साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महाकवि देवकोटाको व्यक्तित्वचर्चा तथा रचनावाचन

नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४औँ जन्मजयन्तीका अवसरमा महाकवि देवकोटाको व्यक्तित्वचर्चा तथा रचनावाचन कार्यक्रम आयोजना गरियो ।

Nepal Telecom ad

काठमाडौँ, २०७९ कात्तिक ४ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४औँ जन्मजयन्तीका अवसरमा महाकवि देवकोटाको व्यक्तित्वचर्चा तथा रचनावाचन कार्यक्रम आयोजना गरियो । प्रज्ञा-प्रतिष्ठानका निमित्त कुलपति डा. जगमान गरुङको अध्यक्षता र निवर्तमान कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्य रहेको कार्यक्रम पहिलो पटक महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय, मैतीदेवीमा आयोजना गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि निवर्तमान कुलपति उप्रेतीले महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय सरकारका तर्फबाट निर्मित साहित्यकारहरूको पहिलो सङ्ग्रहालय भएको बताउनुभयो । उहाँले अनेकन बाधा अड्चनका बाबजुद सङ्ग्रहालय निर्माण गरिएको बताउनुभयो । उहाँले सङ्ग्रहालय निर्माण गरेर महाकवि देवकोटाका सामग्रीहरू सुरक्षित राख्न सकिएकामा खुसी व्यक्त गर्नुभयो । उहाँले आम सर्जक, पाठक र दाताहरूको सहयोगबाट नै सङ्ग्रहालय निर्माण सम्भव भएको उल्लेख गर्नुभयो ।

विशिष्ट अतिथि पूर्व कुलपति बैरागी काइँलाले नेपाली वाङ्मयका क्षेत्रमा महाकवि देवकोटाको विशिष्ट योगदान रहेको उल्लेख गर्दै सङ्ग्रहालयको निर्माणले देवकोटाको योगदानलाई अमर तुल्याएको बताउनुभयो । उहाँले सङ्ग्रहालयलाई सबै कुराले पूणर् गराउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका अध्यक्ष निमित्त कुलपति डा. गुरुङले पहिलो पटक महाकवि देवकोटा सङग्रहालयमा महाकवि देवकोटाको जन्मजयन्ती कार्यक्रम मनाउन पाउँदा गौरव लागेको बताउनुभयो । उहाँले उपस्थित सबै पाहुनाहरूप्रति आभार प्रकट गर्नुभएको थियो ।

निवर्तमान सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय निर्माणका सम्बन्धमा प्रकाश पार्नुभएको थियो । उहाँले राम्रो काम गर्न खोज्दा बाधा गर्ने प्रवृत्ति देखिएको तर यसका बाबजुद निर्माण कार्य सम्पन्न गरिएको बताउनुभयो ।

कार्यक्रमको औचित्यमाथि प्रकाशसहित स्वागत मन्तव्य व्यक्त गर्दै निमित्त सदस्य सचिव प्रा.डा. हेमनाथ पौडेलले गत असोज २४ गते समुद्घाटन गरिएको सङ्ग्रहालयमा पहिलो पल्ट कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले यसअघि कवि, साहित्यकारहरूका जन्मजयन्ती कार्यक्रम प्रज्ञा-प्रतिष्ठानमै गरिँदै आएकामा अब देवकोटाको जन्मजयन्ती भने हरेक वर्ष सङ्ग्रहालयमै मनाइने बताउनुभयो ।
महाकवि देवकोटा सङ्ग्र्रहालय नेपाली सर्जकका लागि तीर्थस्थल भएको चर्चा गर्दै प्रा.डा. उषा ठाकुरले पन्त, प्रसाद, निराला र देवकोटाबिचको अन्तरसम्बन्धबारे चर्चा गर्नुभएको थियो ।

यसैगरी डा. देवी नेपालले देवकोटाले ‘कविताकाव्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको बहुआयमिक व्यक्तित्वको प्रतिबिम्बन’ विषयमा बोल्दै युगवाणीको सम्पादन गर्दा होस् या नेपाली साहित्य परिषद्का सभापति भएर काम गर्दा होस् उहाँले नेपाली साहित्यमा विशेष योगदान दिएको बताउनुभयो । उहाँले नेपाल प्रज्ञा-प्रतिष्ठानको परिकाल्पना गर्ने व्यक्तित्व नै महाकवि देवकोटा भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा ३० नं. वडाका अध्यक्ष दलबहादुर कार्की, महाकवि देकोटाकी सुपुत्री अम्बिकादेवी देवकोटा रिमाल, गोविन्द गिरी प्रेरणाले महाकवि देवकोटा र देवकोटा सङ्ग्रहालयका विभिन्न पक्षमाथि बोल्नुभएको थियो । कार्यक्रममा रामेश्वर राउत मातृदास, रेजिना आपगाई, बलराम दाहाल, देवु लुइटेल र मञ्जिला अनिलले देवकोटाका रचना वाचन गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण प्राज्ञ सभा सदस्य शशी लुमुम्बूले गर्नुभएको थियो ।

०००
तस्बिरः सीताराम राई

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x