प्रल्हाद पोखरेलपृथ्वीलाई चिठी
नेता नित्य बिकाउमा र जनता छन् खालका दाउमा पैसा मात्र भए पुग्यो ऋतुपिछे बिक्छन् नयाँ भाउमा तिम्रो लक्ष्य थियो स्वदेश हितमा उक्साउँने जाँगर हामी मानिस रूप बानर बनी भत्काउँदैछौँ घर ।

१.
हे पृथ्वी ! जनता निरीह बिचरा ! भेडा र बाख्रा बन्यौं
स्वार्थी, नीतिविहीन, दुष्ट, कपटी, निर्लज्ज नेता चुन्यौँ
तिम्रो देश अखण्ड निर्मल थियो बेचेर खायौँ सब
बुद्धि भ्रष्ट भयो, पर्यौँ शरणमा, सद्बुद्धि देऊ अब ।
२.
औँलो त्यो ठडिई खुला सडकमा भन्दैछ आफू चिन
पाखण्डी, पटमूर्ख, नीच मतिका मान्छे बनेका किन ?
तिम्रा दिव्य विचार भारसरिका ठानेर फाल्यौं सबै
बन्दै व्यर्थ विवेकहीन बबुरा विश्वास बाल्यौं सबै ।
३.
नेता नित्य बिकाउमा र जनता छन् खालका दाउमा
पैसा मात्र भए पुग्यो ऋतुपिछे बिक्छन् नयाँ भाउमा
तिम्रो लक्ष्य थियो स्वदेश हितमा उक्साउँने जाँगर
हामी मानिस रूप बानर बनी भत्काउँदैछौँ घर ।
४.
सानो चित्त भयो र मानसिकता सारै भयो सीमित
साँच्चै नै मनका दरिद्र गनियौँ क्यै छैन हामीसित
गर्थ्यौ देश-विकास, सीप र कला उत्थान गर्ने कुरा
आफैं जाल बुनेर जेलिन पुग्यौं हामी बनी माकुरा ।
५.
“सानो दुःख गरेर आर्जित भने नेपाल यो होइन
सारासाथ सचेतता यदि भए”- भन्थ्यौ तिमीले किन ?
हामी छौँ असमर्थ आज गतिलो अर्ती सकेनौं लिन
साँच्चै नै गतिहीन दीन नभए भोग्थ्यौँ र यो दुर्दिन !
६.
भन्थ्यौ घूस लिने-दिनेकन दुबै हुन् देशघाती जन
हामी इज्जतसाथ बस्नु कसरी घूसै नखाईकन ?
हाम्रो राष्ट्रिय लक्ष्य एक अहिले खाऊँ, कमाऊँ अनि
थुप्य्राऊँ जसरी भए पनि धनै बेचेर देशै पनि ।
७.
भन्थ्यौ कोमल देश यो तरुल हो, ढुङ्गा दुई बीचको
त्यो संवेदनशीलता जुन थियो दुर्भाग्यले मेटियो
तिम्रा ती उपदेश सार्थक थिए पोलेर खायौँ सबै
मानौँ आज मसानघाट लगियौँ हामी बिरामी नभै ।
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest









































