सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

खुसी

खुसी र बेखुसी सिक्काका दुई पाटा जस्तै हुन् । एउटै वस्तुमा खुसी बेखुसी दुबै विद्यमान हुन्छ । सत्ताको कुर्सीलाई हेर्ने हो भने स्पष्टसँग देख्न सकिन्छ ।

Nepal Telecom ad

खुसीको क्षेत्रफल मापन गर्न सकिँदैन । आयतनको हिसाबले केही खुसी ठूला र केही खुसी झिनामसिना पनि हुँदैनन् । कुनै एउटा विषयले कतै मनभित्र काउकुती लगाइदिन मात्र सक्यो भने पनि, खुसीका कोपिलाहरू फक्रने कोशिस गर्छन् । जब खुसी फक्रन्छ, त्यसबाट गजबको सुगन्ध निस्कन थाल्छ । बोट बिरुवा र फूलहरूले छरेको जस्तै सुगन्ध ।

धर्तीमा अनेकथरी बास्ना दिने वस्तुहरू हुन्छन् । तर उस्तै बास्ना सबैलाई मनपर्छ भन्ने पनि छैन । हरियो धनियाँको गन्ध कसैलाई मनपर्छ भने कसैले उँडुसको जस्तै गन्ध भन्दै नाक खुम्च्याउन सक्छन् । वास्तविकता चाहिँ के हो भने पृथ्वीमा पाइने सबै बास्नादार वस्तुहरू कुनै न कुनै रूपमा औषधियुक्त गुणले भरिपूणर् हुन्छन् । मुल कुरा भनेको यिनको प्रयोग कसरी गर्नुपर्छ त्यो भने जान्नै पर्ने हुन्छ । खुसी भनेको पनि करिब त्यस्तै हो, औषधियुक्त गुणले भरिपूणर् । एउटै बिषयले कसैलाई अपार खुसी दिन्छ भने अर्कालाई भयङ्कर पीडा दिन सक्छ । त्रेतायुगमा लङ्कामा भएको राम रावण बिचको भिषण युद्ध बेग्लाबेग्लै युद्ध थिएन तर त्यही युद्धले एक पक्षलाई खुसी दियो भने अर्को पक्ष बेखुसी मात्र होइन तहसनहस नै हुनु पर्यो । खुसी र बेखुसी सिक्काका दुई पाटा जस्तै हुन् । एउटै वस्तुमा खुसी बेखुसी दुबै विद्यमान हुन्छ । सत्ताको कुर्सीलाई हेर्ने हो भने स्पष्टसँग देख्न सकिन्छ । सत्ता पक्षले त्यहाँ अपार खुसी देख्छ भने प्रतिपक्षमा बस्नेले त्यहाँ खुसी बिलकुलै देख्न सक्दैन । जब उनीहरूको नजरमा त्यो कुर्सी देखिन्छ, तिनका मनभित्र गम्भीर प्रकृतिको पीडा र इष्र्याले चिमोटेको महशुस हुन्छ ।

जसले खुसीको महत्व राम्रोसँग बुझेको हुन्छ, उसलाई खुसीको क्षेत्रफलसँग कुनै पनि अर्थमा सरोकार हुँदैन । न उसले खुसीको आयतन नाप्ने कोशिस गर्छ न त खुसीको आकार बारे अनुमान । उसले त खुसीको सुगन्ध लिन्छ, त्यसको सदुपयोग गर्छ ।

खुसी र धानबाली करिब उस्तै उस्तै हुन् । मल, जल, रोग, किराको उचित व्यवस्थापन र राम्रो स्याहार सम्भार हुने हो भने धान बाली लहलह हुन्छ र अनुमान गरिएको भन्दा बढी उत्पादन हुन्छ । त्यसैगरी खुसीको पैदावार भित्र्याउन पनि त्यतिनै स्याहार गर्नु पर्छ । तर यो कार्य सजिलो भने छैन । कहिलेकाहीँ उचित व्यवस्थापन र स्याहारले मात्र पनि पुग्दैन । धान बालीमा जस्तै खुसीको बोटमा पनि मुसा र किरा फट्याङ्ग्रा एवं दैवीप्रकोप लाग्न सक्छ । यस्ता प्रकोपलाई न नियन्त्रण गर्न सकिन्छ न मानवीय उपचारले रोकथाम नै हुन्छ ।

तसर्थ खुसीको बिरुवालाई जतनसाथ हुर्काउनु पर्छ, स्याहार संभार पनि उत्तिकै गर्नुपर्छ । कहिलेकाँही भण्डारण गर्न ठिक्क पारेको खुसी हावाले उडाएर लैजान सक्छ । अग्निको प्रचण्ड ज्वालाले एकैपटक खरानी बनाइ दिन्छ । अचानक प्राप्त भएको कुनै पनि खुसीलाई महत्व दिन भने जान्नुपर्छ । यो भन्दा पनि उन्नत खुसी पाइएला भनेर हात लागेको खुसीलाई त्यत्तिकै उम्किन पनि दिनुहुन्न ।

क्षेत्रफल मात्र होइन खुसीको निश्चित तौल पनि हुँदैन । खुसी जोख्ने गरेको मैले आजसम्म देखेको छैन । हाम्रो पुस्ताले खुसी जोख्ने उपकरण प्रयोग गर्न पाउने छ भन्ने पनि लाग्दैन । कुनै खुसी निकै गह्रुङ्गो भयो भने मान्छेले लिएर हिंड्न पनि सक्दैन । बरु हलुको खुसी भने पैसा राख्ने गोजीमा राखेर हिंड्न सक्थ्यो होला । त्यसैले ईश्वरले दिने खुसी न जतनसाथ राख्न सकिन्छ न सँगै बोकेर हिंड्न मिल्छ । यो त भुँइचालो आएजस्तो एक्कासी आउँछ, एकैछिन काउकुती लगाइ दिन्छ र तुरुन्त जान्छ पनि ।

ज्वरोमा प्रयोग गर्ने सिटामोलको जस्तै खुसीको तोकिएको उपभोग्य मिति पनि हुँदैन । तोकिएको दिनसम्म प्रयोग गर्न मिल्ने अन्यथा भोलि पल्टदेखि फालि हाल्नु पर्ने ।

खुसीको परिमाण र तौल यथार्थ रुपमा थाहा नभए पनि यसको वर्गीकरण भने गर्ने गरिएको पाइन्छ । पहिलो श्रेणीमा आफ्नो खुसी, दोस्रो श्रेणीमा दाजुभाइ, बन्धुबान्धव र आफन्तको खुसी, तेस्रो श्रेणीमा, पराइको खुसी । पहिलो श्रेणीको खुसीले मान्छेहरूलाई करिब पागल जस्तै बनाई दिन्छ । ऊ यति खुसी हुन्छ कि, उसलाई लाग्छ संसारका कुनै पनि मान्छे दुःखी छैनन् । उसलाई लाग्छ, यस बेला ऊ मात्र होइन सबै मान्छेहरू खुसी भइ दिनु पर्छ, रमाउनु पर्छ । दोश्रो श्रेणीको खुसीमा उ मनभित्र दुःखी भएर पनि बाहिर भने खुसी भएको नाटक गरिरहेको हुन्छ । उसको हाउभाउ देख्दा लाग्छ, ऊ खुसी प्रस्तुत गर्न निकै मेहनत गरिरहेको छ । झलक्क हेर्दा, ऊ बलजफती खुसी हुँदैछ । तेश्रो श्रेणीको खुसीमा उसको मन र मुख बादलले ढाकेको ओसिलो पहाड जस्तो देखिन्छ । तर आवाजमा भने खुसी प्रस्तुत गरिए झैं लाग्छ । यसरी मन, मुख र आवाज, सँगै खुसी हुन नसक्ने भएकाले तिनै थरीको तालमेल नमिलेका कारण कता कता रोएको जस्तो, पिरोलिरहेको जस्तो र ईर्ष्या पोखिरहेको जस्तै लाग्नु स्वाभाविक हो ।

खुसी आउँदैेछ भनेर अग्रिम सूचना दिने प्रणालीको विकास पनि भइसकेको छैन । झन खुसी लुटिने र खोसिने प्रविधि सजिलै किन उपलब्ध हुन्थ्यो ? कसै-कसैले सपनाले सङ्केत दिन्छ भन्ने सुनिएको छ । तर यसलाई पनि पूर्ण रूपले स्विकार्न भने सकिंदैन । किन कि यस्ता बहुला सपना मैले पटक पटक देखेको छु । खै मलाई लाग्दैन सपनाले सङ्केत दिन्छ ।

खुसीका अनेकौं कारण हुन्छन् । खुसी एउटा चकलेटमा पाइन्छ, परीक्षाको नतिजामा पाइन्छ, दशैंको टीका, जमरा र दक्षिणामा पााइन्छ, पद प्रतिष्ठा र कुर्सीमा पाइन्छ । दुस्मनको तेजोवधमा पनि खुसी पाइन्छ । कसैको चुनावी हारमा खुसी लुकेको हुन्छ भने कसैको जीतमा । अरु त अरु मान्छेलाई तेजाबको पोखरीमा घचेट्दा पनि मोग्याम्बो खुसी भएको त धेरैलाई थाहा छ । खुसी कहिले झिसमिसेमा आइपुग्छ । साँझ, बिहान, दिउँसो, राती जतिखेर पनि टुप्लुक्क देखापर्ने खुसीको आउने जाने निश्चित समय पनि हुँदैन । त्यसैले खुसी र ईश्वर उस्तै हुन्छन्, सर्वव्यापी । मलाई लाग्छ फेलापरेको खुसी तुरुन्त टिपेर लिन सक्नुपर्छ । के थाहा पुनः अर्को खुसी पाइन्छ या पाइँदैन !

०००
चितवन

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आँखाले नदेखे पो मुटुले सहन्छ !

आँखाले नदेखे पो मुटुले...

चिरञ्जीवी दाहाल
शुभकामना भनिदिएँ

शुभकामना भनिदिएँ

चिरञ्जीवी दाहाल
हाँसो र यसका प्रकारहरू

हाँसो र यसका प्रकारहरू

चिरञ्जीवी दाहाल
सालो लिएर जाऔँ

सालो लिएर जाऔँ

चिरञ्जीवी दाहाल
क्लिप्टोमेनिया

क्लिप्टोमेनिया

चिरञ्जीवी दाहाल
रेलयात्रा

रेलयात्रा

शरद जाेशी
पैसा ! पैसैपैसा !!

पैसा ! पैसैपैसा !!

डा. सुकराज राई
गाँस

गाँस

ढाकामाेहन बराल
भोक माफिया

भोक माफिया

डा. विदुर चालिसे
परनिर्भरता

परनिर्भरता

सृजन लम्साल
छेपारोको रङ्ग

छेपारोको रङ्ग

रामप्रसाद पन्थी