नरेन्द्रराज पौडेलसाधु-माहात्म्य
धेरै चलनचल्तीका साधु भएर नै होला यिनीकहाँ गह्रौँ खल्ती लिएका कर्मचारी तथा व्यापारीहरूको मात्रै घुइँचो लाग्दथ्यो । कतिपय ठूलो पाप गरेर माफी-मिनाह माग्नेहरूको धुइरो लाग्थ्यो ।

एकादेशमा एउटा साधु-राज्य थियो । वर्षौंदेखि एकै खाले कनफट्टा एक साधुकै राजकाज एवम् हालहैकम चलिआएकाले मोफसलका मान्छेहरू यसलाई साधु-बिर्ता पनि भन्दथे । मठ-मन्दिर, बाग-बगैंचा र ढलनालीहरूले सम्पन्न यस राज्यको सदर राजधानीचाहिँ कान्तिपुरी आश्रम भन्ने राखिएको रहेछ । आश्रम साँच्चिकै आदर्श आश्रम थियो । कतै कुनै अव्यवस्था थिएन, सबैतिर सुबिस्ता मात्रै देखिन्थ्यो ।
कुरा हो साधुहरू त्यही शुद्ध, स्वच्छ, आश्रममा सदाझैँ ध्यानमुद्रामा निमग्न थिए । मुद्रा ध्यानको भए पनि कर्मेन्द्रियले खुद्रा काम पनि गर्दै थियो । कोही पुष्पवाटिकामा ढलीमली गर्दै थिए । कोही कोपिला, आँकुरा र मञ्जरीहरू टिपेर ढलीमली पार्दै थिए । कोही लैना गाईहरू पघारेर तर मार्दै थिए । कोही बैला माईहरूलाई छाँदेर हठयोगको शिक्षा- दीक्षामा उतार्दै थिए । कोही वटुक चेलाहरूलाई चिन्डा भिराएर रसद जुटाउने मैदानमा उतार्दै थिए । सिलौटामा दल्नेदेखि लिएर हत्केलामा मल्नेसम्मका मरमसला र परपरिकारहरूबाट आश्रम सुगन्धित थियो । सबै साधुहरू सोमरागी भएकाले प्रातः स्नान, वन्दना-अर्चनापछि सबेरैदेखि सोमरसको सेवन गर्दथे । गरिबी देखेपछि आफैं गल्र्यामगुर्लुम पछारिने र ललनाको सामु लल्याकलुलुक परेर लगिने अनौठो रोग थियो । प्रमुख साधुहरूको सबैका मन कोमल थिए । भाषणको भाषादेखि सरकारका परिभाषासम्म पर्गेल्दा पनि कट्टा हुन जाँदैनथ्यो । अशिक्षित भेट्दा विक्षिप्त हुन्थे ।
तिनीहरू रोग, शोक, क्षुधा तृष्णाजस्ता आधिभौतिक विपत्तिमा चुर्लुम्म डुबेका नरनारीको घरवारी लिलाम रोक्नुपर्ने र हकहितको रक्षा गर्नुपर्नेसमेत भएकाले मत्र्यलोकमा सबैभन्दा ठूलो दायित्वले युक्त थिए । साधुहरू त्यसै दायित्व निर्वाहका साथै साधु-राज्यसञ्चालनमा विशेष योगदान पुर्याउन चाहिने बुद्धि-बकंत, औकात, सीप सबैलाई एकसाथ समेट्ने कामका लागि सोमरसको प्रभाव औधी प्रभावशाली खुराक लाग्दथ्यो साधुहरूलाई । हुन त साधुहरूका लागि कुनै विषय हल्का र कुनै गम्भीर भन्ने थिएन । रासलीलामा अधिक लीन भएर होला अश्लील र श्लीलका बीचमा उल्लेख्य भेद थिएन । बेला मौका त्यस्तै पर्दा पेट पोल्ने, नङ पाल्ने र चप्पल मार्ने सतीसाध्वी नारीहरूको साधु आश्रममा बढी आदर र मर्यादा हुन्थ्यो । कुनै चेला-चपेटाहरू रात-विरात कतै कुनै भद्र महिलाउपर धावा बोल्दैनथे । सवै ढोकैवाटै हिँड्दथे, पर्खाल फड्कँदैनथे । पर्खाल उक्लिदै झ्यालमाथि टेकेर भयानक बाटो कोठाभित्र पस्दैनथे । सभा, प्रवचन र उपदेशमा पनि नारी सहभागिता बढी पाइन्थ्यो । भट्टीप्रवेशको विवरणदेखि कटिप्रदेशको विचरणसम्मका संस्मरणमहरू सबै साधुहरू मुखाग्रै भनिदिन्थे । दिनको भीषण भाषणपछि साँझको सम्यक् सभामा अहिल्या, द्रौपदी, उर्वशीका अवतार खाले ललनाहरूका स्वरसुधाबाट चुहिएका गीत, गजल र बालन-कीर्तन पिएर भक्तिविभोर बन्ने चलन थियो साधुहरूको ।
सोमरसको प्रभाव साँच्चै प्रभावशाली हुँदोरहेछ । यसको सेवनपछि साधुहरू लट्ठ पर्दथे । सवै ज्ञानेन्द्रियहरू महाज्ञानको खोजीमा हराउँथे । कर्मेन्द्रियहरू महाप्रयाणको पथमा निदाउँथे । अनि कसैले आकाशको कुरा गरे पातालको कविता सुन्थे । डाका लाग्यो भन्दा भाका नाघ्यो भन्ने बुझ्दये । बारीको तोरी लड्यो भन्दा कुमारी छोरी लग्यो भन्ने भान पथ्र्यो । केश काट्ने भन्दा देश साट्ने भन्ने भयो । राजीनामा लेख्नु भन्दा पाइजामा खोल्नु भन्ने सुनेर बेलाबखत बित्यास पार्दथे । धानको भात भन्दा पानको पात सुनेर गरिब गुरुवाजतिलाई जङ्गल पस्त सल्लाह दिन्थे ।
सोमरसलाई वास्तवमा सत्यरस पनि भन्न सकिन्छ । किनभने यसको सेवनपछि साधुहरू जे बोल्दथे सत्यमात्र बोल्दथे । जे देख्दथे तथ्यमात्र देख्दथे । हिलोगिलो सबै छाडिदिन्थे । जे लेख्तथे त्यो पनि सत्य- शिव- सुन्दरमात्र लेख्दथे । जे जहाँ छाम्दथे गतिलै चीज मात्र भेट्टाउँदथे । साधुहरू शरद्कालीन हिमनदी स्वच्छ, निर्मल र कञ्चन पाराका थिए । आफू ज्यादै स्वच्छ भएर होला उनीहरूको दृष्टिमा फोहोर-सुग्घरको त्यति सारो छ्यानब्यान थिएन । विवेक र विवेचनामा कसैकसैबाट मात्र कसरत हुन्थ्यो ।
साधुहरूका बीचमा एक वयोवृद्ध कुलगुरु थिए वानरको ढेडुभन्दा यी स्मार्ट देखिन्थे माहुरीको रानाभन्दा यी धेरै जब्बर र हैकमी स्वभावका थिए । बिरालाको ढाडेलाई भुसुक्कै बिर्साउने खाले यी वयोवृद्ध कुलगुरु अरबी घोडाजस्तै अलि ओर्याहा खालका थिए । त्यसैले रिस उठेको बेला रौद्ररूप देखाएर ताण्डव नृत्यको प्रदर्शन गर्दै चेलाहरूलाई आच्छु- आच्छु बनाउँथे । आजित परेका चेलाहरू पनि कुलगुरु भन्दाभन्दै कहिलेकाहीं त कुलाङ्गार भनिदिन्थे उनले नसुन्ने गरी ।
वृद्धयुवा भन्न रुचाउने यी आधुनिक कुलगुरुका सबै हाउभाउ र कटाक्षहरू शास्त्रीय सङ्गीतका नृत्याङ्गनाहरूलाई माथ गर्ने खालका थिए । मनले चञ्चल लाग्ने छिल्लिएका र उटुङ्ग्या कुरा गर्न वाचाल यी वृद्धयुवा बोलीचालीमा अत्यन्तै शृङ्गारिक लाग्दथे । आदतका लहडी अनि कुराका गफडी मात्र होइन शारीरिक रूपमा पनि उनी उत्तिकै तगडा थिए । मुखबाट र्याल बगे पनि चालढाल बैंसालु लाग्दथ्यो । आँखामा चिप्रा लागे पनि सुदूरमा रहेका सिकारका सिद्रा टड्कारै देख्दथे । मुहारमा झुरी परे पनि चुरी बजेको सुन्दा ठाडो कान लगाइहाल्थे । शरीरमा चाया-चाहरी भरिए पनि गाईको पछिपछि डुक्रिँदै हिँडेको वयलझैं भौतिक सुखसयल खोजेर बेलावखत भौंतारिने वानी थियो यी साधु नेताको । पेटमा पाप थिएन, मनमा ताप पनि थिएन गृहस्थी जीवनका अभाव, अनिकाल, अतृप्ति, अप्राप्ति आदि खाले नौ थरी हेन्डरहरूको सन्ताप थिएन भने कतै कसैले लुठो भनिहाले पनि उनीउपर सतीको सराप पनि थिएन । वरु असतीको फलिफाप भने मनग्गे दियो ।
धेरै चलनचल्तीका साधु भएर नै होला यिनीकहाँ गह्रौँ खल्ती लिएका कर्मचारी तथा व्यापारीहरूको मात्रै घुइँचो लाग्दथ्यो । कतिपय ठूलो पाप गरेर माफी-मिनाह माग्नेहरूको धुइरो लाग्थ्यो । कतिचाहिँ पार्टीको टिकट पाउनेदेखि लिएर घोडाको काठीको निकट पुग्नेसम्मको इरादाले आउँथे । ज्ञानको खोजी गर्ने र कतिपय दुःख बिसाउने सुख कुम्ल्याउने हिसाबले पनि मानिसहरू आउने गर्थे । यिनै आउने- जानेमध्येका एक जना भक्तले उनलाई सोधिरहेछन्-
“बाजे यी काखमा बसेका नानीहरू नातिनी हुन् कि कसो हो ?” सोध्ने व्यक्ति गाउँले नेता रहेछन् । त्यसैले उनी अलि गँवार र अनपढ थिए । ‘बाजे’ र ‘नातिनी’ शब्दले मुली साधुको रिसको पारो चढेर खपीसक्नुभएनछ एकैछिनमा रौद्र मुद्रामा प्रकट हुँदै भन्न थाले-
“धत् पाजी म… म… मजस्ता अविवाहित युवकको पनि कहीँ नातिनी हुन्छ ? हेर्छन् सदाबहार बैंस ? कहाँ भक्तिनीलाई त नातिनी पो भन्छ मोरो त ! साधु आश्रम भनेको के थाहा यी पाजीहरूलाई ? पेडा पिंडालु बराबरी“ भन्दाभन्दै माउ साधुजी आगन्तुक व्यक्तिउपर जाइलागेर खनिए छाउरा साधुहरूले छेकबार लगाएपछि हातपात भने हुन पाएन । सधैं संस्कृत वाणीमै अर्ती-उपदेश, दीक्षा-प्रवचन गर्ने साधु महाराजले जस्तोसुकै सुरम्य गालीगलौज गरे पनि त्यसलाई आशीर्वाद सम्झिँदै बिचरा गृहस्थ व्यक्तिचाहिँ लुरुलुरु घरतिर लागेका थिए ।
०००
‘प्रमुख अतिथि हुनुको आतङ्क’ (२०६४)
Subscribe
Login
0 Comments
Oldest







































