साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यो हप्ताको फित्कौली वार्ता व्यङ्ग्य चित्रकार दुर्गा बरालसँग

मैले बनाएको कार्टुनको विषयमा दुईपक्षीय झडप हुँदा प्रहरीले भिडमाथि गोली चलायो । २०३६ सालको त्यो घटनामा एकजनाले ज्यान गुमाए, अरु धेरै घाइते भएका थिए । — दुर्गा बराल (वात्सायन)

Nepal Telecom ad

नेपाली कार्टुन कलामा वात्सायन नामबाट २०२० को दशकदेखि सुपरिचित व्यक्तित्व हुनुहुन्छ कार्टुनिस्ट दुर्गा बराल । नेपाली कार्टुनकलाको आरम्भका हस्ती मानिने बलराम थापा, टेकविर मुखिया, खोकनाहरूसँगै एक हुनुहुन्छ वात्सायन पनि । उहाँहरूले कार्टुन चित्र बनाएर पत्रिकामा छाप्दा चित्रलाई सिकर्मीले काठको टुक्रामा खोपेर ‘ब्लक’ तयार गर्थे, त्यही ब्लक हाते प्रेसमा चढाइ ‘प्रिन्ट’ गर्ने गरिन्थ्यो । अहिलेको प्रविधि प्रयोग गरेर पनि वात्सायन कार्टुन चित्रमा उत्तिकै सक्रिय हुनुहुन्छ । प्रजातन्त्र पुनरस्थापनासँगै वात्सायनको कार्टुनकलाले अत्यन्तै लोकप्रियता हासिल गरेको र वर्तमान लोकतन्त्र, गणतन्त्रमा देखिएका विसङ्गत सन्दर्भलाई तारो हाने झैं कार्टुन मार्फत हान्दै आउनु भएको छ उहाँ । उमेरले ८१ वर्ष टेक्न लाग्नुभएका वात्सायनलाई पछिल्लो पुस्ताका प्राय सबै कार्टुनिस्टहरूले आदरणीय अभिभावक सम्झन्छन् । नेपाली हास्यव्यङ्ग्य क्षेत्रको सम्मानित वासुदेव लुइँटेल पुरस्कारद्वारा २०५४ मा पुरस्कृत वात्सायनसँग उहाँको कार्टुनकर्मसँग सम्बन्धित भएर फित्कौली डटकमले कुराकानी गरेको छ । यो हप्ता प्रस्तुत छ कार्टुनिस्ट वात्सायन अर्थात दुर्गा बरालसँगको फित्कौली वार्ता : 

०दिनचर्या कसरी बित्दै छ यहाँको ?
।। एकासीऔँ वसन्तको संघारमा आइपुग्दा खुट्टा, आँखा र हातहरूमा पहिलेको जस्तो ऊर्जा र आत्मविश्वास त ममा रहेन निश्चय नै तर बिहान प्रायः सबेरै उठ्नु, नित्य कर्म सकेपछि एक कप कालो चिया पिएर बिहान एक घण्टा मर्निङवाकमा निस्कन्छु । घर फर्केपछि दुध चिया र बिस्कुट, त्यसपछि सरसर्ती पत्रिका पढेपछि बिहानको खाना, खानापछि केही समय विश्राम । विश्रामपछि केही समय कम्प्युटरमा नेटहरू चलाउँछु । पेन्टिङ बनाउनु छ भने पेन्टिङ गर्दैमा दिन बित्छ । पेन्टिङ गर्नु छैन भने बजारतिर घुम्न निस्कन्छु । बेलुकी आठ बजेतिर खाना खाने समय सुरु हुन्छ । खानापछि पुनः एक पटक कम्प्युटर चलाउँछु र बेलुकी नौ वा दश बजेतिर सयन कक्षतिर प्रवेश गर्छु । यस प्रकार मेरो दैनिकी गुज्रिरहेछ ।

० यहाँको विचारमा व्यङ्ग्यचित्र अर्थात कार्टुन के हो ?
।। चित्र मार्फत व्यङ्ग्यात्मक शैलीमा आफ्ना गुनासा र असहमती व्यक्त गर्ने सिर्जनात्मक कलालाई म कार्टुन भन्न रुचाउँछु ।

० कार्टुनका पनि विविध प्रकार छन्, उदाहरण सहित बताइदिनुस् न ?
।। अहिलेसम्म मुख्यतः चार प्रकारका कार्टुनहरू प्रचलनमा रहेको हामी पाउँछौँ । पत्रिकामा छापिने एक कलमको सानो कार्टुनलाई म्याग कार्टुन, ठूलो आकारमा फ्रन्ट पेजमा तिन/चार कलमको कार्टुनलाई एडिटोरियल (सम्पादकीय) कार्टुन र विभिन्न खण्डहरू जोडेर बनाइने कार्टुनलाई स्ट्रिप कार्टून भन्दछन् । तेस्तै फिल्महरूमा देखाइने कार्टूनलाई (एनिमेसन कार्टुन) भन्दछन् ।

० कार्टुन लेखनमा कसरी प्रवेश गर्नु भयो ? पृष्ठभूमि पनि उल्लेख गरुँ न ?
।। सानै उमेरदेखि चित्रकलामा अभिरुचि थियो । चित्रकला अध्ययन गर्ने उद्देश्यले एसएलसी उत्तीर्ण गरेपछि पोखरा छोडेर काठमाडौँ आएँ । काठमाडौँको त्रिपुरेश्वरमा त्यस समय घरेलु शिल्पकला केन्द्रमा डिजाइन सम्बन्धी तालिम दिइन्थ्यो । त्यहाँ तीन महिना तालिम लिएपछि मलाई त्यहाँ बस्न मन लागेन । चित्रकला अध्ययनका लागि यहाँ मैले अरू कुनै उपयुक्त संस्था पनि भेटिनँ । मेरा लागि अब एउटै विकल्प थियो । भारतीय दूताबासबाट प्राप्त हुने छात्रवृत्ति । चित्रकला अध्ययन गर्ने मेरो सपनालाई अन्त्य गरेर घर फर्कनुभन्दा काठमाडौँ बसेर प्रत्येक वर्ष प्राप्त भइरहने छात्रवृत्तिको लागि प्रयत्न गर्नु उपयुक्त हुने लागेकोले काठमाडौँमै बसेर केही वर्ष बिताउने निर्णय लिएँ । बसाइका लागि खर्चको जोहो गर्नु थियो । नयाँ सन्देश भन्ने साप्ताहिक पत्रिकामा कार्टुन बनाउने काम पाइयो । यो २०२२ सालतिरको कुरा हो र यसै सालदेखि कार्टुन बनाउने काम प्रारम्भ भएको हो ।

० स्कुले जीवनमा पनि कार्टुन चित्र बनाउनु हुन्थ्यो ?
।। स्कुले जीवनमा कहिल्यै कार्टुन चित्र बनाइएन । चित्रकला प्रतियोगितामा भने धेरै पटक भाग लिइयो र पुरस्कार समेत प्राप्त गरियो ।

० तपाइँको पहिलो प्रकाशित कार्टुन चित्र कुन हो, त्यो केमा कहिले छापियो ?
।। मेरो पहिलो कार्टुन चित्र कुन हो त्यो मलाई सम्झना भएन । त्यस समय सम्पादकको निर्देशन अनुसार कार्टुनहरू कोरिन्थ्यो । धेरै सोच विचार र मन्थन गर्नुपर्ने आवश्यकता नभएकोले पनि ती स्मृतिबाट छिट्टै हराउँथे । नयाँ सन्देश र पछि राष्ट्रपुकार साप्ताहिकमा कार्टुन चित्र बनाउँदा धेरै पत्रकारहरूसँग मित्रता भयो । त्यस समयका पत्रिकाहरू पञ्चायती निरङ्कुशताबाट पीडित थिए ।

० तपाइँ बडो शान्त र सौम्य मिजासको व्यक्ति कार्टुनमा रमाउने परिस्थिति कसरी निर्माण भयो ?
।। पहिला नयाँ सन्देश र पछि राष्ट्रपुकार साप्ताहिकमा काम गर्दा केही पत्रकारहरूसँग संगत र मित्रता भयो । उनीहरू एउटा मिसनमा थिए । निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त्य र देशमा स्वतन्त्रता र प्रजातन्त्र पुनर्वहालीको मिसन । म उनीहरूको मिसनबाट प्रभावित भएँ र उनीहरूलाई सहयोग पुर्‍याउन पत्रिकामा कार्टुनहरू दिने क्रम सुरु गरेँ । लामो समय कार्टुनका क्षेत्रमा काम गर्दा स्वतः अभ्यस्त भइयो र रमाउन पुगियो ।

० कार्टुन बाहेक गम्भीर चित्रकारितामा पनि तपाइँ सक्रिय हुनुहन्छ ? गम्भीर चित्रकारिता र कार्टुनकारिता कुनमा बढी मजा ?
।। कार्टुन र चित्रकारिता (पेन्टिङ) दुई भिन्न विषय हुन् । दुबैका आआफ्ना विशिष्ट शैली, स्वाद र विशेषताहरू हुन्छन् । म दुबैमा उत्तिकै रमाउँछु ।

० २०२० को दसकदेखि कार्टुन चित्र बनाउँदै आउनु भयो । समकालिन नेपाली कार्टुनिस्टहरूलाई सम्झनु पर्दा ककसलाई सम्झनु हुन्छ ?
।। मेरा समकालीन कार्टुनिष्टहरू टेकविर मुखिया, बलराम थापा र खोकना हुन् । वरिष्ठ हास्यव्यङ्ग्य लेखक रामकुमार पाण्डेले पनि यदाकदा कार्टुनहरू बनाउनुहुन्थ्यो । वर्षको एक पटक गाईजात्राका अवसरमा पत्रिकाहरूले गाईजात्रा विशेषाङ्क निकाल्ने प्रचलन थियो । त्यसमा अरू धेरै कलाकारका कार्टुनहरू प्रकाशित हुन्थे तर नियमित कार्टुनिष्टको पेशा अपनाउनेमा बलराम थापा, टेकविर मुखिया र खोकना नै मुख्य हुन् ।

० यहाँले कार्टुन बनाउन शुरु गर्दाको प्रविधि र अहिलेको प्रविधिका बारेमा कति फरक छ ?
।। त्यस समयको प्रविधि र आजको प्रविधिमा आकाश र जमिनको फरक म पाउँछु । त्यस समय कलाकारले तयार गरेको रेखा चित्रलाई पत्रिकामा छपाउनु छ भने पहिला रेखाचित्रलाई सिकर्मी कहाँ पठाइन्थ्यो । सिकर्मीले उक्त रेखाचित्र काठको ब्लकमा ट्रेसिङ (उतार्नु) गरेपछि रेखाहरूलाई छोडेर अरू खाली भाग खुर्केर फालेपछि ब्लक तयार हुन्थ्यो । ब्लकलाई प्रेसमा पठाएपछि कम्पोज गरी हाते मेसिनद्वारा छापिन्थ्यो । एउटा कलाकारको रेखाचित्रलाई अर्को गैरकलाकारले खेलाउँदा रेखाचित्रको अवस्था कस्तो भयो होला । सहजै अनुमान गर्न सकिन्छ । कार्टुनमा देखाइएको घोडा अखबारमा छापिएर आउँदा भैँसी बन्दथ्यो । हुलाक र आकाशवाणी बाहेक सर्वसाधारणका लागि सञ्चार र सूचनाको अरू सुविधा थिएन । पुरै सरकारी नियन्त्रणमा थियो । सञ्चार क्षेत्र, नेपालको विषयमा जानकारी लिन मानिसहरू अल इण्डिया रेडियोको आधी घण्टे नेपाली कार्यक्रममा सुन्ने गर्दथे । पोखरामा बसेर कार्टुन काठमाडौँ पठाउन एयर डकुमेन्ट गर्नुभन्दा अर्को उपाय थिएन । काठमाडौँबाट पठाएको पत्रिका पोखरा पुग्न हप्ता लाग्थ्यो । आज, कम्प्युटर, इन्टरनेट, मोबाइल, टिभी, एफ.एम. र उच्च स्तरीय प्रविधिको अफसेट प्रेस सबै उपलब्ध छन् देशमा । कार्टुनिष्टहरूले विश्वभरीको समाचार एकै सेकेण्डमा जान्न पाउँछन् । युट्युव मार्फत विश्वमा प्रचलित कार्टुन र तिनमा प्रयोग भएको शैली सिपको अध्ययन र अभ्यास गर्दै आफ्नो कार्टुनलाई परिष्कृत, स्तरीय बनाउने अवसर छ अहिले । चित्र संयोजन, डिजाइन र रङ्गको छनोट आदि कामहरू कम्प्युटरको सहयोगले अत्यन्त सुन्दर सफा र द्रुत गतिमा सम्पन्न गरी कार्टुन तयार गर्न सकिन्छ र संसारको जुनसुकै ठाउँमा पनि पठाउन सकिन्छ ।

० तपाइँ मुलतः सामाजिक, शैक्षिक, सांस्कृतिक र राजनीतिक विषय र व्यक्तिमा केन्द्रित कार्टुन बनाउनु हुन्छ । ‘थ्रेट’ आएन ?
।। प्रत्यक्ष रूपमा मलाई कहिल्यै पनि कुनै किसिमको थ्रेट आएको छैन । तर अप्रत्यक्ष रूपमा म संलग्न संस्था र मलाई कारवाहीको थ्रेट भने दुई चार पटक आएको थियो ।

० कार्टुनकलामै लागेर जीवन सहज ढङ्गले चलाउन सकिन्छ भन्ने लागेको थियो त ?
।। कार्टुन कला क्षेत्रमा प्रवेश गर्दाको प्रारम्भिक कालमा यस क्षेत्रमा लागेर केही आयआर्जन गर्न सकिन्छ कि भन्ने थियो तर नेपाली प्रेसको अवस्था र प्रकाशकको मनोविज्ञान बुझेपछि यसबाट जीवन चल्दैन भन्ने लाग्यो । त्यसैले धेरै समय केवल आत्मसन्तुष्टिका लागि मात्रै भए पनि कार्टुन बनाउँदै रहेँ । मैले पारिश्रमिक पाउने गरेको पचासको दशकपछि मात्रै हो ।

० तपाइँको कार्टुन लेखनलाई डोर्‍याउने मुख्य धरातल चाहिँ कुन हो ?
।। कार्टुनका दर्शक (पाठक) हरूको प्रेम, सद्भाव र प्रेरणाले मलाई सधैँ डोर्‍याइरह्यो । सधैँ उत्प्रेरित गर्‍यो र गरिरहेको छ ।

० आफू कार्टुनकलामै समर्पित भैरहँदाका कुनै अविष्मरणीय घटना छन् भने स्मरण गर्नु न ?
।। २०३६ सालमा जनमत सङ्ग्रहको घोषणा भएपछि बहुदलको प्रचारमा मेरा चारवटा ठूलो आकारका कार्टुनहरू पोखराको मुख्य बजारमा राखिएको थियो । पञ्चायतको पक्षमा निकालिएको जुलुसले उक्त कार्टुनहरू च्यात्न खोज्दा स्थानीय युवाहरूले प्रतिकार गरे । दुई पक्ष बिच ठूलो झडप भयो । नजिकै प्रहरी ठाना थियो । ठानाबाट एक जत्था हतियारधारी प्रहरीले भिडमाथि गोली चलायो । प्रहरीको गोलीले एक जना मानिसको तत्काल मृत्यु भयो । अरू धेरै घाइते भए । घाइतेको चित्कार कोलाहल र भागदौडले वातावरण अत्यन्तै डरलाग्दो बन्यो । मेरो कार्टुनले त्यस किसिमको स्थिति सिर्जना भयो । कार्टुनका कारणले मात्रै त्यो भिडन्त त भएको होइन होला तर कार्टुन भिडन्तका लागि उत्प्रेरक बन्यो । मलाई पश्चात्ताप लाग्छ सम्झदा अहिले पनि ।

० नेपाली कार्टुनकलाको अबको बजार कस्तो देख्नुहुन्छ ?
।। कार्टुन कला प्रेससँग अभिन्न रूपमा जोडिएको हुन्छ । प्रेसको विकास र समृद्धिमा कार्टुन कला विकसित हुँदै जाने हो । नेपालमा विगत दुई दशकदेखि पत्रकारिता व्यवसायिक हुँदै आएको छ र ठूला लगानीकर्ताहरू आकर्षित भएका छन् । छापा माध्यम र अनलाइन पत्रिकाको संख्यामा क्रमशः वृद्धि भइरहेको छ । यी सबै परिदृश्यहरू नियाल्दा नेपाली कार्टुन कलाको बजार विकसित हुँदै जानेछ भन्नेमा म विश्वस्त छु ।

० तपाइँ एकजना कार्टुनिस्टले वासुदेव लुइँटेल पुरस्कार (२०५४) पाउँदा कस्तो अनुभूति भएको थियो ?
नेपाली हास्यव्यङ्ग्य वाङ्मयको उन्नयनका लागि समर्पित संस्था बासुदेव-विद्यादेव गुठीद्वारा स्थापित बासुदेव लुइँटेल पुरस्कार प्राप्त हुनु मेरो लागि गौरवको विषय थियो र म अहिले पनि गौरवान्वित भएको अनुभव गर्दछु । एउटा कार्टुनिष्टले उक्त पुरस्कार पाउनु कार्टुन क्षेत्र नै पुरस्कृत हुनु हो । पुरस्कारले कार्टुनको क्षेत्रमा लाग्ने सबैलाई उत्प्रेरणा मिलेको छ । सबैलाई उत्साहित तुल्याएको छ ।

० तपाइँका कार्टुनहरूको संकलन वा सङ्ग्रह प्रकाशित भएका होलान् बताउनोस् न, कुन कुन हुन् र कहिले प्रकाशित भएका हुन् ?
।। ‘बात्स्यायन एण्ड हिज बार्बस’ (Batsyan and his barbs) मेरो पहिलो प्रकाशित कार्टुन कृति हो । यो सन् २००६ मा फाइन प्रिन्टले प्रकाशित गरेको हो । यसमा सन् १९९० देखिका कार्टुनहरू सङ्गृहीत छन् । अर्को मेरा सामाजिक कार्टुनहरूको सङ्कलन प्रकाशित हुने प्रक्रियामा छ ।

० तपाइँको एकल कार्टुन प्रदर्शनी आयोजना भए जस्तो लागेन । यता नसोचेकै हो र ?
।। मेरो कार्टुनहरूको पहिलो एकल प्रदर्शनी, ग्यालरी नाइनमा सन् २००६ मा काठमाडौँमा सम्पन्न भएको हो । प्रदर्शनी बेलायती राजदूतबाट उद्घाटन भएको थियो । त्यस्तै दोस्रो प्रदर्शनी पोखरेली युवा सांस्कृतिक परिवारको आयोजनामा करिब एक दशक अगाडि पोखरामा आयोजना गरेको थियो ।

० फित्कौली डटकम मार्फत तपाइँका कार्टुनी ‘फलोअर’ लाई के भन्नुहुन्छ ?
कार्टुन कला फलोअरकै शुभेच्छा, शुभकामना र प्रेमले जीवन्त रहन्छ । विगतमा जसरी पाठकहरूको माया र प्रेरणा मलाई मिल्यो त्यो भविष्यसम्म रहिरहोस् भन्न चाहन्छु ।

० फित्कौलीले यो चाहिँ कुरो सोधिदिए हुन्थ्यो भन्ने लागेको कुनै प्रसङ्ग छ कि ?
कुची चलाउने मनुवाले कलम चलाएँ र केही गन्थन लेख्ने प्रयास गरेँ । झिजो नमानी हेरिदिनुहोला । फित्कौलीलाई कुइन्टलका कुइन्टल धन्यवाद ।

०००
प्रस्तुति :  फित्कौलीका लागि पोखरा प्रतिनिधि शेषराज भट्टराई
२०७९।०७।०३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
बाजी

बाजी

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x