ईरानराईलाजनीति
अहिलेसम्मको मैले कमाएको इज्जत र सन्तुष्टि भनेकै दलेलाई मेरो दलमा प्रवेश गराउन सक्नु तथा प्रधानपञ्च र झन्काहालाई गलहत्याउन सक्नु हो । कठै गणितशास्त्रीय लाजनीति !
मेरो एक प्रिय मित्रलाई सबैले अकडे, गज्याङ्ग्रे भन्छन् । मित्र मजस्तालाई देखाउँदै तिमीहरूको ‘लाजनीति’ त ठीकै हो तर नेते ठीक भएनन् भन्छ । ‘लाजनीति’ होइन भ्याकुरे राजनीति हो भन्छु तर मेरो मित्र राजनीतिलाई लाजनीति नै भन्छ ।
उम्रिदैको तीनपाते ‘ठिटो’ आफूलाई सर्वोत्तम युवा ठान्दछ । हुन पनि हो, ऊ पढेलेखेको छ, जवान छ, शारीरिक रूपमा तन्दुरुस्त र आकर्षक छ । बोल्न भाँती पुर्याउँछ, तर्क गर्न सिपालु छ, दुई हजार सजिलै खर्च गर्न सक्छ । एउटा अन्तर्राष्ट्रिय स्तरको संस्थाको स्थानीय सदस्य छ । स्थानीय धेरै सङ्घ-संस्थाहरूको सदस्य छ, कतिपयको नेतृत्व तहमा छ । ‘झ्याप्पै उमारौँ, क्वाप्पै खाऊँ’ भन्ने हतारो बुद्धि छ । मौका पाए, गाउँलाई एकै वर्षमा शहर, शहरलाई एकै महीनामा राजधानी र राजधानीलाई एकै दिनमा स्वर्ग बनाउन सक्ने हिम्मत छ । जोशिलो, फुर्तिलो, सकारात्मक सोच भएको एक्काइसौं शताब्दीको आधुनिक सभ्य युवाका गुणहरू यिनै होलान् जुन ऊसँग मनग्गे नै छ ।
उसलाई पनि राजनीति गर्न मन लाग्यो । राजनीतिक दलको भातृसङ्गठनको साधारण सदस्यता लियो । सङ्गठनको साधारण सदस्यता लिएको केही दिनमै ऊ त्यस सङ्गठनको महत्त्वपूणर् पदमा पुग्यो । उसको रूप, रङलाई हेरेर नेताहरूले पनि पत्याए । उसले माउ पार्टीकै सदस्यता आवेदन भन्यो । हेर्दा खाइलाग्दो र विपक्षीहरूप्रति जाइलाग्दो देखेपछि सदस्यताका लागि आवेदन फारम भरी नसक्दै उसको गोजीमा सदस्यता दौडिएर आइपुग्यो । तल्लो तर कार्यकारी तहको समितिमा उसले इच्छा जाहेर गर्यो । ‘तँ चिता, म पुर्याइदिन्छु’ भन्ने मनसायमा रहेका नेताहरूलाई ‘के खोज्छस् … आँखो’ भयो उसको समाज रूपान्तरणका लागि कर्म गर्न चाहिने हतियार ‘पद’ मगाइ । नेताहरू त उक्त ‘पद’ दिन उसले माग्नुभन्दा पहिल्यै हतारो र चटारोमा थिए ।
पद पाएको केही दिनमै स्थानीय तहको निर्वाचन आयो । उसको दल र उसको समितिलाई समावेशी पदहरू मिलाउन चर्को पर्यो तर पनि सशक्त युवालाई एउटा पद नदिई भएन । विभिन्न आकाङ्क्षीहरूका बाबजूद उसलाई वडा सदस्य पद भाग लगाउनै पर्यो, भाग लाग्यो । चुनाव हारेपछि आफ्नै साथीहरूले हराए भनेर गुनासो गर्यो । उसको आरोप ठीक बेठीक के थियो, त्यो छानबिन गरेर कारबाही सिफारीस गर्न उसकै समितिलाई उसको राजनैतिक दलले दियो तर केही भनेन, कारबाहीका लागि कसैका विरुद्ध क पनि लेखेन तर ऊ आफैँ अझै चित्त बुझाउँदैन ।
उसकै दलले जित्यो पालिका प्रमुख, उपप्रमुख, बहुसङ्ख्यक वडाध्यक्ष कार्यपालिका सदस्य तथा नगरसभा सदस्यहरू । त्यसपछि उसले पालिकामा जागिर माग्यो निर्वाचित भएको लगत्तै त्यो सम्भव थिएन, पर्खनु भन्ने सुझाव आयो । उसको रीसको भाउन्न छुट्यो र उसको समितिमा राजीनामा पेस गयो राजीनामा स्वीकृत गर्ने समिति पाँचौं तहमाथि छ, जसले उसको राजीनामामाथि निणर्य गर्ला तर समितिको लेटरप्याडमा उसको नाम नहटाउँदा मानहानि गरेको ठहर गरेर कानूनी उपचार खोज्ने सार्वजनिक हुँकार दिन्छ । कठै अदन्ते लाजनीति !
ज्वालामुखी बडो गमक्कको भद्र देखिन्छ बाहिरबाट ऊ जति शान्त र शालीन देखिन्छ, भित्रबाट ऊ त्योभन्दा बढी नै अशान्त र षड्यन्त्रकारी छ । त्यसैले बुझ्नेहरूले उसलाई मौन हत्यारा भन्दछन् । अगाडि हाँसिदियो, पछाडिबाट धसिदियो । शायद यस्तै मानिसहरूका लागि जन्मिएको होला ‘कोखामा दाह्रा भएको’, ‘मुखमा राम राम बगलीमा छुरा’, ‘ताक परे तिवारी, नत्र गोतामे’ आदि उखानहरू उसले उसको पार्टीमा जन्मनुभन्दा पहिला नै पार्टीले उसलाई गतिलै पदमा उम्मेदवार बनायो, जित्यो पनि । त्यहाँदेखि निरन्तर ऊ उम्मेदवार हुने र अरूले जिताउँदै जानुपर्ने श्रृङ्खला नै बन्यो । संलग्नता र सक्रियताका आधारमा ऊभन्दा जेठा, लगनशील र इमानदारहरू जिल्लाराम । हुन पनि ऊसँग सबै थोक थियो, सिवाय इमानदारी । पछिल्लो चुनावमा उसले उम्मेदवारी पाएन । नेताहरूले पहिला धेरै पटक फोस्रो आश्वासन दिइएका ऊभन्दा अग्रजलाई उम्मेदवार बनाए । त्यसपछि उसले रमिता देखायो पार्टीभित्र रुनु पर्नेहरूसँग धुरु धुरु रोयो, उचाल्नुपर्नेहरूलाई बुरुक्कै उचाल्यो । कराउनुपर्नेहरूलाई मूल सातो खाने गरी करायो, गाली गर्नुपर्नेको सूचीकाहरूलाई आमाचकारी गाली गर्यो तर ऊ वा उसको समूहकाहरूबाट गोदाइ खानुपर्ने भाग्यमानीहरूले चाहिँ उनीहरूको दुर्भाग्य, कुटाइ खाएनन् । किनकि तुरुन्तै अर्को तहको निर्वाचनको घोषणा भयो, र ऊ त्यसको उम्मेदवारी फुत्काउने प्रपञ्चमा लाग्यो । खरीद गरेरै भए पनि (धेरै मानिसहरूको दाबी) उम्मेदवारीपत्र ल्याएर उम्मेदवार बन्यो र जित्यो चुनाव अहिले ऊ त्रिशूल डामेर छाडेको ठूलो छाडा साँढेजस्तै भएको छ- मदमत्त । कठै भुसतिघ्रे लाजनीति ।
गहनाकुमारीको काम नै श्रृङ्गार गर्ने, जुनै बेलाको कार्यक्रम होस् आधादेखि एक घन्टा ढिलै पुग्नुपर्ने, अरूले सिकाएको वा लेखिदिएको भाषण ठोक्नुपर्ने, कार्यकर्ताहरूलाई हप्काउनुपर्ने, कुनै नेता कार्यकर्ताले उनलाई हप्काएचाहिँ रुनुपर्ने र पदका अवसरहरू टाकटुकै उनैले पाउनुपर्ने उनको विशेष गुण छ । त्यसैले उनका कार्यकर्ताहरूले उनलाई ‘सुन्दर परी राजकुमारी नेता भन्छन् । पार्टीको वडा समितिको अधिवेशन भयो, त्यहाँ उनले अध्यक्ष खोजिन्, भेट्टाइनन् नगर समितिमा उपाध्यक्ष रोजिन् तर पाइनन् । जिल्ला समिति र प्रदेश समितिको क्रमशः सचिव र सहसचिव मागिन् तर दिएनन् । उनले सीधै महिला सङ्घको केन्द्रीय सदस्य भेटिन् । किनकि अर्काको गुटमा फुट ल्याएर आफ्नो गुटलाई हट्टाकट्टा बनाउन केही नेताहरूलाई यस्तै सुकिला सुन्दरी र सौखिन नेतृहरू चाहिएको छ ।
फेरि जनप्रतिनिधिहरूका लागि चुनाव आयो । वडाध्यक्ष मागिन् पत्याएनन् । नगर उपप्रमुखमा इच्छा जाहेर गरिन्, इच्छा तुहियो प्रदेश सभाको प्रत्यक्ष चुनाव लड्ने टिकट दाबी गरिन्, साथीले नै उछिट्टयाइदिई । प्रतिनिधि सभा सदस्य पदका लागि समानुपातिक सूचीमा भनसुन गरिन्, धाइन्, रुइन्, घुर्काइन्, थर्काइन्, धम्काइन् तर केही चलेन । एउटा वरिष्ठ नेताले उनमा कार्यकर्तालाई रिझाउनेभन्दा विपक्षी नेताहरूलाई बिझाउने’ तेत्तिसौं लच्छिन देखेपछि उनको आँसु पुछियो बल्ल श्रृङ्गारले कुरूप उनको मुहारमा मुस्कान छायो । उनको नेताले मुख्य नेतालाई नगद उपहार चढाएपछि समानुपातिकको उनको कलस्टरको पुछारमा नाम झुन्डाइदिए तर पनि उनी सारै खुशी भइन् । नेता-कार्यकर्ताहरूले उनीसँग फोटो खिच्न थाले, उनको फोन नम्बर माग्न थाले, कार्यक्रममा उनलाई अतिथि बोलाउन थाले । निर्वाचनभरि खुशी भइन्, फऱ्याकफुरुक परिन् र बाजी राख्दै गइन् यो पटक म सांसद बनें, बनें ।
कर्मचारीहरूलाई बिनासित्तीमा हप्काउन थालिन्- हेर, म सांसद बनेपछि देखाइदिन्छु नि मैले भनेको योजना र बजेट खुरुक्क उपलब्ध गराऊ । चार-चौरासीका कर्मचारीहरूले उनी सांसद बन्छिन् कि नेताकी पुच्छर मात्र भन्ने राम्रै बुझेका थिए । त्यसैले फकाए- तपाईंले चुनाव निश्चित जित्नुहुन्छ । जितेपछि तपाईं-हामी बसौं र सबै काम गरौं । मख्ख परिन् लामो सूचीको पुछार भनेको बाँदरलाई लिस्नु मात्र हो भन्ने बुझिनन् । कठै झ्यामपुतली लाजनीति
जुँगेमाइलो छट्टु र टट्टु दुवै होइन तर समयले उसलाई दुवै बनायो ः जोसँग पनि मिल्ने बनायो, सहकर्मीहरूलाईचाहिँ विषाक्त भएर चिल्ने बनायो परिस्थितिले उसको अटल आस्थालाई हल्लिने र नातागोताभित्रै डल्लिने बनायो । उसको दलको सिद्धान्त अग्रगामी थियो । उसको दलको सिद्धान्त अग्रगामी भएपछि उसको विरोधी दलको सिद्धान्त अवश्य नै पश्चगामी हुन्छ । प्रतिस्पर्धीहरूको भने अग्रगामी नै नभए पनि पश्चगामी छैन, यथास्थितिवादी होला अथवा कम्तीमा सुधारवादी होला तर उसको प्रतिस्पर्धी दलले चमत्कारी विकास गरेर जनताको मन जित्न थालेकोले बिलाइने डरले उसले अरू दलहरूसँग सहकार्य गर्न थाल्यो । अरू दलहरूको नीति, सिद्धान्त, कार्यक्रम केही हेरेन, पार्टीभित्रका आफ्नै सहकर्मीहरूको सुझावलाई टेरेन । ती गठबन्धनका दलहरू कुनै सुधारवादी, कुनै यथास्थितिवादी कुनै पश्चगामी मात्र होइनन पुनरुत्थानवादीसमेत थिए तर चुनावी गठबन्धन गरेरै छाडे । सिद्धान्त एकातिर, राजनीतिक गतिविधि अर्कातिर । नीति, सिद्धान्त र गतिविधि पातालभित्र भासिए पनि जुगेमाइलोलाई फेरि तेस्रो पटक प्रधानमन्त्री बन्ने भूत चढेको रहेछ । कठै स्वार्थी लाजनीति ।
नेपालमा विशेष गरी निर्वाचनताका धेरै नेता तथा कार्यकर्ताहरूले दलबदल गर्छन्, कतिपयले बसदेखि प्राणभन्दा प्यारो दल एउटै शब्द, एउटै लोभ, एउटै पदका लागि सजिलै त्यागिदिन्छन् । मेरो पार्टीबाट अरू दलहरूमा पनि गए अरू दलहरूबाट अरू दलहरूमै प्रवेश गर्ने लहर नै चल्यो । यसै सिलसिलामा मलाई सधैँ दुःख दिइरहने दलबहादुर दाहाल उर्फ दले विपक्षी पार्टीबाट मेरो पार्टीमा प्रवेश गर्यो । उसको प्रवेश मेरा लागि सांसदको टिकट पाउनु मात्र होइन, जित्नुभन्दा पनि बढी महत्त्वको भयो किनकि उसको प्रवेशसँगै दलभित्रकै मेरा चिरपरिचित प्रतिस्पर्धी विपक्षीहरू पेलाहाप्रसाद पगरीवाल उर्फ पञ्च-गठबन्धनका प्रधानपञ्च र झमेलासिंह भरेल उर्फ झन्काहा अर्कै पार्टी खोलेर बाहिरिए । अहिले मलाई हाइसञ्चो भएको छ । अहिलेसम्मको मैले कमाएको इज्जत र सन्तुष्टि भनेकै दलेलाई मेरो दलमा प्रवेश गराउन सक्नु तथा प्रधानपञ्च र झन्काहालाई गलहत्याउन सक्नु हो । कठै गणितशास्त्रीय लाजनीति !
अहिले म पनि मैले उच्चारण गर्ने ‘राजनीति’ लाई मेरो अनन्य मित्र भ्याकुरेकै शब्दमा ‘लाजनीति’ बोल्न थालेको छु ।
जय भोकतान्त्रिक/भोकतान्त्रिक राजनीति । जय जय शक्तिशाली लाजनीति !! जय जय जय महान् क्रान्तिकारी लाजनीतिकारहरू !!!
०००
बेलबारी नगरपालिका- १, मोरङ,
‘रचना’ बेलबारी विशेष, कार्तिक-मङ्सीर २०७९
Subscribe
Login
0 Comments
Oldest






































