नरनाथ लुइँटेलखोपडीभित्र सल्किएको लुतो
चारचार वर्षमा अरबौंको बजेट स्वाहा पार्दै निर्वाचन नामको लुतो छर्ने परियोजना सम्पन्न हुन्छ । गिदीभरि लुतोको रास बोकेर लुत्याहा ल्वाँठहरू क्याँटका क्याँट लिई मैदानमा उत्रन्छन् ।

पहिले पहिले भएनभएको फत्तुर लगाएर जे पायो त्यही बोली हिँड्नेलाई साह्रै नराम्रोसँग गाली गर्नु पर्यो भने ‘तेरा मुखमा किरै परोस् !’ भनिथ्यो । यो लखरठ्याकलाई ककसले के के भनेर गाली गर्दै होलान् राम्रोसँग भेउ पाइरहेको छैन । जमाना अर्कै बनेको छ । गालीका पारा र फाँकी पनि फेरिँदै गएका छन् । ‘डिजिटल’ जमानामा गरिने गालीको भेउ पाउन पनि अब आफूलाई ‘डिजिटलाइज्ड’ नगरी सुखै छैन । त्यतैतिर यसो घुस्रिएर आफूमाथि गरिएका गालीहरू खोज्दै थिएँ, मस्तिष्क पो नजातीसँग चिल्चिलाउन थाल्यो ।
हन यो गिदीमा के पसेछ, न कन्याउन मिल्छ न कोट्याउन ! गिदीभित्र कतै लिदी छिर्यो कि आफैलाई शङ्का लाग्न थाल्यो । ‘शकाले त लङ्का खान्छ’ भन्छन् । बिचरा लङ्का नामको आधुनिक श्रीलङ्कामा फैलिएको अमेरिकन लुतोले जे गरिरहेको छ, कतै मेरो खोपडीभित्र पनि त्यस्तै केही सल्किएको पो छ कि ! लङ्काको यो कुरोले मेरो शङ्का झन मौलायो । यता गिदी चिलाउने उपक्रम तीन गुणा बढ्दै गयो ।
चिलाएर चरिफाल भएपछि मेरो पालो सिङ्गै टाउकोलाई ‘स्क्यानर’ मा छिराएँ र दनादन फोटोस्क्यानको बटन दबाएँ । वाइफाइबाट स्वचालित मेरो मोबाइलमा द्रूत गतिले भिन्न एङ्गलका चार पाँचवटा तस्विर देखिए । तब न ‘डिजिटल’ दुनियाँ ! ती तस्विरहरू फटाफट गुगलमा स्युरेर केही प्रश्नहरू पनि ‘एट्याच’ गरिदिएँ । जे खोजे पनि र जे सोधे पनि तत्काल जवाफ पाइने आजको गुगल नेपाली लोककथामा पाइने ‘पाकताउली’ नै हो । आफूलाई खान मन लागेको कुरा लौ त पाकताउली भन्ने बित्तिकै त्यो ‘पाकताउली’ मा पाकिसकेको हुन्छ । यो ‘गुगल’ आजको दुनियाँको ‘पाकताउली’ नभएर के हुन्थ्यो त !
मैले पठाएका तस्विरहरूको अध्ययन अनुसन्धान सकेर गुगलले मलाई केही निमेषमै आश्चर्यजनक जवाफ दियो । मेरो गिदीमा त लुतो पो सल्किएको रहेछ । यहाँहरूलाई लाग्ला लुतो त औँलाका कापहरूतिर, शरीरको बाहिरी भाग मासुको आवरण छालातिर लाग्ने एकप्रकारको सरूवा रोग हैन र ? यो लठुवाका गिदीतिर कसरी पस्यो होला त ? हो, कुरो ठीकै लागेको हो । तर लुतोले पनि रुप बदल्दै छ भन्ने कुराको हेक्का अब सबैलाई हुनुपर्छ ।
आजको डिजिटल दुनियामा आखिर लुतो पनि डिजिटल हुँदै गिदीसम्म पुग्न थालेको यथार्थ ग्रहण गर्न नसक्ने स्वाँठहरूलाई म के नै पो भन्न सक्छु र ! जे होस् गुगलका अनुसार लुतो मेरो गिदीमा प्रवेश गरिसकेको छ र बेपवार्हसँग चिलाउँदै छ, फैलिँदै छ । जति चिलाए पनि कन्याउन सक्ने अवस्थामा म छैन । कानमा कानेगुजी भरिएर चिलाउँदा कन्याउने कन्कर्नु जस्तै कुनै औजार निर्माण होला अनि गुगलले नै त्यसको जानकारी देला । उपचारको कुरो त परै छ, तर लुतो जो अहिले मेरो मस्तिष्कमा चिलाइरहेको छ, यसलाई कन्याउन नपाएर म आजित भएको छु ।
मेरो मस्तिष्क अर्थात गिदीमा लुतोको सङ्क्रमणपछि मेरा सारा अङ्गप्रत्यङ्गमा त्यसको दुस्प्रभाव सञ्चारित भइरहेको छ । अनौठो कुरा त के हुन थाल्यो भने म मेरा आँखाले जुनसुकै कुरामा पनि लुतो सल्किएको देख्न थालेको छु । विश्वविद्यालयतिर गयो सारा प्राध्यापक, विद्यार्थी, कर्मचारी, त्यहाँको प्रशासन, अध्यापन पद्धतिदेखि परीक्षा प्रणालीसम्म लुतोग्रस्त । सरकारी निकायहरू घूस, अनियमिता, कामचोर मनोवृत्तिमा चुर्लुम्मै लुतोग्रस्त । न्यायिक निकायका सर्वोच्च मठाधीश आफैँ लुत्याहा बयान ओकल्नमै अलमस्त । कानूनका नौ सिङ केलाउने कानून्ची नै लुतो कन्याउनमा व्यस्त । मन्त्रालय, विभाग, शाखा प्रशाखा सबै जिम्मेवारी पूरा गर्नमा होइन, लुतो सार्नमै अभ्यस्त । यता फर्कियो यतै लुतो, उता फर्कियो उतै लुतो । आँखाले देखे र भेटेसम्म जताततै गजधम्म लुतो !
गिदीभित्र गुदी हुन्छ भन्ने कुरो त सबैलाई थाहा छँदैछ, गिदीभित्रको गुदी भनेको विचार हो । गिदी आफैं लुतोले लतारिएपछि विचार नबटारिने कुरै भएन । विचारै बटारिएपछि मान्छेका यावत् क्रियाकलाप चटारिनु स्वाभाविकै हो । यही लुतोका प्रभावले वर्तमानको मान्छे, अब मान्छे नरहने खतरा पैदा भएको छ । विवेकहीन भएर सही र गलत छुटयाउने क्षमता गुमाउनु गुदी लुतोग्रस्त हुनुको पहिलो प्रमाण हो । जङ्गली जनावरमा बरु विवेक प्रदर्शन भएको देखिन्छ तर मान्छेको जात यति निर्मम बन्दै गएको छ कि उसले जसरी पनि पैसा थुपार्नु छ । लुतो लागेको गिदी र त्यसभित्रको गुदीले आफूजस्तै हजारौँ मानिसलाई लासमा परिणत गर्ने विषादियुक्त खाद्यपदार्थ उत्पादन गरी पैसा सोहोरी रहेको छ । गिदीमा विराजमान लुतो सङ्क्रमित भएपछि नै मान्छेले यस्तो परपीडक सुकर्म गर्नसक्छ ।
राजनीति भनेको राज्य सञ्चालन परिचालनको मेरुदण्ड हो । मेरुदण्ड अपाहिज हुनासाथ अरु अङ्गप्रत्यङ्ग आफ्नो निर्धारित कार्य गर्न असमर्थ हुनेनै भए । मेरुदण्डको मूल नसा दिमागसँगै जोडिएको हुन्छ भनेर स्वस्थ्य विज्ञानले प्रमाणित गरिसकेको छ । अब भन्नुस् मस्तिष्कको मूल नसानै लुतोमा लपेटिएपछि मेरुदण्ड कसरी सग्लो रहनसक्छ ? यसरी मेरुदण्डबाट दुष्ट लुतो सर्दैसर्दै र झर्दैझर्दै सम्पूणर् अवयव लुतोग्रस्त बन्न पुगेको देखिरहेको छ यो लखरठ्याक ।
राजनीतिक दलहरूमा लुतो सल्केको छ । दलदलभित्रै पनि लुतो पल्केको छ । माथिदेखि तलसम्म नेता कार्यकर्ता सबका सब लुतोग्रस्त । शनै शनै यो राष्ट्र लुतो राज्यमा परिणत भएको देख्दैछु म । जसलाई हामी गणतन्त्र ठानिरहेका छौँ यो त लुतोतन्त्रमा झरिसक्यो, बितेको दिव्य दुई दशकले यही प्रमाणित गरिसक्यो ।
चारचार वर्षमा अरबौंको बजेट स्वाहा पार्दै निर्वाचन नामको लुतो छर्ने परियोजना सम्पन्न हुन्छ । गिदीभरि लुतोको रास बोकेर लुत्याहा ल्वाँठहरू क्याँटका क्याँठ लिई मैदानमा उत्रन्छन् । उनीहरू असारे हिलो झैं क्याँटका बिटा ओछ्याउँदै लुतोग्रस्त भाषण छाद्छन् । भ्रमित सपना बाँडेर भोट लुट्छन्, प्रतिष्पर्धीलाई चक्र घुमाइ घुमाइ कुट्छन्, लुट्ने क्रममा लुतोग्रस्त ल्वाँठहरू एकैठाउँ जुट्छन् । जुटेझैँ गर्दागदै थोत्रो घ्याम्पा फुटेर्झै फ्याक्क फुट्छन् । जुटेर पनि लुट्छन्, फुटेर पनि लुट्छन् । लुतो सल्किए पछिको परिणाम यस्तो भएको हो भनेर अब कुनै व्याख्या गरिरहनु पर्छ र भन्या ?
मस्तिष्कमा सल्केको लुतो कन्याउन नपाएर यो ललखरठ्याक हैरान हैरान भएको छ । शरीरमा लागेको लुतो भए त खोयाले नै कन्याइन्थ्यो । आहा ! त्यसरी कन्याउँदाको आनन्दानुभूतिको स्वाद लुतो सल्केकालाई मात्र थाहा छ । गिदीभित्र छिरेको यो लुतो अब नियन्त्रणमा आउला कि नआउला, यो पापिष्ट लुतोलाई खोयाले झै खोर्याँत खोर्याँत कन्याउन पाउँला वा नपाउँला, लुतोग्रस्त बनेर लुते राज्यमा परिणत हुँदै गएको यो अवस्थाबाट लुते नागरिकले मुक्ति पाउलान् वा नपाउलान् ?
यी र यस्तै प्रश्नहरूको एउटा पेटारो फेरि पनि मैले गुगलतिरै ठेलिदिएको छु । लौ न, गुगल प्रभो ! यसको अत्याधुनिक उपचार विधि-प्रविधि बारे जानकारी पाउँ । शरीरमा सल्केको लुतो हामी अँगेरीका मुन्टा र नीलो तुथो दलेरै निको पार्दै आएका थियौँ । बाह्य शरीरको लुतो नियन्त्रण गर्ने यो हाम्रो परम्परागत उपचार पद्धति हो । यसैलाई आधुनिक प्रविधिले ‘मिक्स्चर’ गरि इन्जेक्सनको ‘भाइल’ वा सुँघ्ने ‘अक्सिडाइज’ तयार पारेर गिदीसम्म पुर्याउन सके कतै यो लुतो नियन्त्रण गर्न पो सकिन्थ्यो कि !! जसरी भए पनि कि त गिदी कन्याउने अत्याधुनिक खोया चाहियो, कि यो लुतो समुल नष्ट गर्ने औषधि चाहियो । नत्र त हेर्दाहेर्दै सिल्टिम्बुर खाइयो !! जनी गर गुगल प्रभो !! तिम्रो ‘पाकताउली’मा मेरो गिदीमा छट्किरहेको यो लुतो फाल्ने उपाय के छ तुरुन्तै पठाइदेऊ न ।
०००
फित्कौली अड्डा, कलङ्की, काठमाडौं
‘अभिव्यक्ति’ अङ्क २१६, भदौ-असोज २०७९
Subscribe
Login
0 Comments
Oldest








































