साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आफन्त

ए ! भुसुक्कै बिर्सेछु म पनि त कसैको आफन्त पो हुँ गाँठे । पानी भित्र पसेर ओभानो हुन खोजेछु । अब आफन्तको खोजीका लागि गोलमेच सम्मेलन गरौँ ।

Nepal Telecom ad

घरमा आ भनेर बोलाएर आइदिने भएकोले आ किन अन्त अन्त डुल्न जानु भनेर बोलाउनेकोमा जाउँ भनी गएकोले आफन्त भनिएको हो भन्ने मेरो ठम्याई छ । कतै आ भनेर टर्रो स्वरले चर्केर, झर्केर, फन्केर टाप कसेकोले आ यता नभए अन्त भनेर दगुर्ने हुनाले आफन्त भन्ने नाताले जरो गाडेको हुनुपर्छ यो भूतलमा जस्तो यो लेखकलाई लाग्छ । जसले जे भने पनि आफू+अन्त शब्दको आग्लो ठोकाइबाट यो शब्दको हालीमुहाली चलेको हो । आफ्नै नजिकको सामिप्यमा रहेको जनाउने शब्द आफन्त । कसलाई भन्ने आफन्त ? बहस बाक्लो चल्यो घरवालीसँग र आफन्तको बेलीबिस्तार लगाउन मथिङ्गल गलाइरहेछु अहिले । जन्माउने, हुर्काउने, पढाउनेदेखि चोराउने, फोराउनेसम्म आफन्तको दर्जामा दरिन पुग्दा आफन्त शब्द छिद्रै छिद्रा परेको छ । चिया पिउनेदेखि चिउरा चपाउनेसम्मको मन दुखाइको विषय यो । स्तर र आम्दानी अनुसार आफन्तको दर्जा निर्धारण हुन्छ समाजमा ।

ससुराली जानोस् वा मावली जानोस्, मितकोमा जानोस् वा हितकोमा जानोस्, लडेर जानोस् वा चढेर जानोस्, खाएर जानोस् वा पिएर जानोस् तपाईंको लुवाइखुवाइमा परीक्षण गरेर मात्र मान वा अपमानको श्रेणी निर्धारण हुन्छ । ढोग्ने, नमस्कार गर्ने, मुन्टो हल्लाउने, मुस्काउने सबै व्यक्तिको हैसियतमा भर पर्छ । पैदल चल्ने हो वा सवारीमा हुँइकने वाला हो त्यही अनुसार लोलीमा बोली मिलाउन हाजिर हुने भेटिन्छन् अचेल । शिष्टचार र खानपिन पनि सोहि अनुसार निर्धारण हुने गर्दछ । सङ्क्रान्तिमा जानुस् वा व्रतबन्धमा, न्वारानमा जानुस् वा पास्नीमा तपाईं कोसेलीको पुन्तुरो अनुसारको दर्जामा तौलिन पुग्नु हुन्छ । यस विषयको भुक्तभोगी तपाईं नै हो ।

दुर्छे भए नि, मुखाले भए नि, सन्काहा भए नि, टर्रा या खरा जे भए नि हामी आफू आफूमा एक से एक राम्रा गनिन आतुर हुन्छौं । लुगादेखि घडीसम्म, घडेरीदेखि घरसम्म राम्रो र ठुलो बनाएर अर्कालाई दुत्कार्ने हाम्रा बराजुदेखिको चलन कसले मास्ने ! अरुलाई सानो देखाएर आफू ठुलो हुन हामी मङ्गल ग्रहमा पुगेको ठान्छौँ आफूलाई । म पुस्तौंदेखिको आफन्तको पुस्तौनी खोज्दैछु । आफन्त बाँदरको पुच्छर लौरो न हतियार भए सबैको फुर्ति कता पुग्छ न भनिसाध्य छ, न देखिसाध्य । हजुरबाले ठुलो वृक्षको ओत लाग्नु भनेका थे । वर्षौ भो ओत लाग्ने वृक्ष खोज्दा पैतालामा ठेला उठेर पिलिए तर वृक्षको नाम निशाना भेट्नै मुस्किल । हजुरबाले कतिपल्ट पिण्ड ज्युनार गर्दा उहाँको वचन शिरोधार्य हुने हो भाँच्दै छु हातका अम्ला ।

आफन्त खोज्न गाउँदेखि शहरसम्म, देशदेखि विदेशसम्म जता पुगे नि सबै आफ्नै लाग्ने तर अनुभव गर्न नपाइने । कस्तो विचित्रको हुँदै छ समाज । बोझिलो जीवन घिसार्दै छु सडकमा । छि ! कस्तो अचम्म कर्कलोलाई बन्चरोले हान्नेको भिड । खिएको छ महिमा । भँडार खनेर आँगन पुर्ने गतिमा छु यतिबेला । घाँडो बनेर बाँचेको राँडो झैँ लाग्छ आफूलाई । गधाको घाँटीको घण्टा जस्तो । मन किन अमिलो हुन्छ ? प्रश्न गर्दैछु आफैंसित । भुईं भक्कानियो । धाँजा फाट्यो मन । लुगलुग कामे गोडा । अस्थि गलेर आयो । भ्यागुतोको धार्नी पुर्‍याउने जस्तो आफन्तको सूची बनाउने काम । बेकारमा स्वास्नीलाई लगाएछु फुर्ती । मनको बाँध टुट्यो । व्यर्थमा बाँचेको पाएँ आफूलाई डोरीको पासो खोजौँ जस्तो भो एकाएक । फगत बाँचिरहेछु धर्तीको बोझ भएर । माला उन्न खोज्दैछु आफन्तको सकिन धागोमा उन्न । काई लागेर चिप्लियो आस । आफन्त खोज्नु मेरा लागि जन्मिनु अघि र मरेपछिको चिन्तन गर्नुजस्तो । इतिहासमा दर्ज भएका दुईचार मुखाकृति बाहेक निर्लज्ज भएर पल्टाउँदैछु आफन्तको ठेली । जग्गाको कित्ताकाट जस्तो अब्बल, दोयम, सिम,चाहार वा आली कान्लामा ताछिनेमा परेछु जस्तो भो मलाई ।

तपाईंलाई लाग्ला यो त टुहुरो पो हो क्या हो । हैन त्यो सोच्नु भयो भने झन् अन्याय हुन्छ ममा । मलाई मात्र कसलाई आफन्त भन्ने चिन्ता हो । जाँड खाएर टाँडमा सुत्नेलाई आफन्त भनौं भने कुन मितिको चिनाटिपन हेराएर पुस्तौनी जोडौँ । एउटै कानुनको धारामा थरीथरीका बहस गर्नेलाई कुन दफा अनुसार आफन्त भनौँ । हृदयमा अपनत्व हराएको बेला आफन्त खोज्न निस्कने एउटा मुर्ख म । घाउमा मलम हुन सक्ने, दुःखमा दुखित हुन सक्ने, समस्यामा समाधान हुनसक्ने आफन्तकहाँ पाइने खोजी अभियानमा छु यतिबेला । फतक्क गलेका आफन्तका आँखामा प्रेम सद्भाव पलाउला कहिले ? वनभित्र बङ्कर खनेर, मनमा घाउ बल्झाउने पुस्ताले हल्लाएको काग खुट्टे शरीर छ आफूसित । हातमा हतियार र मुखको आक्रोश ओकलेर शान्तिको मन्त्र जपिरहेको युग हो यो । अरुलाई छिर्के हानेर अगाडि पुग्ने होडमा कति आफन्त बलात् हुन पुगेका छन् । बेसाहा छड्काउँदै छ सरकार । बेसाहाले सडक, विद्युत, उद्योग, बेरोजगारी टाल्दैछ । गल्ली र झुपडी बाँचिरहेछन् धुवाँमा सपना उसिनेर । ओस चाटेर तिर्खा मेट्ने चाहना । च्यात्तिएका पैताला र फाटेका मनहरू आफन्त खोजी रहेछन् । उकालीको छाहारी जस्तो बुढेसकालको लौरो जस्तो ।

सर्वहाराको फुइयाँ थुन्सेले छोपेर पुँजीवादको रटान गर्नेहरू कसका आफन्त होलान् ? डलरमा डकारिन विदेश सयरमा निस्कनेसँग भोक खप्नेको सम्बन्ध कस्तो बन्ला । मध्याह्नमा गड्तिरको बालुवा उडे झैँ भुमरीमा उडे आफन्त । ओत लाग्ने छानो र कमाइ गर्ने माटो नभईका सुकुम्बासीको आफन्त को ? घर बनाइदिने भन्दै नारा उकेल्नेहरू मध्ये रातमा डोजर कुदाउँछन् बस्तीमा । ओइलाएर झरे आशा । पाकेको फर्सीको लहरोको के भर ! दैनिक बिहान मन्दिरमा घण्टी घण्टाउन पुग्ने सबै धर्मात्मा कहाँ हुन्छन् । शरीरको क्रियादेखि शल्यक्रिया गर्ने पनि आफन्त नै बन्न पुग्छन् । भोकमा गाँस र रातमा बास दिनेलाई मात्र आफन्त ठानियो भने अपनत्व बद्नाम हुन्छ ।

धुरीमा सुरीका गलैँचा सुकाएर कुकुरको सूचीनिची गराउँदै फुर्सद नहुनेलाई मुन्टो निहुर्‍याएर दुई हात जोड्दै अन्न न सन्नको आफन्तको साइनोको तोक लगाउन बिन्तीपत्र बिसाउँदैछु म । दुःखमा कहिल्यै दुखी नहुने केको आफन्त ? आफन्त हुनु व्यवहारमा प्रेम हुनु हो । घाँटी निचोरेर पानी पिलाउने भइदिए भने आफन्तको गरिमा जोख्ने कहाँ ? अभिमानलाई विगत सम्झेर स्वाभिमानको चुलोचौको जोड्ने प्रेरणा आफन्तबाट पाउनु पर्छ । रगतको नाताले तेह्र दिन बार्ने र गुन्युको ज्यूमा थपिएका कसको तागत कति हुन्छ दाँज्न मन छ मलाई । ज्वाइँ ज्यू गर्दै घिउ झ्वाइँ पार्नेहरू मनमनै गधा सम्झँदै होलान् ।

आफन्त स्वाभिमानले चुलिएको हुनुपर्छ न कि अभिमानले जेलिएको ।तपाईंको, मेरो, उनको सबैको आफन्तको दर्जा निर्धारण गरौँ । कुरा काट्दै छुरा धस्नेदेखि सुरा पिउँदै सुन्दरी ताक्नेसँग भविष्यको योजनाको खाका कसरी फुकाउनु । आफन्त हुनु धनी हुनु हो दयाको । अगाडि कठै ! भन्दै पछाडि धारे हात लगाउने र दयाको सुस्केरा सुसेल्ने हाम्रै आफन्त । ए ! भुसुक्कै बिर्सेछु म पनि त कसैको आफन्त पो हुँ गाँठे । पानी भित्र पसेर ओभानो हुन खोजेछु । अब आफन्तको खोजीका लागि गोलमेच सम्मेलन गरौँ । आफन्तको गणना गर्न गणक निर्धारण गरौँ ।

०००
ओखलढुङ्गा
९८४३०५४१६१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
बजार कसकाे ?

बजार कसकाे ?

भोलानाथ सुबेदी
आधाले बाधा

आधाले बाधा

भोलानाथ सुबेदी
मुला

मुला

भोलानाथ सुबेदी
बैठक

बैठक

भोलानाथ सुबेदी
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
0
Would love your thoughts, please comment.x
()
x