली थिए; पूरै खाली कुनै देखिएनन् । एक्लै सिङ्गै टेबुल कब्जा गरिबसेको महोदय गिलासैसहित अर्कोमा कोच्चिन गयो र उनीहरूका लागि टेबुल रित्याइदियो ।

बाहिर निस्किने बाटो नपाएर धूवाँ स्वयम् उकुसमुकुसिएको थियो । उनीहरूले त्यो महोदयको परोपकार कब्जा गरे । अनि, मुसुक्क हाँसेर महोदयको कृपाको ऋण तिरिदिए ।
धूवाँले आँखै खोल्न नमिल्लाजस्तो भइरहेको थियो; बसिसकेपछि केही हलुका भयो ।

“यो मेरो अड्डा हो है ! बाहिर चले नि नचले नि यहाँ भने मेरो इमान-जमानको ल्याप्चे चल्छ !” उनले मुसुमुसु हाँस्तै यौटा सिगरेट आफूले सल्काए र अर्को भैरवतिर बढाए ।

भैरवले सिगरेट सल्काए र बडो स्वादले तान्न थाले । तान्दै गर्दा राम्रोगरी वरिपरि नियाले । छेउछाउका टेबुल झुम्म रहेछन् । बेन्चीहरू झुम्म रहेछन् । प्लेटहरू, गिलासहरू झुम्म रहेछन् ।
मान्छेहरू ??
आएका थिए होलान्- उनीहरू जसरी नै टाउको ठोक्किएला कि भनेर निहुँरिँदै; अहिले कोही रहेनछन् !
सबैसबै महोदय भइसकेछन् !

“तपाईं पहिलो पल्ट पस्नुभएको होला; म त यहाँको रैथाने भैसकेँ । यहाँ म जिन्दगी खोज्न आउँछु । यो नाथे कवि; भट्टीमा पनि कविपारा देखाउँछ भन्नुहोला । म यहाँ जिन्दगी खोज्दै हुन्छु भन्ने यिनीहरू कस्सैलाई थाहा हुँदैन ! यतै कतै बस्छु । नियालेर हेर्छु आफूलाई । अनि, भित्रभित्रै आफैँलाई खोज्न थाल्छु ….।”

उनी अरू के-के भन्दै गए; भैरव ‘अँ-अँ’ को भावमा सुनिरहे । उनको सामुन्ने बसिसकेपछि बल्ल भैरवलाई महसूस भयो— उनी अलिअलि महोदय पहिल्यै भइसकेका रहेछन् ।

“भैरवजी, तपाईं हराउनुभयो जस्तो छ !” उनैले कोट्याए । भैरव झसङ्ग झस्किनुपर्ने हो, झस्किएनन्; सिर्फ मुस्कुराए । दुवै मुस्कुराउने मूडमा थिए । उनले सोधे, “मेरो कुरा सुन्नु त भयो नि ?”

“सुनेँ, किन नसुन्नु ! म पहिले पनि चाइने पसेको थिएँ यहाँ; तपाईंसँगै । तर, त्यति वेला यो यत्ति अँध्यारो थिएन; यस्तो विधि धूवाँ नि थिएन । तपाईंले बिर्सनुभयो सायद । आज यहाँ; तपाईंको अड्डामा छिरेपछि चाइने मलाई आफ्नै धूवाँकुटीको झलझली याद आइरहेछ हरिभक्तजी !” भैरवको मुस्कानमा अलिकति उदासी मिसियो ।

“अरे भैरवजी ! धूवाँ हुन कुन बेर लाग्छ र ! यहाँका मान्छेहरू ख्वाङख्वाङ, खुङखुङ, हाच्छिउँ गरिर’न्छन् नि; त्यो हाम्रै धूवाँले हो बुझ्नुभो ! अझै यसरी धूवाँ उडाको उडायै गदिर्ने हो भने ती दम लागेरै मर्छन् ! मैले बिर्स्याे भन्नुभा’को ? यो हरिभक्त केही बिर्सन्नँ भैरवजी ! एकेडेमीले भतुवा भनाएर लात हानेको त बिर्सेको छैन यल्ले ! तपाईं, त्यो पनि आफ्नू अड्डामै आएको कसरी बिर्सनु ! म त तपाईंले बिर्सनुभो होला भनिरा’थेँ । भट्टीमा छिरेर कोकाकोला खा’को नि कोही किन सम्झिराख्छ हँ !”
भैरव फेरि मुस्कुराए ।

“आशाराम दाइ ! ह्वाँलाई एक बोतल ओर्जिनल कोकाकोला ! राजखानी भए नि, टाउको भए नि फ्राई ! अनि, अघिको बाँकी अंश क्रमशः है !” कालो न कालो भान्सातिर नियाल्दै हरिभक्तले अलिक ठूलो स्वर गरे ।

भैरवले सोधे, “कविजी, तपाईं कोकाकोला नै खाने हो ?”
“खान त खाइदिन्छु, मलाई के ! खास कोकाकोलामा मेरो लत छैन ! भन्नुहुन्छ भने आज साथीको लागि खाइदिन्छु !”
“म त कोकाकोला खान्नँ बा ! यो चिसोमा घाँटी अँठ्याउँछ । तपैँले खाने के हो; चाइने त्यै मगाउनुस् न !”
हरिभक्त जिल्ल परे ।

यो भैरव अर्याल नै बोलिरहेको हो कि पछाडिको टेबुलबाट कोही अर्कै बोलिराखेको छ हँ ? उनी अचम्मका साथ दायाँबायाँ हेर्न थाले । कोकाकोला आइपुग्यो; अर्को खाले बोतल र गिलास पनि सँगै अन्मरियो ।

“ए भाइ, यो गाई फिर्ता ! अर्को पनि भैँसी नै ले’र आऊ त, यस्तै लैनोवाला !” भर्खरै आउने केटोलाई सम्बोधन गर्दै बोले उनी । अनि, भैरवतिर फर्केर कुराको सिलसिला जोडे, “यहाँ आउँदा म यस्तो महोदय कहाँ थिएँ र ! महोदय बने भनेर काकालाई बाँधेर लडाउने मान्छे थियो हरिभक्त ! हरिभक्तलाई यहाँको यस्तो नशा लाग्यो… यस्तो नशा लाग्यो कि त्यो नशा काट्न हरिभक्त यो अँध्यारोमा धाउन बाध्य भयो । यो बाध्यताको अड्डा हो बुझ्नुभो भैरवजी ! तपाईंको गोर्खापत्रजस्तो होइन !”

“गोर्खापत्र ? त्यो पनि आजकल मेरो बाध्यताकै अड्डा हो कविजी ! तपाईंलाई चाइने बुझाउन नसकूँला; तपाईंलाई त्यत्ति थाहा नि नहोला । तर, चाइने तपाईंको यो अड्डाजस्तै हो त्यो मेरा लागि !”

हरिभक्तको अड्डामा दुई बज्दा-नबज्दै साँझ पर्न सुरु हुँदो रहेछ । बाहिरको साँझ र यहाँको साँझको टाइम नै मिल्दैन रहेछ । त्यति वेला साँझको चार बजिसकेको थियो । उनीहरू क्रमशः महोदय बन्दै गइरहेका थिए ।

“बुझ्नुभो कटुवालजी ! म आज, भोलि वा पर्सि; जुनसुकै दिन र जुनसुकै वेला आफूलाई सकिदिनेछु । आवेश पर्खंदै बसेको सात महिनाजति भयो; तर आउँदैन ।” भैरवको उदासी कायम-मुकायम भएर टेबुलमा ठोक्कियो र भुईंभरि पोखियो । अड्डाको केटो आएर थोत्रो थाङ्नुले टेबुलको उदासी पुछिदियो । भुईंको उदासी बग्न नसकी जमिरह्यो उसैगरी । सुक्छ होला केही बेरपछि !

हरिभक्त ट्वाल्ल परेर उनको अनुहार हेरिरहे । यी दुईबीचमा निकै बेर शून्यता छायो; मौनता आइलाग्यो ।
भैरवको अनुहारबाट विस्मयको धूवाँ पुनः मडारिन थाल्यो, “मलाई लाग्थ्यो— जिन्दगी यति तुच्छ वस्तु होइन, जसलाई सितिमितिको विरक्तिमै फ्याल्न सकियोस् ! संसार यति निस्तो छैन, जुनसुकै हालतमा पनि यहाँबाट भाग्न सकियोस् ! हातखुट्टा झरेको महारोगीलाई जिन्दगीको माया छ, संसारप्रति मोह छ भने मलाई नहुने कुनै कारण थिएन । … …म बाँच्न चाहन्थेँ !”
हरिभक्त सुक्खा अनुहार बोकेर उनको भरिला आँखा नियालिरहे ।
सबै मदमस्त थिए !
सबै महोदय थिए !
सबै सुनसान थिए !

“मेरो जीवनचक्र उल्टो घुमाउन प्रशस्त लिखित, मौखिक र अन्य सबूतहरू सबैतिरबाट बनाइन थालेको बुझ्दाबुझ्दै पनि नबुझेझैँ गरी प्रमाणै बनाउन मैले प्रशस्त मौका दिएछु । बुद्धि उल्टैमात्र आइदिन्छ । मेरो आत्महत्या, पलायन वा मेरो कूलको संहार नेपालको ठूलो कालो अक्षरको इतिहास र विश्वको बडो रोचक हास्यकथा बन्ने भइसकेको छ; तर मलाई आवेश अझै आएको छैन । छ-सात महिनाअघि मात्र मर्न वा भाग्न सकेको भए म जेजस्तो भए पनि मान्छेकै मृत्यु मर्न पाउँथेँ र मैले कसैलाई आफूसँग घिसार्नुपर्दैनथ्यो । तर, अब म मान्छे थिएँ भनिदिने पनि यहाँ कोही छैन !”

भैरव उदासीको लामो न लामो भर्याङ चढ्न थाले, …..चढिरहे । टेबल रित्तियो, प्लेट रित्तियो, गिलासहरू रित्तिए । साँझको सात बज्यो ।

भित्रको साँझ बाहिरको साँझसँग घुलमेल हुन थाल्यो ।
मान्छेहरू भित्रिने र महोदयहरू फर्कने क्रममै थिए । सायद आज कसैलाई उनीहरू बसेको टेबलमा आएर महोदय हुनु रहेनछ ।

यी दुई महोदयहरू उठे— आफूले कब्जा गरेको संसारबाट ।
उठ्दै गर्दा हरिभक्त सुस्तरी गुञ्जिए, “भैरवजी ! गल्ती हाम्रै थियो । यहाँ हाम्ले यतिबिघ्न धूवाँ उडाउनुहुन्थेन !”
धूवाँ गुञ्जिइरह्यो ।
उनीहरू गुञ्जिइरहन सकेनन् ।
अनि, बिस्तारै आ-आफ्नो गुँडतिर गुम्फित भए ।

०००
प्रकाशनको सँघारमा रहेको प्रोल्लास सिन्धुलीयको आख्यान ‘भग्न भैरव’ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चिल्लो गधा

चिल्लो गधा

प्रोल्लास सिन्धुलीय
म लोग्नेमान्छे

म लोग्नेमान्छे

प्रोल्लास सिन्धुलीय
जन्मजात बाहुनको विज्ञप्ति

जन्मजात बाहुनको विज्ञप्ति

प्रोल्लास सिन्धुलीय
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x