सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सासूबुहारी महात्म्य

मेरो पालो कहिलेकाहीँ त रिसले बाथरुममा छिरेर धारो त्यसै खोलेर छोडिदिन्छु र नुहाए जस्तो गरेर निस्कन्छु, लु खाउ चोखो भन्दै । आ... वाक्क लाग्छ सुड्डी बूढीदेखि !!

Nepal Telecom ad

सासू- १
मेरो छोरालाई कस्ती न बुहारी ल्याउँला भनेकी थिएँ भरेभने कहिँनभएकी उरन्ठेउली, आँखा गाडिएकी भुँडी ढाडिएकी परिछ । केहि न कामकी परिछ । फेरि भन्नुहुन्छ भने मुख छ छुरा जस्तो, होइन कस्ताकी छोरी परिछ ! दिक्क लाग्छ । जे भए पनि बुहारी भन्नै परेको छ । एक्लो छोरो, पछि मर्ने बेलामा पानी पनि नदेलान् भन्ने डर त्यहि भएर म त केही बोल्दिन बहिनी !

सासू- २
तपाईं त्यसो भन्नु हुन्छ दिदी, मेरी बुहारी भने अल्छी, अल्छी, अल्छी, महाकी अल्छी छ ! बिहान आठ बजेसम्म सुत्छे । रिसउठ्यो भने डाङडाङ र डुङ्डुङ गर्दै भाँडा ठटाउँछे । सहनशीलता भन्ने शब्द त सायद उसले सुनेकी पनि छैन होला ! दिदी, छोरालाई त झन् खाउला झै गर्छे । कति न शहरीया भएकी छोटो लुगामा हल्लिरहन्छे । भो बा अचेलका बुहारीका कुरा नगरौँ बा सकिन्न । मैले एक शब्द बोल्दा उसले कति हो कति बोल्छे ।

सासू- ३
अँहै दिदी, यी बुहारीहरूको पनि कति कुरा गर्नु । मेरी नि त्यस्तै छ । महाकी चोथाले, काम गर्ने एउटा ढंग छैन । जतिबेलै छोरालाई हप्काइरहन्छे । उसका माइती पटिका आफन्त आए भने अलिअलिको ताम्झाम हुँदैन । मेरा आफन्त आए भने चियासम्म पकाएर दिन्न । कोठामा घोत्लिएर बसिरहन्छे । हामीसँग रिस उठ्यो भने नानीहरू कुटेर दोहोलो काड्छे । महाकी दुर्मुखा छे, के गर्नु बोलीसाध्य छैन, के गर्नु जे जस्तो भए पनि भोग्नै परेको छ । बिहे गरेको एक महिनादेखि छोरालाई छुट्यौँ भनेकी रे ! जतिबेला नि मुसाको लिँड ढाडिए झैं ढाडिइरहन्छे । के गर्नु बहिनी सबैको आफू अनुसारको व्यथा छ । मनको बह कसैलाई नकह !

बुहारी- १
लु, केटी मेरी सासूको त कुरै नगर वाक्क लाग्छ वाक्क ! त्यो घरमा आउने, बिजुलीको बिल काट्न आउने, पानीको बिल काट्न आउने, बाटो हिंड्ने सबैलाई घस्याउनुपर्छ । आफू भने गलेर एकैछिन् बसौं भन्यो भित्रबाट दुलही पकाउन कता छ्यौ भन्ने आइहाल्छ । कत्ति न दानी हुनुपर्ने ! पकाउनु नि आफैं । फेरि भन्छेस् भने नक्कल झक्कल भन्ने अलिअलि छैन । हातखुट्टामा नेलपोलिस छुटाउने होइन । पुरा फुल मेकपमा ठाँटिएर बस्छिन् । अचम्म लाग्छ हौ मलाई त !!

बुहारी- २
हे, तेरो त ठिकै रहेछ त आफू बन्नु त राम्रै कुरा हो नि ! मेरी सासूको कुरा सुनिस् भने तलाई सुन्दासुन्दै पखाला लाग्छ । मेरी सासूको त सुगर रे पे्रशर रे, दम रे, घरि चिसो, घरि तातो, घरि लसुन बार, घरि प्याज बार, घरि तेल बार, घरि गिलो घरि सारो वाक्क वाक्क लाग्छ । न कहिल्यै मिठो खान पाइन्छ । सासू स्याहार्दा स्याहार्दै जिन्दगी जान्छ कि क्या हो यार । जहिल्यैको हँ हँ र हुँ हुँ ! फेरि बिरामी भए पनि नरम होलिन् भन्नु पर्दैन । उनको हैकम चल्छ । कत्ति न चोखिनीति हुन्छिन् ।

पुस माघको जाडोमा पनि ननुहाइ भात पकाउनु हुँदैन । मेरो पालो कहिलेकाहीँ त रिसले बाथरुममा छिरेर धारो त्यसै खोलेर छोडिदिन्छु र नुहाए जस्तो गरेर निस्कन्छु, लु खाउ चोखो भन्दै । आ… वाक्क लाग्छ सुड्डी बूढीदेखि !!

बुहारी- ३
मेरी सासू भन्छौ भने आगो खाएर अँगार ओकल्ने खाल्की छिन् । यो संसारमा म जति जान्ने र सुन्ने कोही छैन जस्तो गर्छिन् । उनले जतिको कसैले गर्दिन भन्छिन् । फेरि भन्छेस् भने गाउँभरिको कुरा काट्ने ठेक्का मेरै सासूले लेको छ । कुरा काट्ने प्रतियोगिता हुने हो भने मेरी सासू प्रथम हुन्छिन् यार । त्यस्ती छिन् मेरी सासू बुझ्यौ !!

बुहारी- ४
तिमीहरू सबैले भनेको भन्दा मेरी सासू अलि पृथक हुनुहुन्छ यार । तिमीहरूलाई याद छ नि मेरो त जन्मदिने आमा हुनुहुन्न ! आमाको ममता कस्तो हुन्छ थाहा छैन । मेरो सासूआमाले त बिरामी हुँदा औधी ख्याल गर्नुहुन्छ । छोराले कहिलेकाहीँ गाली गर्दा पनि मेरै पक्षमा बोल्नुहुन्छ । आमा कतै बाहिर जाँदा पनि मलाई त घर सारै सुन्ने लाग्छ । हुन त मेरो आमा पनि रोगी त रोगी नै हुनुहुन्छ । तर यो नखावो त्यो खाओ भन्नुहुन्न । तिमीहरूको खाने खेल्ने उमेर छ, रमाउने बेला छ, रोग लागेपछि के गर्छौ भन्नुहुन्छ । सबैप्रति समभाव छ । ममताको त सागरै हुनुहुन्छ । आफू भलो त जगत भलो भने झै हामीले पनि सासू आमालाई आमाकै नजरले हेर्न सक्यौं र सासूआमाहरूले पनि हामीलाई छोरीकै नजरले हेरिदिनु भयो भने त सासूबुहारीको नाता पनि संसारकै एक उत्कृष्ट नाता सम्बन्ध बन्न सक्छ यार !!!!

०००
सुन्दरहरैंचा- ९, मोरङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
छोरो विदेश गयो

छोरो विदेश गयो

भूमिका खनाल
म र रक्सी

म र रक्सी

भूमिका खनाल
तीन ठोक्तक

तीन ठोक्तक

भूमिका खनाल