चिरञ्जीवी दाहालक्लिप्टोमेनिया
प्रेममा सफल हुने अधिकांश जोडीहरूमा युवावस्थादेखि क्लिप्टोमेनियाको लक्षण देखिन शुरु गर्छ । किनभने उनीहरूमा मान्छे भगाएको प्रत्यक्ष अनुभव हुन्छ । त्यसैले भगाउने, उडाउने, जिप्ट्याउने र टप्काउने कुरामा यिनीहरू माहिर मानिन्छन् ।

चिरञ्जीवी दाहाल :
“उहिले मधेशतिर झर्यो भने औलो रोगले समाइहाल्ने भएकोले पहाडतिरका मान्छेहरू हत्तपत्त तराई मधेश झर्न डराउँथे । कतिसम्म भनिन्थ्यो भने पहाडको डाँडामा उभिएर “उ… त्यै हो मधेश” भन्दै चोर औँलाले मधेशतिर देखायो भनेपनि चोर औँलामा औलो लागेर चोर औलो फ्यात्तै भुइँमा झर्छ भन्ने विश्वास थियो ।”
९६ वर्षिय पल्लाघरे हजुरबाले यसो भनिरहँदा नपत्याउँ पनि कसरी ! बुढाले नचाहिने कुरा गरेको कहिले पनि सुनिएन । अहिले डाँडामाथिको शितल घाम भइसकेका हजुरबाले गफै लगाए होलान त कसरी भन्नु ! त्यसैले मैले हजुरबाले भनेको मधेशको कहानी शङ्का नगरिकन पत्याइदिएँ । तराइ मधेशमा बसाइँ सर्न थालेको त विश्व स्वास्थ संगठनले २४/२५ सालतिर औलो उन्मुलन कार्यक्रम संचालन गरेपछि मात्रै हो रे । पछि औलो उन्मुलन भएपछि त मान्छेहरू भकाभक मधेश झर्न थाले । हजुरबाले निकै हौसिएर पुराना कुरा बयान गरिरहे, मैले सुनिरहेँ ।
“यस्तो महामारी हरेक पचास साठी वर्षमा आउँछ । विज्ञानले र पूर्वीय दर्शनले स्वीकार गरिसकेका छन् । त्यसबेला मधेशमा औलोले सताए जस्तै अचेल काठमाडौंतिर उ बेलाको तराईको औलो भन्दा पनि खतरनाक रोगको महामारी फैलिएको छ राजनीतिक क्लिप्टोमेनिया नामको सरुवा रोग । यो रोग अहिले तीव्रगतिमा फैलिइरहेको छ । यो रोग काठमाडौंको मध्यभागमा रहेको सिंह दरबारबाट फैलिएको विश्वास गरिन्छ ।
यो रोगले समातेपछि बिरामीलाई चाहिने र नचाहिने धनसम्पत्ति जोड्ने इच्छा हुन्छ । घरमा पुग्दो हुँदाहुँदै पनि, आँखाले देख्यो कि पोको पारेर लैजान मन लाग्छ । प्रायः ठूलाठूला महलहरूबाट सुरु भएको यो रोगले महामारीको रूप लिएको तिमीलाई पनि थाहा होला नि बाबु ! जब रोग फैलँदै जान्छ, यस प्रकारका घटनाहरू वृद्धि हुँदै जाने गर्छ, किनभने यो सरुवा रोग हो । राजनीतिक क्लिप्टोमेनिया रोगको मुख्य लक्षण नै यही हो , जे देखे पनि आफ्नै बनाउन मन लाग्ने । छाना छाउने जस्तापाता, त्रिपाल , सिमेन्ट , रड, सुन,चाँदी, हवाईजहाज, सरकारी जग्गा, डिजेल, पेट्रोल ,नदीनाला र अघि जे वस्तु फेला पर्छ उठाइ हाल्न मन लाग्छ । यो रोगको सबैभन्दा अनौठो लक्षण के हो भने पिता रोगले ग्रस्त हुन्छ तर लक्षण भने सन्तानहरूमा देखिने गरेको छ । विभिन्न अनुसन्धानहरूले यसको पुष्टि गरेको भन्ने सुनिन्छ ।
“खतरनाक रोग रहेछ हजुरबा । यसको विषयमा बिस्तारमा बयान गर्नुस् न ! यस्तो रोग त अचेल पनि व्यापक छ ! तर तपाईंलाई यस रोगको बारे कसरी थाहा भो ?” मैले भने ।
हजुरबा भनिरहेका थिए- मलाई मात्र होइन अहिले यस रोगको बारेमा सारा दुनियाँलाई थाहा छ । म धेरै वर्ष त्यही क्षेत्रमा काम गरिसकेको व्यक्ति हुँ बाबु ! मलाई यसबारे थाहा नहुने कुरै भएन । जब यो रोगले ग्रस्त बनाउँछ, आवश्यक वस्तु जोडन सक्ने सम्भावना हुँदाहुँदै र खरिद गर्ने हैसियत भएपनि व्यक्तिमा मनभित्र यस्ता वस्तु हात लगाउने इच्छा प्रवल रुपमा उत्पन्न हुन्छ । यो रोगमा, कुनै योजना वा कार्यक्रम बिना र कसैको सहयोग वा सहयोग बिना पनि मान्छेले वस्तुहरू उठाउने गर्छन् । यसबाहेक, यो रोग भएका व्यक्तिहरूमा आफूले जिप्ट्याएका वस्तुहरू लुकाउने र हुँदै होइन भनेर जिद्दी गर्ने अद्भुत क्षमता हुन्छ । यो रोग भएका व्यक्तिहरूलाई आफ्नो पद, इज्जत जाला भन्ने डर पटक्कै हुँदैन । त्यो समयमा यिनले त्यतातिर ध्यान नै पुर्याउन सक्दैनन् । बरू यसबेला आफूलाई कसले के लछारपाटो लगाउन सक्छ र, भन्ने भावनाको विकास हुन्छ । यस बेला यिनले आफ्नो, पराइ, साथी वा नजिकको नातेदार पनि भन्दैनन् । वस् एकछत्र रुपमा मनमा देखेको र मनले खाएको वस्तु उँडाउने इच्छा मात्र भइरहन्छ ।
“राजनीतिक क्लिप्टोमेनिया रोग नै हो भनेर कसरी थाहा पाइन्छ हजुरबा ?” मैले प्रश्न गरेँ । यस्तो रोगीले लामोहात गर्ने बेला मनमा आनन्द अनुभव गर्छन् । मन प्रसन्न बनाउँछन् जसलाई बाहिरबाट हेर्दा समेत स्पष्ट देखिन्छ, तिनको अनुहार पढ्न सकिन्छ । यिनले अन्य मान्छेहरू भन्दा आफू निकै शक्तिशाली भएको भ्रम पालेका हुन्छन् । रोगले गर्दा यिनीहरूले सबै मान्छेले आफूलाई मान सम्मान गरुन् भन्ने चाहना राख्छन् । यिनीहरू छोइ नसक्नु हुन्छन् । अन्य मान्छेको अस्तित्व स्वीकार्न समेत यिनलाई गाह्रो लाग्छ ।
उनीहरूलाई आफूलाई चाहिने वस्तुहरू हातपार्न अत्यधिक मनलाग्छ भने उनीहरू आफूलाई आवश्यक नभएको वस्तुपनि उठाउँछन् र उठाउने मौका हेरिन्छन् । मौका मिल्नासाथ उठाइहाल्छन् । यिनलाई क्लिप्टोमेनियाको रोगी भनेको यिनीहरू सुन्न पनि चाहँदैनन् । कसैले एउटालाई रोगी भन्यो भने यिनका समूहका सदस्यहरू एक मुख गरेर जाइलाग्ने गर्छन् । प्रायः यस्ता रोगीहरू समुहमा रहन रुचाउँछन् ।
जब यिनले भन्नासाथ हात पार्ने मौका पाउँदैनन्, उनीहरूलाई छटपटी हुन्छ, औडाहा हुन्छ । तिनीहरू निकै चिन्तित देखिन्छ । कथंकदाचित यस्ता व्यक्तिहरू संयोगले समातिए, पक्डिए भने यस्ता व्यक्तिहरू जेलमा पस्नासाथ ठूलो साहित्यकार बनेर निस्कन सक्छन् । यिनले जेलभित्र कथा, कविता, उपन्यास र आत्मकथा लेख्ने गर्छन् । आफू दुधले नुहाएको फेहरिस्त प्रस्तुत गर्छन् ।
“क्लिप्टोमेनिया रोगलाग्न कुन कुराले प्रभाव पारेको हुन्छ हजुर बा ?” हजुरबाले पुनः आफ्नो भनाई जारी राखे । –
सामाजिक आर्थिक स्तर :- प्रायः हात्ती छाप चप्पलमा भित्र पस्ने अनि हात्ती बनेर बाहिर निस्किने रहर बोकेकाहरूमा क्लिप्टोमेनिया रोग लाग्ने उच्च सम्भावना हुन्छ । यसरी हात्ती छाप चप्पलमा छिरेर हात्ती बनेर निस्किएका अनगिन्ती उदाहरणहरू पनि नभएका होइनन् ।
मानसिक गरिबी :- प्रायः कमाउन नसकिएको गुनासो गर्ने, अर्काले प्रसस्त कमाएको देख्ने र आफू पुनः त्यही पदमा फर्कन सक्ने विश्वास नभएका मानसिक गरिबहरूमा यो रोगले छिट्टै आक्रमण गर्ने गरेको छ ।
अन्यको नक्कल :- फलानोले भव्य महल बनायो, गाडी खरिद गर्यो, सात पुस्तालाई बन्दोबस्त गर्यो मैले किन नगर्ने भन्ने विचार मनमा आउँदा क्लिप्टोमेनिया भएको बिरामीले पनि पुरानो बिरामीको नक्कल गर्न थाल्छ ।
कमजोर मानसिकता :- यो रोग लागेको व्यक्तिको मानसिकता निकै कमजोर हुने भएकोले उनीहरूले देखेका सबै वस्तुहरू आफ्नै निजी बनाउन पाए जाति हुन्थ्यो भन्ने सोच राखेका हुन्छन् । यस्तो अवस्थामा यस्ता व्यक्तिले आत्म नियन्त्रण गर्न सक्दैनन् । त्यसको परिणाम उनीहरू यस्तो कार्यमा संलग्न हुन्छन् ।
क्लिप्टोमेनिया रोग लाग्नुमा केही शारीरिक र मानसिक कारणहरू पनि जिम्मेवार छन् । मानसिक विकार भएका व्यक्तिहरूमा प्रायः क्लेप्टोमेनिया रोग देखिने गरेको छ । दिमागले राम्रोसँग काम नगरेको अवस्थामा व्यक्तिलाई यो रोगलाग्ने गरेको बुझिन्छ । यही कारण महत्वपूर्ण र जिम्मेवार पदमा पुगेका व्यक्तिहरू पनि बेलाबखत चुक्ने गरेका हुन् । उनीहरूलाई आफू कस्तो ठाउँमा छु भन्ने हेक्का हुँदैन ।
बाल्यकालमा विद्यालय जान मन नलाग्ने, पढ्न मन नलाग्ने, पढाएको नबुझ्ने र प्रायः अन्तिम बेञ्चमा बस्नेहरूलाई क्लिप्टोमेनियाले सताउने गरेको छ । यस प्रकारका लास्ट बेन्चरहरू भविष्यमा राजनेता बन्ने कुरा त जगजाहेर छँदैछ । जब यी नेता बन्छन् यिनमा राजनीतिक क्लिप्टोमेनियाको लक्षण देखिन सुरु भइहाल्छ ।
युवावस्थामा प्रेम नगर्नेहरू, प्रेम गरेर असफल हुनेहरूलाई क्लिप्टोमेनिया रोग लाग्ने सम्भावना फिटिक्कै देखिँदैन । प्रेममा सफल हुने अधिकांश जोडीहरूमा युवावस्थादेखि क्लिप्टोमेनियाको लक्षण देखिन शुरु गर्छ । किनभने उनीहरूमा मान्छे भगाएको प्रत्यक्ष अनुभव हुन्छ । त्यसैले भगाउने, उडाउने, जिप्ट्याउने र टप्काउने कुरामा यिनीहरू माहिर मानिन्छन् ।
“हजुरबा, औलो उन्मुलन भए जस्तै यो क्लिप्टोमेनिया किन उन्मुलन नभएको होला ? यो रोग आजभोलि चरम उत्कर्षमा पुगेको छ भन्छन् ! जता हेर्यो त्यतै क्लिप्टोमेनियाले ग्रसित देखिन्छन् ।” मैले हजुरबासँग थप जिज्ञासा राख्दै भनेँ ।
“हो ठिक प्रश्न गर्यौ ।” हजुरबाले भने – “औलो उन्मुलन गरे जस्तै विश्व स्वास्थ संगठनले यो क्लिप्टोमेनिया महामारीको उन्मुलन गर्ने प्रयास नै गरेन भन्ने चाहिँ होइन । अनेक प्रयास गर्दा पनि यो नियन्त्रण हुन नसकेको हो । शुरुमा यो रोग काठमाडौंको सिंहदरबारमा मात्र सिमित थियो, त्यतिबेला उन्मुलन हुने बलियो सम्भावना थियो । दूर्भाग्यवश अहिले यो गाउँको सिंहदरबारतिर पनि महामारीको रूपमा फैलिसकेको छ । अब यो रोग नियन्त्रणमा आउने सम्भावना निकै कम छ । यदि नियन्त्रण नभए यो रावणको मुलुक बन्ने सम्भावना देखेको छु बाबु ! यति भनिसकेपछि हजुरबा बुढाले लामो सास फेरे । जब यसबारेमा थप प्रष्ट भयो, मलाई पनि चिन्ता लाग्न थाल्यो ।
०००
चितवन
Subscribe
Login
0 Comments
Oldest






































